नारी दिवस : सम्मान र स्वतन्त्रताको आवश्यकता

फुलमाया घिसिङ लेखक/ प्रहरी निरीक्षक
1890 Shares
काठमाडौं

मार्च ८, अर्थात नारी दिवस, नारीहरूको सम्मान, स्वतन्त्रता र अधिकारको बारेमा चिन्तन गर्ने दिन हो। नारीलाई कहिले देवीको प्रतिमूर्तिको रूपमा लिइन्छ भने कहिले दुर्गा, सरस्वती, लक्ष्मीजस्ता देवीहरूको रूपमा पूजा गरिन्छ। नारीलाई धर्तीको रूपमा प्राकृतिक शक्तिसँग तुलना गरिन्छ। नारी ममताको खानी हुन्, सहनशीलताको मूर्ति र परिवारकी रानी हुन्। छोरी हुँदा नारी परिवारकी खुशी हुन्, बुहारी हुँदा घरकी लक्ष्मी । आमा हुँदा सन्तानको सबैथोक हुन्। यी सबै समाजले नारीलाई दिएको परिभाषा हुन्। अंग्रेजीमा नारीलाई ‘एन एडल्ट फिमेल ह्युमन’ भनेर परिभाषित गरिएको छ। तर नारीलाई जेसुकै रूपमा लिए पनि, उनीहरूको स्वतन्त्रता, आत्मसम्मान र प्रतिष्ठालाई ध्यान दिनु आवश्यक छ।

विश्वभर नारीहरूले आफ्नो क्षमता र योगदानको परिचय दिइसकेका छन्। श्रीलंकाले सन् १९६० मै विश्वकै पहिलो महिला प्रधानमन्त्री सिरिमावो भण्डारनायकेलाई देखाइसकेको छ। सन् २०२५ को विश्वकै धनी महिला एलिस वाल्टन हुन्। नेपालमा पनि महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख, महिला मुख्य सचिव, महिला एआईजीपी लगायत अतिविशिष्ट ओहोदामा महिलाहरूले आफ्नो सक्षमता देखाइसकेका छन्। तर अझै पनि महिलाहरूले समान अवसर र अधिकारको लागि संघर्ष गरिरहेका छन्।

नेपाल प्रहरीको केन्द्रिय तथ्यांक अनुसार, बार्षिक १७ हजारको हाराहारीमा घरेलु हिंसा सम्बन्धी उजुरीहरू दर्ता हुन्छन्। बाटोमा हिँड्ने बटुवाले महिलालाई जिब्रो पट्काएर जिस्काउने प्रयास गर्छन्। घरभित्रै महिलाहरूले शारीरिक, मानसिक र यौनिक हिंसा भोग्नु पर्छ। यस्तो हिंसाको बातावरण सिर्जना गर्ने जिम्मेवार व्यक्तिहरूले महिलाको मनोबल र आत्मसम्मानलाई झन् ध्वस्त पार्छन्।

जन्मदेखि नै छोरी भनेर नाक खुम्च्याउने, उनीहरूको हुर्कने, बढ्ने, सिक्ने र विकासको उमेरमा विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक व्यवधानहरू खडा गरिन्छ। यस्तो उमेरमा महिलाहरूलाई प्रशस्त माया, मनोवैज्ञानिक सहयोग, र स्वतन्त्रताको आवश्यकता हुन्छ। तर समाजले उनीहरूलाई श्रीमान, सासु, ससुरा, र घरका अन्य सदस्यहरूलाई चित्त बुझाउने मात्रै भूमिका सीमित गरिदिन्छ। धेरै महिलाहरूलाई विवाहपछि उच्च शिक्षा लिन, घरबाहिर काम गर्न, वा सामाजिक कार्यमा सक्रिय हुन रोक लगाइन्छ। बाहिर गएर काम गर्ने महिलालाई ‘घर हेर्दैन’ भन्ने गरिन्छ भने घरबसेकी महिलालाई ‘केही गर्दैन’ भन्ने गरिन्छ।

महिलाको मानसिक र शारीरिक स्वास्थ्यमा असर

महिलाहरूले भोग्नु परेका शारीरिक, मानसिक, यौनिक, आर्थिक र मनोवैज्ञानिक समस्याहरूले उनीहरूको जीवनस्तरमा ठूलो असर पार्छ। विशेष गरी युवा अवस्थामा महिलाहरूलाई सिकाई, खटाई, कमाई, व्यक्तित्व विकास, र अस्तित्व निर्माणको लागि स्वतन्त्र वातावरण चाहिन्छ। तर उनीहरूलाई दबाइएर, पिल्सिएर, र थिचिएर बस्न बाध्य बनाइन्छ। यसले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। प्रौढ अवस्थामा पुगेपछि यी समस्याहरूको शारीरिक र मानसिक असर देखिन थाल्छ। महिलाहरू विभिन्न रोगहरूको शिकार बन्छन्।

महिलाहरूको समस्यालाई समाधान गर्न सबैभन्दा पहिले उनीहरूलाई मानवको रूपमा हेर्नु आवश्यक छ। उनीहरूको समस्यालाई छलफल, बहस, र अध्ययन गरेर समाधान गर्नु पर्छ। महिलाहरूलाई सर्वोच्च ओहोदामा पुग्न दिनुपर्छ। तर केवल भाषण, कार्यक्रम, र प्रमाणपत्र वितरणमा सीमित नराखी महिलाको वास्तविक पीडामा पुग्ने कार्यक्रमहरू आयोजना गर्नु आवश्यक छ। महिलाहरूको मानसिक र मनोवैज्ञानिक अवस्था, स्वाभिमान, आत्मसम्मान, नेतृत्व क्षमता, र अवसरहरूलाई ध्यान दिनु पर्छ।

नारी दिवस केवल औपचारिकता मात्र नहोस्। यो दिन महिलाहरूको सम्मान, स्वतन्त्रता, र अधिकारको बारेमा गम्भीर चिन्तन गर्ने दिन हो। महिलाहरूलाई शक्तिशाली बनाउन केवल भौतिक रूपमा मात्र होइन, उनीहरूको मानसिक र मनोवैज्ञानिक अवस्थालाई पनि मजबूत बनाउनु आवश्यक छ। महिलाहरूले भोग्नु परेका समस्याहरूलाई समाधान गर्न सबैले आफ्नो भूमिका निर्वाह गर्नु पर्छ। महिलाहरूको उन्नति नै राष्ट्रको उन्नति हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
7
+1
10
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका