साझा लेखन पद्धतिको लागि दुबो फन्ट

सैलुङअनलाइन संवाददाता
98 Shares
काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठाको पहलमा नेपालमा बोलिने सबै भाषामा साझा लेखन पद्धतिको लागि नयाँ फन्ट ल्याइएको छ ।

प्रतिष्ठाले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधार रमेश पौडेलले ‘दुबो’ नामक फन्टको डिजाइन गरेको हो ।  सो फन्ट डिजाइनका लागि ३ महिना अघि प्रतिष्ठानको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशन बिच भएको सम्झौता भएको थियो । सम्झौता अनुसार पौडेलले मङ्गलवार सो फन्ट हस्तान्तरण गरेको हो ।

मङ्गलवार प्रतिष्ठानको सभाकक्षमा प्रस्तावित फन्टका विषयमा विज्ञ भाषाविद्का बिच फन्टको प्रस्तुतीकरण र छलफल  भएको थियो । भाषाविद्  प्रा. डा. माधव पोखरेलले प्रस्तावित ‘दूबो’ फन्टले नेपालमा बोलिने धेरै भाषाहरूको लिपि नभएकोले लेखन पद्धतिमा देखिएको समस्या समाधान हुने बताए । प्रतिष्ठानका कुलपति भूपाल राईले यो कार्य प्रतिष्ठानकै दायित्व भएकोले विज्ञ कार्यदलको सहयोगमा नयाँ फन्टको सिर्जना गरिएको बताए।  प्रतिष्ठाका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले मेहनतका साथ प्रतिवेदन तयार पार्ने कार्यदल र दुबो फन्ट डिजाइन गर्ने पौडेललाई धन्यवाद दिए।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताए।  कार्यदलका संयोजक डा. अमृत योञ्जन-तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताए। कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले प्रस्तावित फन्टको विशेषताका बारेमा प्रस्तुतिसहित विशेषताका बारेमा जानकारी दिए। फन्ट सिर्जना गर्ने आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले २२४ क्यारेक्टर रहेको ‘दुबो’ फन्ट देवनागरी र युनिकोडभन्दा फरक लेआउट भए पनि प्रयोगमा ल्याउन सजिलो रहेको बताए। प्रा. राम लोहनी, डा. कृष्णप्रसाद चालिसे, डा.कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा.सूर्यप्रसाद यादव, राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासा सहित टिप्पणी गरेका थिए।

अध्ययन कार्यदलमा संयोजकमा अमृत योञ्जन तामाङ, सहसंयोजक डा. विष्णुकुमार सिंजाली, सदस्यहरूमा प्रा. भीमनारायण रेग्मी, डा. तारामणि राई, अम्बरजङ लिम्बु, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी थिए। कार्यदलले तयार पारेको प्रतिवेदन २४६ पृष्ठको रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका