नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योगलाई सभ्य समाजको मेरुदण्ड बताएको छ। उनले सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यी गुणहरू स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि अनिवार्य भएको जनाए ।

राष्ट्रपति पौडेलले भने, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ।” उनले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए ।

यसै कार्यक्रममा राष्ट्रपति पौडेलले सर्वोदय सेवाश्रमले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय रहेर योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको प्रशंसा गरे । उनले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँहरूको योगदानको प्रतीक भएको बताए ।

राष्ट्रपति पौडेलले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा. डा. विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्याउनुभएको योगदानलाई सराहना गरे । साथै, भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउने मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवम् नेपालको संक्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न उनले पुर्याएको योगदानलाई प्रशंसनीय बताए ।

यसरी राष्ट्रपति पौडेलले नैतिक मूल्य, सदाचार र योगलाई समाजको आधारस्तम्भ बताउँदै यी गुणहरूले समाजमा शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया