ललितपुरमा पाँचौं छेथर महापूजा सम्पन्न

प्रकाश थिङ संवाददाता
350 Shares
ललितपुर

बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रद्वारा आयोजित छ्योठुल दुइछेन (ऋद्धि प्रतिहार्य दिवस) को अवसरमा पाँचौं छेथर महापूजा सम्पन्न भएको छ।

बागमती गाउँपालिका, भट्टेडाँडा वडा नम्बर–३ स्थित तीनपाने राडर डाँडाको पिकनिक पार्कमा धर्मगुरू जेचुन साङ्गे खाण्डो रिन्पोछेको उपस्थितिमा सामूहिक टाप्चे सहितको शरणगमनको शिल प्रदान गरिएको थियो।

छेथरलाई प्राणदान वा जीवनदानको रूपमा लिइन्छ। यसको महत्व विभिन्न शास्त्रहरूमा उल्लेख गरिएको छ। कुनै पनि पशुपंक्षीलाई छेथर गरिएमा भिक्षुले शील पालना गरे जति मात्रामा पुण्यलाभ हुन्छ भन्ने विश्वास छ। ‘बोका वा बाख्रा‚ परेवा लगायत कुनै पनि एक प्राणीलाई छेथर गरी स्वतन्त्र पारिएमा सात जुनीसम्म दुर्गतिमा पतन हुनबाट मुक्ति मिल्नेछ’ भन्ने भनाइ उल्लेख छ। यसैगरी, अज्ञानतावश एक सय जना व्यक्ति वा एक सय घोडाको हत्या गरेको व्यक्तिले एकै पटक छेथर गरेमा पनि उक्त महापापबाट मुक्ति पाउने विश्वास छ।

छेथर गर्दा लामागुरुद्वारा आयुसूत्र र आयु धारणीमन्त्र लगायतका पाठ गर्नुपर्दछ। छेथर गरी स्वतन्त्र छोडिएका पशुपंक्षीलाई कसैले हत्या गर्नुहुँदैन। यदि कसैले मारेर मासुको रूपमा खाएछ भने एक सय जना व्यक्तिका हत्या गरे बराबर पापको भागीदार हुनुपर्ने र अनेकौँ प्रकारका दोषहरू समेत भोग्नुपर्नेछ भन्ने उल्लेख छ।

कार्यक्रममा बागमती गाउँपालिका प्रमुख बिरबहादुर लोप्चनले आगामी दिनमा आफ्नो गाउँपालिकाले बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रले गरेका हरेक कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले आफ्नो क्षेत्रमा धार्मिक कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद समेत दिए।

त्यस्तै, कन्ज्योसोम गाउँपालिका वडा नं ३ का अध्यक्ष तिलक बोम्जनले पनि कार्यक्रममा उपस्थिति जनाए।

यस कार्यक्रममा विभिन्न जिल्ला तथा ललितपुरका भक्तजनहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक रूपमा समर्थन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई आयोजक संस्था केन्द्र परिवारले हार्दिक आभार सहित धन्यवाद दिंदै कार्यक्रम समापन गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया