रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलास्याफ्रुकी २६ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन् ।
रसुवा अस्पतालमा शल्यक्रिया मार्फत फागुन २० गते उनले ३३ हप्ताको जुम्लिया छोराको जन्म दिएको हो। उक्त महिलाले दोस्रो पटक दुईवटा छोराको जन्म दिएको हो। बच्चाहरूको तौल क्रमशः १८ सय ग्राम र २१ सय ग्राम रहेको थियो।
अप्रेसन टिमका बरिष्ठ मेडिकल जनरलिस्ट तथा आकस्मिक विशेषज्ञ डाक्टर सुनिल कुमार दासका अनुसार उक्त सुत्केरी महिलामा उच्च रक्तचाप (Severe Pre-eclampsia) साथै सुत्केरी व्यथा लागेको थियो। फागुन २० गते विहान ठुलास्याफ्रुबाट ल्याउँदै गर्दा बाटो अवरोधका कारण निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीनाथ गणले उद्धार गरी अस्पतालसम्म ल्याएका थिए । अस्पतालका अनुसार फागुन २० गते विहान १० बजेर १ मिनेटमा एउटा र १० बजेर २ मिनेटमा अर्को बच्चा जन्माएका हुन् । आमा र बच्चा दुवै सामान्य अवस्थामा रहेका छन्। बच्चा कम तौल र एकैपटक दुईवटा भएका कारण तत्कालै घर पठाउँदा केही अप्ठ्यारो पर्ला भनेर शल्यक्रिया गरेको ४८ घण्टा बच्चालाई आईसियुमा राखिएको र सामान्य उपचारपछि डिस्चार्ज गरिने अस्पतालले जनाइएको छ ।
निक सिमन्स इन्स्टिच्युटका ३ जना डाक्टर सुनिल कुमार दास, शंकर कुवर, सहायक नर्स विधा नेपाली र रसुवा अस्पतालका मेसु तथा बाल रोग विशेषज्ञ अच्युत पौडेल, नर्स कविता देवकोटा, कार्यालय सहयोगी सुस्मिता देवकोटा लगायतको टिमले यो शल्यक्रिया गरेको थियो।
हालको अवस्थामा रसुवा अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सामान्य फ्र्याक्चरको अप्रेसन समेत गरिन्छ। अस्पतालमा परिवार नियोजन अन्तर्गत महिला र पुरुषको बन्ध्याकरण पनि गरिन्छ ।