नेपालमै पहिलो क्यानियोनिङ फेस्टिभल सिन्धुपाल्चोकमा सम्पन्न

क्यानोनिङ साहसिक पर्यटनको आकर्षण

294 Shares
काठमाडाैं

नेपालमै पहिलो पटक क्यानियोनिङ फेस्टिभल–२०२५सफलतापूर्वक सम्पन्न भएको छ । साहसिक र रोमाञ्चक खेल क्यानियोनिङ प्रवर्धन गर्ने उद्देश्य राख्दै बोर्डरल्याण्डस् इको एडभेन्चर रिर्सोटले सिन्धुपाल्चोकको बोर्डरल्याण्डमा रहेको केनौपाँच र वल्र्ड जम्बोमा उल्लेखनीय सहभागीहरुका उपस्थितिमा तीन दिने प्रथम क्यानियोनिङ फेस्टिभल–२०२५सफलतापूर्वक सम्पन्न गरेको हो ।

क्यानियोनिङ, जसमा ढुंगा चढ्ने, पौडिने र नदीका खोँचहरूमा र्यापेलिङ गर्ने विधिहरू समावेश हुन्छन् । यो युरोपमा अत्यधिक लोकप्रिय खेल हो । नेपालमा भने प्रशस्त नदीहरू र खोँचहरू भए पनि यो खेल अझै पनि कमै मात्र प्रचलनमा छ । नेपालमा पनि यसलाई अत्यधिक लोकप्रियता बनाउन सकिन्छ । नेपाल हिमाल,पहाड र तराई मिलेर बनेका अनेकौँ सस्कृति र सत्कारको थलो हो ।

विश्वमा ८,००० मिटरभन्दा अग्ला १४ शिखरहरू, ऐतिहासिक पदमार्गहरू र हरियाली जंगलहरु, साहसिक खेलप्रेमीहरूका लागि उपयुक्त गन्तव्यका रुपमा नेपाल चिनिन्दै आएाकोे छ । ट्रेकिङ, पर्वतारोहण र ‍¥याफटिङ जस्ता गतिविधिहरू प्रख्यात भए पनि हालका दिनमा केही नयाँ र साहसिक खेलहरुको खोजी भएको छ । ‍¥याफटिङपछिको पानीसँगै खेल्ने साहसिक खेल क्यानियोनिङ आम पर्यटकबीच लोकप्रिय हुँदै गर्दा यसको प्रवर्धन गर्न पहलहरू थालिएको छ ।

नेपालमा साना तथा ठूला गरी छ हजारभन्दा बढी नदीहरू रहेका छन् भने एक सय मिटरभन्दा अग्ला झरनाहरूको प्रशस्तै भेटिन्छन् । त्यस्ता झरनाहरुमध्ये केहि प्रख्यात झरनाहरुमा तेह्रथुमको ह्यांगे ,म्याग्दीको रुप्से,पर्वतको देविस्थान, लमजुङको बहुनडाँडा,रोल्पाका सिल्वाङ, सिन्धुपाल्चोकको पञ्चपोखरी, काभ्रेको तादे झरना, चितवनको जलबिरे झरना नेपालमा निकै प्रख्यात छन् । यी स्रोतहरुलाई व्यावसायिक रुपमा

क्यानियोनिङका लागि प्रयोग गर्न सकिए राष्ट्रको अर्थतन्त्रमा निकै टेवा पुग्ने प्रबल सम्भावना छ ।हालै बोर्डरल्याण्डस् इको एडभेन्चर रिसोर्टले जुन फेबु्रवरी २८ देखि मार्च २ सम्म पहिलो क्यानियोनिङ फेस्ट–२०२५ आयोजना गरी सम्पन्न गरेको छ । नेपालका अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त क्यानियोनङ गाइडहरू र विभिन्न जिल्लाबाट सहभागीहरू यस कार्यक्रममा उपस्थित भएका थिए।

नेपालमा क्यानियोनिङको सम्भावना र चुनौतीहरू

क्यानियोनङ गाइड र विज्ञहरूका अनुसार नेपालमा क्यानियोनिङको सम्भावना अपार छ। तर व्यवसयिक र रणनीतिक रूपमा प्रवर्धन गरिएमा मात्र यस खेलले नेपालका साहसिक पर्यटनमा नयाँ क्रान्ति ल्याउन सक्ने सम्भावना बोकेको देखिन्छ ।नेपालमा क्यानियोनिङको प्रवेश सन् १९९६ मा बोर्डरल्याण्डस् इको एडभेन्चर रिसोटका सञ्चालक मेघ आलेले अष्ट्रियाबाट तालिम लिएर फर्किएपछि भएको थियो । सुरुमा विदेशी प्रशिक्षकहरूबाट प्रशिक्षण लिइए पनि अहिले भने थुप्रै नेपालीहरु यस साहसिक खेल क्यानियोनिङका गाइडका रुपमा स्थापित भइसकेका छन् ।

नेपाल नदी संरक्षण (एनआरसिटी)का अध्यक्ष तथा कर्णाली रिभर वाटरकिपरसमेत रहेका रिसोर्टका सञ्चालक आलले यो उत्सवले अबको बसन्त क्रतुमा प्रशस्त आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्ने बताए । ‘क्यानोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिएका छौं । सहभागी सबैले हेल्मेट,वेट सुट,हार्नेस,जुत्ता अनिवार्य लगाउनुपर्छ । वसन्त ऋतुमा नेपालमै पहिलोपटक व्यापक कार्यक्रमसहित क्यानोनिङ उत्सव अयोजना गरेका हौँ ’ उनले भने ।

अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, ¥याफटिङ मात्र नभई क्यानोयोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको उनको अनुभव छ । ‘साहसिक खेलप्रति बढ्दो आकर्षणले आगामी दिनमा यस क्षेत्र अझै व्यावसायिक हुने आशा जगाएको छ,’ आलेको भनाइ छ ।


क्यानियोनिङ प्रशिक्षक तथा फेस्टको निर्देशक एवम् संयोजक मदन मगरले भने ‘हाम्रो उद्देश्य साहसिक खेलप्रेमीहरूलाई सुरक्षित रूपमा क्यानियोनिङको अनुभव प्रदान गर्नु मात्र होइन, यो खेललाई थप प्रवर्धन गर्दै जानु पनि हो ।’ संयोजक मगरका अनुसार नेपालमा हालसम्म केही स्थानहरूमा मात्र क्यानियोनिङ व्यावसायिक रूपमा सञ्चालन गरिएको छ ।भोटेकोशी उपत्यकामा मात्र नौभन्दा बढी क्यानियोनिङ स्थलहरू छन् । मगरका अनुसार फेस्टको उद्देश्य यस्ता स्थानहरूलाई प्रवर्धन गर्दै नेपालको अपार सम्भावना भएका गन्तव्यहरूलाई विश्वस्तरमा चिनाउनु हो ।

 

अर्का साहसिक खेल क्यानियोनिङ प्रशिक्षक अर्जुन तामाङले भने,‘नेपालका भौगोलिक विशेषताले क्यानियोनिङको लागि उपयुक्त खेलमैदान प्रदान गरिएको भए पनि पछिल्ला दिनहरूमा जलविद्युत आयोजना तथा क्रसर उद्योगहरूले यी नदीहरूलाई नष्ट गरिरहेका छन् ।’ तामाङ भन्छन्, ‘जलविद्युत आयोजनाका कारण कतिपय क्यानियोनिङ स्थलहरू ढुंगा खस्ने जोखिममा परेका छन् । साथै, केही ठाउँहरूमा फोहोर फाल्ने ठाउँमा परिणत भएपछि यी क्षेत्रहरू प्रयोगविहीन भएका छन्’ ।

 

सरकारी र संस्थागत पहलको अभाव

‘कोशी प्रदेशमा मात्र तीन प्रमुख क्यानियोनिङ स्थलहरू भए पनि पर्यटकहरूको न्यून उपस्थितिले यस क्षेत्रको सम्भावनालाई रोक लगाइरहेको छ’ धरानका क्यानियोनिङ गाइड मोहनसिंह लिम्बूले बताए । उनले भने,‘स्थानीय सरकार र सम्बन्धित निकायहरूको प्रचारप्रसारको अभावका कारण यो खेल अझै लोकप्रिय हुन सकेको छैन । ’

लिम्बूका अनुसार राष्ट्रिय स्तरको प्रमाणित गाइड लाइसेन्सको अभाव हुनु पनि यो क्षेत्रको लागि अर्काे प्रमुख समस्या हो । लिम्बु भन्छन्, ‘अहिले पनि धेरै क्यानियोनिङ गाइडहरू विदेशी संस्थाबाट प्रमाणपत्र प्राप्त गरेका छन् । तर, सीटीईभीटीबाट तालिम लिएका प्रशिक्षकहरूलाई आधिकारिक लाइसेन्स दिन नसक्दा क्यानियोनिङ प्रेमीहरूमा विश्वासको कमी देखिएको छ ।

 

भविष्यका सम्भावनाहरू
यस खेललाई अगाडि बढाउनका लागि स्थानीय तथा राष्ट्रिय स्तरमा ठोस रणनीति आवश्यक रहेको संयोजक मगर बताउँछन् । ‘हामी शैक्षिक संस्थाहरूसँग छलफल गर्दैछौं, जसले गर्दा योग्य तथा दक्ष प्रशिक्षक उत्पादन गर्न सकियोस् ’उनले भने ।

 

चितवनका साहसिक खेल प्रशिक्षक मनोज गुरूङका अनुसार चितवनमा १५ देखि २५ मिटर उचाइका झरनाहरू पाइन्छन् । ‘जलबिरे झरनाजस्ता स्थानहरूलाई पार्कका रूपमा विकास गर्ने प्रयास भइरहेको छ, तर यदि क्यानियोनिङलाई प्रवर्धन गर्न सकियो भने पर्यटन प्रवद्र्धनका लागि नयाँ सम्भावना खुल्नेछ’ उनले भने ।

 

सोही क्षेत्रको गाति युवा क्लबका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठ भन्छन्, ‘भोटेकोशी उपत्यकामा रहेको जलस्रोतको सही सदुपयोग गर्दै क्यानियोनिङ प्रवर्धन गर्न सके यसले स्थानिय युवाहरूलाई रोजगारी र आयआर्जनको अवसर दिन सक्छ ।’

उनका अनुसार यस क्षेत्रकै लागि भनेर निरन्तर रुपमा काम गर्न एक त प्रचारप्रसारको कमि र भौतिक विकासका पूर्वधार कमजोर रहेको छ । उनका अनुसार स्थानीय सरकारको सहयोगमा क्लबले झन्डै ३ लाख रुपैयाँ बराबरको क्यानियोनिङ उपकरण खरिद गरिसकेको छ । तर साहसिक पर्यटकहरुको पातलो सहभागीतका कारण स्थानीय गाइडहरु यस कामलाई छोडेर आयस्रोतका लागि अन्य क्षेत्रमा लाग्नुपर्ने अवस्था सिर्जना भएको पाइन्छ ।

क्यानियोनिङ अनुभव
उक्त फेस्टिभलमा स्थानीय गाउँ लिस्तीबाट आएकी सहभागी पेम्बा तामाङले भनिन्,‘ मैले यो समयलाई कुरिरहेको थिएँ । पहिले साथीहरुले गरे म छुटेँ । मैले क्यानोयिनिङ भयो भने मलाई जसरी पनि बोलाउनु म आउँछु यहाँ पनि भनेको थिएँ । मेरो आफन्तले यहाँ क्यानोयिनिङ हुँदैछ खबर दिनुभयो र आएँ ।’ पेशाले शिक्षिका भएर पनि यो सहासिक खेलमा रम्न उनी बोर्डरल्याण्ड झरिन् । अनुभव सुनाउँदै भनिन्, ‘ सुरुको झरनामा झरन निकै डर लाग्यो । अगाडि ऐउटा मिस जानु भएको थियो । म पनि उहाँपछि झरेँ ।

पहिलोचोटि झरेको सानो खोल्साको झरना तर चिसो पानीमा डर लाग्दै झरेँ । पछि तलको झरना निकै अप्ठ्यारो थियो तै पनि सहासकासाथ झरेँ ।’ आफ्नै गाउँठाउँको झरनामा यसरी नि झरिन्छ जस्तो लागेको थिएन पहिलो पटक क्यानोनिङ गर्दा निकै मज्जा आएको उनले बताइन् । विद्यार्थीहरुलाई सहासिक बनाउन आफै पनि सहासिलो बन्नु जरुरी भएकोले हामी यो फेस्टभलमा सहभागी हुन आएका हौँ अर्का लिस्तीकै अर्का शिक्षकले बताए ।

नेपालमा साहसिक पर्यटनको एक नयाँ ढोका खोल्न सक्ने क्यानियोनिङ खेललाई सरकारले संरक्षण र प्रवर्धन गर्न आवश्यक देखिन्छ । यदि रणनीतिक रूपमा सही कदम चालियो भने नेपालले विश्वस्तरमा क्यानियोनिङ गन्तव्यको रूपमा पहिचान बनाउने सम्भावना पोख्त छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका