तामाङ साहित्यकार एवं समय दृष्टि साप्ताहिकका प्रधान सम्पादक योकबहादुर घिसिङ ‘योगेश राल्फाली’ ‘राष्ट्रिय मातृभाषा सेवा पुरस्कार’बाट सम्मानित हुने भएको छ। अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राल्फालीलाई तामाङ मातृभाषा साहित्यमा योगदान पुर्याए बापत रू. १ लाख नगद पुरस्करसहित सम्मान सम्मान गर्न लागिएको हो ।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि प्रधान सम्पादक साहित्यकार राल्फालीलाई सम्मान गर्न लागिएको प्रतिष्ठान स्रोत बताएका छन्। प्रतिष्ठानले यसअधि पहिलोपटक वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, दोस्रोपटक वरिष्ठ बैरागी काइला, तेस्रोपटक वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ र चौथोपटक साहित्यकार तथा प्रधान सम्पादक राल्फालीलाई सम्मान गर्न लागिएको हो।
संयोजक वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, सदस्य डा. लोकबहादुर लोप्चन र पूर्व सांसद् तथा मगरभाषा अध्येता बमकुमारी बुढा मगर रहेको तीन सदस्यीय छनोट समितिले यस वर्ष साहित्यकार राल्फालीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
राल्फालीको ‘प्राङबोला छेटाङ’ (२०५९) तामाङ उपन्यास, ‘क्लुन्दुङ थोबो’ (२०६९) तामाङ तांका संग्रह, ‘काःला मिख्लि’ (२०६९) तामाङ हाइकु संग्रह, ‘याङसीला’ (२०६९) तामाङ चिठ्ठी संग्रह, ‘थेच्यार’ (२०७२) तामाङ मुक्तक संग्रह, ‘ह्याङ्ला ठिम’ (२०७२) सेलो गीत, ‘दुईला ङ्हार’ (२०७३) तामाङ महाकाव्य, ‘गगन’ (२०७३) तामाङ शोककाव्य र ‘घाइते ताम्सालिङ’ (२०७६) तामाङ भाषाको कविता संग्रह गरी नौवटा तामाङ साहित्यिक कृतिहरू प्रकाशित छन्। उनी नेपाली भाषामा पनि कलम चलाउँछन्।
राल्फाली यसअघि झ्याम्याङ लामा स्मृति प्रतिष्ठानबाट ‘झ्याम्याङ लामा प्रतिभा सम्मान २०६६’, जनमत वाङमय प्रतिष्ठान बनेपा काभ्रेबाट ‘गणेश खिलकुमारी दुवाल जनमत सम्मान २०६८’ तामाङ भाषाको पहिलो हाइकु संग्रह प्रकाशित गरेकोमा नाङ्साल क्लबबाट ‘कदरपत्र २०६९’, तामाङ भाषाको पहिलो महाकाव्य प्रकाशित गरेकोमा ‘तामाङ डाटाबेसबाट सम्मान २०७३’, तामाङ भाषाको पहिलो महाकाव्य प्रकाशित गरेकोमा ‘घिसिङ समाज, नेपालबाट सम्मान २०७४’, ‘खानीखोला गाउँपालिका काभ्रेबाट सम्मान २०७५’ र रोशी डिजिटलबाट ‘रोशी डिजिटल सम्मान २०७६’ बाट सम्मानित भइसकेका छन्।