हाकुवासीलाई एम्बुलेन्स प्रदान

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
238 Shares
धुन्चे, रसुवा

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, हाकुस्थित हाकु हेल्थ पोस्टका लागि जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाले प्रभावित क्षेत्र हाकुवासिलाई २० लाख बराबरको एम्बुलेन्स प्रदान गरेको छ।

आयोजनाका प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सुमिनलले चैत १८ गते सोमबार एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख बुचुङ तामाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन्। सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त एम्बुलेन्स हाकु हेल्थ पोस्टद्वारा सञ्चालन गरिनेछ।

उक्त एम्बुलेन्सबाट आयोजना क्षेत्रका बिरामी तथा घाइतेलाई समयमा नै अस्पताल पुर्‍याउन मद्दत पुग्नेछ। साथै, विपद्, दुर्घटना तथा गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते, सुत्केरी लगायत प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना द्वारा सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो।

यसबाहेक, आयोजनाले ७ लाख बराबरका अन्य उपकरणसमेत प्रदान गरेको छ। साथै, बीमा अन्तर्गत ३० लाख बराबरको मेडिकल सामग्री, जसमा प्राथमिक उपचारका लागि औषधि, गर्भवती जाँचका लागि भिडियो एक्सरे लगायतका उपकरण वितरण गरिएको जानकारी दिएको छ।

२०७८ सालको पुष महिनादेखि निर्माण सुरु भएको आयोजनाको भूमिगत संरचना, विद्युत गृह, मुख्य सुरुङ, बाँध लगायत सम्पूर्ण संरचनाको निर्माण तीव्रगतिमा भइरहेको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ।

आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीको वित्तीय व्यवस्थापन गरिएको छ। कुल लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको यस आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् भने बाँकी रकम इक्विटीबाट जुटाइएको छ। आगामी दिनमा आयोजनाले अन्य प्रभावित क्षेत्रमा पनि एम्बुलेन्स हस्तान्तरण गर्ने जनाएको छ।

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१मा भूमिगत विद्युत्‌गृहलगायतका संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत्‌ आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी (इक्विटी) रहेको छ ।
आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने  । उत्पादित उर्जा नेपाल विद्युत्‌ प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत्‌ खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्‌को अध्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत्‌ प्राप्त हुने भएकाले मुलुकको विद्युत्‌ प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।
आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण ०८३ को मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया