नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको भन्दै नेपाल आदिवासी जनजाती महासंघले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै उज्यालो नेपालका नायकको पहिचान बनाउन सफल तथा नेपाललाई लोडसेडिङ मुक्त गराउन सफल घिसिङलाई स्पष्टीकरण सोधेर पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लोडसेडिङको अन्त्य कुलमानले नभई भारतले गरेको हो’ भन्ने जस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति गरिमामय संसदमा दिनु आफैमा हास्यास्पद र लज्जास्पद भएको उल्ल्ेख गरिएको छ । साथै लोडसेडिङको अन्त्य गर्ने, घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा पु–याउने कार्य गर्ने घिसिङलाई राज्यले पुरस्कृत गर्नुपर्नेंमा उल्टै स्पष्टीकरण सोध्ने तथा कार्य सम्पादन मुल्यांकनमा शून्य अङ्क दिनुले राज्यको नियत स्पष्ट पारेको उल्लेख गरिएको छ ।
नेपाल र नेपाली जनताको विकास र समृद्धिको लागि अधिकारकर्मी संघसंस्था, पत्रकार, नागरिक समाजलाई समेत आवाज उठाउन विज्ञप्तिमा अपीलसमेत गरिएको छ ।