ललितपुरको बागमती गाउँपालिकामा बौद्धधर्म गुरुहरुलाई धार्मिक पूजा-पाठमा प्रयोग हुने आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। चैत्र ४ गते सोमबार पालिका प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा यो सामग्री लामा गुरु तथा वडा प्रतिनिधिहरूलाई प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले धर्मनिरपेक्ष राष्ट्र भए पनि सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आवश्यक सहयोग गर्ने पालिकाको नीति रहेको बताए । उनले भने, “हाम्रा परम्परागत तथा सांस्कृतिक चाडपर्वहरूलाई जोगाइ राख्न र धार्मिक आस्थालाई सम्मान गर्न पालिकाले निरन्तर प्रयास गरिरहेको छ। आगामी दिनहरूमा पनि आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता रहेको छ।”
उपाध्यक्ष भक्तबहादुर दर्लामी मगरले पालिकाले विविध जाति, भाषा र धर्मका समुदायहरूलाई सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा थप कार्यक्रमहरू ल्याइने जानकारी दिए ।
वडा नं. ४ का अध्यक्ष रामकुमार लामाले तामाङ समुदायको परम्परागत धार्मिक अभ्यासका लागि यी सामग्रीहरू उपयोगी हुने बताए । उनले भने, “हाम्रो समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म यी सामग्रीहरू अनिवार्य रूपमा प्रयोग गरिन्छ। यसले हाम्रो परम्परालाई निरन्तरता दिन ठूलो राहत पुगेको छ।”
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, लामा गुरुहरू, स्थानीय बुद्धिजीवी तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँपालिकाले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे।
धार्मिक तथा सांस्कृतिक परम्परालाई संरक्षण गर्दै स्थानीय समुदायलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो सामग्री हस्तान्तरण कार्यक्रमलाई उपस्थित स्थानीयबासीहरूले सकारात्मक रूपमा लिएका छन्। पालिकाले आगामी दिनमा अन्य समुदायहरूका आवश्यकताअनुसार पनि सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।