काठमाडौँ उपत्यका जात्रा–संस्कृति : साँखुको वज्रयोगिनी जात्राको नालीबेली

काठमाडौँ
नगर परिक्रमा गराइदैँ बज्रयोगिनी तस्बिर : मनोजरत्न शाही

चैत्रशुक्ल अष्टमी तिथिदेखि साँखुको वज्रयोगिनीको जात्रा आरम्भ हुन्छ। यस दिन साँखुका पाँचजना गुर्जु बज्राचार्य थकालीहरुले साँखुवासीका तर्फबाट बीसवटा सुपारी र आठ दाम जात्रामा ल्याईने वज्रयोगिनी देवलाई निमन्त्रणा दिन प्रदान गर्दछन्। त्यसैगरी मूल मन्दिरको वज्रयोगिनी देवीलाई पनि दशवटा सुपारी र आठदाम चढाएर पूजा गरी निमन्त्रणा गर्ने गर्दछन्। यसरी निम्तो दिइसकेपछि जात्रा रोक्न नहुने परम्परा रहेको छ।

प्राचीन साँखु शहर

साँखु काठमाडौँबाट १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्व राख्दछ। शङ्ख आकार शहर भएकोले यस शहरलाई शङ्खरापुर र शाकेतु नगर पनि भनिन्छ।

राजा शङ्करदेवले कलिगत ३९२५ मा शङ्ख आकारको शहर निर्माण गरी श्री वज्रयोगिनी देवीलाई समर्पण गरियो भनी देवमाला वंशावलीमा उल्लेख गरिएको छ। सात गाउँ (गुदेख्वा, सासङ, पावना, चोबही, गागल, नागाचाङ, गुलिमानाम) एकीकृत साँखुमा अष्टमातृका, आठ गुफा, आठ टोल (धुंल्ला, सालख्वाः, चलंखु, दोँगवाहिटी, स्वमत्वा, इलंपा, इलला र पुकुलाछी), आठ ढोका, आठ मार्ग, नौवटा बहाल, नौ धारा, नौ चोक, नौ कुण्ड र बाह्र तीर्थहरु रहेका छन्।

ऐतिहासिक रुपमा साँखुमा बोधिसत्व मञ्जुश्री नागदहको स्वयम्भू ज्योतिको दर्शन गर्न, नेमुनि ऋषि तपस्या गर्न, गुरु पद्मसम्भव तिब्बतमा बौद्धधर्म फैलाउन जाने क्रममा र तिब्बतका राजा स्रङचङगम्पो भृकुटिसँग विवाह गर्न आएका बखत बसेका थिए।

स्थानीय भाषामा साँखु “सक्व दें” पनि भनिन्छ। बौद्धमार्गी नेवारहरुको बाहुल्यता रहेको यस नगरको माथि “सँदे” (भोटेहरुको देश अर्थात् ल्हासा) जाने व्यापारिक मार्ग भएकोले भोटको तल (सक्व) को शहर भएकोले “सँदें”बाट सक्व भएको हो। यही “सक्व”बाट नै अपभ्रश भएर “साँखु” भएको हो।

बज्रयोगिनीदेवीको उत्पत्ति र स्वरुप

वज्रयोगिनीदेवीको उत्पत्तिको सम्बन्धमा अनेकन कथनहरु रहेका छन्। पौराणिककालमा मणिचूड पर्वतको एक मणिशिला नामक दुई ढुङ्गाको कापबाट पञ्चरश्मीज्वालाबाट वज्रयोगिनीको उत्पत्ति भएको मान्दछन्। कसैले देवीको उत्पत्ति आफसेआफ भएको देवीको आराधना गर्ने व्यक्ति योगी ज्ञानाचार्य थिए भन्दछन्। कसैले वज्रयोगिनीदेवी चराको रुपमा उडिरहेको थाहा पाई अग्निधर बज्राचार्य तान्त्रिकले आफ्नो मन्त्रशक्तिले तानेर साँखुको मणिचुड पर्वतमा स्थापना गरेका थिए पनि भन्दछन्।

वज्रयोगिनीदेवीको मूल अनुहार रातो वर्ण, दायाँ अनुहार नीलो वर्ण र बायाँ अनुहार सेतो वर्ण रहेको छ। देवीको प्रत्येक अनुहारमा तीनतीनवटा आँखाहरु र उमेर बाह्र वर्षको अति सुन्दरी मुसुमुसु हाँसेकी सर्वलक्षणले युक्त भई सम्पूर्ण मोक्ष फल दिने भएर मणिपर्वत साँखुमा विराजमान हुनु भएको हो भनिन्छ।

यसै बखत भूकम्पजस्तो कम्पन आएर वज्रयोगिनीदेवीसँगै एक बौद्ध स्तूपजस्तो मणिशिलासमेत उत्पन्न भएको थियो। जसलाई कालन्तरमा जोगेश्वरको मणिशिला भनिन्छ। जसलाई स्वयम्भू चैत्य निर्माण गरि छोपिएको छ।

वज्रयोगिनी मन्दिरको निर्माण र वास्तुकला

राजा मानदेवद्वारा निर्मित गुँ विहारमा साँखुवासीका आराध्यदेव वज्रयोगिनी दक्षिणाभिमुख दुई तल्ले धातुको छाना, सुनको गजुर पाताका चढाइएको छ। यसबाट लिच्छवि राजा मानदेवले मन्दिर निर्माण गरेको अनुमान हुन्छ।  धातुको तीन द्वारमा धातुकै तोरणमा देवीको मूर्ति कुँदिएको र काष्ठ टुँडालहरुमा अष्टमातृका गणका मूर्तिहरु कुँदिएका कलात्मक मन्दिरको गर्भगृहमा कुंकुम वर्णकी देवी सिंघिनी र व्याघ्रिनीका साथ विराजमान हुनु भएकी छिन्।

मन्दिरको अगाडि सत्तल र प्रस्तरको ठूलो घण्टा नित्य पूजामा मात्र बजाइने गरिन्छ। मन्दिरसँगै बायाँपट्टि दुई तल्ले शैलीको मन्दिरभित्र चाँदीको जोगेश्वर मणिमाथि स्वयम्भू चैत्य रहेको छ। यो दुर्लभ चैत्य मन्दिरको रुपमा लिन सकिन्छ। दायाँ सत्तल अलिपर धर्मपाप गुफा, पछाडि पद्मसम्भव गुफा र ढुङ्गेधाराहरु रहेका छन्।

मन्दिरमाथि विहारमा अगिंमथ (अग्निमण्डप), राजा विक्रमादित्यको शिर, घोप्ट्याइएको कराही र धातुकै भराङ चैत्य छन्। माथिल्लो तल्लामा जात्रा गरिने म्हासुख्वा माजु (पित पहेलो वर्ण/सुनको वज्रयोगिनी) विराजमान भएकी छिन्। यस प्राङ्गाणको चारैतिर सत्तलबीचमा ढुङ्गेधारा छन्। मन्दिरको तल अर्थात् सिँढीमा वज्रवीर महाँकाल भैरवको स्थानमा देवीलाई बलि दिन ल्याइएका पशुपन्छीहरु बलि दिने गर्दछन्। साथै सिँढी चढ्ने क्रममा मन्दिर नपुग्दै हिन्दू गुरु शंकराचार्यले घोप्ट्यार्इदिएको विशाल चैत्य देखा पर्दछ। न चैत्य शंकराचार्यले बुद्धधर्म विनाश गर्ने क्रममा साँखु पुगेर बौद्धमार्गीहरुसँग शास्त्रार्थ गरी जितेपछि घोप्ट्याई दिएको भनिन्छ। उनले नै वज्रयोगिनीदेवीको बौद्ध मन्दिरमा बलि दिने परम्परा पनि सुरु गरिदिए। जसका कारण वज्रयोगिनीदेवीलाई कोप हुँदा हिन्दू शंकराचार्य डरले भागे भन्ने आख्यान सुन्न पाइन्छ।

साँखु नगरको विकास

मणिशैल महादान पुस्तकका अनुसार कलिगत संवत् १८०१ (विसं.१३००) मा मनिचूडका राजा शंखदेवले सात गाउँ नागाचा, गुलिमा, शास, गागल, पावना, गदेख्वा र चोवहिलाई एकीकृत गरे। उनले दाहिने शङ्खको आकारको हजार घर भएको नगर निर्माण गरेर शङ्खरापुर (साकेतु नगर) नामक बस्तीको विकास गरेका हुन्। जसलाई “शंख दें” भनिन्थ्यो। यही नै “शंख दें” शब्द नै अपभ्रंश भएर साँखु नामाकरण भएको हो। साँखुलाई “सँको” पनि भनिन्थ्यो। कालान्तरमा “सँ”को नै साँखु “दें” अर्थात् साँखु नगर भनियो पनि भनिन्छ। साँखु नगरको निर्माण काठमाडौँ उपत्यका नगर बस्ती विकास हुनु पूर्व भएकोले यसलाई प्राचीन नगर भनिन्छ। यसरी साँखु विकास हुनुमा हरियाली वनजङ्गल, उर्वर जमिन, तिब्बतसँगको नाफामूलक व्यापार र नेवार व्यापारीहरुको बसोबास हुनुजस्ता महत्वपूर्ण कारणहरुले गर्दाले नै हो। शङ्खरापुर नगरमा धुंला, साल्खा, चलंखु, दोगाहिटी, ईल्ला, पुखुलाछी, सुन र इपा टोल गरी आठवटा टोल रहेका छन्। त्यसैले यसलाई विदेशीहरुले “ट्रेड वे टु टिब्बत” तथा “गेट वे टु तिब्बत” भन्दछन्। त्यसैले यस नगरमा नेवार जातिका व्यापारीहरुको बसोबास रहेका छ भने नगरभन्दा माथि मणिचूड पर्वत (च्व) श्रृङ्खलामा भने व्यापारमा भरियाको कार्य गर्ने तामाङहरुको घना बस्ती रहेको छ।

जात्राको आरम्भ

परापूर्वकालमा एक बालकलाई पीपलको रुखबाट आएको मधुरस खुवाई पालनपोषण गरिएको थियो। सो बालक ठूलो भएपछि शङ्खदेवका नामले त्यहाँका राजा बनाई राज्याभिषेक गरिदिएका थिए। उनी वज्रयोगिनीदेवीको ठूलो भक्त भएकोले उनलाई मार्गदर्शन गर्न देवीले वर्षको एकचोटी दर्शन दिन नगरमा आउने नगरवासीहरुको कल्याण गर्ने वाचा गरिन। सोही वाचाअनुसार वज्रयोगिनीदेवी गुँ विहारबाट साँखु नगरमा आउने गरेकी हुन। यही परम्परा नै कालान्तरमा वज्रयोगिनीको जात्राको रुपमा विकसित भयो।

वंशावलीअनुसार राजा शङ्खदेव र वज्रयोगिनीको पुजारी जोगदेव बज्राचार्यले आजभन्दा ३३ सय ३ वर्षभन्दा अघि कलिगत संवत १८१८ मा चैत्र पूर्णिमाको दिनदेखि जात्रा आरम्भ गरेका थिए। उनले साँखु नगरका वासीहरुको सुख, शान्ति, कल्याण र खेतीपाती राम्रो होस् भनेर यस जात्रा चलाएका हुन भनिन्छ। जो हालसम्म निरन्तर चलिरहेको छ। नेपाल सरकारको गुठी संस्थानबाट प्राप्त सहयोग अत्यन्त न्यून रहेकोले सक्व बज्राचार्य संघको नेतृत्वमा थुप्रै गुठीहरु संलग्न रहेर यस जात्राको व्यवस्थापन भइरहेको छ।

जात्रामा राजसंस्थाको उपस्थिति

राजा प्रताप मल्लका पालामा नेपाल संवत् ७९४ मा बाहेक नेसं. ११४५ सम्म यस जात्राको परम्परागत निरन्तरता कायमै रहेको छ। नेसं. ८४९ सम्म यस जात्रामा कान्तिपुरका राजाको प्रत्यक्ष सहभागिता रहिआएको थियो। यसरी मल्ल राजारानी यस जात्रा अवलोकन गर्न आउँदा हात्ती घोडा चढेर आए पनि यस नगर प्रवेश गर्दा उनीहरु पैदल हिँडने गर्दथे। तर, पृथ्वी नारायण शाहले जयप्रकाश मल्ललाई असोजमा हराएपछि उनी नेसं. ८५० मा भएको यस जात्रामा सहभागी भएनन्।  तत् पश्चात यस जात्रामा मल्लकालीन राज प्रतिनिधिको रुपमा हनुमानढोका दरबारबाट खड्ग लिएर आउने प्रचलन छ। हाल पनि राजप्रतिनिधि यस जात्रामा आउँदा नगर प्रवेश गर्ने बखत पैदल नै प्रवेश गर्ने प्रचलन रहेको छ।

जात्रामा साँखुका टोलटोल

माथि उल्लेखित आठवटा टोल भएको साँखुमा वज्रयोगिनीको जात्रा पालैपालो दुईवटा टोलको यौटा देवीको पाहुना घरमा राखी चलाउने परम्परा रहेको छ। जात्राको परम्पराअनुसार वज्रयोगिनीदेवीको मूर्ति पाहुनाघरभित्र चारदिन धुंलाटोल, चलाखुटोल र सुनटोलमा पश्चिम फर्काएर राख्ने, ईलाटोलमा दक्षिण फर्काएर राख्ने त्यस्तै पाहुनाघरबाहिर पाटीमा चारदिन मूलजात्रापछि धुंलाटोल र चलाखु टोलमा दक्षिण र ईल्लाटोलमा पूर्व र सुनटोलमा देवी उत्तर फर्काएर राख्ने प्रचलन छ। जात्रामा स्वयम्भू चैत्य भगवान्, सिंहिनी र बसुन्धरादेवी वज्रयोगिनीदेवीको दायाँ राखिन्छन् भने ब्याघ्रिनी बायाँ राखिन्छ।

देवदेवताहरु पाहुनाघरभित्र राखुन्जेल सात गाउँका बासिन्दाहरुले धानको बीउ छर्ने कार्य गर्नु हुँदैन भन्ने मान्यता रहेको छ। जात्रा आरम्भ गर्दा  गुँविहार क्षेत्रबाट सर्वप्रथम ब्याघ्रिनी देवीको जात्रा गरी गरिन्छ भने जात्रा समापन गरेर गुँविहार फर्काउदा सिंहिनी देवीको सर्वप्रथम जात्रा गरी फर्काइन्छ। त्यसपछि क्रमशः सिंहिनी वा ब्याघ्रिनी देवी, बज्रयोगिनी देवी, स्वयम्भू चैत्य भराङको सवारी चलाईने गरिन्छ।

जात्राको आरम्भ

चैत्रशुक्ल अष्टमी तिथिदेखि साँखुको वज्रयोगिनीको जात्रा आरम्भ हुन्छ। यस दिन साँखुका पाँचजना गुर्जु बज्राचार्य थकालीहरुले साँखुवासीका तर्फबाट बीसवटा सुपारी र आठ दाम जात्रामा ल्याइने वज्रयोगिनी देवलाई निमन्त्रणा दिन प्रदान गर्दछन्। त्यसैगरी मूल मन्दिरको वज्रयोगिनीदेवीलाई पनि दशवटा सुपारी र आठ दाम चढाएर पूजा गरी निमन्त्रणा गर्ने गर्दछन्। यसरी निम्तो दिइसकेपछि जात्रा रोक्न नहुने परम्परा रहेको छ।

त्यसै दिन साँझ साँखु बजारका टोलटोल परिक्रमा गर्दै नाय्खिँ बाजा बजाएर जात्रा सुरु भएको सङ्केत दिइन्छ। यसै अवसरमा टोलवासीले चैत्र दशैदेखि केही नियम पालना गर्नुपर्ने बारे पनि सूचना जारी गरिन्छ। वज्रयोगिनीको जात्रा सुरु भई समापन नभएसम्म साँखुवासीले छालाको जुत्ता लगाउन, हात्तीघोडा चढ्न, छाता ओड्न, साहुले ऋणीलाई पक्रन,  झैँझगडा गर्न, नयाँ घर बनाउन, पुरानो घर भत्काउन, डोली चढ्न नहुने लगायत नियम पालाना गर्नु पर्दछ।

पहिलो दिन

चैत्रशुक्ल पूर्णिमाको दिन वज्रयोगिनीदेवीसहित धर्मधातु स्वयम्भू चैत्य (चिभा द्यः) , सिंहिनी र ब्याघ्रिनीको पूजाआजा गरिन्छ। त्यसपछि मणि पर्वतबाट वज्रयोगिनी देवी र चिबहाः देवताको प्रतिमालाई युवाहरुले र सिंहिनी/सिंह र ब्याघ्रिनी/बघिनीका खटहरुलाई बालकहरुले बाजागाजाका साथ बोकेर पुजारी बिहिन रुपमा ल्याउने गरिन्छ। गुँविहार क्षेत्रबाट तल साँखु बजारमा बोकेर करीब २ किलोमिटर बोकेर झार्ने परम्परा छ। यसरी गुँविहारको जङ्गलबाट साँखु बजारमा देवीदेवताहरुलाई खटमा राखी काँधमा बोकेर साँझपख झार्नु कठिन काम रहेको छ। यसरी ल्याएको खटसहितको देवीहरुलाई पालो पर्ने टोलको पाहुना घरभित्र ४ दिनसम्म राख्ने गरिन्छ। जसलाई क्वाहाँ विज्या अर्थात् माईको सवारी भनिन्छ।

दोस्रो दिन

जात्राको दोस्रो दिनलाई शून्यका भनिन्छ। यस दिन साँखुका बासिन्दाहरुले घर, टोल सरसफाईका सार्थै पूजा सरसामानको बन्दोबस्त गर्ने कार्य गर्दछन्।

तेस्रो दिन

जात्राको तेस्रो दिनलाई जात्रा आरम्भ भएको खुसियालीमा आफ्न्तजनहरु डाकी भोज खुवाइन्छ। जसलाई नखः भनिन्छ।

चौथो दिन

जात्राको चौथो दिनलाई सत्ययुगको प्रादुर्भाव भएको दिन अर्थात् शुभ साइतको दिन भनेर वज्रयोगिनीदेवी, स्वयम्भू चैत्य भराङ, सिंहिनी, ब्याघ्रिनीलाई छुट्टाछुट्टै खटमा राखिन्छ।  यस बखत वज्रयोगिनीदेवीलाई बेला गला र दुवै हातमा नाग माला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँ हातमा कमलको फूल, हीरामोती जडित मुकुटले सजाइएको हुन्छ। यसका साथै वसुन्धरादेवीको खट जात्रा पनि गरिन्छ। यसरी हरेक खटहरुमा  पञ्चबुद्धका मुकुट पहिरिएका बज्राचार्य पुजारीहरु बसेपछि जात्रा आरम्भ हुन्छ। यस दिन देवीदेवताहरुलाई पाँचवटा खटमा राखेर साँखु नगरका घरघर घुमाइने हुनाले यस जात्रा हेर्न साँखु बजार, यसका वरिपरि भेगका साथै काठमाडौँ उपत्यकादेखि मानिसहरु आउने गर्दछन्।

साँखुवासीका दर्शनका लागि देवदेवीका खटलाई बजार भरीका मूल सडकमा राखेर घुमाइन्छ। पाहुना घरमा राखेर साक्षी स्वरुप सत्ययुगको आगो प्रतीकात्मक रुपमा बालिन्छ। यस आगो चार दिनसम्म बालिन्छ। जहाँ साँखु बासीहरुले १०८ दीप प्रज्योलित गर्ने र साधकहरुले तान्त्रिक विद्याहरु जप गरेर सिद्ध गर्ने गर्दछन्। त्यसैले यस दिनलाई मू ज्या, मूल जात्रा र सिन्दुर जात्रा पनि भनिन्छ। त्यस दिनदेखि साँखुका खेतबारीहरुमा बिउवीजन छर्न नहुने बन्देज खुल्ला हुन्छ।

यस दिन देवीदेवताहरुलाई पाँच थरी मराकिसी रोटी चढाउने चढाउने परम्परा छ। यसरी चढाइएका मराकिसी पूजारीहरुले भक्तजनहरुलाई प्रसादको स्वरुप फाल्ने गर्दछन्। यसरी फालिएका मराकिसी जजसले प्राप्त गर्दछन्। उनीहरुलाई सन्तान प्राप्त हुन्छ भनेर विश्वास गरिन्छ। यसका साथै नयाँ लुगा चढाउने कार्य हुन्छ। जसलाई सरकारी पूजा भनिन्छ। यसका साथै साल्खा टोलमा जोगी चक्कर पूजा गरिन्छ। यसै दिनदेखि जात्रा अवधिभर गुँविहार माई स्थानको मूल ढोका खुल्ला राख्ने गरिन्छ।

नगर परिक्रमा गराइदैँ बज्रयोगिनी तस्बिर : मनोजरत्न शाही

पाँचौं दिन

जात्राको पाँचौँ दिनलाई साँखु नगरमा ढिकी राख्न देवीबाट स्वीकृति स्वरुप आज्ञा प्राप्त गरेको खुसीयाली मनाइन्छ। यसरी खुसी मनाउँदा राजा शङ्खदेव राजाबाट आफ्ना प्रजागणसहित वज्रयोगिनी देवीको पूजा गरेको स्मरण गरेर सरकारी पूजा गरिन्छ। यस दिन साल्खा टोलमा जोगी चक्कर पूजा चलाइन्छ।

छैटौँ दिन

जात्राको छैटौँ दिनलाई साँखुनगरमा ढिकी राखिएको खुसीयाली  महारानी पूजा गरिन्छ।  यसरी पूजा गर्दा धूपदीप र फलफूलसहित पाल्चा बत्ती बालेर वज्रयोगिनी देवीलगायतको पूजा आरधना गरिन्छ। यस कार्यको लागि भने गुठी संस्थानले पूजा खर्च दिने गरेको छ।

सातौँ दिन

जात्राको सातौँ दिन वज्रयोगिनीदेवीलाई चराचर जगतकी आमा मानेर साँखुनगरमा भूतप्रेत पिचासलगायत निशाचरहरुलाई मध्यरातमा पूजासहित बलि चढाइन्छ। जसलाई औसानी पूजा भनिन्छ। यस दिन साँखुका वासीहरु आफ्नो बासस्थान छोडेर अन्यत्र बास बस्न जानू हुँदैन भन्ने प्रचलन छ। छोडेर गएमा भूतप्रेत र पिचासहरुसँगसँगै जाने विश्वास गरिन्छ। यसो गर्नुको मतलब भात खान नहुने यस दिनमा मध्यरातमा भोज खाने हुँदा कोही पनि नछुटोस् भन्ने हो। जसलाई बौया भनिन्छ। त्यसैले यस दिन साँखु प्रवेश गर्न सकिन्छ साँखु बाहिरिन हुँदैन भन्ने मान्यता रहेको छ।

आठौँ दिन

जात्राको आँठौ दिन वैशाखकृष्ण सप्तमीको दिनमा बज्राचार्य पूजारीहरुले वज्रयोगिनीदेवीको क्षमा पूजा गर्ने गर्दछन्। अनि वज्रयोगिनीदेवीको खटलाई क्वागल/कोलागल भन्ने स्थानसम्म नेवार समुदायहरुले पुयाउने गरिन्छ। यसरी कोलागल पुर्‍याउँदा देवीदेवताको खटहरुलाई अधिपछि गरेर खेलाई मनोरञ्जन गर्ने प्रचलन छ। अनि खटमा बसेका पञ्चबुद्धका मुकुट लगाएका बज्राचार्य पूजारीहरु खटबाट हाम्फाल्ने गर्नछन्। यसलाई जात्रा समाप्त भएको सङ्केतको रुपमा लिइन्छ। जसलाई बरेक्वाइगु भनिन्छ।

यसपछि मध्यान्हको समयमा साँखुका आदिवासी तामाङहरुलाई वज्रयोगिनीदेवीलगायतका पुजारी बिहिन खटहरुलाई मूल मन्दिरमा फिर्ता पुर्‍याउने जिम्मा दिने प्रचलन रहेको छ। क्वागल अर्थात् कोलागल भन्ने स्थानदेखि वज्रयोगिनीको मूल मन्दिरसम्म मणिपर्वत क्षेत्रको उकालै उकालो अप्ठ्यारो बाटो पर्दछ। तर पनि जात्रामा कसैले पनि “असहयोग गर्नु हुन्न, असहयोग गर्‍यो भने अनिष्ट हुन्छ” भन्ने मान्यता अनुसार तामाङहरुले पनि वज्रयोगिनीदेवीको आशीवाद प्राप्त गर्न सहयोगी भएर खट बोकिरहेका थिए, बोकिरहेका छन्, बोकिरहने नै छन्। यसलाई था बिज्या भनिन्छ।

खटहरु वज्रयोगिनी मन्दिर स्थलमा देवीलगायतको खट पुर्‍याइसकेपछि देवी गणहरुलाई खटबाट उतारी कपडाले छोपेर बोकेर पूर्वस्थानको मन्दिरहरुमा नै प्रतिस्थापन गर्ने गरिन्छ। वज्रयोगिनीदेवी, सिंहिनी र ब्याघ्रिनीलाई मूल मन्दिरको माथिपट्टिको अर्को मन्दिरमा राखिन्छ भने धर्मधातु चैत्य भराङको मूर्तिलाई दिपंकर बुद्ध र कराही घोप्ट्याइएको कोठामा प्रतिष्थापन गरिन्छ। यस क्रममा मन्दिर वरिपरिका सबै घण्टहरु बजाउने गरिन्छ।

अन्तमा

अन्तमा यसरी वज्रयोगिनीदेवीको जात्रा सकिएको दुई दिनपछि विचार पूजाका लागि सम्पूर्ण साँखुवासीहरु मन्दिरमा जाने र पूजाआजा गर्ने गर्दछन्। यसबाट औपचारिक वज्रयोगिनीदेवीको जात्रा सकिन्छ।

क. स्रोत व्यक्तिहरू
१. प्रकाशमान श्रेष्ठ सक्व
२. अमृतानन्द बज्राचार्य
३. युनिक रक्षा ग्लान तामाङ
४. उदय थिङ तामाङ
५. उज्वल तामाङ
६. बुद्धिबहादुर वाइबा तामाङ

ख. सन्दर्भ सामग्री
१.  Sharma, Dilli Raj, Tek Bahadur Shrestha (2016), SANKHU, Historical and culture Heritage, Chapter seven, FAIR AND FESTIVAL, CNAS.
२.  श्रेष्ठ, महेन्द्रदेव ठकु (२०७६) : नेपालको लोक साँस्कृतिक उत्सवहरु , हेरीटेज पब्लिसर्स एन्ड डिष्ट्रिब्यूटर्स प्रालि, काठमाडौँ।
३.  विवश, ज्ञानेन्द्र (२०७५) : साँखुका सम्पदा र वास्तुकला, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौँ।
४.  बज्राचार्य, यज्ञमान पति, प्रकाशमान श्रेष्ठ, अमृतानन्द बज्राचार्य (२०७०) :  नमस्ते शंखरापुर, गुठी डटकम, काठमाडौँ।
५.  श्रेष्ठ, प्रकाशमान, प्रेमप्रसाद काफ्ले (२०७७) : मणिचूडदेखि रत्नचूणसम्म, दामोदर दंगाल र तारा श्रेष्ठ।
६. श्रेष्ठ, तेजप्रकाश (२०७६) : नेपालमा जात्रा, स्वदेश प्रकाशन, काठमाडौँ।
७.  सन मानन्धर ससा (११४२) : नेपालमण्डलको मौलिक जात्रा परम्परा, अष्ट गणेश पब्लिकेशन,काठमाडौ।
८.  सक्व, प्रकाशमान (२०६८) : साँखु शंखरापुरको ऐतिहासिक र सांस्कृतिक संग्रह, पवनलाल श्रेष्ठ।
९.  जोशी, सुनिया लता (११४३) : सँक्वया वज्रयोगिनी जात्रा, पूर्णमाया जोशी।
१०. बज्राचार्य, विद्याकुमारी (२०७५), साँखुस्थित बौद्ध विहारहरु : एक अध्ययन, स्वयम्।
११. सक्व, प्रकाशमान, जीवन श्रेष्ठ, प्रविनराज श्रेष्ठ र द्वारिकानाथ श्रेष्ठ (२०८१) : शंखरापुर सक्व महोत्सव, सम्पदा चिनारी उपसमिति।

ग. पत्रपत्रिका
१. नयाँ पत्रिका दैनिक।
२. कान्तिपुर दैनिक।
३. अन्नपूर्ण दैनिक।
४. लावण्य सन्देश साप्ताहिक।

 rabindratamang@gmail.com

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका