रसुवाको नौकुण्ड गाउँपालिका कार्यालय पारच्याङमा फागुन ९ गते देखि १५ गते सम्म विविध अचार बनाउने तालिम सञ्चालन भईरहेको छ। नौकुण्ड गाउँपालिका कृषि शाखाको आयोजनामा सञ्चालन हुने यस ७ दिने तालिममा ४५ जना उद्यमीहरूको सहभागिता रहेको छ। यस तालिममा संविधान सभा सदस्य तथा युवा उद्यमी प्रशिक्षक शान्ता चौधरीले तालिम प्रदान गर्नेछिन्।
नौकुण्ड कृषि शाखाका उद्यम विकास सहजकर्ता कृष्ण न्यौपानेका अनुसार, नौकुण्ड भरि छरिएर रहेका उद्यमीहरूलाई स्वरोजगारी बनाई गाउँमै आय आर्जन गर्न सक्ने बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो। उनले यस तालिमले विविध प्रकारका अचार बनाउने सिप विकास गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे। प्रशिक्षक शान्ता चौधरीले पनि तालिमको उद्देश्य र यसको महत्त्वबारे जानकारी दिइन्।
तालिमको उद्घाटन अवसरमा नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलान, वडा नम्बर ६ का वडा अध्यक्ष योगेन्द्र नुर्पु तामाङ, युवा उद्यमी तथा समाजसेवी जयराम घले, वडा सदस्य लवाङ नुर्पु तामाङ, शान्ति विक, पूर्व वडा अध्यक्ष तथा भोर्ले जिवजिवे साना किसान सहकारी संस्थाका अध्यक्ष रामहरि देवकोटा उपस्थित रहेका थिए। उक्त अवसरमा तालिमको औपचारिक सुरुवात गरिएको थियो।
उद्यम विकास सहजकर्ता कृष्ण न्यौपानेका अनुसार, यो तालिम फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन हुनेछ। यस तालिममा सहभागीहरूलाई विविध प्रकारका अचार बनाउने तरिका, सामग्रीको प्रयोग, बजार व्यवस्थापन, लगानी तथा आय आर्जनका विधिहरूबारे जानकारी दिइनेछ। यसले गाउँलेहरूको आर्थिक अवस्था सुधारमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।