सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएको छ । उनले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताए।
प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद यादवले सबै दलले बिगतमा भएका गल्ती कमजोरी सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। चुरे विनाशविरुद्ध बोल्ने पत्रकारको क्यामरा फुटाउनु लोकतन्त्र विपरीत कार्य भएको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा वरियताका आधारमा पहिलो नम्बरमा सिफारिस डा सङ्गीता कौशल मिश्रालाई सचिव बढुवामा सिफारिस नगरिएकामा सांसद यादवले आपत्ति जनाए।
सांसद रामप्रकाश चौधरीले स्वास्थ्य सचिव सिफारिस राजनीतिक आस्थाका आधारमा गरिएको आरोप लगाए। उनले गत साउनमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए।
सांसद गङ्गाराम चौधरीले खुला सिमानाका कारण अवैध निकासी पैठारी नरोकिएको बताए। “कैलालीका सर्वसाधरणले भारतबाट सामान ल्याउँदा दुःख पाउने गरेका छन् । छोटी भन्सार कार्यालय स्थापना गर्न पहल हुनुपर्छ,” उनले भने । शिक्षक आन्दोलनरत रहेका उल्लेख गर्दै सांसद चौधरीले उनीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।