नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलन र पञ्चायती शासन व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति हुन् दामन पाख्रिन । खासगरी हालको नुवाकोट र धादिङ जिल्ला तत्कालीन समयको पश्चिम १ नम्बर र पश्चिम २ नम्बरका क्षेत्रमा किसान, भूमिहिन र गरिवहरुका नेता, विद्रोहका नायक भनेर दामन पाख्रिनलाई चिन्ने गरिन्थ्यो ।
दामन पाख्र्रिनको जन्म सन् १९३७ मा हालको खनियाबास गाउँपालिका वडा नं ५ भोग्टेनी, सालघारीमा एक सर्वहारा किसान परिवारमा भएको थियो । उनी जन्मिदा न्वारनको नाम डा बोन राखिएको थियो । तामाङ भाषामा राखिएको डा बोनको अर्थ जित्ने मान्छे, अर्थात् कहिल्यै कसैसँग नहार्ने भन्ने अर्थ हुन्छ । पछि प्रशासनिक कामकाजका लागि नागरिकता र राहदानीमा उनको नाम दामन भनेर लेखिन गएको थियो । सामान्य किसान परिवारमा जन्म भएकाले उनको बाल्यकाल घाँस–दाउरा, र गोठालोमा नै बित्यो । त्यस समयमा घाँस दाउरा र पानी लिन जानसक्ने भएपछि साहुको घरमा कामगर्न जानुपर्दथ्यो । तेतीबेलाको गरिव किसान र मजदुरी गरेर खाने जनता र उच्च वर्गले देखाएको सामन्ती प्रवृत्ति र अन्याय अत्याचार पूर्ण सामाजिक व्यवस्थासँग पाख्रिन पुरै भिजेका थिए । उनको परिवार ठूलो थियो । उनी आफ्ना दाजुहरुसँगै दुःख, पिडा र अभाव झेल्दै ठुलोभए । बिर्तावालहरुले दया, माया तथा हेपेर दिएको जड्यौरी र जुठोपुरो खाएर हुर्किए । उनले गाउँमा विद्यालय जाने अवसर पाएनन् । औपचारिक र अनौपचारिक शिक्षाको अवसर उनलाई जेल जीवनकै क्रममा मिलेको देखिन्छ । उनीसँगैका जेलजीवन भोगिरहेका बिरेन्द्र भगत, मार्शल जुलुम, कमल चित्रकार, उदयनाथ पण्डित गुरुले दामनलाई पढ्न प्रोत्साहन गरे । त्यसपछि गुरुकै सल्लाहमा उनी भद्रगोलमा खुलेको प्राइमरी स्कुलमा भर्ना भएका थिए । शिक्षासँगै राजनीतिक बन्दी जीवन विताइरहेका नेताहरुको प्रभावले दामनमा राजनीतिक चेतानाको विकास भएको र राजनीतिमा सक्रिय रहेको देखिन्छ । भद्रगोल जेलमै हुँदा उदयनाथ गुरुले उनलाई राजनीतिक चेतना दिएका थिए । उनले दामनलाई जेल पर्नुको मुख्य कारण राज्यसत्ता र त्यसमा पनि राजा महेन्द्र भएको बताए । उनले राजनीतिक कारणले विं.सं २०१७ देखि २०२४ सालसम्म जेलजीवन विताएका थिए ।
दामन पाख्रिनलाई वि.सं २०१६ सालमा घटेको चर्चित खनियाबास विद्रोहका नायक पनि भन्ने गरिन्छ । त्यस घटनामा दामनलगायत अन्य १५ जनालाई प्रहरीले कुटपिट गरेको आरोपमा नुवाकोटमा हिरासतमा राखेर केहीलाई सामान्य सोधपुज गरी छाडियो । तर दामन र उनका सहयात्री सेक्के तामाङलाई सुरक्षा कानुन अन्तर्गत काठमाडाँको डिल्लिबजार कारागारमा थुनामा लगिएको थियो । नेपाली कांग्रेसका मोहनचन्द्र, गोपालचन्द्र, जगतप्रकाशजङ्ग शाहलगायतका कांग्रेस कार्यकर्ताहरुलाई पनि सोही अभियोगमा तारिखमा राखिएको थियो । आन्दोलनका नेतृत्वकर्ताहरु थुनामा भएपनि अदालतबाट जनताको पक्षमा फैसला भयो । मन्त्री, बडाहाकिम र उनको टोली त्यहीं बसेर मिला पत्र गरेर मुद्दा जिताइदियो र पैसा तिर्न नपर्ने भयो । पश्चिम नुवाकोट नेपाली कांग्रेसका सभापतिको जमानीमा दामनलगायतका सबै आरोपीहरु दुई महिनापछि वि.सं २०१७ जेठ १८ गते मुक्त भएका थिए । त्यस विद्रोहलाई शिखरमा पुर्याउने मध्येका एक महत्वपूर्ण व्यक्तिका रुपमा उनको नाम अगाडि आउँछ । खनियाबासमा त्यसबेला मौलाइरहेको सामन्ति प्रवृत्तिको खुलेर विरोध र विद्रोहको जग निर्माण गर्ने व्यक्ति दामन पाख्रिन पनि हुन् । उनलाई केहीले खनियाबास विद्रोहका नायक पनि भनेर सम्बोधन गरेको पाइन्छ । त्यहाँका तामाङ समुदायमाथि भएको शोषण, अन्याय र अत्याचारले सीमा नाघेको थियो । त्यसको विरुद्ध तामाङहरुले एक सशक्त प्रतिकार अभियान चलाएका थिए ।
खनियाबास विद्रोहको घटना पछि पाख्रिन लगायतका विद्रोहीहरुलाई सात वर्ष लामो काराबासमा राखियो । त्यसबेला पश्चिम १ नम्बर क्षेत्रमा पर्ने खनियाबास क्षेत्रमा त्यहाँका तामाङ समुदायमाथि उपल्ला बाहुन र उच्च जातिहरुबाट चरम थिचोमिचो अन्याय, अत्याचार, दमन र शोषणको अवस्था थियो । तामाङहरुले त्यहाँका बाहुनहरु (रिजाल) को खेतबारीमा ज्याला मजदुरी गर्नु पथ्र्यो । बाहुनका घर–घरायसीदेखि खेतीबारीसम्मका सबै काममा तामाङ समुदायको मजदुरी हुन्थ्यो । तर तामाङहरुले मजदुरीको उचित ज्याला पाउँदैन थिए । त्यसमाथि बाहुनहरुको अन्याय र अत्याचारले चरम रुप लिएको थियो । यस्तो परिवेशमा दामन पाख्रिन पनि बाहुनहरुको मेलापातमा जान्थे । एक दिन उनलाई काम गर्ने मेलामा साहुहरुले हपारेको, हेपेको र पेटभर खान नदिएको झाेंकमा घर छाडेर हिंडेको भन्ने प्रसंग पनि भेटिन्छ । पश्चिम १ नम्बरभरी उस्तै थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण देखेर उनको मनस्थितिमा विद्रोहको ज्वाला भड्कियो । अठार वर्षको कलिलै उमेरमा उनी लाहुर हिंडेका थिए । लाहुर गएका उनी पुनः गाउँ फर्कंदा बुबा ऋणमा डुबेको पाए । २२ वटा मुद्दा हारेर ऋणमा फसेको बुबालाई एक्लै छाड्न उनको मनले मानेन । त्यसको कारण खोजी गर्दै जाँदा उनको बाबुले घर बनाउन किनेको जग्गामा कचिंगल र मुद्दा परेको रहेछ । त्यसबेला साहुसँग लिएको चार हजार दुई सय रुपैया ऋणको साँवा÷ब्याज गरेर १८ हजार पुगेको थियो । त्यसमाथि समय समयमा व्याज तिरेका पनि थिए । यस्तो अन्याय थाहा पाएपछि पाख्रिनले साहुहरुमाथि आक्रमण र कुटपिट गर्न थाले । यो देखेर गाउँका केही युवाहरु उनको पछि लागेर सबैले आफ्ना साहुहरुसँग विद्रोह गर्न शुरु गरे । विवाद मिलाउन आउने प्रशासन र प्रहरीद्वारा उनले यातना, हिरासत र कुटपिट समेत भोगेका थिए ।
दामन पाख्रिनले शुरु गरेको साहुहरुको विरुद्धको विद्रोहले पछि गएर सबै आसामीहरूको नाजायज ऋणहरू बडाहाकिम टोलीले बदर गरिदिएको देखिन्छ । यसबाट पाख्रिनले स्याबासी समेत पाएका थिए । यसका लागि उनले जेलनेल समेत भोग्नु परेको थियो । तत्कालीन कांग्रेसका पश्चिम एक नम्बरका सभापति जगतप्रकाशजङ्ग शाह जमानी बसेर जेलबाट निस्कँदा उनको मुद्दा राजनीतिक खिचातानीको विषय बनिसकेको थियो । दामन यतिबेलासम्म नेपाली कांग्रेसका पूर्णकालीन सदस्य बनिसकेका थिए । नेपाली कांग्रेसको इतिहासको प्रारुपमा उल्लेख भए बमोजिम दामन सत्याग्रहमा पनि पश्चिम १ नम्बरमा सहभागी भएको उल्लेख छ । कांग्रेसप्रति उनको विशेष लगाव थियो । नेपाली कांग्रेस, चारतारे झण्डा र बीपी कोइराला दामनका प्रिय थिए । चारतारे झण्डाको अर्थ, त्यसको महत्व र उपादेयताबारे उनी प्रखर भाषण गर्ने व्यक्ति थिए भनिन्छ । उनले सामन्ति साहुहरुको खेतबारीमा काम गर्न अवज्ञा र असहयोग गर्ने अभियानै चलाएर नेतृत्व गरेका थिए । किसानलाई साहुसँग जग्गाको मोहियानी दाबी गर्न समेत उनले सिकाएका थिए । अन्तिममा साहुहरुको घर भकारीमा लुटपाट गरेर किसानलाई बाँड्ने कामसम्म गरे । यस विद्रोहका कारण उनी विरुद्ध प्रशासनबाट पक्राउ पुर्जि समेत जारी भएको थियो । त्यसकारण उनी करिव १८ महिना भारतमा निर्वासनमा समेत गएका थिए । त्यसबखत पार्टीका जिम्मेवार नेताले १५ महिनासम्म पाउने भत्ता पनि उनले पाएनन । उनलाई पञ्चायतको सुराकी गरेको आरोप पनि लागेको थियो । वि.सं २०२६ साल पछि नेताहरुसँगै स्वदेश फर्किएका थिए । त्यसको केही समय प्रधानपञ्च पनि भए । त्यसपछि विद्यालयको सञ्चालकको जिम्मेवारी समेत सम्हाले र शिक्षक पेशा अँगाले । त्यसपछि पञ्चायतलाई फाल्न बहुदलको पक्षमा हतियार उठाउन तयार भएर रगतको छाप सहितको नामावली पुर्याउन पार्टी मुख्यालय जाने क्रममा नपुग्दै हेंटौडामा कागज पत्र बरामद भयो । उनी खेतैखेत खोलाको तीरैतीर भएर भारत पुगें । राजकाज मुद्दा लगाई उनको बुबा समेतलाई सर्वस्वहरण गरियो । चलअचल सम्पत्ति र पशुधन समेत जफत भयो । उनीले दुई पटक जिल्ला पञ्चायतमा उम्मेदवारीसमेत दिएका थिए तर पराजित भए । त्यसपछि राष्ट्रिय पञ्चायत लडे, त्यसमा पनि पराजित हुनपुगें । बहुदल आएपछि प्रतिनिधि सभा सदस्यमा भने उनी निर्वाचित भए । वि.सं २०४८ सालको आमा निर्वाचनमा उनलाई जनताले प्रचुर बहुमत दिएर विजयी गराए । उनलाई त्यसबेला १४ हजार, एक सय ५७ मत प्राप्त भएको थियो । तर नेपाली कांग्रेस भित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनपुग्यो । त्यसपछि भएको विं.सं २०५२ को मध्यावधि चुनावमा उनी पराजित हुनपुगें । छोटो समयको संसदीय यात्रामा उनले आफूलाई गरिव, मजदुर र किसानको प्रतिनिधिको रुपमा चिनाएका थिए । उनी त्यसबेला काठमाडाँैंको एउटा सामान्य डेरामा बस्दथें ।
उनी सरल, मिजासिला थिए । तर उनी कहिले काहीँ धेरै रिसाउँथे । उनलाई त्यसबेला सादगि नेताका रुपमा पनि चिन्ने गरिन्थ्यो । प्रतिनिधि सभामा सामान्य कृषक, दुःखी गरिब जनताको समस्या पाख्रिनले उठाउँथे । उनी नेपाली कांग्रेसको धादिङ जिल्ला पार्टी सभापति समेत बनेका थिए । घाँटीको क्यान्सरको कारण ६२ वर्षको उमेरमा वि.सं २०५५ उनको निधन भएको थियो । तत्कालीन समयमा अन्धकारमय सामन्ती प्रवृत्ति, जनताले भोगेको थिचोमिचो, अन्याय, अत्याचारको विरुद्धमा विद्रोहको अभियान शुरु गरेका थिए । तत्कालीन सामन्ती व्यवस्था पञ्चायती शासन र समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिकाको जगमा बसेर सुरुवात गरेका थिए । जसको कारण हजारौं गरिव, थिचोमिचोमा परेका किसानहरु र जनताले परिवर्तनको पक्षमा उभिने साहस देखाए । दामन पाख्रिन तत्कालीन समयका एक सशक्त विद्रोही र सामाजिक, सांस्कृतिक परिवर्तनका पक्षधर एक निर्भिक व्यक्तित्व थिए ।