नेपालका युवाहरू बिदेसिने बानीले गर्दा गाउँ खाली हुँदै गएका छन्। तर, रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ठुलो भार्खुमा बसोबास गर्ने आङनिमा तामाङले आफ्नै गाउँमा विदेशी फलफूलको खेती गरेर सफलताको नयाँ इतिहास रच्दै छन्। उनको यो प्रयासले अहिले गाउँलेहरूको प्रेरणा बनेको छ।
४८ वर्षीय तामाङ घरका एक्ला छोरा हुन्। बुबा-आमाले उनलाई कहिल्यै कुनै कुराको कमी नदिए पनि उनको सोच अरूभन्दा फरक थियो। सानैदेखि उनको विचार थियो— ‘अरूले गरेको भन्दा फरक गर्नुपर्छ, र विदेश भन्दा नेपालमै केही गर्नुपर्छ।’
२०५१ सालमा एसएलसी पास गरेपछि उनी सिभिल इन्जिनियर बन्न चाहन्थे, तर त्यो सपना पूरा भएन। उनका साथीहरू विदेशतिर लागे, तर उनले काठमाडौँको ओस्कल क्याम्पसमा अध्ययन गरे। आई.ए. पास गरेपछि पनि उनको मन विदेश जानुमा थिएन। गाउँका युवाहरू बिदेसिन थालेपछि उनले सोचे— ‘सबै विदेश गए, म चाहिँ जान चाहिन ।’ यही सोचले उनलाई गाउँमै केही गर्न प्रेरित गर्यो।
मौरी पालनदेखि विदेशी फलफूलको बगानसम्म
२०६२ सालमा उनले मौरीपालन सुरु गरे। बुबा-आमाले गाली गरे । गाउँलेहरूले कुरा काटे, तर उनले हिम्मत नहारी काम जारी राखे। अहिले उनको ६ वटा मौरी घार छन्। यसै गरी, उनले आफ्नै ९ रोपनी जग्गामा कोरियन स्याउ, युरोपेली नासपती, जापानी हलुवाबेद, भारतीय कागजी बदाम, युरोपेली किवी, चेरी, आरु लगायतका विदेशी फलफूलको बिरुवा रोपेका छन्। यदि यो परीक्षण सफल भयो भने, उनले यसलाई जिल्लाभर फैलाउने योजना बनाएका छन्।
विदेशभन्दा नेपालमै गर्न सकिन्छ
उनको उमेरका साथीहरू विदेशमा राम्रा जागिरमा छन्, तर उनले कहिल्यै धनी बन्ने इच्छा राखेनन्। उनको चिन्ता भनेको गाउँका जमिनहरू बाँझो हुँदै गएको देखेर हो। ‘विदेशमा कामभन्दा पनि घुम्न धेरै चोटि गएँ। त्यहाँको कडा मेहनत, भोक, निन्द्राको अभाव देखेपछि सोचेँ— यो दुख मैले नेपालमै गरे भने किन फल नपाउँला?’ उनले भने।
पारामेन्दो इको फार्म र इकोस्टे
उनले मौरी पालनलाई विस्तार गर्दै एक वर्षअघि ‘पारामेन्दो इको फार्म एन्ड इकोस्टे’ सञ्चालनमा ल्याएका छन्। उनको लक्ष्य यसलाई पर्यटन र कृषिसँग जोडेर स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना गर्नु हो। उनले आफ्नो बाँझो जमिनमा तरकारी खेती र आयमूलक अन्नबाली लगाउने पनि योजना बनाएका छन्।
हजुरबुबाको सपना र समाजप्रति दायित्व
उनका हजुरबुबा दावाफिन्जो तामाङले पासाङल्हामु राजमार्ग निर्माणमा ठुलो योगदान गरेका थिए। आङनिमाको सोच पनि त्यही छ—‘आफ्नो देशमा केही गरौँ।’ उनको यो प्रयासले गाउँलेहरूमा नयाँ आशा जगाएको छ।
उनले भने, ‘मैले धेरै धन कमाएनन्, तर आफ्नो परिवार र समाजमा शिर ठाडो पार्न सकेँ। यही मेरो ठुलो सफलता हो।’ उनको यो जुन र परिश्रमले नयाँ पुस्तालाई पनि नेपालमै रहेर आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ।