भारतीय जेलको सेरोफेरो

काठमाडौँ

२०६० सालमा सुरु भएको माओवादी-सरकारबीचको दोस्रो शान्ति वार्ता रामेछापको दोरम्बामा साउन ३२ गते भएको नरसंहारपछि भङ्ग भयो । नेकपा माओवादीले युद्धविराम र वार्ता भङ्ग भएको घोषणाका साथ फौजी कारबाहीको थालनी गन्यो । यसै क्रममा काठमाडौँ उपत्यकामा फौजी र गैरफौजी कारबाही उत्साहजनक रूपले सम्पन्न हुँदै थिए । माओवादीको विशेष केन्द्रीय कमान्डले त्यस उत्साहलाई निरन्तरता दिइराख्न नयां कार्यक्रमबारे छलफल गर्दै थियो । त्यस बेला उपत्यकामा जनमुक्ति सेनाका कारबाही उच्च स्तरमै सम्पन्न भइरहेको थियो । देशकै राजधानीको सुरक्षा व्यवस्था कायम गर्नु राज्यका लागि ठूलो चुनौती बनेको थियो ।

त्यस बेला विशेष कमाण्डका माओवादी नेताहरू ताम्सालिङलाई आधार बनाई बस्ने गरेका थिए । हामी प्रायः मकवानपुरलाई आधार बनाएर बस्थ्यौ । इञ्चार्ज कमरेड सोनामलगायतका केही कमरेड फापरबारी, बगेरी र बागमतीको किनारमा र म आफैँ भने पश्चिम मकवानपुरको डांडाखर्क, गोगने, बैकुण्ठ, पगेनी क्षेत्रमा बस्ने गर्थे ।

सत्ताधारीहरूले आफ्नो गुमेको पहलकदमी छिन्न हाम्रो शक्तिबीच ठूलो मात्रामा घुसपैठ गराएका रहेछन् । त्यसैको परिणामस्वरूप शाही सेनाले हाम्रा कमरेड कर्साङ (बुद्धि तामाङ), कमरेड सरिता (कौशल्या पोखेल), कमरेड सङ्घर्ष (निश्चल नकर्मी). कमरेड सुमन (सुचेन्द्र श्रेष्ठ). कमरेड संजीव (हिराबहादुर रोक्का) गिरफ्तारीमा पर्नुभयो । यसबाट उपत्यकामा अकल्पनीय क्षति भयो । त्यति मात्रै होइन, यसले गर्दा देशैभर नकारात्मक सन्देश गयो, पार्टी पङ्क्तिमा निराशा र सत्ताधारीहरूमा उत्साहत फैलियो । यसै क्रममा कमरेड विकास (बासु लामिछाने) र कमरेड रामशरण (शम्भु पौडेल) तथा कमरेड साम्तेन (कालू ब्लोन) को क्षति भयो ।

यसरी हाम्रो पहलकदमी गुम्दै गइरहेको बेला पार्टीको सचिवालय बैठक भारतको चेन्नई (मद्रास) मा बसेको थियो । चेन्नई बैठकपछि बैठकका भाव र निर्णयको सम्प्रेषण गर्न एवम् योजना निर्माण गर्नेगरी बैठक बोलाइयो । बैठकको लागि हाम्रो विशेष कमाण्डका केन्द्रीय सदस्यहरूलाई पूर्वी नेपालको आधार इलाकामा जानेगरी रिङ ब्युरो कार्यालयबाट मलाई २०६१ जेठ ११/१२ गते नै खबर आयो ।

म जेठ १६ गते बिहानको खानापछि ११/१२ बजेतिर कार्यक्षेत्रबाट हिँड्ने तयारी गर्दै थिएँ । मैले कमरेड सञ्जन (सुमन तामाङ) लाई साथी लिई हिँड्नै लागेको थिएँ । सुमन तामाङ हाल ककनी गाउँपालिकाका अध्यक्ष भएका छन् । सञ्चार पोष्टबाट एक्कासि नराम्रो खबर आयो, मनहरी एरियाबाट शाही सेनाले घेरा कस्दै छ र हामी भएको उत्तरी क्षेत्रतर्फ निसानी सोझ्याउँदै छ ।

बैठकको लागि हिँड्ने कार्यक्रम त्यस दिनको लागि स्थगित भयो । त्यस दिन हामी हिँड्छौ भनेर बिहानै कमरेड स्मृति (मेरी श्रीमती विशुमाया तामाङ) लाई जिम्मा दिइराखेका झोला र सामग्री आफैले समालेर सुरक्षित ठाउँमा पठाएं । त्यस आसपासमा रहेका नेता-कार्यकर्तालाई घेरा तोड्न र जवाफी कारबाही गर्न निर्देशन दिएँ ।

म बस्ने बस्ती विशेष जिल्लाको भूगोलमा पर्थ्यो । विशेष जिल्लाका इञ्चार्ज कमरेड वीरजङ्ग (मोहनबहादुर कार्की), सेक्रेटरी कमरेड रोशन (मुकुन्द पौडेल), जनमुक्ति सेनाका कमिसार कमरेड त्रिचन्द्र (हिरानाथ खतिवडा), कमान्डर कमरेड शार्दूल (अर्जुनलाल श्रेष्ठ) हुनुहुन्थ्यो । त्यस क्षेत्रभित्रै नुवाकोट जिल्लाका सभापति कमरेड जगवीर (भरत ढुङ्गाना) र पूर्व उपसभापति कमरेड कपिल (रामप्रसाद ढुङ्गाना, हाल बागमती प्रदेश सभा सदस्य) सँगै धादिङ जिल्ला उपसभापति कमरेड जय (उत्तम कँडेल) को कार्यक्षेत्र पनि तोकिएको थियो । उहाँहरू तीनै जना पुरानो सत्ताबाट विद्रोह गरेर माओवादी जनयुद्धको बाटो रोजेर भूमिगत जीवनको कठिन यात्रामा लामबद्ध हुनुभएको थियो । उहांहरूलाई सेना, प्रहरी र सञ्चारकर्मी धेरैले चिन्न सक्थे । त्यसकारण पनि उहाँहरूलाई सुरक्षित राख्न पार्टी विशेष कमाण्डले मलाई नै जिम्मा दिएको थियो ।

बिहानदेखि सेनाको घेराबन्दी सुरु भइसकेको थियो । त्यस दिनको समयले नेटो काट्दै थियो । दिनभर कुनै अप्रिय घटना घटेन । बेलुकासम्ममा शाहीसेना पनि सानो डाँडाखर्क, छ्यामदुङतिरै आउन सक्ने अनुमान गर्‍यो । दिउँसो रहेको त्यस ठाउँबाट हामी अन्यत्र सर्‍यौँ ।

डाँडाखर्कदेखि बेउर जेलसम्म

भोलिपल्ट, २०६१ जेठ १७ गते बिहान ६ बजेको कान्तिपुर रेडियोले फुक्यो- मकवानपुरको डाँडाखर्क एरियामा उग्रवादीको आक्रमणमा परी एक जना शाही सेनाको अधिकृतको मृत्यु भएको छ । करिब ८ बजेतिर डाँडाखर्कमा हेलीकप्टर आयो । हेलीकप्टरले मृतक र बाँकी रहेका शाही सेनालाई लिएर गएको खबर आयो । र, सेनाले उक्त क्षेत्र खाली गरेको सङ्केत मिल्यो ।

हामी खाना खाएर गन्तव्यतर्फ लाग्यौँ । कुवापानीमा गई खाजा खायौँ । बेलुका बस्तीपुरमा झर्‍यो र त्यतै बास बस्यौँ । १८ गते बिहान तरकारी लिन वीरगञ्ज जाने जिपमा चडेर जाने निधो गर्‍यो । त्यसै अनुसार जीप चडेर वीरगञ्ज गयौँ । ८ बजेतिर वीरगञ्ज पुग्यौँ । एउटा होटलमा नुहाइधुवाइ गर्‍यो । र, छिट्टै खाना खाएर पटना जाने बसको टिकट लिएर बस चढ्यौँ । बेलुकासम्ममा हामी पटना पुग्यौँ ।

हामी स्टेसनरोड क्षेत्रको एक होटलमा कोठा लिएर बस्यौँ । १९ गते बिहान हामी बसेको नजिकैको एउटा होटलमा कमरेड कल्पना धमला, कमरेड देवेन्द्र पराजुली र कमरेड विवेक (श्रीकृष्ण अधिकारी) सँग भेटघाट भयो । धमला र पराजुली औषधी गर्न केही दिनअघि पटना जानुभएको थियो भने विवेक पार्टी कामकै लागि त्यतै बस्ने गर्नुहुन्थ्यो ।

२०६१ जेठ २० गते हामी बिहान कमरेड सुमन तामाङको कानको औषधी गर्न गएका थियौँ । फर्केर होटलमा आउँदा करिब १२ बजेको थियो । कोठामा फर्केर आएपछि १ बजेतिर खाना खायौँ । खानापछि बिहान लिइआएको पाकेको मेवा खाएर आराम गर्दै थियौँ । करिब ४ बजेतिर हाम्रो लागि अचानक आपत आइलाग्यो ।

हुन त हामीले कोठाको ढोकाको चुकुल लगाएका थियौँ । बाहिरबाट कसैले ढोकामा ढकढक्यायो । क. सुमनले ढोका खोल्नुभयो । तीन जना सिविल ड्रेसका मान्छेहरू कोठामा पसेर ‘हात माथि गर’ भन्यो । हामी अक्कनबक्क भयौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यमनस्कको अवस्थामा पुग्यौँ । ‘को हौ, किन हो ?’ भनेर सोध्न सक्ने स्थिति पनि रहेन । सुरुमा डाँका हुन् कि जस्तो लागेको थियो, होइन रहेछ ।

‘अब लैजाने नै भयो’ भनेर मैले जुत्ता खोज्न थालेँ । त्यति नै खेर ‘जङ्गलमा बस्नेलाई किन चाहियो जुत्ता’ भनेपछि झसङ्ग भयौँ । यिनीहरू हामीलाई चिनेरै गिरफ्तार गर्न आएका प्रहरी रहेछन् भन्ने बुझ्यौँ । ढोका बाहिर प्रहरी पोसाकमा ३/४ जना थिए । तीमध्ये केहीसँग एस.एम.जी. पनि देखियो । पछि थाहा भयो, उनीहरू भारतको अर्धसैन्य बलको विशेष कार्यदल (स्पेशल टास्क फोर्स) का सदस्य रहेछन् ।

उनीहरूले हामीलाई कब्जामा लिए । झोला लिएर बाहिर निकाले । तल ढोकानिर गाडीमा कमरेड चित्रबहादुर श्रेष्ठ (चितवन) र कुमार दाहाल (सिन्धुली) पनि रहेछन् । प्रहरीले एकैछिनमा हामी सबैलाई पटनाकै कदमकुआं थानामा पुर्‍याए ।

थानामा पुगेपछि अलग-अलग ठाउँबाट समातिएका हामी सँगै भयौँ । त्यहाँ त हाम्रा साथीहरूको जमघट नै भयो । त्यहा एक साथ भेटिनुभयो, धेरै कमरेडहरू । उहाँहरूमध्ये एक हुनुहुन्थ्यो, कमरेड कुलप्रसाद केसी जो पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुभयो । त्यस्तै, उहाँसँगै हुनुहुन्थ्यो- कमरेड लोकेन्द्र बिष्ट मगर (पूर्व मन्त्री), कमरेड दीलिप महर्जन (संविधानसभा सदस्य), कमरेड तारा घर्ती (रोल्पा, पार्टी केन्द्रीय सदस्य), कमरेड मिनप्रसाद आमागाई (बारा सिमरा), कमरेड श्यामकिशोर यादव (बारा हरिहरपुर) र कमरेड अनिल शर्मा (चितवन) । अब कमरेड कुमार दाहाल र कमरेड चित्रबहादुर श्रेष्ठ (संविधानसभा सदस्य) सँगै कमरेड सुमन र म पनि मिसियौँ । हामीमध्ये क. लोकेन्द्र बिष्टलाई जेल जीवनको भुक्तभोगी मान्नुपर्छ ।

प्रहरीले एक आपसमा चिन्छौ कि चिन्दैनौ भनेर हामीलाई सोध्यो । हामीले एकले अर्कोलाई चिन्दैनौँ भन्यौँ । कमरेड तारा घर्तीलाई सामुन्ने उभ्याएर अश्लील शब्दका साथ गाली गरियो । हामीले भनेको नपत्याएर कमरेड सोनामलगायतका प्रायः सबैलाई कुटपिट गर्न थालियो । त्यस क्रममा कमरेड कुमार दाहाल र मलाई भुइँमा लडाएर हात, लाठी र लात्तीले पिट्नुसम्म पिटियो ।

पछि हामीहरूबीच सल्लाह भयो र आ-आफ्नो वैचारिक-राजनीतिक अवस्थिति र साङ्गठनिक हैसियत प्रस्ट खुलाउने निर्णय भयो । यसै क्रममा हामी पार्टीको जेल-लाइनअनुसार कुन-कुन समितिमा, कुन-कुन जिम्मेवारीमा छौँ, हाम्रो घर ठेगाना र नाम के-के हो, सबै बतायौँ । त्यसपछि धेरै सोधपुछ र थोरै कुटपिट हुन थाल्यो । कतिसम्म भने राति पनि धम्क्याउने, गाली गर्ने, प्रलोभन देखाउने
काम भयो । शारीरिक र मानसिक दुवै किसिमको यातना दिने क्रम रोकिएन । कमरेड अनिल शर्मासँग सहिदका फोटो, प्रकाशन सामग्री र पैसा फेला परेकाले अलि बढी सोधपुछ गरियो ।

अन्ततः २०६१ जेष्ठ २१ को अपरान्ह हामीलाई पटनाकै कदमकुआं थानाबाट बेउर जेलमा लाने तयारी गरियो । थानाबाट जेल चलान गरिने बेला क्यामेरासहितका पत्रकार आएका थिए । पत्रकारहरूले हाम्रो फोटो लिन धेरै जोडबल गरे, तर प्रहरीले फोटो लिन दिएनन् । तैपनि पत्रकारहरूले केही थान फोटो खिचेरै छाडे । प्रहरीहरूले सरकारी नीतिअनुसार हामीलाई जिल्ला दण्डाधिकारी कार्यालयमा उपस्थित गराए । त्यहाँबाट बेउर जेलमा पुर्‍याउँदा रात धेरै बितिसकेको थियो । त्यो दिन हामी सबै भोकै सुत्न बाध्य भयौँ ।

जेठ २२ गते बिहानै हाम्रै पार्टी कार्यकर्ता कमरेड प्रकाश यादवसँगै भाइचारा पार्टी भारतीय कम्युनिस्ट पार्टी माओवादीका कमरेडहरू मुकेश, मास्टर साब र बबनलगायतका साथीहरू भेट्न आउनुभयो । यस जेलका नियम र अवस्थाबारे जानकारीमुलक कुरा दिनुभयो । लुगाफाटो र त्यस दिनको खानपिनको व्यवस्थापनसम्बन्धी काममा सहयोग गर्नुभयो ।

बेउर जेलमा हामीमध्ये पुरुषलाई बेउर जेलको दुईवटा खण्ड यमुना खण्ड र सरस्वती खण्डमा राखियो । यस जेलमा महिला बन्दी राख्ने व्यवस्था रहेनछ । त्यसैले कमरेड तारा घर्तीलाई पटनाकै फूलबारी जेलमा लगियो ।

दासलाई जस्तो दुर्व्यवहार

हामीलाई देशद्रोही र आतङ्कवादीको बिल्ला भिराएर थुनियो । बिहार प्रहरीले हामीलाई इन्टरपोलले पक्राउ पुर्जी जारी गरेको भनेर पनि भुट्टो खबर गरियो । प्रहरीले अदालतमा पेस गरेको प्राथमिक अनुसन्धान रिपोर्ट (एफआरआई) मा हामीलाई भारतीय माओवादीसँग मिलेर भारत र नेपालमा नरसंहार र अस्थिरताको योजना बनाउँदै गरेको आरोप लगाइयो | एफआरआईमा गनिएको थियो, प्रतिबन्धित माओवादी उग्रवादी सङ्गठनका अपराधीहरूका काममा नेपालका पनि सङ्लग्न रहेका छन्, उनीहरूले पटनाका विभिन्न होटलमा बसेर भारतका विभिन्न राज्य बिहार, झारखण्ड आदिमा र छिमेकी देश नेपालमा सामूहिक नरसंहार एवम् नेपाल सरकारलाई अस्थिर बनाउने योजना बनाइरहेको अवस्थामा फेला परेको छ ।

हामीलाई विस्तृत सोधपुछ र अनुसन्धान गर्नुपर्छ, पुन: हिरासतमा (रिगाण्ड) मा पठाउनुपर्छ भनी बिहार प्रहरीले अदालत समक्ष माग गर्‍यो । हामीले हामीमाथि भारत सरकारले गरेको हस्तक्षेप विरुद्ध भारतीय अदालतमा मुद्दा दायर गर्‍यो, तर त्यसको कुनै सुनवाइ भएन । हामी धेरैजसो नेकपा माओवादीका केन्द्रीय सदस्य थियौँ तर पनि राजनीतिक र मर्यादित व्यवहार गरिएन । २०६१ असार २१ मा हामीलाई अदालतमा उपस्थित गराउन लैजाने क्रममा बर्बर यातना दियो । मानौ, बर्बर युगमा दासहरूलाई जसरी व्यवहार गरियो । सबैलाई एउटै डोरीले कम्मरमा बाँधेर चटपटाउन समेत नमिल्नेगरी बाँधियो र जनावरलाई जसरी अपमानजनक र अमानवीय तरिकाले अदालतसम्म लगियो । बिहार प्रहरीले पटनाको सबैभन्दा तल्लो अदालत सदर अदालतमा हामीलाई एक साताको लागि हिरासतमा लिन माग गरेको रहेछ । सदर अदालतले ३ दिनको लागि मात्र हिरासतमा राख्न अनुमति दियो ।

२०६१ असार २७ गते बिहान हामीलाई रिमाण्डमा लगियो । त्यहाँ हामीलाई दिनभर अर्धसैन्य शिविरमा र राति कोतवाली थानामा राखियो । त्यहाँ जनसम्पर्क र भेटघाट निषेध गरियो । कोतवाली थाना यातनाघरको रूपमा बदनाम रहेछ । त्यस थानामा सुत्ने ठाउँको अभावमा हामी पालैपालो गरेर सुत्यौँ ।

त्यहाँ सोधपुछ गर्नेहरू पनि थरी-थरीका थिए । एक थरीले नेपाल र भारत सम्बन्धबारे सोध्यो । अर्को थरीले भारतका विभिन्न राष्ट्रिय मुक्ति आन्दोलनबारे सोध्यो । बोडोल्याण्ड, आसाम, मणिपुर, नागाल्याण्ड, गोरखा फौज र जातीय नीति एवम् सङ्गठनको विषयमा केन्द्रित प्रश्न गर्‍यो । केही थरीले पार्टीभित्रको वार्ता र अन्तरविरोधबारे सोध्यो । तेस्रो थरीले पार्टीको अन्तरसङ्घर्षलाई आधार बनाई काल्पनिक मुद्दा सिर्जना गर्न खोज्यो, पार्टीमा विभाजन ल्याउने षड्यन्त्र अनुरूप वार्ताको पक्षधर र विपक्ष बनाएर खेल्न खोजेको बुझियो ।

हामी जेलमा बस्दै गर्दा अरु माओवादी साथी पनि थपिनुभयो । कतिपय हामीलाई सहयोग गर्न क्रममा गिरफ्तार हुनु भयो । कतिपय उपचारको क्रममा समातिनुभयो । त्यसरी थपिनेमा क. राजेन्द्र कार्की (१ नं. प्रदेशसभासदस्य संखुवासभा), क. इन्दिरा मिश्र कार्की (क. राजेन्द्रकी श्रीमती), क. अरवीन्द्र पराजुली (सिन्धुपाल्चोक), क. रामबाबु चौधरी (महोत्तरी, बवास), क. युर्गाप्रसाद बगेल (ताप्लेजुड), क. गजेन्द्र जैसवाल, (रौतहट) : कालबहादुर तामाङ, जसले एउटा आँखा र एउटा कान गुमाउनुभयो ।

मेरो लागि प्रहरी हिरासत र जेलको यात्रा पहिलो पटक थियो । पहिलो यात्रा पनि स्वदेशमा होइन, विदेशमा भयो । मैले कतिपय सन्दर्भमा कुनै साथीभाइसँग भनेको पनि थिएँ, कि मैले प्रहरी हिरासत र जेलको अनुभव नै नलिई मेरो राजनीतिक यात्रा टुगिन्छ, कि त प्रहरी हिरासत र जेलको अनुभव लिने क्रममै सहिद भइन्छ । आफूले भनेको भन्दा विपरीत प्रहरी हिरासत र जेलको अनुभव लिएँ । सहिद हुने अवसर प्राप्त हुन्छ या हुन्न, टुङ्गो थिएन ।

जेल यात्राका क्रममा घर-परिवारको याद आयो । श्रीमती बिशुमायालाई नेपालको मकवानपुरस्थित डाडाँखर्कमै छाडेको थिएँ । जेठी छोरी लक्ष्मी पढाइ छाडेर २०५७ कार्तिकदेखि नै पूर्णकालीन कार्यकर्ता भई युद्धमा लागेकी थिइन् । छोरा रूपक र छोरी रेजिना (ज्ञानु) सामुदायिक विद्यालयमा पढ्दै थिए । उनीहरू भतिज छिरिङको व्यवस्थापन र शिक्षिका दिदी रमा घिमिरे पौडेलको रेखदेखमा कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयमा अध्ययनरत थिए ।

आमा श्रीमाया तामाङ म युद्धमा हिँडेदेखि चिन्ता नै चिन्तामा डुबेर बिरामी हुनुभयो | ६७ वर्षमा २०५४ माघ ११ गते दिवंगत हुनुभयो । बुबा वृद्ध भइसक्नुभएको थियो, उहाँको चिन्ताले सतायो । दाइ, भाउजूसँगै भाइ, बुहारी, भतिजा, भतिजी, सासूआमाको अवस्था कस्तो होला, चिन्ता लाग्यो । त्यस्तै, गाउँका आफन्त, इस्टमित्र र पार्टीलाई माया गर्ने, सेल्टर दिने सेल्टरदाता सहयोगीहरू सबैलाई सम्झेसम्म याद गरेँ । उहाँहरूसँग फेरि भेट होला या नहोला भनेर मन भक्कानियो ।

भक्कानिएको मनलाई युद्ध मैदानमा लड्दै गरेका जनमुक्ति सेनाका योद्धाहरू, पार्टीको नेतृत्व-पङ्क्ति, युद्धको क्रममा घाइते, अपाङ्ग तथा बेपत्ता भएका योद्धाहरू, महान् सहिदहरू, उहाँहरूका परिवार एवम् आम पार्टी पड़क्ति तथा श्रमजीवी जनसमुदायको सम्झनाले दह्रो बनायो । जेलभित्रका साथीहरूको साहसले पनि जस्तोसुकै अवस्था आइपरे पनि सामना गर्ने सङ्कल्प गर्न सघायो ।

जेलमा देखिएको भारतीय लोकतन्त्र

प्रहरी, अदालत र सरकारको साँचो तस्बिर जेलमा देखिने रहेछ । जेलका पर्खालदेखि पानी र चर्पीसम्ममा राज्यको अनुहार प्रस्टै झल्किने रहेछ । भारत संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भएको देशका रूपमा प्रचारित छ, व्यवहारमा भने उल्टो देखिन्छ ।

भारत वास्तविक जीवनमा लोकतान्त्रिक होइन भन्ने कुरा २ वर्षको जेल- जीवनमा अनुभूत भयो । त्यस्तो अनुभूति भयो बन्दीहरूले प्रयोग गर्ने खुला र दुर्गन्धित चर्पीमा । अव्यवस्थित र अस्वस्थकर पानीको प्रयोग गर्दा, बन्दीहरूलाई साँघुरो बिस्तरा र अपर्याप्त कम्बलको वितरण गरिँदा महसुस भयो । त्यस्तै, रासनको अनियमितता र अवैध खरिदबिक्रीमा मात्रै होइन, जेलमा प्रयोग गरिने असभ्य भाषा, पैसा र पावरको आधारमा उपचारलगायतका अन्य सेवा सुविधाको असमान व्यवस्थापनमा, निर्धो बन्दीलाई दबंग बन्दीहरूले गर्ने पाशविक व्यवहारमा त अलोकतान्त्रिक र हिंसात्मक चरित्र पनि देखियो । यी सबै पक्षमा कथित लोकतन्त्रवादी सरकारको बर्बरतापूर्ण नीति र व्यवस्था सहजै देख्न भोग्न पाइन्छ ।

हामीलाई भारत सरकारले गैरकानुनी, गैरन्यायिक रूपले गिरफ्तार गरेको थियो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि अनुसार पनि हामीलाई गिरफ्तार गर्न मिल्दैन । सो सन्धि अनुसार नेपाल र भारतका सरकारहरूले एक-अर्काको देशमा गैरकानुनी गतिविधि गरेका रहेछन् भने संलग्न भएका व्यक्तिहरूलाई गिरफ्तार गर्न सक्छन् । तर त्यसका लागि सम्बन्धित देशका सरकारले अभियुक्तहरू विरुद्ध मुद्दा दायर गरी त्यसको जानकारी अर्को देशलाई औपचारिक रूपले दिएको हुनुपर्छ । हामी कसैको विरुद्ध पनि न मुद्दा लगाइएका थियो, नत नेपाल सरकारले भारत सरकारलाई जानकारी दिएको नै थियो । यसर्थ हाम्रो गिरफ्तारी सन् १९५० सन्धिको उल्लङ्घन थियो, नेपालको आन्तरिक मामिलामा भारतीय बिस्तारबादी हस्तक्षेप पनि थियो ।

हामीलाई थाहा छ, भारत आफूलाई लोकतन्त्रवादी मुलुक भने पनि व्यवहारमा सामन्तवादी मुलुक नै हो । उनीहरूको कर्मकाण्डी संस्कार, जातीय विभेद, धार्मिक अन्धविश्वास, रुढिवादी विचार र उत्पादन सम्बन्धले लोकतन्त्रवादी बन्न दिएका छैनन् । भारतीय समाज नेपाली समाजभन्दा कयौँ गुणा पछौटे देखिन्छ । भारतमा अहिलेसम्म पनि दलित र गैरदलितका बालबच्चा पढ्ने अलग-अलग विद्यालय छन् ।

जेलबाहिर मात्रै होइन, जेलमा समेत जात/जाति अनुसारको बसाइ र व्यवहार थियो । राजपुत, भुमिहार र धनीमानी एवम् दबंगहरू अलग्गै वार्डमा बस्छन्, जबकि दलित, पिछडिएका जाति र समुदायसँगै कम्युनिस्टहरू भिन्नै वार्डमा बस्ने व्यवस्था गरिएको छ । राजपुत र भुमिहार बस्ने वार्ड सुविधा सम्पन्न, सफा र फराकिलो थियो भने अरु बस्ने वार्ड फोहोर, सुविधाविहीन र अव्यवस्थित थियो।

भारत लिङ्गभेद र भ्रूण हत्या, बालबालिका अपहरण र यौन हिंसाका घटना धेरै हुने मुलुकमध्ये अघिल्लो पङ्क्तिमा छ । त्यहाँ अन्तरजातीय विवाह गर्नलाई पनि धेरै नै अपमानित गरिन्छ, सामाजिक बहिष्कारसम्म पनि गरिन्छ । त्यसैले भारत लोकतन्त्रवादी मुलुक होइन, बरु २१औँ शताब्दीमा पनि विश्वमै गणनायोग्य सामन्तवादी मुलुक हो भन्दा अत्युक्ति नहोला । वास्तवमा भारतमा ब्रिटिस साम्राज्यले लामो समय शासन सत्ता सञ्चालन गरे पनि लोकतन्त्रवादी संस्कार दिन सकेन। बरु त्यसको सट्टामा राजतन्त्र नभए पनि राजतन्त्रवादी र सामन्ती अभिजात वर्गीय संस्कारको विकास मात्रै गर्‍यो । अहिले पनि भारतको अर्थतन्त्र सामन्त र पुँजीपतिको हातमा केन्द्रित छ र जेल कानुन पनि ब्रिटिसकालीन नै छ । यसैले ब्रिटिसहरूले दक्षिण एसियालाई नै आफ्नो उपनिवेश माने भारतले पनि हामीलाई विदेशी बन्दीको मान्यता दिएन ।

हामीलाई थुनिएको बिहारस्थित बेउर जेल झन्डै ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । कैदीहरू ३-४ हजारभन्दा बढी राखिने रहेछ । त्यति ठूलो सङ्ख्यामा राखिएका बन्दीहरू फरक-फरक मुद्दाका हुनु र तिनीहरूमा भिन्नाभिन्नै मानसिकताका हुनु स्वाभाविकै हो । ती सबै बन्दीका आ-आफ्ना विचार, प्रवृत्ति, आस्था, रुचि र स्वभाव अनुसार सम्बन्ध र उठबस हुने गर्दछ ।

भारतीय कमरेडहरूको सहयोग

यसै सिलसिलामा हामी क्रान्तिकारी राजनीतिक आन्दोलनका बन्दी भएकाले हाम्रो सम्बन्ध भारतका माओवादी कमरेडहरूसँग भयो । हामी उहाँहरूका देशमा कैद थियौँ र उहाँहरू हामीभन्दा पुराना बन्दी हुनुहुन्थ्यो । हामीलाई आइपर्ने जस्तोसुकै समस्या पनि उहाँहरूसँग सोधेर मात्रै टुङ्गोमा पुग्थ्यौ । उहाँहरूले पनि हामीलाई जस्तोसुकै समस्या आइपरे पनि सहयोग गर्नुहुन्थ्यो । उहाँहरू र हामीहरू अलग-अलग मुलुकका फरक-फरक पार्टीका भए पनि विचार र भावनाका हिसाब भिन्नता नै अनुभूत भएन । मानौँ, एउटै मुलुकका एकै पार्टीका कमरेडहरूको जस्तो व्यवहार हुन्थ्यो ।

कतिसम्म भने हाम्रो मुद्दा हेर्ने वकिल पनि उहाँहरूले नै खोज्नुभएको थियो । हामीलाई जेल बस्दा आवश्यक पर्ने व्यक्तिगत र सामूहिक प्रयोगका सामग्री उहाँहरूमार्फत् नै झिकाइन्थ्यो । दुबै मुलुकतर्फका हामीहरू मिलेर कम्युनिस्ट अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार पेरिस कम्युन दिवस, लेनिन जयन्ती, माओ जयन्ती, मे दिवस लगायतका कार्यक्रम एउटै मञ्च बनाएर संयुक्त रूपमा मनाउँथ्यौँ । भारतका स्थानीय पर्वमा पनि हामीलाई बोलाएर उहाँहरूको रीतिथिति र परम्परा अनुसार खाना खुवाउने, चियापानको कार्यक्रम राख्ने गर्नुहुन्थ्यो । जेलमा बस्दा हामी कम्युनिस्टहरू वास्तवमै अन्तर्राष्ट्रिय जातिका पक्षपाती हौँ भन्ने कुराको गहिरो अनुभूति हुन्थ्यो ।

हाम्रा प्रायःजसो साथीहरू दिनदिनै भलिबल खेल्नुहुन्थ्यो, उहाँहरूसँगै खेल्नुहुन्थ्यो । क. अनिल शर्माको संयोजकत्वमा प्रगतिवादी सांस्कृतिक मञ्च बेउर जेल गठन गरेका थियौँ । त्यसको माध्यमबाट साहित्य गोष्ठी, हाजिरी जवाफसँगै सिर्जनात्मक कार्यक्रम पनि गर्ने गर्थ्यो । म आफू चाहिँ एकाध कार्यक्रममा सहभागी हुन्थे । र, प्रायःजसो कार्यक्रममा दर्शक मात्रै हुन्थेँ । यस्ता अनेक कार्यक्रमबाट पनि हाम्रो सम्बन्ध सुमधुर भएको अनुभूति हुन्थ्यो ।

हामीलाई जेल प्रशासनले अदालतमा उपस्थित गराउँदा पनि त्यस क्रममा आउन सक्ने समस्याबारे जेल प्रशासनलाई भन्नुपर्ने सानातिना कुरा पनि भाइचारा पार्टीका साथीहरूले नै चासोपूर्वक भन्ने गर्नुहुन्थ्यो । सुरु-सुरुमा हामीलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ताकपडा पनि उहाँहरूबाटै मिलाएका थियौँ । खसोखास भन्दा जेल प्रशासनबाट प्राप्त रासनले पुग्दैनथ्यो । त्यो बेला पनि उहाँहरूले सहयोग गर्नुपरे गर्छौँ भन्नुभएको थियो । तर, उहाँहरूको अवस्था पनि हाम्रोजस्तै होला भनेर सहयोगको अपेक्षा गरेनौँ । जस्तो छ, त्यस्तैबाट टार्यौँ ।

पार्टी र परिवारसँग सम्पर्क

केही समयपछि हामीलाई भेट्न पार्टी र परिवारका सदस्यहरू आउन थाले, त्यसपछि खर्चको समस्या पनि हल भयो । परिवारका सदस्यहरू भेटघाटमा आउँदा पार्टीले खर्च पठाउन थालेदेखि हाम्रो खानपिन र लत्ताकपडाको हल राम्रोसँग भयो । केही दिनपछि सम्भव भएसम्म परिवारका सदस्यहरू पार्टीसँग जोडिएर भेटघाटमा आउने योजना बन्यो । त्यस अनुसार चित्रबहादुर श्रेष्ठ, कुमार दाहाल, अनिल शर्मासँगै मेरो परिवारका सदस्यहरू पालैपालो आउनुभयो ।

नेपालबाट भेटघाटमा आउने क्रममा परिवारका सदस्यसँगै पत्रपत्रिका आउन थाले । परिवार र पत्रिकासँगै युद्धका समाचार पनि प्राप्त हुन थाले । त्यस क्रममा राम्रा-नराम्रा धेरै समाचार थाहा पाइयो । पूर्व जिल्ला सभापति क. भरत ढुङ्गाना र क. बैकुण्ठ पोखरेललाई धादिङमा शाही सेनाले घेरा हालेर हत्या गरेको दुःखद् खबर सुन्नुपर्‍यो । त्यस्तै, जनमुक्ति सेनाका कमाण्डर क. अर्जुनलाल श्रेष्ठलाई पार्टी कामको सिलसिलामा जाँदा काठमाडौँबाट गिरफ्तार गरी बेपत्ता बनाएको खबर पनि प्राप्त भयो । ती समाचारले निको भइसकेको घाउ बल्फेजस्तै गरी मलाई ज्यादै दुःखित बनायो । नेपालबाट भेटघाटका लागि आउने क्रममा सबैभन्दा पछि क. गीता गुरुङ्गसँग श्रीमती बिशुमाया तामाङ र छोरा रूपक आए । त्यतिखेर छोरा रूपकलाई चिन्न नै गाह्रो भयो ।

जेल प्रशासनले दिएको रासन नपुग हुँदा जेलभित्रै खरिद गर्थ्यो । कैदीलाई दिइने भागबाट बचाइएको रासन खरिद गर्न पाउने व्यवस्था थियो । बाहिर बजार किन्नेभन्दा जेलभित्र खरिद गर्न पाइने रासन सस्तो हुन्थ्यो । हामी नेपालीहरू जम्मा २० जना थियौँ, सबै जना एकै मेसमा खान्थ्यौँ । खाना हामी सबै जनाले पालैपालो गरी बनाउथ्यौँ । हाम्रो खाना गहुँको रोटी, उसिनेको चामलको भात, दाल र हरियो तरकारी हुन्थ्यो । हामी नियमित रूपमा दूध र माछा-मासु खाने गर्थ्यौँ । दूध र माछा-मासु भाकपाका सम्पर्क माध्यमबाटै झिकाउँथ्यौँ ।

नेपाल हुँदा हामीले युद्धको क्रममा बीफ (गाईको मासु) खाने गरेका थियौँ । हामीलाई बीफ खाने बानी भइसकेकोले जेलबाहिरबाट मासु मगाउन चाहेका थियौँ । पटना सहरका मुश्लिम बस्तीहरूमा बीफ जताजतै पाइन्थ्यो, तर भाइचारा पार्टीका साथीहरूको सहयोगबाट पनि झिकाउन सम्भव थिएन । केही दिनपछि नुवाकोटको समुन्द्रटार, रामती ससुराली बताउने मोहिम मियाँसँग जेलमा भेट्यौँ । नेपाली नाता पर्ने भएकाले उहाँसँग हाम्रो सम्बन्ध राम्रो भयो । त्यसपछि उहाँको घरमै बनाइएका एकदम मसलादार र स्वादिष्ट परिकारको रूपमा बीफ खाने अवसर पनि प्राप्त भयो ।

हामी बस्ने वार्डको राइटर हुनुहुन्थ्यो भाइचारा पार्टीको समर्थक किशोरी महतो । उहाँले वार्डमा बीफ खाने अनुमति दिनुभएको थियो । उहाँका छोरो मनोज महतो मात्रै होइन, लगभग ८० वर्ष कटेका चान बाबा नाम गरेको पनि भाइचारा पार्टीकै समर्थक हुनुहुन्थ्यो । र, पर्सा जिल्ला घर भएका विजय साह नाम गरेका बन्दी नेपाली भएकोले हामीलाई यस मामिलामा सजिलो भएको थियो ।

भारतीय जेलमा बन्दीका रूपमा रहँदा बस्दा नेपालमा जेल ब्रेकका खबर आउन थाले । ती खबरले हामीलाई पनि प्रोत्साहित गर्न लागे । हामीहरूबीच पनि जेल ब्रेक सम्बन्धी प्रस्तावमा छलफल भयो । तर पार्टीले त्यसका लागि सकारात्मक सङ्केत नदिएपछि छलफल रोकियो । त्यही पृष्ठभूमिमा भारतीय राज्यका लागि बेउर जेल हामीबाट असुरक्षित महसुस भएछ । २०६२ माघ १० मा हामीमध्ये क. कुलप्रसाद केसी (सोनाम), क. लोकेन्द्र बिष्ट, क. कुमार दाहाल, क. चित्रबहादुर श्रेष्ठलाई ब्रिटिसकालीन बक्सर जेलमा चलान गरियो । भाकपाका केही नेतृत्वदायी साथीलाई पश्चिम बङ्गाल र बिहारको सिमानामा पर्ने भागलपुर जेलमा पठाइयो ।

अब बेउर जेलमा क. अनिल शर्मा, क. दिलिप महर्जन, क. सुमन तामाङ, क. मीनप्रसाद आपागाई (मनोज), क. श्यामकिशोर यादव, क. अरवीन्द्र पराजुली (राजन), क. रामबाबु चौधरी, क. प्रकाश यादव (रोशन), राजेन्द्र कार्की (नवीन), दुर्गाप्रसाद ढुङ्गेल (दीपक), क. गजेन्द्र जैसवाल, क. लालबहादुर तामाङ र म मात्रै भयौं ।

भारतीय जलदेखि खुला आकाशसम्म

२०६२ मंसिर ७ गते भएको बाह्रबुँदे सहमति, २०६२-६३ सालको जनआन्दोलन तथा २०६२ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि हामी जनयुद्धकालीन नेपाली बन्दीलाई हेर्न भारतीय राज्यको दृष्टिकोणमा नरमपना देखिन थाल्यो । त्यही अनुसार पटना अदालतले हामीलाई बेल/जमानतमा छोड्ने फैसला गर्‍यो ।

बाहिर हेर्दा अदालतले प्रक्रियागत रूपमै रिहाइ गर्ने फैसला गरेको देखिन्छ, खासमा नेकपा माओवादीको राजनीतिक भूमिका र प्रभावको कारणले हामी छुटेका हौँ। त्यही अनुसार क. अनिल शर्मा, क. सुमन तामाङ, क. मीनप्रसाद आपागाई र क. श्यामकिशोर यादव २०६३ साउन १२ बिहान रिहाइ हुनुभयो । त्यस्तै, साउन १ गते म र क. दिलिप महर्जन रिहा भयौँ । हामी १३ गते बिहान जेलबाट हिड्यौँ ।

हामीमध्ये क. राजेन्द्र कार्की, क. अरवीन्द्र पराजुली, क. रामबाबु चौधरी, क. दुर्गाप्रसाद ढुङ्गेल, क इन्दिरा मिश्र, क. गजेन्द्र जैसवाल, क. लालबहादुर तामाङ रु. क. तारा घर्तीको भने जमात लाग्ने बाँकी थियो । उहाँहरुलाई छाडेर हिँड्नुपर्ने हाम्रो बाध्यता भयो । त्यस्तै, बक्सर जेलका क. सोनाम, क. अभ्यास, क. विजय र. के. नंदनहरू छुटनुभएको थिएन, जेलमै हुनुहुन्थ्यो ।

हामी बेलुकासम्म वीरगञ्ज आइपुग्यौँ । हाम्रो पार्टीका कमरेडहरूले हामीलाई स्वागत गर्नुभयो । पार्टीकै साथीहरूको व्यवस्थापनमा वीरगञ्जमै बास बस्यौँ । भोलिपल्ट १४ गते पर्साको एउटा गाउँमा पार्टीले स्वागत कार्यक्रमको आयोजना गरेको रहेछ । त्यहाँ उत्साहका साथ सहभागी भयौँ । स्वागत कार्यक्रममा हामी छ जना एकै ठाउँमा भेट्टियो । छोटो समयमा स्वागत समारोह सक्याएर हामी काठमाडौँका लागि हिड्यौँ ।

४ बजे हेटौंडामा खाजा खाएर हामी बाइरोड हुँदै आउँदा राति १० बाजे काटनाडौँको थानकोटमा आइपुग्यौँ । पार्टीले थानकोटमै बस्ने व्यवस्थापन गरेको रहेछ । साउन १५ गते बिहान हामीलाई अमल्सि (नयाँ बजार) स्थित कीर्तिपुर बसपार्कमा बोलाइएको थियो । हामीलाई कीर्तिपुरवासीले अभिनन्दन गरे । अभिनन्दन कार्यक्रम बेपत्ता परिवार, सहिद परिवार, स्थानीय नेवाः समुदायसँगै तामाङ राष्ट्रिय मुक्ति मोर्चाका तत्कालीन अध्यक्ष क. दावा तामाङ (क्षितिज) र क. इन्द्रबहादुर थिङ (छिन्ताङ) पनि हुनुहुन्थ्यो ।

कीर्तिपुरमा स्वागत तथा अभिनन्दन कार्यक्रम सकेपछि हामीलाई क. वर्षमान पुन ‘अनन्त’ले लाजिम्पाटमा बोलाउनुभएको थियो । त्यही अनुसार लाजिम्पाटको एउटा रिसोर्टमा गयौँ । रिसोर्टमा क. अनन्तसँगै अध्यक्ष क. प्रचण्ड पनि आउनुभएको थियो । क. अध्यक्ष र क. अनन्तले हामीलाई स्वागत गर्दै गर्विलो हात मिलाउनुभयो । हामीले दुवै जनालाई हार्दिकताका साथ अभिवादन गर्‍यौँ । अध्यक्ष कमरेडले हामीलाई सञ्चो-बिसञ्चो सोधेर मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे सङ्क्षिप्त रूपमा बताउनुभयो । त्यस दिन हामी उहाँहरूसँग बिदावारी भयौँ । जनयुद्ध र जनआन्दोलनले सिर्जना गरेको शान्तिपूर्ण राजनीतिमा हेलिन तयार भयौँ ।

(साभार : राज्यको रूपान्तरण पुस्तकबाट)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका