यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार चैत ७ गते बिहीवारदेखि देशभर एकैसाथ शुरू हुने यस परीक्षाको सबै तयारी पूरा भएको बताएका छन् ।
बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
यस वर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ जना बढी, कुल ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रण कार्यालयले देशभर २ हजार ७९ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थीमा एक जना निरीक्षक खटिने व्यवस्था गरिएको छ।
यसपटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ। काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ।
यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर चैत १९ गते सम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। त्यसै दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा सञ्चालन हुनेछ।