नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम बैशाख २८ मा

पर्यटन प्रवर्द्धनका लागि विशेष प्रदर्शनी र सम्मान कार्यक्रम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
काठमाडौं

चीनको गुइलिनमा आगामी वैशाख २८ गते नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ। यस कार्यक्रमको आयोजना चीनस्थित गुइलिन मर्चेन्ट्स इन्टरनेशनल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इंग्लिस कर्नर स्कूलको सहयोगमा गरिनेछ।

कार्यक्रमको विवरण सार्वजनिक गर्दै आयोजक समितिले आज पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गरेको हो। कार्यक्रममा नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी, व्यापारी तथा सरकारी प्रतिनिधिहरू सहभागी हुनेछन्।

आयोजक कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले यस कार्यक्रमले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढाउने विश्वास व्यक्त गरेकी छन्। उनले भनिन्, ‘यसले दुई देशबीच सांस्कृतिक आदानप्रदान बढाउँदै पर्यटन क्षेत्रमा नयाँ अवसर सृजना गर्नेछ।’

कार्यक्रममा नेपाल र चीनका पारम्परिक गीत, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ। साथै, नेपालको पर्यटन प्रवर्द्धनका लागि विशेष प्रस्तुति र प्रदर्शनीहरू पनि हुनेछन्।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मानित गरिने जानकारी दिए।

कार्यक्रमका कोरियोग्राफर कमल राईले गुइलिनमा नेपालको विविध सांस्कृतिक परम्परा, विशेष गरी राई, लिम्बू, गुरुङ, थारु लगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति प्रदर्शन गरिने बताए। उनले यस कार्यक्रममा नेपाली संस्कृति र पर्यटनको बहुआयामिक छवि विश्वसमक्ष प्रस्तुत गर्ने बताए।

कार्यक्रमले नेपाल–चीनबीच सांस्कृतिक आदानप्रदानलाई बढावा दिँदै पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया