नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलालसँग तुलना गर्दै आफु ओरिजिनल माओवादी नभएको बताएका छन् ।
शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादी चाहिँ होइन ।’ उनले भने, ‘आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ) मा गएको बताए । मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’
उनले झापा विद्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे ।