तामाङ : सङ्क्षिप्त चिनारी

588 Shares
काठमाडौं

तामाङ राष्ट्रको ऐतिहासिक पक्ष

तामाङलाई जाति या समुदाय भनेका पाइन्छन् । आदिवासी या जनजाति पनि भन्ने गरेका छन् । वास्तवमा तामाङ जाति वा जनजाति भन्दा पनि नेपालको राष्ट्र हो । यसलाई अङ्ग्रेजीमा Nation भन्ने गरिएको छ । नेपालमा अङ्ग्रेजी Nation र नेपाली (संस्कृत) राष्ट्रको अर्थलाई धेरैजसोले गलत अर्थमा बुझेका पाइन्छन् । वास्तवमा आदिवासी र जनजाति शब्दसमेत फरक हुन्छन् । तामाङ आदिवासी हो। ऊ आफैँ एउटा समुदाय पनि हो । त्यसैले सभ्यता पनि हो । आदिवासी र सभ्यता भएकै कारण राष्ट्र (Nation) पनि हो । तामाङ राष्ट्र भएको हुनाले राष्ट्रियता पनि हो । खासगरी Nation ले अवधारणागत तथा सैद्धान्तिक रूपमा हरेक फरक समुदायलाई स्वीकार गर्दछ ।

लेखक अधिकारीले “मर्सियर (१९५६) लाई उदृत गर्दै ‘Nation’ र ‘Ethnic’ शब्दलाई समेत पर्यायवाची अर्थमा प्रयोग गर्न सकिने भनी लेखेका छन् (अधिकारी, २०६९ : ५८-५९) ।” यस्तैगरी फ्रोलोभ, १९८८ ५३६ ले चाहिँ “जनताको ऐतिहासिक रूपदेखि स‌ङ्गठित एक समुदाय जुन जातिबाट उत्पन्न हुन्छ । राष्ट्रको विशेषता सर्वप्रथम जीवनकै एक समान भौतिक अवस्था हो । एउटै भूक्षेत्र, एउटै आर्थिक जीवन, एउटै भाषा तथा राष्ट्रिय (जातीय) स्वभावका कतिपय गुणहरू जुन उनीहरूका संस्कृतिको राष्ट्रिय विशेषतामा प्रकट हुन्छन् ( उही : ५९-६०) भनेका छन् ।” जोसेफ स्टालिनले “राष्ट्र भनेको ऐतिहासिक रूपमा विकसित, स्थितर मानव समुदाय हो; जुन साझा संस्कृतिमा प्रतिबिम्बित हुने साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र साझा मनोवैज्ञानिक संरचनाका आधारमा निर्मित हुन्छ भनेका छन् (उही) ।”

यस्तै किसिमले बेरबेस्किना (१९८५ ८६); अक्सोफोर्ड एडभान्स लर्नर डिक्सनरी ( १९६४); द म्याकमिलन फ्यामिली इन्साइक्लोपेडिया (१९९१), हच्किन्सन र स्मिथ (१९९४ : १५-४६) साथै केल्लास (१९९८ : ३) समेतलाई उदृत गर्दै लेखक परशुराम तामाङले एउटै भाषा, एउटै राजनीतिक आकाङ्क्षा, सांस्कृतिक चरित्र, चेतना र मनोविज्ञान, निश्चित भूखण्ड, एउटै सांस्कृतिक प्रतिबिम्ब, आर्थिक जीवन रहेको कुनै एउटा जाति वा जातीय समुदाय नै राष्ट्र हो भनी उल्लेख गरेका छन् (तामाङ, २०६६ : ५०-५२)। यिनै परिभाषाहरूका आधारमा नेपाली तामाङ समुदायलाई पनि राष्ट्र नै भन्ने गरिएको छ । पछिल्लो समयमा तामाङलाई जातिभन्दा पनि राष्ट्रकै रूपमा चिन्न थालिएको छ । राष्ट्र, Nation, जाति, आदिवासी वा जनजातिमध्ये राष्ट्र वा Nation ले राजनीतिक रूपमा विशेष अर्थ वा क्षमता राख्छन् । कतिपयले तामाङलाई बुझ्नै नबुझिकन जात पनि भनिरहेका हुन्छन् । जात चाहिँ हिन्दूमा प्रचलित ठूलो र सानो गरी विभाजन गर्ने मापक हो; जस्तै ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र ।

तामाङको आफ्‌नै शौन्दर्यशास्त्र पनि रहेको छ । कला पनि आफ्‌नै रहेको छ । विशेषतः लामा, बोम्बो र तम्बासँग सम्बन्धित कलाहरू रहेका छन् । तामाङ बोम्बोको कला अन्य समुदाय वा जातिका भन्दा फरक रहेको छ । तम्बाको डम्फू र टुङ्‌नाले पनि यसको पहिचानलाई बोकेको छ । आदिवासी सञ्ज्ञान, जडिबुटीको पहिचान र प्रयोग, खाँडी र अल्लोको कपडा त्यस्तैगरी नेपाली कागज निर्माण गर्ने सीप र कलाले पनि तामाङलाई चिनाउँदै आएको छ ।

तामाङ राष्ट्र नश्लीय रूपमा मङ्गोल अन्तर्गत पर्दछ । खासगरी अहिले मङ्गोल वा मङ्गोलाइड भन्नु गलत हुने तर्क पनि गरिएका छन् । वास्तवमा तामाङका पुर्खाहरूलाई चीनियाँ पेकिङ मानवसँग जोडेर हेर्नु उचित हुन्छ । पेकिङ मानवको उद्विकासक्रम मानसरोवर वा सङ्पो (छङ्पो) नदीसँग जोडिएको पाउँछौं । यसप्रकार तामाङ सभ्यता वा राष्ट्र भनेको मानसरोवर क्षेत्रमा उत्पत्ति भएको भनी मानिँदै आएको पेकिङ मानवकै एक हाँगो हो । त्यही हाँगोको जनसमूह … नेपाल प्रवेश गरेपछि उनीहरू तामाङ भए (तामाङ, २०५९ : ११) ”

यस्तैगरी तामाङ शब्दले तामाङ राष्ट्र मात्रै नभई उसको भाषा, रिमठिमसहित सभ्यता समेतलाई बुझाउँछ । तामाङ नै हालको नेपाल (काठमाडौं) प्रवेश गरेकाहरू मध्ये सबैभन्दा पहिलो राष्ट्र हो । यसको आफ्‌नै भाषा, धर्म, संस्कृति, साहित्य, सीप, कला, चोहो व्यवस्था, अर्थप्रणाली र गणित छन् । त्यस्तैगरी पहिचानसहितका युक्त मूल्य मान्यता, नीतिनियम, शास्त्र, दर्शन र विश्वदृष्टिकोणहरू रहेका छन् ।

यो राष्ट्रले वर्तमान नेपालको विभिन्न जिल्लाहरूमा रहेका तामाङ गाउँ वा क्षेत्रहरूमा आफ्‌नो कविला राज्य स्थापना गरेका प्रमाणहरू पाइएका छन् । ती राजा र राज्यहरू पछिल्लो समयमा पृथ्वीनारायण शाहको प्रवेशसँगै बिस्तारै समाप्त पारिएका देखिन्छन् । आज तामाङहरू विगतमा गुमाइएका मौलिक पहिचान स्थापना तथा अधिकार प्राप्तिको आन्दोलनमा क्रियाशील रहेको देखिन्छ । कुनै दिन राज्यले मुलुकी ऐनमै मासिन्या मतवालीको दर्जा दिएर राखेको थियो तर आज नयाँ परिवेशसँग पुनःस्थापनाको क्रममा जुटेको छ । यिनका पुराना पैतृकभूमि अर्थात् बप्सहरू शाहवंशले खोसेका थिए । त्यहीक्रमसँगै शोषण र उत्पीडनमा पनि पार्दै आएको छ ।

तामाङ राष्ट्रको चिनारी

सर्वप्रथमतः तामाङ राष्ट्र (समुदाय) को बारेमा थोरै जानकारी गराउन उचित ठानेको छु । यससम्बन्धमा भेटिएका केही तथ्यहरूलाई यहाँ प्रस्तुत् गरिएको छ । नेपालका आदिवासी जातिहरूमध्ये तामाङ सबैभन्दा पुरानो आदिवासी राष्ट्र हो । पेकिङ मानवको एक हाँगोको रूपमा स्थापित तामाङको आगमन तिब्बततिरबाटै भएको भन्नेमा विवाद छैन । खासगरी काठमाडौं उपत्यकावरीपरी अवस्थित नौवटा जिल्लाहरू (रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली र मकवानपुर) लाई तामाङले ऐतिहासिक कालखण्डदेखि नै जनसङ्ख्या तथा आवादीको हिसाबले आफ्‌नो पैतृकभूमिको रूपमा स्थापित गर्दै आएको छ । यसको अर्थ तामाङहरू माथि उल्लेखित जिल्लाहरू बाहेक अन्य क्षेत्रहरूमा नभएका भन्ने होइन । नेपाल देशमा मात्रै नभई दाजीलिङ र सिक्किमलगायत भारतको विभिन्न भागहरू साथै भुटान र बर्मासम्म तामाङका सन्तानहरू छरिएका छन् ।

तामाङको आफ्‌नै हुइ (थर भनी उल्था गर्ने गरिएको; थर भनी बुझ्ने गरिएको) प्रणाली रहेको छ । यो राष्ट्र विशेषतः हुइ (हाड) र ठा (रगत) को अवधारणामा आधारित रहेको छ । अहिलेसम्म करीब दुई सयको हाराहारीमा तामाङ हुइहरू पाइएका छन् । ती हुइहरूमा सहक्हुइ (ङडारू/डारूइ) अर्थात् स्वाँगेभाइ र कुटुम्ब गरी भागमा विभाजन गरिएका छन् । कुटुम्ब हुइकै बीचमा पनि मितेरी वा आमा वा हजुरआमाको कारण दाजुभाइ वा सो सरहको साइनो बनेका हुन्छन् । तामाङ सभ्यताले जन्मदेखि मृत्युसम्मका लागि आफ्‌नै धार्मिक मान्यता र विश्वासमा आधारित रिमठिमको विकास गरिएको देखिन्छ । तामाङ राष्ट्रसँग शारीरिक बनावट, रूप, रङ, हाउभाउ र बोलीचालीको आधारमा छुट्याउन सकिने गुण कायम रहेको भन्दा फरक पर्दैन । यसको आफ्‌नो विधिशास्त्र, मूल्य, मान्यता, दर्शन, रिमठिम, भाषा, ऐतिहासिक पैतृकभूमि साथै अन्यदेखि अलग भन्ने दाबी रहँदै आएको छ । यही आधारमा पनि यसलाई राष्ट्रको रूपमा चिन्ने गरिएको छ ।

तामाङ शब्दोत्पति

तामाङ नाम रहनुको कारण सम्बन्धमा थुप्रै तर्कहरू गरिएका पाइन्छन् । भाषावैज्ञानिक रूपमा चाहिँ ‘तामाङ’ शब्दको अर्थ “भाषा बोल्ने” वा “कुरा गर्न जान्ने (ताम्- “कुरा/भाषा” र पाङ्- “बोल्ने”) अर्थात् “भाषा/कुरा गर्न सिपालु” भन्ने हुन्छ । यसप्रकार आफ्‌ना इतिहासको कुराहरूका बारेमा राम्रोसित बताउन सक्ने ज्ञान भएका “ताम्बा (तामाङ इतिहासविद्) को अनुयायीलाई “तामाङ” भनिएको हुन सक्तछ (योन्जन तामाङ, २०६३ : १६०- १६१)। एकथरी मत अनुसार पेकिङ मानवको एक हाँगोले हालको नेपालतिर प्रवेश गर्नेक्रममा हुइ निर्माण गरेका थिए । हुइसँगै हुइगी फो’लको अवधारणा तथा पूजा विधि पनि बनेको देखिन्छ । हुइको आधारमा विवाह साथै समाज निर्माण भएको र हालसम्म तम्बाले हुइ र हुइगी फोल साथै रिमठिमलाई छोडेको छैन ।

एउटा दाबी अनुसार तिब्बतको तीनवटा प्रान्तहरू ङरी, माङ तथा खाम प्रान्त ( ह्युल) मध्ये बीचको माङयुलबाट घोडा पाल्नेहरूका जमातको रूपमा क्रमशः नेपाल प्रवेश गरेका घोडापालकहरू नै पछिल्ला समयमा ‘तामाङ’ भएका हुन् (तामाङ, २०५९ : १३) । अर्को एकथरी दाबी अनुसार स्रङचङ गम्पोको घोडचढी सेना अर्थात् तमकहरू हिन्दूस्तानसँग लड्नको लागि नेपाल हुँदै आएका थिए । युद्धपछि पनि केही तमकहरू यतै बसे र पछि तामाङ भए तर यो दाबीलाई लेखक सन्तवीर लामाले पनि अस्वीकार गरेका छन् (लामा, २०६४ : ४) । त्यो समयमा तिब्बतबाट हिमाल नाघेर यता मान्छे मात्रै आउन जान समेत अति गाह्रो थियो । त्यतिखेर स्रङचङ गम्पोका घोडचढी सेनाले घोडा वा रिसल्ला लिएर नेपाल आउन सक्ने बाटो नै थिएन । त्यस्तैगरी आजभन्दा ३२ हजार वर्षअघि नै तामाङका पुर्खाहरू हालको काठमाडौं तथा उनीहरूले ताम्सालिङको रूपमा दाबी गरेको भूक्षेत्रमा आइसकेका थिए । यो दाबीलाई प्रागऐतिहासिक प्रमाणले पनि यो सिद्ध गरिसकेकोले तमकबाट तामाङ भएको भन्ने मत पूर्णतः गलत सावित हुन्छ ।

लेखक मोक्तान भाइको अनुसार भारतको अरूणाचल प्रदेशमा तवाङ भन्ने स्थान रहेको छ । सोही तवाङबाट तामाङ भएको हुन सक्छ (मोक्तान, २०४० : १९)। यहाँ उल्लेख गरिएको तवाङबारे गुगलअर्थमा खोज्दाखेरि भेटिएको छ । यसलाई मोन्पा समुदायले आवादीयोग्य बनाएका थिए । तवाङ शब्द “त” र “वाङ” गरी दुई शब्दबाट बनेको हो । “त”ले घोडालाई जनाउँदछ भने “वाङ”ले छानिएको वा छनौट गरिएको भन्ने हुन्छ । यसप्रकार घोडाद्वारा छनौट गरिएकोले यो स्थानको नाम “तवाङ” रहेको हो (Tawang, https://en.wikipedia.org/wiki/Tawang) । नेपाली तामाङले आफूहरू यहाँ उल्लेखित तवाङबाट आएको भन्दैनन् । उनीहरू हालको तिब्बत आवाद हुनुअघि नै वा शुरूवातमा नै यतातिर आएको दाबी गर्दछन् । हुन त “तवाङ” र “तामाङ” उच्चारण निकै नजिकका सुनिन्छन् । यस्तैगरी तवाङमा मोन्पा नामक समुदाय हुनु; तामाङलाई पनि सेनमोन वा सँ, मोन भनिनु साथै घोडाको प्रसङ्ग जोडिनु (घोडाचढी; घोडा व्यापारी; घोडापालक) ले केही सम्बन्ध छ कि भन्ने लाग्नु स्वाभाविक हो ।

अरूणाचलकै तवाङ नजिकै नागाल्याण्ड, मणिपुर साथै मिजोरम लगायतका क्षेत्रहरू रहेका छन् । नागाल्याण्डका बासिन्दालाई नागा भनिन्छन् । नागा र तामाङका बीचमा सबैभन्दा धेरै डिएनए मिलेको भन्ने एकथरी दाबी पनि रहेको देखिन्छ । यो दाबीले पनि थप जिज्ञासा र चासो बढाएको छ तर यस सम्बन्धमा वैज्ञानिक तथा आधिकारिक अध्ययन तथा प्रकाशन हुन सकेको छैन । यद्यपि तामाङ, भुटानी साथै नागा लगायतका हिमाली समुदायहरूका मूल चाहिँ आदिम तिब्बत नै भएकोमा श‌ङ्का छैन तर तामाङ शब्द उल्लेख भएको आजसम्म भेटिएको सबैभन्दा पुरानो अभिलेख चाहिँ पूर्वस्थित भुटान, तवाङ वा नागाल्याण्डमा नभई नेपालकै राजधानीदेखि पश्चिमोत्तर मुस्ताङस्थित मुक्तिनाथमा हो । यसले पनि तामाङ, तवाङ र नागाको सम्बन्धलाई थप श‌ङ्कास्पद बनाएको छ । मुक्तिनाथक्षेत्रमा भेटिएको अभिलेखको प्रसङ्ग यसपछि जोडिएको छ ।

तामाङलाई बुझाउने क्रममा नै “तामाङ मिथकअनुसार यो जातिको प्रथम जननी गाई हो; जसको कोखबाट सँगु, लङ्गु र तेल्गु नाम गरेका तीन छोरा जन्मिए । तेल्गुलाई तामाङ जातिको पुर्खा मानिन्छ (हागन, २०६१ ४९) भनिएको पाइन्छ । यहाँ उल्लेखित गाईले कामधेनु गाईलाई जनाउँदछ तर वास्तविकता चाहिँ भारतमा बौद्धमतको व्यापकतासँगै हिन्दूहरूद्वारा बलि तथा मासुको लागि गरिने पशु हत्याको विरोध हुन थालेको थियो । त्यही विरोध थाम्न नसकेपछि हिन्दूहरूले कम्तिमा पनि गाईगोरूका बध गर्न छोड्नुपरेको थियो । सोहीक्रममा कामधेनु गाईको नयाँ कहानी बुनेर जन-जनसम्म पण्डितहरूमार्फत पुऱ्याएका साथै अन्ततः गौबध रोक्न सफल भएका थिए । यो प्रसङ्ग छैटौं शताब्दीको हो (क्षेत्री, १९९१ : २) । त्यसैले तामाङको जननी कामधेनु गाई भन्नु हिन्दूले पछि थपेर ल्याएका प्रसङ्गमा अल्मलिएपछिको गलत दाबी भन्ने हुन्छ ।

यस्तैगरी तामाङलाई चिनाउने क्रममा नै वागमती अञ्चलभित्रको काठमाडौं उपत्यका सेरोफेरोमा रहेका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका पहाडी पाखामा करिब सात हजार फीटसम्मका उचाइमा बसोबास गर्दै आएका तामाङ वा मुर्मी भनिने जातिका मानिसहरू भोट-बर्मेली मूलका नेपालको प्राचिनतम्  आदिवासी मध्येका हुन् । उहिले यिनीहरू घोडाका व्यापारी वा मालिक भएकाले यिनीहरूका जातीय नाम “तामाङ” हुन गएको हो भन्ने विश्वास गरिन्छ । “तमाङ र मुमी विशेषतः नेपालको उत्तरी भेगमा पाइन्छन् । यस जातिको आफ्‌नो प्राचीन गाथा अनुसार हिन्दूहरूका तीन देवहरू मध्ये एक महादेवका सन्तान ठान्ने यिनीहरू नेपालका अधिकांश पहाडी आदिवासी झै भोटतिरबाटै आएका हुन् । यो जाति मुख्यतः दुई ठूला विभागमा बाँडिएको छ- अठार जात र वडा तमाङ विशुद्ध लामा हुन् र यी आफूलाई सोझै महेश्वरदेखि उत्पन्न भएको देखाइ अट्ठार जात तमाङदेखि श्रेष्ठ भन्छन् (शर्मा, २०३३ ३६) भनिएको पाइन्छ l”

यसप्रकार तामाङ राष्ट्रलाई तामाङको साथै अन्य नामहरूबाट पनि चिन्ने चिनाइने गरेका छन् । तामाङका आफ्‌नै मौलिक धर्मको रूपमा बोनलाई लिइन्छ । बोन शेरबमा किरल्पा (किरल्पागोम्बो) शब्दको प्रयोग भएको पाइन्छ । त्यसको अर्थ ‘शिकारी’ भन्ने अर्थ हुन्छ (लबोन तुलाबहादुर गोले) । बरू पछिल्लो समयमा त्यही किरल्पाबाटै किरात भएको हुनुपर्दछ । यसले तामाङ पनि किरात भएको पुष्टि गर्दछ । प्रायः लेखक तथा अनुसन्धाताहरूद्वारा स्वीकार गरिएका मत अनुसार ‘तामाङ’ राष्ट्र (समुदाय) लाई विगतमा “मुर्मी” पनि भन्ने गरेका थिए । ‘मुर्मी’ शब्दलाई अर्थ्याउने क्रममा “मु” अर्थात् “सीमाना” र “मी” अर्थात् “मान्छे” भन्नाले “सीमानामा बसेका मान्छे हुन्छ । कतिपयका अनुसार “मु”को अर्थ “आकाश” र “मी”को अर्थ “मान्छे” हुन्छ । यसप्रकार उच्च पहाडी भेग वा क्षेत्रको बासिन्दा भन्ने हुन्छ (तामाङ, २०७५ : ४५)। कतिपयले “मुर्मी” शब्द तामाङ सामाजमा रहने एक पद “मुल्मी” (सदस्य) बाट अपभ्रंश भएर बनेको दाबी गर्दछन् ।

“सुरेन्द्र वीरविक्रम शाह र जङ्गबहादुरद्वारा जारी गरिएको वि. सं. १९१० को मुलुकी ऐनमा मुमी भोटे शब्दावलीद्वारा सम्बोधन गरिएको तामाङ जातिलाई सन् १९६३ भन्दा अघि अर्थात् वि.सं. २०२० सालको नयाँ मुलुकी ऐन आउनुअघिका सरकारी कागजातहरूमा भोटे, मुर्मी, तामाङ, मुल्मी, सेनमोन, बोन्पा, रोङ्बा, कागते, सैं, ल्होबा, एशाङ, काठ, भोटिया, लामा, घले, शेर्पा, लामा र जाड भनी सम्बोधन गरिएका पाइन्छन् (तामाङ, २०५१ : ४४; तामाङ, २०५९ : १०) ।” यसरी तामाङलाई विभिन्न नामद्वारा चिनाइएका भए तापनि तामाङ शब्दोत्पत्ति सम्बन्धमा सर्वमान्य मत भेटिएको छैन तर तामाङ लेखक एवम् अनुसन्धाताहरूले तामाङ शब्दको प्रयोग १३ औं शताब्दीको एक अभिलेख नै प्राप्त गरेका छन् ।

खासगरी १३ औं शताब्दीमा छेवाङ नोर्बुले (सन् १६८८-१७५५) “ङारी गुड्थाङ” राजवंशको वंशावली तयार गर्ने क्रममा सो वंशका राजा बुम-दे-गोनले (सन् १२२५-१२८०) निर्माण गरेको किल्लाहरूका अभिलेख सलन गर्ने क्रममा एक अभिलेख प्राप्त भएको कुरा म्याकडोनाल्ड (१९७६) ले डेभिड जी, ज्याक्सन (१९७६) लाई उदृत गर्दै लेखेको बताउँछन् । जसमा तल्लो राज्य (मुस्ताङ) का तामाङ जातिलाई दबाउनको लागि गुङथाङ (तिब्बती) का राजा बुमदे गोन (बुमलदे मङ्गोल) ले मुक्तिनाथमा स्राइन किल्लाको निमार्ण गरेका थिए भनी उल्लेख गरिएको छ । उक्त किल्लामा लेखिएको शब्दावलीको अङ्ग्रेजी स्वरूप यसप्रकार रहेको देखिन्छ; जस्तैः- Ta- mang semon kha gnon-dul/glo-smad mu-khun srin- rdzong brtsegs/Dol-po mon-gyi kha gnon-dul/dol-po yi-ge drug-ma brtsegs/ (KAILASH vol.15.num3), (तामाङ, २०६४ : १०) । यसको अर्थ In order to suppress the Se-mon Tamang, in lower Glo, he built the Srin fort at Muktinath हुन्छ । यसप्रकार तामाङ शब्दलाई “जातिनामको अर्थमा प्रयोग गरिएको यो नै पहिलो अभिलेख हो भन्ने गरिएको छ (तामाङ, २०७५ : ४५; योन्जन तामाङ, २०६३ : १६१) ”

यसबाट ‘तामाङ’ जातिनाम राणकालदेखि नभई धेरैअघि अर्थात् १३ औं शताब्दीदेखि नै प्रचलनमा रहेको पुष्टि हुन्छ । इतिहासलाई खोतलेर हेर्ने हो भने, नेपाली राज्यसत्ताले यो समुदायलाई तामाङ लेख्न लेखाउन गरिएको निवेदनलाई सम्बोधन गरेको देखिन्छ । यसक्रममा भीमशमशेरले जङ्गी “निजामती, सरकारी अड्डाखाना, पल्टनका कागज र व्यवहारमा समेत लेखापढी गर्दा तामाङ भनेर लेख्नु भनी सन् १९६२ अगष्ट वि. सं. १९८९ भाद्र ६ मा एक इस्तिहार जारी गराएको देखिन्छ । यसको मिति सम्बन्धमा पनि अन्यौलता हटिसकेको छैन । उक्त इस्तिहारलाई सोही सालको साउन ११ गते गोरखापत्रमा प्रकाशित गरेको देखिन्छ तर इस्तिहारमा भने भदौ ६ गते भनी हातले पछि थपेको देख्न सकिन्छ । तात्कालिक अभ्यासअनुसार गोरखापत्रमा प्रकाशित भएकै दिनदेखि मान्यता प्राप्त हुन्थ्यो । यसअर्थमा भदौ ६ नभई करिब एक महिनाअघि अर्थात् साउन ११ गते नै प्रकाशित भएको देखिएको छ (लेखक रवीन्द्र तामाङ) ।

‘तामाङ’ नाम सम्बन्धमा उल्लेखित मत तथा दाबीहरूलाई पर्गेलिसकेपछि थप प्रसङ्ग जोड्नु राम्रो हुनेछ । यसै शिलशिलामा तामाङ समाजको सम्पूर्ण इतिहासको विज्ञको रूपमा तम्बालाई मानिन्छ । त्यही ‘तम्बा’को अनुयायी भएकाले ‘तम्बा’ बाटै ‘तामाङ’ हुनु खासै असम्भव देखिँदैन । यहिनेर तामाङ भएपछि तम्बा भएको वा तम्बाबाट तामाङ भएको भन्ने सम्बन्धम छलफल गर्दा तामाङ समुदायको सबैतिर तम्बा पाइएको छैन । त्यसैले तामाङभित्र पछिल्लो समयमा विशेषतः शैलुङमा पुगेपछि डम्फू र तम्बाको उदय भएको भन्ने दाबी बढी प्रचलित देखिन्छ । यसरी हेर्ने हो भने तम्बाबाट तामाङ भएको भन्ने दाबी पनि निर्विवाद पुष्टि हुँदैन ।

यसप्रकार अध्ययनको क्रममा ‘तामाङ’को सर्वमान्य अर्थ वा विश्लेषण प्राप्त गर्न सकिएको छैन । त्यसैले, पेकिङ मानवको एक हाँगोको रूपमा तामाङ भाषा, संस्कार, संस्कृति साथै नेपालको सूचिकृत आदिवासी मध्येको पहिलो चाहिँ तामाङ हो भन्न सकिन्छ । यो राष्ट्रको आफ्‌नै भूमि, इतिहास, भाषा, नश्ल, संस्कृति रहेको छ । यसको अतिरिक्त खोजराज गोलेको अनुसार चोहो प्रणाली, बोम्बो, तम्बा र लामाद्वारा संस्कार संस्कृतिलाई पूर्णता दिँदै आएको हुइमा पनि हाड, स्वाँगे (सहथर) र कुटुम्ब मानिन्छन् । यस्तैगरी हुइ र ठा (रगत) को आधारमा सामाजिक व्यवस्था स्थापित भएको; हुइगी फोल मान्ने साथै तामाङ ठिगरमा आधारित चोहोद्वारा गाउँ सञ्चालन गरिँदै आएको ताम्सालिङको पहिलो आवाद बासिन्दा नै तामाङ हो । तामाङ शब्दले एक विशेष समुदायलाई मात्रै नभई यसको भाषालाई पनि जनाउँछ ।

तामाङको ऐतिहासिक भूमि

तामाङ ऐतिहासिक भूमिको प्रसङ्ग उप्काउनुअघि यो राष्ट्रले भूमिलाई कसरी बुझेको भनी चर्चा गर्न जरूरी हुन्छ । नेपाली लगायत कैयन्ले अहिले मातृभूमि वा मदरअर्थ भन्ने गरेका छन् तर तामाङ मौलिक मान्यताअनुसार पितृभूमि हुन्छ । यसैले उनीहरू ‘फह्युल’ वा ‘फह्युल्स’ भन्दछन् । ‘फह्युल’ शब्दले आवाद वा बस्तीलाई बुझाउँदछ । त्यसैगरी जमीन वा पृथ्वीतलमा रहेको धरातल वा माटोलाई भने ‘सप्चीलमो’ अर्थात् देवी मान्दछन् । ताम्सालिङले चाहिँ ‘सप्चीलमो’सहितको ‘फह्युल’लाई बुझाउँदछ । यी दुई भूमिहरू भौतिकता तथा भौगोलिकतामा आधारित मान्यता हुन् । फह्युलभित्रै पनि खिम्स, नम्स, ह्युल्स, दुर्स साथै ह्ह्ह्वरी, म्राङ, बु, हि र स्योङ हुन्छन् । यी सबैका आधार चाहिँ सप्चीलमो हुन्छिन् ।

यस्तैगरी अभौतिक भूमिका वा काल्पनिक विभाजनसहित अनेक भूमिहरूका पनि मान्यता निर्माण गरिएका देखिन्छन् । यसक्रममा मुख्यतः खोर्वैलिड (भवचक्र) र थर्पेलिङ(निर्वाणलोक) हुन्छन् । स्वर्ग, असुर र मानव जस्ता सुगति साथै पशु, प्रेत र नरक लगायतका दुर्गति सहितका छ लोकहरूलाई खोवैलिङ मान्दछन् । थपेलिङभित्र पनि अनेक लोकहरू हुन्छन् । यस्तैगरी लोक तथा परलोकका पनि प्रसङ्ग जोड्दछन् । लह्युल, स‌ङ्गेह्युल, रिग्जेनह्युल, चनह्युल, म्हिह्युल, लुह्युल, मं’ङ/सिण्डेयुल सहितका चराचर जगत्सँग तामाङले आफ्‌नै किसिमबाट सम्बन्ध स्थापित गरिरहेका हुन्छन् ।

यस्तैगरी तामाङको आवाद तथा राजनीतिक भूमि प्रसङ्गमा नै लेखक परशुराम तामाङ लेख्छन्, “साङ्पो नदी दक्षिण खासगरी केरूङ-कुतीदेखि महाभारत पहाडसम्मको भूभाग आदिकालदेखि तामाङ जातिका मूलथलो हुन्, यसलाई तिब्बती भाषामा माड्युल, भारतीय भाषा मिश्रित नेवाबोलीमा सेषान्त र तामाङ भाषामा ताम्सालिङ (तामाङ भू-क्षेत्र) भनिन्छ (तामाङ, २०६३ १) ।” लेखक तामाङले वंशीटार्ट, १९०९, करण, १९६० : ६६, तामाङ, १९९१, तामाङ सं २०५१ लाई उदृत गर्दै “काठमाडौं उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछि प्रवेश गरेका समुदायहरूसँग पराजित भएपछि तामाङहरू काठमाडौं उपत्यकाको कॉठ र वरिपरिको पर्वतीयक्षेत्रमा बसोबास गर्न थालेका हुन् (उही) भनी लेखेका छन् ।

यो भूमिमा तामाङको प्रवेशसम्बन्धी जनकलाल शर्माले रूसी प्रागइतिहासविद् एनातोली शेटेन्कोलाई उदृत गर्दै उल्लेख गरेका छन् । उनको अनुसार तामाङको पुर्खाहरू आजभन्दा ३२ हजार वर्षअघि नै काठमाडौं उपत्यकामा आइसकेका थिए (शर्मा, २०५८ : ३१९) ।

तामाङ नेपाल उपत्यकाको पहिलो आदिवासी रहेको दाबी माथि नै उल्लेख गरिएको छ । यो समुदाय वा जाति मात्रै नभएर मौलिक पहिचान सहितको सि‌ङ्गो सभ्यता पनि हो । यसको ऐतिहासिक पक्षको बारेमा खासै लिखित इतिहास पाइएका छैनन् । मौलिक शेरब वा मिथहरू भने प्रशस्त पाइन्छन् । ती मिथ साथै यिनको संस्कार संस्कृतिहरूले अति पुरानो सभ्यता भन्ने इङ्कित गरिरहेको छ । “ती मिथ तथा दो शेरब (ऐतिहासिक वृतान्त) मा त्रिदेवको उत्पत्तिदेखि लिएर घाम, जुन तथा पृथ्वी उत्पत्तिका कथाहरू सविस्तार चर्चा पाइन्छन् । कसरी, कहिले, कसले, किन र केका लागि सिर्जना गरेका थिए भन्ने प्रश्नका उत्तर पनि भेटिन्छन् । सबै उत्पत्ति वा निर्माण वा सिर्जना सम्बन्धी ती कथाहरू वैज्ञानिक साथै व्यवस्थित रहेका छन् । तर्क र तथ्यपूर्ण पनि देखिन्छन् । यसर्थ तामाङ  सभ्यतालाई ३० देखि ४० हजार वर्ष पुरानो इतिहाससँग जोडिएको पाउँछौं (खोजराज गोले) ।” यो समुदायको काठमाडौं वरिपरिको क्षेत्रमा आजभन्दा ३२ हजार वर्षअघि नै भएको भन्ने प्रागऐतिहासिक प्रमाणहरूबाट पुष्टि भइसकेको छ ।

विशेषतः तिब्बतबाट हालको नेपाली भूमिमा सबैभन्दा पहिले आइपुगेको तामाङहरूमा पछि बौद्धधर्मको लामावादले प्रवेश गरेको देखिन्छ । त्यसपछि धेरैले तिब्बत तथा चीनका महत्त्वपूर्ण स्थान वा गुम्बाहरूसँग आफूहरूलाई जोड्ने प्रयास गरेका देखिन्छन् । त्यस्ता कार्य खासै विवेकशील मान्न सकिँदैन । यद्यपि पूरै नकार्न सकिने अवस्था पनि छैन किनकि तामाङमा पछिल्लो समयमा आएकाहरू पनि थुप्रै मिसिएका हुन सक्छन् । त्यसैले कति तामाङ हुइका उत्पत्ति थलोको चर्चा गर्ने क्रममा तिब्बतसम्म पुगेको देख्न सकिन्छ (तामाङ, २०७२) ।

यसै सन्दर्भमा खोजराज गोले दाबी गर्छन्, हाल तामाङले दाबी गर्दै आएका नौ जिल्लाहरूलाई विशेष सामरिक महत्त्वको क्षेत्र मान्न सकिन्छ । यहीँ नै उनीहरूले आफ्‌नो भाषा, धर्म, संस्कृति, साहित्य, कला, शास्त्रहरू, राज्य साथै बप्स (1) (पुख्र्यौली भूमि) निर्माण गरेको स्पष्ट हुन्छ । बप्सलाई नै कतिपयले किपट भनी दाबी गर्दछन् । खासगरी किपट चाहिँ राज्यसत्ता निर्माण गरिएपछि राजाहरूले क्रितपत्रमा लेखेर दिएको भन्ने देखिन्छ । तामाङको बप्स कसैले क्रितपत्रमा लेखेर दिएपछि प्राप्त भएको होइन । त्यसैले बप्स, केस वा ठुड्सलाई किपट भन्नु अक्षम्य भूल हुने गोलेको दाबी रहेको छ ।

तामाङको आफ्‌नो ताम्सालिङ भन्नाले आफ्‌नै भूगोल, बेग्लै भाषा, संस्कार, संस्कृति, लोकवार्ता र मान्यताहरूका विकसित साथै निरन्तर आवादी रहँदै आएको छ यिनीहरूले पछिल्लो समयमा बोम्बो र लामालाई मिलाएर तामाङ बौद्धधर्मको विकास गरेको पनि देख्न सकिन्छ । नेपालभरि मात्रै नभएर अहिले भारत, भूटान र बर्मालाई समेत यो राष्ट्रले आफ्नो भूमिको रूपमा स्थापित गरेको देख्न सकिन्छ । आधुनिक जमानासँगै विश्वव्यापीकरणमा प्रवेश गरेको यो राष्ट्रले अहिले संसारका प्रायः स्थानमा कुनै न कुनै रूपमा आफ्‌नो उपस्थिति जनाइरहेको देखिन्छ । यति हुँदा हुँदै पनि यसको लिखित इतिहासको पाटो भने निकै कमजोर रहेको छ । यद्यपि लुकाइएका वा हराइएका साथै अनेकन् व्यहोरावश लेख्न नसकिएका वा लेख्न बाँकी इतिहासलाई खोज्ने तौरतरिकाको विकास गर्न सक्नुपर्दछ । जनशक्ति र स्रोतको व्यवस्था मिलाउन सफल भएमा समृद्ध इतिहास लेख्न सक्ने लोकोत्तर लोकवादी विचार समूहले दाबी गर्दै आएको देखिन्छ ।

तामाङ भाषा, साहित्य र कला

तामाङ राष्ट्रको आफ्‌नै भाषा रहेको छ । यो भाषाको माउको रूपमा कतिले तिब्बती सम्भोटा लिपिमा लेखिएका छ्योइमा प्रयुक्त भाषालाई मान्दछन् । ऐतिहासिक प्रमाणहरूका आधारमा भन्ने हो भने तामाङमा बोन धर्म संस्कृति पनि रहेको छ । त्यही बोनधर्मका पनि लबोन अथवा लप्तबाहरूले प्रयोग गर्ने भाषा नै माउभाषाको रूपमा लिनुपर्ने देखिन्छ । कतिपयले यो भाषालाई खन्दोके, पाल्चोके, तिमाले, माबर वा यम्बुलिङको गरी चिन्ने चिनाउने गर्दछन् । व्यवहारिक रूपमा त्रिशुलीपारि, काठमाडौं वरिपरि, तिमालक्षेत्र र शैलुङ क्षेत्रका गरी भेदहरू पाइन्छन् ।

तामाङभाषा तानीया वा टोनल (Tonal) अर्थात् टोन (तान प्रधान भाषा हो भन्नेमा विज्ञहरू सहमत देखिन्छन् । यसको टोन चिन्न र टोन मिलाएर उच्चारण गर्न नसकिएको खण्डमा अर्थान्तरण हुन्छ । खोजराज गोले भन्छन्, त्यसैले तामाङभाषालाई अक्षरमा उतार्ने क्रममा थप टोनसूचक चिह्नको आवश्यकता रहेको छ । तामाङ टोन कतिवटा छन् र कसरी लेख्ने भन्ने बारेमा उचित निर्णयसहितको अभ्यास अभावले गर्दा लेखनमा समस्या उब्जिएको छ । यसले गर्दाखेरि विस्तारै वक्ताका जिब्रोबाट पनि टोन नै बिग्रिने वा हराउने समस्या देखिन थालेको छ । यस्तो हुनुभनेको भाषाको जीवनमाथि खतरा बढ्नु हो ।

तामाङभाषामा सामान्य बोलीचाली, सम्मानपूर्ण, छ्योइ वा पूजादिमा प्रयोग गरिने गरी भाषिक विविधता कायम रहेको छ । आफ्नै मूल्य, मान्यता, दर्शन र विश्वदृष्टिकोण रहेको दाबी माथि नै गरिसकेको छ । विभिन्न शेरब र फरब लगायतका कथा, किंवदन्ती साथै मिथ समेत रहेका छन् । यसैले आफ्नै मौलिक साहित्य पनि रहेको भन्ने स्पष्ट हुन्छ । तामाङ साहित्यको शुरूवात ‘स्यबुइबुबुइ पिन्बा’बाट भएको भन्ने खोजराज गोलेको दाबी रहेको छ । उनी भन्छन्, “स्यनी लेन्बसे स्यनिन् लेन्को ! बुनी लेन्बसे बुनिन् लेन्को…” नै यस राष्ट्रको पुर्खाद्वारा पहिलो पटक स्थापित गराएको साहित्य हो । यो बोनसँग सम्बन्धित रहेको छ ।

एक समय प्रत्येक शनिबार काठमाडौं र भक्तपुरमा तामाङ साहित्यिक कार्यक्रमहरू हुन्थे । त्यतिखेर प्रशस्त साहित्यिक ग्रन्थका प्रकाशन पनि हुन्थे । यस्तैमा सोमसोर साहित्यिक आन्दोलनदेखि सत्तरीको दशकबाट लोकोत्तर लोकवादी विचार समूह जस्तो आदिवासीवादमा आधारित साहित्यिक आन्दोलन समेत देखिएका थिए । अहिले पोखरामा लोकोत्तर लोकवादी विचार अभियानले निरन्तर कार्यक्रम गर्दै आएको देखिन्छ ।

तामाङको आफ्‌नै शौन्दर्यशास्त्र पनि रहेको छ । कला पनि आफ्‌नै रहेको छ । विशेषतः लामा, बोम्बो र तम्बासँग सम्बन्धित कलाहरू रहेका छन् । तामाङ बोम्बोको कला अन्य समुदाय वा जातिका भन्दा फरक रहेको छ । तम्बाको डम्फू र टुङ्‌नाले पनि यसको पहिचानलाई बोकेको छ । आदिवासी सञ्ज्ञान, जडिबुटीको पहिचान र प्रयोग, खाँडी र अल्लोको कपडा त्यस्तैगरी नेपाली कागज निर्माण गर्ने सीप र कलाले पनि तामाङलाई चिनाउँदै आएको छ । अहिले धेरैले था‌ङ्का र फर्निचरमा पनि राम्रो उपस्थिति जनाइरहेका छन् । तथापि तामाङ था‌ङ्का र फर्निचर भन्न सकिरहेका छैनन् । काम तामाङले गर्छन् र बेच्ने बेलामा चाहिँ टिब्बटियन भनेर चिनाउँछन् । यस सम्बन्धमा केही आवाज नउठेका होइन तथापि स्पष्टसँग दाबी गर्न र स्थापित गराउन सकिरहेका छैनन् ।

यी सबैका कारण चाहिँ विज्ञानले लिएको उत्कर्षता, वैदेशिक सम्बन्ध, अरूका प्रति बढेको आशक्ति र आफ्‌नोप्रति बढेको घृणा साथै अन्यप्रतिको अन्धविश्वास पनि हो । फलस्वरूप तामाङ सीपदिवस र ज्ञानदिवसले तामाङकै स्मृतिको घेरालाई नाघ्न पुगेको देखिन्छ । आफ्नै चाडपर्वका प्रसङ्ग उप्काउनेलाई गाली गर्ने र ढुङ्गेयुगमा फर्काउने भन्दै गाली बसाउन छोडेका छैनन् । अन्यका चाडपर्वमा रमाउँदै आफूलाई उच्च घरानीय सावित गराउन खोज्ने सोचकै कारण यस्तो भएको हुनुपर्दछ । यस्ता समस्याका बीचमा पनि तामाङभाषा, साहित्य र कलाले आफूलाई बचाउन लागिपरिरहेको देखिन्छ ।

(गोले South China Normal University, Gaungzhouबाट विद्यावारिधि गर्दैछन्। )

सन्दर्भ सामग्रीहरू :

  • अधिकारी, रघुनाथ “निलमशेखर”, मानव र जाति अतिवाद र सहअस्तित्व, (काठमाडौं : श्रीमती निर्मला शर्मा), २०६९ ।
  • तामाङ, परशुराम, नयाँ संविधान र अल्पसङ्ख्यक आदिवासी जनजाति, (काठमाडौं : विविध पुस्तक भण्डार), २०६६ ।
  • तामाङ, रूद्रसिंह, तामाङ संस्कार र संस्कृति, (काठमाडौं: तामाङ समाज अनुसन्धान तथा विकास केन्द्र), २०६० ।
  • तामाङ, रूद्रसिंह, तामाङ जातिमा बौद्ध धर्म, (काठमाडौं: तामाङ समाज अनुसन्धान तथा विकास केन्द्र), २०५९ ।
  • तामाङ, परशुराम, तामाङ जाति, दोस्रो (काठमाडौं : शैलुङ बुक्स प्रा.लि.), २०७५ ।
  • योन्जन तामाङ, अमृत, तामाङ पहिचानका सन्दर्भहरू (तामाङ भाषा, साहित्य र संस्कृतिसम्बन्धी अनुसन्धानमूलक लेख) (काठमाडौं: डी.आर. पब्लिक हाउजिङ, २०६३ ।
  • हागन, टोनी, नेपालको चिनारी (पुनर्मुद्रण) ललितपुर हिमाल किताब, पाटनढोका ललितपुर, नेपाल, २०६१ ।
  • क्षेत्र, गणेश, “हिन्दू धर्मशास्त्रमा गोहत्या र गोमांसहारको परम्परा”, कइरन मासिक, १९९१
  • लामा, सन्तवीर पाख्रीन, तम्बा कइतेन व्हाई रिमठिम, सोह्रौं (काठमाडौं : रत्न पुस्तक भण्डार), २०६४ ।
  • शर्मा, बालचन्द्र, नेपालको ऐतिहासिक रूपरेखा (पुनर्मुद्रण, २०३३) वाराणसी, भारत: कृष्णकुमारी देवी, २३/११९ दूधविनायक, वाराणसी-१, २०३३।
  • शर्मा, जनकलाल, हाम्रो समाज एक अध्ययन, तेस्रो (काठमाडौं साझा प्रकाशन), २०५८ ।
  • तामाङ, रवीन्द्र, तामाङ जातीय पहिचानको सन्दर्भमा राणाकालीन एक इस्तिहार”, शारदा मासिक, वर्ष १, अङ्क ९, २०६४ ।
  • मोक्तान भाइ, उठानदेखि.., (भोजपुर मोक्तान परिवार), २०४० ।
  • तामाङ, परशुराम, तामाङ जाति नयाँ सहस्राब्दी विकास एजेण्डा, (काठमाडौंः नेपाल तामाङ घेदुङ केन्द्रीय सचिवालय र दुर्गबहादुर तामाङ स्मृति प्रतिष्ठान), २०६३ ।
  • तामाङ, रवीन्द्र, तामाङ थर, तेस्रो (काठमाडौं : शैलुङ बुक्स प्रा.लि.), २०७२ ।
  • गोले, खोजराजसँग गरिएको कुराकानीमा आधारित ।

अनलाइन सामग्री

  • https://en.wikipedia.org/wiki/Tawang)
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका