भ्रष्टाचार विरुद्ध ‘झाड कुचो’ कार्यक्रम घोषणा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
63 Shares
काठमाडौं

राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा भ्रष्टाचार विरुद्ध अभियान अन्तर्गत ‘मातृभूमि जागरण’ र ‘झाडु कुचो’ कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। यो कार्यक्रम फागुन १० देखि २५ गतेसम्म राजधानी काठमाडौँ लगायत देशका विभिन्न जिल्लाहरूमा आयोजना गरिने छ।

पार्टीले आज आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गर्दै देशमा बढ्दो भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने र भ्रष्टाचारीहरूलाई चेतावनी दिने उद्देश्य रहेको बताइएको छ। पार्टीका अध्यक्ष रामशरण पाण्डेले देशमा मौलाएको भ्रष्टाचार विरुद्ध पार्टीले ठोस कदम चाल्ने र यसमा सम्पूर्ण देश प्रेमी युवाहरूको सहयोग अपेक्षा गरेको जनाए।

उनले स्थानीय तहमा भ्रष्टाचार बढी रहेको बताउँदै जनतालाई स्थानीय सरकारमाथि निगरानी बढाउन आवश्यक रहेको बताए। पाण्डेले भने, ‘स्थानीय सरकारमा भ्रष्टाचार बढी मात्रामा छ। यसलाई रोक्न जनतालाई अग्रसर हुनुपर्छ।’

यसै कार्यक्रम अन्तर्गत फागुन २१ गते प्रधानमन्त्रीलाई गोरखाकाली रबर उद्योगको स्थलगत प्रतिवेदन हस्तान्तरण गर्ने, मुलुकको सीमा सुरक्षा र शान्ति सुरक्षाको लागि इपिजिलाई तार्किक निष्कर्ष पुर्‍याउने सम्बन्धमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले देशमा बढ्दो ठगी र अनियमितताको लागि सरकार नै जिम्मेवार रहेको बताए। उनीहरूले भारतमा घटेको प्रकृति लम्साल घटनामा न्यायको लागि नेपाल सरकारले पर्याप्त पहल नगरेको भन्दै सरकारको घोर भर्त्सना गरे।

राष्ट्रिय मातृभूमि पार्टीले यो अभियान मार्फत देशभरि भ्रष्टाचार विरुद्ध जनचेतना फैलाउने र यसलाई रोक्न ठोस कदम चाल्ने योजना बनाएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया