भोट भन्नाले तिब्बती-बर्मेली भाषा समूहको संभोट लिपिमा लेखन पद्धति भएको हिमालय पर्वतमालाको वारि र पारिको विशाल भूभागलाई बुझिन्छ । पाकिस्तानको उत्तरी भागदेखि बर्माको उत्तरी भागसम्म फैलिएको हिमालय पर्वत श्रृङ्खला भएको क्षेत्रमा धेरै पहिलेदेखि नै मानिसहरूको बसोबास भएको पाइन्छ । संस्कृत वाङ्मयमा त्यो क्षेत्रलाई भोट्ट वा भोट भनिन्छ । इशाको सातौँ शताब्दीमा थोन्मी संभोटले भोट लिपिको निर्माण गरेपछि ठूलो परिमाणमा भोट भाषामा संस्कृत बौद्ध ग्रन्थहरू अनुवाद गर्न थालियो भने मौलिक ग्रन्थहरूको पनि रचना गर्न थालियो । अधिकतर बौद्धमार्गीहरू रहेको उक्त विशाल क्षेत्रमा भगवान बुद्धसँग सम्बन्धित तीर्थहरूलाई अति नै महत्व दिने गरिन्छ । यसै सन्दर्भमा नेपालमा तीर्थ यात्रामा आएका तीर्थयात्रीहरूले नेपालका विभिन्न ठाउँहरूको बयान गरेको पाइन्छ । तीर्थ यात्रा वृत्तान्त र तीर्थयात्रीहरूको जीवनीमा नेपाल सम्बन्धी प्रशस्त बयान पाइन्छ । तिनीहरूमध्ये झ्यारुङ खाश्योर नामले भोट क्षेत्रमा प्रसिद्ध बौद्धनाथ स्तूपको विषयमा भोट विद्वानहरूले लेखेका वृत्तान्तहरूलाई यो लेखमा प्रस्तुत गरिएको छ।
नेपालमा भोट विद्वान र साधकहरूको आगमन
नेपाल र भोटको बीचमा पुरानो व्यापारिक सम्बन्ध भएकाले वस्तुहरूको विनिमयका लागि दुवै तर्फका व्यापारीहरूले नेपाल र भोटको यात्रा गरेको प्रसङ्ग प्राचीनकालका लिच्छवी अभिलेखहरूमा पनि पाइन्छन् । प्राज्ञिक हिसाबले नेपालको भ्रमण गर्ने पहिलो विद्वान सातौँ शताब्दीका भोट मन्त्री थोन्मी सम्भोट हुन् । भारत वर्षमा लिपि र धर्म अध्ययन गर्न जाने क्रममा भोट सम्राट स्रोङचेन गाम्पोको उपहार तत्कालीन नेपाली राजालाई पनि चढाएको कुरा मणि कावुम ग्रन्थमा लेखिएको छ । नेपाली राजाले पनि मगधको प्रचण्ड गर्मीबाट बच्नका लागि संभोटको टोलीलाई कपूर, वंशलोचन, चन्दन आदि उपहार दिएका थिए ।
नेपालमै तीर्थयात्रा र साधना गर्छु भनेर आएकी तिब्बती रानी तथा साधिका येशे छोग्याल थिइन् जसले आठौँ शताब्दीको उत्तरार्ध र नवौँ शताब्दीको पूर्वार्धको नेपालको बयान गरेकी छन् । यसैगरी एघारौँ शताब्दीका भोट विद्वानहरू डोग्मी लोचावा शाक्य येशे (सन् ९९३-१०७०), ख्युङ्पो नाल्ज्योर (९९०-), मार्पा लोचावा (सन् १०१२-१०९७), ङोग् लोचावा लोदेन शेराव (सन् १०५९-११०९), भारी लोचावा (सन् १०४०-११११) रा लोचावा आदिले नेपाल प्रसङ्ग उल्लेख गरेका छन् । तेह्रौँ शताब्दीका अनुवादक धर्मस्वामी नामले प्रख्यात चाग लोचावा छोजे पालसाङ्पो (सन् ११९७-१२६४) त बोधगया जाने क्रममा आठ वर्षसम्म काठमाडौँमै बसेका थिए । चौधौँ/पन्ध्रौँ शताब्दीका विद्वान गुरुहरू थाङ तोन ग्याल्पो (सन् १३६१-१४८५), गो लोचावा शोन्नु पाल (सन् १३९२-१४८१), ठिम्खाङ लोचावा सोनाम ग्याछो (सन् १४२४-१४८२) ले नेपालको बारेमा लेखेका छन् । नेपालको विस्तृत बयान गर्ने गुरुहरूमा चाङ न्यीन हेरुक (सन् १४५२-१५०७), योल्मोवा शाक्या साङ्पो (१६औँ शताब्दी), छैठौँ श्यामार्पा छोक्यी वाङ्छुग (सन् १५८४-१६३०), योल्मोवा तेन्जीन नोर्बु (सन् १५९८-१६४४), राङरिग रेपा (सन् १६८३), सितु पण्छेन छोक्यी जुङ्ने/सितु धर्माकर (सन् १७००-१७७४), काथोग छेवाङ नोर्बु (१६९८-१७५५), खाम्टुल छोक्यी न्यीमा (सन् १७३०-१७८०), ढाग्कार छोक्यी वाङ्छुग (सन् १७७५-…), लामा श्याब्कार छोग्ढुग राङ्ढोल (सन् १७८१-१८५१) आदि छन् ।
भोटवासी विद्वानहरूको भयारुङ खाश्योर बयान
सातौँ शताब्दीदेखि हालसम्म विभिन्न विद्वानहरूले नेपाल भ्रमण गर्दा झ्यारूङ खास्योरको बयान गर्ने लेखकहरूका विभिन्न रचनाहरूको आधारमा बौद्ध स्तूप झ्यारुङ खाश्योरको वृत्तान्त अब उल्लेख गरिन्छ ।
भोटको इतिहासमा झ्यारूङ खाश्योर स्तूपको पहिलो उल्लेख सन् ७७५ मा भोट क्षेत्रको बिहार साम्ये गोन्पाको निर्माण सम्पन्न भई सकेपछि त्यहाँ अति गुह्य गुरु चित्त साधना (लामा याङसाङ थुग् क्यी डुब्पा) को अभिषेक दिने क्रममा गुरु पद्मसंभवको मुखारविन्दबाट भएको पाइन्छ । राजा ठिसोङ देउचेनलाई उहाँहरूको पूर्व जन्मको बयान गर्ने क्रममा झ्यारूङ खाश्योर स्तूपको वृत्तान्तलाई पद्मसंभवले बताउनु भएको छ । यो प्रसङ्गलाई विभिन्न कालखण्डका निधि प्रकाशक (तेर्तोन) ले प्रकाशमा ल्याएका छन् । गुरु पद्मसंभव (गुरु रिन्पोछे) ले आठौँ शताब्दीमा भोटका राजा, रानीलगायतका शिष्यहरूलाई बताएका कुरा उहाँका चेली येशे छोग्यालले डाकिनी गूढ लिपिमा लेखेर भविष्यमा जन्मने सुयोग्य चेलाहरूले मात्र प्रकाशमा ल्याऊन् भनी निधि (तेर्मा) को रूपमा राखी दिएकी थिइन् । गुरु पद्मसंभवका आठौँ शताब्दीका चेलाहरू नै विभिन्न पछिल्ला जन्महरूमा निधि प्रकाशक (तेर्तोन) को रूपमा प्रकट भई गुरु पद्मसंभवका वचनहरूलाई पुनः प्रकाशमा ल्याउने काम गर्छन् । बौद्धनाथ (झ्यारूङ खाश्योर) स्तूपका सबै प्रसङ्गहरू निधि (तेर्मा) वाङ्मयमै आधारित छन् । बाह्रौँ शताब्दीका प्रसिद्ध निधि प्रकाशक तथा लेखक न्याङराल न्यीमा होसेर (सन् ११२४-११९२) को गुरु पद्मसंभव जीवनी ग्रन्थ साङ्लीङ्मा (ताम्रद्वीप) को बाह्रौँ अध्यायमा झ्यारूङ खाश्योरको बयान छ । यसको विस्तृत रूप चौधौँ शताब्दीका निधि प्रकाशक उर्गेन लिङ्पा (सन् १३२३-१३६०) को विश्वप्रसिद्ध पद्मसंभव जीवनी ग्रन्थ पेमा काथाङमा पाइन्छ । सोह्रौँ शताब्दीका निधि प्रकाशक योल्मोवा शाक्या साङ्पोले त ‘छोर्तेन छेन्पो झ्यारूङ खाश्योर घी लोग्यु थोपे ढोल्वा’ (श्रुत मुक्ति नामक महान स्तूप भयारुङ खाश्योरको वृत्तान्त) नामक पूरा ग्रन्थ नै निधि (तेर्मा) को रूपमा निकाले । यी तीन निधि ग्रन्थहरू नै भोटवासीहरूका श्रोतहरूको रूपमा रहेका पाइन्छन् ।
यस्ता निधि ग्रन्थहरू प्रकाशमा नआएकै बेलामा भोटका प्रसिद्ध अनुवादक ङोग् लोदेन शेराव (सन् १०५९-११०९) मा भारतमा पढ्न आउने क्रममा नेपालका पाँच ठाउँहरूको तीर्थ यात्रा गर्ने क्रममा झ्यारूङ खाश्योरको भ्रमण गरेको कुरा उनको जीवनी ग्रन्थमा लेखिएको छ । आचार्य अतीश दीपंकर (सन् ९८२ – १०५५) का शिष्य यी लोचावाले भयारुङ खाश्योर भ्रमण गरेको देखिए पनि अतीश तथा अन्य भोटका लोचावाहरू यो स्तूपमा आएको देखिन्न । नेपालमा आठ वर्ष बसेका धर्मस्वामीले यो स्तूपको बयान गरेका छैनन् ।
थाङ्तोन ग्याल्पोले यो स्तूपको भ्रमण गरेको कुरा चाहिँ पन्ध्रौँ शताब्दीको उनको जीवनी ग्रन्थमा लेखिएको छ । आठौँ देखि पन्ध्रौँ शताब्दीको बीचमा पनि यहाँ स्तूप रहेको तर व्यापक प्रचार नभएको देखिन्छ । सोह्रौँ शताब्दी पछिका भोट भाषाका नेपाल विषयक ग्रन्थहरूमा यसको व्यापक उल्लेख पाइन्छ ।
येशे छोग्यालको झ्यरूङ खाश्योर भ्रमण
गुरु पद्मसंभवका पच्चीस भोटका शिष्यहरू मध्ये येशे छोग्याललाई सबैभन्दा उच्च स्थानमा राखिन्छ । ग्याल्वा झ्याङ्छुबले लेखेको र अठारौँ शताब्दीका निधि प्रकाशक तारश्याम नुदेन दोर्जेले निधि (तेर्मा) को रूपमा निकालेको ‘भोद् क्यी भयोमो येशे छोग्याल जेछुल नाम्पार थार्पा घाव्पा ङोन् छ्युङ ग्युद् माङ् ठिस्हाइ लुठेङ् श्युग्सो’ (भोटकी योगिनी येशे छोग्यालको जीवनी र विमोक्षको रहस्य उद्धारक ग्रन्थ – वहु तन्त्र गन्धर्वको सारङ्गी) नाम आठ अध्याय भएको पुस्तक नै येशे छोग्यालको प्रमुख जीवनी ग्रन्थ मानिन्छ । यसको चौथो अध्याय आचार्यबाट धर्म र उपदेश प्राप्तिमा उनका गुरु पद्मसंभवले विभिन्न तहका उपदेशहरू दिने क्रममा वज्रयानका गम्भीर उपदेशहरूको अभ्यास गर्दा आवश्यक पर्ने मुद्रा खोज्नका लागि नेपाल गएर त्यहाँ भारतको सुवर्णद्वीपबाट घुम्दै आएका साले नामक सत्र वर्षे युवालाई भेट भन्ने आदेश दिनु भयो ।
बडो दुःख र कष्टका साथ नेपाल पुगी सकेपछि ‘मोन’का तीन दाजुभाइले बनाएको छोर्तेन झ्यारूङ खाश्योरको दर्शन गर्न गइन् । (पृ.६२) । स्तूपमा सुनको धूलो चढाउँदै यस्तो प्रणिधान गरिन्-
जिनको शुद्ध क्षेत्र नेपाल देश
सम्पूर्ण प्राणीहरूको नाथ भएका धर्मकायको अस्थि (प्रतिमा)
भविष्यका सागर समान कल्पहरूमा
सबै प्राणीहरूलाई भवसागरबाट तार्नका लागि
अनुत्तर धर्मचक्र प्रवर्तन गर्दै यहाँ रहेर
देहयुक्त र देह नभएका सम्पूर्ण प्राणीहरूलाई
मोक्ष नभएको द्वीपबाट मोक्षको उत्तम क्षेत्रमा
हे नाथ ! तपाईले डोऱ्याउने शक्तियुक्त बन्नुहोस् ।
यस्तो प्रार्थना गरी सकेपछि स्तूप (छोर्तेन) बाट अचिन्त्य मात्रामा नाना रङ्गको रश्मी निस्कियो । मेघले घेरिएको आकाश बीचबाट गुरु पद्मसंभव, उपाध्याय शान्त रक्षित, धर्मराज ठिसोङ देउचेन सहित नाना डाकिनीहरूले घेरिएको अवस्थामा प्रकट भएर उक्त स्थानमा धेरै समय नरहेर आफ्नो नेपाल आउनुको उद्धेश्य अनुसार काम गर भन्नु भयो । त्यसपछि आचार सालेलाई खोज्न भक्तपुर (खोखोम हान) तर्फ गएर उनलाई बडो दुःखका साथ भेटेर एई चुग्लाखाङमा ध्यान गरेको उल्लेख छ ।
यसरी येशे छोग्याल आफ्ना गुरु पद्मसंभव र पूर्व पति ठिसोङ देउचेनले पहिलेको जन्ममा बनाएको भयारुङ खास्योर छोर्तेनको दर्शन गरेको र आफ्ना मनोकामना पूर्तिका लागि प्रणिधान (प्रार्थना) गरेको देखिन्छ । गुरु पद्मसंभवले साम्ये गोन्पा (विहार) मा पूर्व जन्मको कथा भन्ने क्रममा झ्यारूङ खाश्योर स्तूपको निर्माण सम्बन्धी प्रसङ्ग बताउनु भएको थियो । उक्त कथन सुनेकी गुरु पद्मसंभवकी प्रमुख चेली नेपाल आउँदा त्यो स्तूपमा पुगी दर्शन र प्रार्थना गर्नु स्वाभाविकै हो ।
भोटवासीहरूको झ्यारूङ खाश्योर भ्रमण येशे छोग्यालबाटै भएको देखिन्छ । यस स्तूपमा रहेको काश्यप बुद्धको अस्थिधातु (कुधुङ) को अगाडि प्रार्थना गर्ने चलन पनि त्यही बेलामा देखिन्छ । यसलाई धर्मकाय चैत्य मान्ने प्रचलन पनि उनले गरेको प्रार्थनामै देखिन्छ । यसका निर्माताहरूका पुनर्जन्मका व्यक्तिहरू भोटमै रहेको बेलामा पनि येशे छोग्यालले यहाँको आकाशमा दर्शन पाउनुले उहाँहरुको उपस्थिति सदा रहेको कुराको संकेत गर्छ ।
न्याङरालको निधिहरूमा भयारुङ खास्योर
बाह्रौँ शताब्दीका निधि प्रकाशक न्याङराल न्यीमा होसेर (सन् ११२४-११९२) नेपाल आएको प्रसङ्ग नपाइए पनि उनका निधि ग्रन्थहरूमा झ्यारुङ खास्योर छोर्तेनको विषयमा धेरै नै चर्चा गरिएको छ । नेपालको राष्ट्रिय अभिलेखालयमा मात्र उपलब्ध मध्यम साङलीङ्मा जीवनी ग्रन्थको सुरुवातमै झ्यारूङ खाश्योर स्तूपको विस्तृत बयान छ । यहाँ झ्याजिमाका चार छोराको अलावा एक छोरीको पनि उल्लेख गरिएको छ । उक्त छोरीले स्तूप निर्माण पछि दाजुभाइहरूले प्रणिधान गर्दा केही पनि प्रणिधान नगरेको हुनाले पछिल्लो जीवनमा फर्पिङमा एक गाईको रूपमा जन्म लिएको उल्लेख छ। स्तूपको नाम ‘झ्यारिन खास्योर’ छ जसको अर्थ कुखुरा (झ्या) बेचेर कमाएको धन (रिन) बाट बनाएको खास्योर स्तूप भन्ने हुन्छ । अन्य सबैजसो स्रोतहरूमा राजाले आज्ञा दिएर बनाएको भन्ने प्रसङ्ग भए पनि यसमा नयाँ प्रसङ्ग छ । झ्याजिमाका ती चार भाइ छोरा मध्ये ख्यीजी (कुकुर पालक) काबाट जन्मेका छोरा पद्मसंभवको जीवनी यहाँ छ भनेर बताइएको छ । पद्मसंभवको जीवनी बयान गर्ने क्रममा झ्यारूङ खास्योरको प्रसङ्ग दिइएको छ ।
ल्हाचुन डोन्मोको निधि ग्रन्थमा झ्यारूङ खास्योर
एघारौँ शताब्दीका अर्का प्रसिद्ध निधि प्रकाशक ल्हाचुन ङोन्मोले साम्ये विहार (गोन्पा) को महावैरोचन मूर्ति पछाडि राखिएको निधि (तेर) बाट निकालेको छोर्तेन झ्यारूङ खास्योर लोग्यु थोढोल छेन्मो (झ्यारूङ) खास्योरको महान श्रुतमुक्ति नामक वृत्तान्त) नामक ग्रन्थ नै बौद्ध जगतमा प्रचलित सबभन्दा लोकप्रिय वृत्तान्त हो । महावैरोचन मूर्ति पछाडिबाट निधिको रूपमा निकालेर पुन पहिलेको ठाउँमा राख्नु भन्ने भविष्यवाणी अनुसार फेरि त्यहीँ राखेको उल्लेख छ ।
ङाग्छाङ शाक्य साङ्पो र भयारुङ खास्योर
सन् १५१२ मा ङाग्छाङ शाक्य साङ्पोले पुनः त्यही साम्ये विहारबाटै निधि निकालेर त्यसैको आधारमा काठमाडौँ आई झ्यारूङ खास्योरको उद्धार गरेको उल्लेख छ । आजकल प्रायः ल्हाचुन डोन्मोले एकपल्ट निकाली पुनः शाक्य साङ्पोले निकालेको स्तूपको वृत्तान्त भोटभाषी बौद्ध समाजमा व्याप्त छ ।
योल्मोवा तेन्जीन नोर्बु र भयारुङ खास्योर
सन् १६१७ मा राजा शिवसिंह देवको निमन्त्रणामा काठमाडौँ आई झ्यारूङ खास्योर स्तूपको रखवारी गर्नका लागि कोङेर ल्हाखाङ बनाउने तेन्जीन नोर्बुले आफ्नो आत्म-जीवनी ग्रन्थमा झ्यारूङ खास्योर स्तूप निर्माणको क्रममा ज्याझिमा र छोराहरूको सेवकको रूपमा काम गरेको उल्लेख गरेका छन् ।
जिग्मे लिङ्पा र भयारुङ खास्योर
अठारौँ शताब्दीका प्रसिद्ध बौद्ध गुरु तथा निधि प्रकाशक जिग्मे लिङ्पा (सन् १७२९-९८) ले भोटको पालरी विहारमा गुफावास अभ्यासकै बीचमा सन् १७५७ मा झ्यारूङ खास्योरको भ्रमण ध्यानमग्न अवस्थामै गरेर लोङ्छेन न्यीन्थीग नामक निधि ग्रन्थ (तेर्मा) प्रकाशित गरेका थिए । जिग्मे लिङ्पाका निधि ग्रन्थहरूको वृत्तान्त ग्रन्थ ‘डाकिइ साङ्ताम छेन्मो’ ग्रन्थको सुरुमा यस्तो बताइएको छ।
कुन्ख्येन जिग्मे लिङ्पा ठेङ्पो तेर्छेन शेराव ओसेरले स्थापना गरेको पाल्री गोन्पामा तीन वर्षे गुफावास (लोसुम छोग्सुम) मा बसेका थिए । सन् १७५७ (अग्नि गोरु वर्ष) को दशौं महिनाको पच्चीसौं दिन (कृष्ण पक्ष दशमी) को राति प्रभास्वर समाधिको अवस्थामा एउटा सेतो सिंह माथि चढेर आकाशमार्ग हुँदै नेपालको झ्यारुङ खास्योर स्तूपको परिक्रमा पथमा पुगे । त्यहाँ ज्ञानकाय युक्त पाँच डाकिनीहरूले उनलाई एक ज्ञान सन्दुक दिए जसभित्र ५ पहेँलो रङका बेरिएका कागत र सात स्फटिक मालाहरू थिए । उनले दुईवटा पहेँलो कागतहरू खोले । पहिलोमा भोट लिपिमा अवलोकितेश्वरको साङ्केतिक लिपि थियो । दोस्रोमा भविष्यवाणी युक्त निर्देशिका नेछाङ् थुग्क्यी ढोम्भु थियो । उनले सबै पहेँला बेरिएका कागत र स्फटिक मालाहरू खाए । त्यसपछि निधि (तेर्मा) का उनीभित्र लुप्त अवस्थामा रहेका सबै शब्द र अर्थहरू उनको ज्ञान चित्तमा पुस्तकमा छापिए झैँ अङ्कित भए । उनले यो कुरा वर्षौंसम्म गोप्य राखे । सन् १७५९ मा उनी साम्ये गोन्पा नजीकैको छिम्फुमा अर्को तीन वर्षे गुफावासमा बसे । उक्त गुफावास अवधिमा कुन्ख्येन लोङ्छेन राव्ज्याम (१३०८-१३६३) तीन पटकसम्म शुद्धाभासमा आई उत्साह जगाउनका साथै डाकिनीहरूले पनि बारम्बार अनुरोध गरेका हुनाले झ्यारूङ खास्योर स्तूप परिसरमा पाएका निधिहरूलाई लोङछेन न्यीन्थीग नाम दिएर लिपिवद्ध गरे । सन् १७६४ को छैठौँ महिनाको दशमी तिथिका दिन १५ जना शिष्यहरूलाई अभिषेक र निर्देशन दिएर यो निधि सार्वजनिक गरे ।
हाल भोट-नेपालका अत्यधिक साधकहरूले अभ्यास गर्ने लोङ्छेन न्यीन्थीग् निधि श्रृङ्खला झ्यारूङ खास्योर स्तूपबाटै भएको देखिन्छ । अरु निधि ग्रन्थहरूमा यसको उल्लेख भएका त प्रशस्त प्रसङ्ग देखिन्छन् तर यहीबाटै निधि निकालेको इतिहास भएकाले यो स्तूप निधि राखिएको स्थल (तेर्ने) भएको देखिन्छ । गुरु पद्मसंभवले यो स्तूपको वृत्तान्त बताउनु, उहाँका निधि ग्रन्थहरूमा यसको उल्लेख हुनु र उहाँको अभ्यास पद्धति यही स्थानबाट उजागर हुनुले भोट र हिमाली समाजमा यो पवित्र स्थानको महत्वलाई बुझ्न सकिन्छ ।
भोट क्षेत्रको कला र वास्तुकलामा भयारुङ खास्योर
भोट वाङ्मयमा नेपालको भयारुङ खास्योर र स्तूपको बयान र महत्वको विषयमा माथि चर्चा गरियो । तर भोट, मंगोलिया, भुटान, रुसको वुर्यासिया आदि स्थानहरूमा झ्यारुङ खास्योरको प्रतिमा तथा थाङ्काहरू बनाइएका छन् । तिनीहरूमध्ये १९औँ शताब्दीमा नेपालमा बनेको भनिएको तर हाल क्यानाडा स्थित रोयल ओन्टारियो म्युजियममा रहेको बौद्धनाथ स्तूपको चर्चा गर्नु उपयुक्त हुन्छ । ९८ से.मी. अग्लो र ५९ से.मी. चौडा उक्त थाङ्का चित्रमा झ्यारूङ खास्योर परिसरलाई उतारिएको
छ।
वरिपरि परिक्रमा पथसहितको स्तूप हालकै रूपमा देखिन्छ । यसको महत्वपूर्ण पक्ष भनेको यसको माथिल्लो भागमा त्रिकाय गुरुहरूसहितको भोटको चार गुरुहरू दर्शाउनु हो । धर्मकाय अमिताभ बुद्ध, संभोगकाय आर्य अवलोकितेश्वर र निर्माणकाय गुरु पद्मसंभवलाई बीच भागमा देखाइएको छ । देब्रे पट्टिको भागमा यो स्तूपको विषयमा दोस्रो पल्ट निधि (तेर्मा) निकालेर सोही अनुसार यहाँ आई उत्खनन गरी स्तूपलाई हालको स्वरूपमा ल्याउने ङाग्छाङ शाक्य साङ्पोको प्रतिमा बनाइएको छ । दाहिने पट्टि ङाग्छाङ् शाक्य साङ्पोकै तेस्रो निर्माणकाय (टुल्कु) तेन्जीन नोर्बुलाई देख्न सकिन्छ । तेन्जीन नोर्बुको रचनामा यो स्तूपको निर्माण सम्बन्धी कुराहरू लेखिएको पाइन्छ । उहाँले नै हालको गुरु ल्हाखाङ भनिने कोङेर गृह बनाएको उल्लेख छ।
देब्रे पट्टिको माथिल्लो भागमा स्वयम्भू स्थित किम्डोल विहारमा बसेर झ्यारुङ खास्योर स्तूपको पुनर्निर्माणको निरीक्षण गरेका काथोग छेवाङ नोर्बु (सन् १६९८-१७५५) प्रतिमा देख्न सकिन्छ । नेपालमा लामो समय बसेर स्वयम्भू स्तूपको पुनरुद्धार गरेका मल्ल राजा जयप्रकाश मल्ल र शाह राजा पृथ्वी नारायण शाहका गुरु छेवाङ नोर्बुका केही रचना काठमाडौँमै बसेर गरिएका पाइन्छन् । दाहिने पट्टिको माथिल्लो भागमा सितु पन्छेन (सन् १७००-१७७४) को प्रतिमा देखिन्छ जसले दुईपल्ट नेपाल भ्रमण गरेका थिए। उनैका बाह्रौँ निर्माणकाय ताई सितुपाले हालको झ्यारूङ खास्योरको पुनर्निर्माणमा सहयोग गरेका छन् ।
चित्रकारको नाम उल्लेख नभए पनि सितु धर्माकारसम्मको नाम अङ्कित गरेर राङरिग रेपाको स्मृति स्तूप समेतको चित्र बनाइनुले यो थाङ्काको आफ्नै विशिष्टता छ । कर्मकाग्यु परम्पराका सितु पन्छेन र डुग्पा काग्यु परम्पराका राङरिग रेपाको नाम हुनाले यो स्तूपको पुनर्निमाणमा न्यीङ्मा गुरुहरूको साथै काग्यु गुरुहरूको योगदान पनि देखिन्छ।

(साभार : बौद्ध दर्पण स्मारिका २०७४ बाट)