तीनकुने प्रदर्शनमा मारिएका संवाददाता सुरेश रजकलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन नेवाः पत्रकार राष्ट्रिय दबूले सरकारसमक्ष माग राखेको छ। संचारगृहमाथि भएको हमला र पत्रकार हत्या विरोधमा आइतबार वसन्तपुरस्थित महादेव पावर्ती डबलीमा धर्ना दिई माग गरिएको हो।
धर्नामा उपस्थित विभिन्न वक्ताहरूले राजावादी प्रदर्शनको नाममा भएको हिंसा र संचारकर्मी हत्या भएतापनि गृह प्रशासनले जिम्मेवारी नलिने आलोचना गरे। उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरे।
नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले संचारकर्मी रजकलाई शहीद घोषणा गर्न माग गर्दै यो माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, *”संवाददाता समाचार संकलन गर्दै हत्या भएको हो। यो स्वतन्त्र पत्रकारितामाथिको हमला हो।”
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले आदिवासी समुदायलाई निशाना बनाउने घटनाको निन्दा गर्दै मृतकलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन माग गरे। उनले गृह मन्त्रालयलाई जवाफदेही बन्न पनि आग्रह गरे।

मिडिया एलायन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले संवाददाता रजकको हत्यामा सरकारले तीन दिनभित्र शहीद घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए। उनले निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरे।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले सरकारले घटना लुकाउन खोजेको आरोप लगाउँदै न्यायिक छानबिन समिति गठन गर्न माग गरे। मृतकका परिवारजन राजेन्द्र रजकले सरकारले घटनाको तथ्य उजागर गर्न नसकेको आरोप लगाए।
पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनले तीनकुने घटना सुनियोजित रहेको बताउँदै गृह प्रशासनको लापरवाहीमा ध्यान केन्द्रित गरे।
यसरी, संचारकर्मीको हत्यालाई लिएर पत्रकार संगठनहरूले सरकारमाथि दबाब बढाउँदै छन्। उनीहरूले तत्काल न्याय, शहीद घोषणा र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन जोड दिएका छन्।