उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटिटारमा परम्परागत रैथाने संस्कृति संरक्षणका लागि आयोजित दोस्रो बागमती प्रदेश स्तरीय मारुनी नाच प्रतियोगितामा नुवाकोटको सामरी नृत्य समूहले प्रथम स्थान हात पारेको छ। विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा रसुवा र नुवाकोटका ५ समूहले सहभागिता जनाएका थिए।
प्रतियोगितामा दोस्रो स्थानमा नुवाकोटको किस्पाङकी सरस्वती देवी महिला समूह रहेको छ भने तेस्रो स्थानमा रसुवाको कालिका भजन कीर्तन समाज रह्यो। विजेता समूहलाई २५ हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमको उद्घाटन नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले गरेका थिए भने कार्यक्रमको सभापतित्व रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदीले गरे। कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख, उपप्रमुख, उत्तरगया गाउँपालिकाका प्रमुख, उपप्रमुख, सहायक प्रजिअ, समन्वय अधिकारी लगायत सरोकारवाला निकाय तथा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस प्रतियोगिताको मुख्य उद्देश्य मौलिक बाजागाजा तथा लोक संस्कृतिलाई जोगाउने साथै परम्परागत आस्थालाई जीवन्त राखी भाविपुस्तलाई सिकाउने रहेको छ। कार्यक्रमको सफल आयोजनामा रेडियो लाङटाङका सचिव गीता न्यौपानेको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ।