रसुवा जिल्लाको सदरमुकाम धुन्चे सहित गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ मा फागुन २४ गतेदेखि २६ गतेसम्म पहिलो पटक जिल्ला स्तरीय पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता रसुवा ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी, संघ तथा संस्थाहरूले फागुन २२ गतेभित्र नाम दर्ता गर्न सक्नेछन्। नाम दर्ता शुल्क २ हजार रुपैयाँ राखिएको छ। प्रतियोगिताको विजेतालाई २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान प्राप्त टिमलाई २० हजार रुपैयाँ, तेस्रो स्थान प्राप्त टिमलाई १५ हजार रुपैयाँ र सान्त्वना पुरस्कारका रूपमा ५ हजार रुपैयाँ नगद दिइनेछ।
रसुवा ब्याडमिन्टन संघका अध्यक्ष लक्षिन तितुङले यस प्रतियोगिताको माध्यमबाट जिल्लाभित्रका खेलाडीहरूलाई एकजुट गरी खेलको विकास गर्ने साथै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्य रहेको बताए। उनले यस प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट सटरलाई ब्याडमिन्टन ज्याकेट उपहार स्वरूप दिइने पनि जनाए।
यस प्रतियोगिताले जिल्लामा खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने र खेलकुदलाई प्रोत्साहन दिने मंचको रूपमा काम गर्नेछ ।