रसुवा जिल्लामा वन डढेलाको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला वन कार्यालय रसुवाले गर्मी तथा सुख्खायाममा वन डढेलाले व्यापक रूपमा जनधनको क्षति तथा जैविक विविधताको विनाश गर्ने गरेको अवस्थामा यसको प्रचारप्रसार गर्न वन डढेला सचेतना सप्ताह फागुन २३ देखि २९ गतेसम्म पहिलो चरणको सचेतना सप्ताह सञ्चालन गरेको हो।
यस कार्यक्रम अन्तर्गत जिल्लाका गोल्जुङ, थाम्वुचेत, चिलिमे, ग्रे, गत्लाङ र डांडागाउँमा वन डढेला जनचेतना र रैली, अन्तरक्रिया, डढेला नियन्त्रण सामग्रीहरूको प्रदर्शन तथा प्रचारप्रसार गरिएको छ।
डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार, वन डढेलाले गाउँवस्तिमा वन तथा वन्यजन्तुलाई मात्रै असर पुर्याउन सक्ने बताए । उनले जनधनको समेत क्षति पुग्ने र मानव स्वास्थ्य तथा जलवायु परिवर्तनमा नकारात्मक असर पुर्याउने भएकाले डढेला नियन्त्रण गर्न वन कार्यालय, सुरक्षा निकाय मात्रै नभई प्रत्येक व्यक्ति, समुदाय र अन्य निकायको जिम्मेवारी रहेको बताए ।
यसैगरी दोस्रो चरणको सचेतना कार्यक्रम अन्तर्गत रेडियो लाङटाङ र सामुदायिक वन उपभोक्ता महासंघ रसुवा संगको सहकार्यमा वन डढेला नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि सन्देशमूलक सडक नाटक गत्लाङ, थाम्वुचेत, धुन्चे, ठूलो हाकु, डांडागाउँ लगायतका स्थानहरूमा समेत प्रदर्शन गरिएको छ।
डिभिजन वन कार्यालय रसुवाका वन डढेला फोकल पर्सन वीरबहादुर बोम्जनले यस सम्बन्धमा जानकारी दिएका छन्।
कार्यक्रमले वन डढेलाको नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय जनताको सहभागिता बढाउने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। वन डढेलाको प्रकोपबाट जनजीवन, वन तथा वन्यजन्तु संरक्षणमा ध्यान दिन आवश्यक रहेको छ भन्ने सन्देश यस कार्यक्रमबाट प्रसारण गरिएको छ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षकहरू, सामुदायिक वन उपभोक्ता समूहहरूका पदाधिकारीहरू, इको क्लब, सुरक्षाकर्मी तथा स्थानीय जनताको सहभागिता रहेको थियो।