प्राचीन सम्पदा बौद्ध स्तुप

काठमाडौँ

१. बौद्ध स्तुपा र यसबारे स्थापित विभिन्न अवधारणाहरु

१.१ बौद्ध परिचय

बौद्धनाथ स्तुपा नेपालको प्रसिद्ध र प्राचीन तिर्थास्थल मध्ये एउटा हो। यो काठमाडौँको पूर्वक्षेत्रमा रहेको छ। प्राचीन इतिहास र धार्मिक आस्थाको कारण यो स्तुपाको महत्व धेरै ठूलो छ। धार्मिक तीर्थयात्रीहरु र विश्व पर्यटकहरुको आकर्षण केन्द्र बौद्धधर्मावलम्बीहरुको आस्थाको केन्द्रमात्र नभई नेपालको राष्ट्रिय सम्पदा पनि हो। सन् १९७९ देखि युनेस्कोले विश्वसम्पदाको सूचीमा समेत समावेश गराइसकेको हुँदा यो स्तुपले आफ्नो प्रभाव क्षेत्रलाई विस्तार गरेको मान्नुपर्छ। आफ्नो आकारले गर्दा नेपालको सबभन्दा ठूलो छ्योर्तेन पनि हो। भारत, नेपाल र भोट (चीन) को त्रिकोणात्मक धार्मिक सम्बन्धको ऐतिहासिक घटना विशेषसँग जोडिएको कथा प्रसङ्गले गर्दा यो तीनै देशको धार्मिक सेतुको रुपमा पनि उभिएको छ।

कालचक्रको गतिसँगै इतिहासको आरोह अवरोहको साक्षी प्रमाणको रुपमा रहेको बौद्धनाथ स्तुप स्वयंलाई पनि इतिहासको नकारात्मक र संकारात्मक छाप परेको छ। स्तुपको इतिहासलाई कोट्याउने शोधकर्ताहरुले तथ्यहरुलाई प्रष्टयाउनु पर्दछ। यस अध्ययनपत्रले बौद्धनाथको धार्मिक महत्व सांस्कृतिक पर्यावरणीय समस्या, विकासको गतिविधि, संरक्षणको सवाल, सामाजिक तथा सरकारी दायित्व जस्ता विविध विषयहरु समेटिएका छैनन्।

१.२ बौद्धनाथको आकार प्रकार

बौद्धनाथको आकार प्रकार मौजुदा बौद्धनाथको आकारप्रकारसम्बन्धी चैत्य (ज्याङा छयुब छ्योर्तेन)को हो। भगवान् बुद्धले सम्बोधी ज्ञान लाभ गरेको प्रतिकको रुपमा बोद्धिचैत्यको संरचना र स्वरुप तयार भएको हुन्छ। अन्य प्रकारको चैत्यको निर्माणमा भन्दा महायानीहरुले यस आकारको चैत्यको निर्माणलाई विशेष महत्व दिएको हुन्छ किनभने बोधिचित्ता उत्पादन गर्ने र सम्बोधी ज्ञान हासिल गर्नु बौद्धमार्गीहरुका लागि सर्वोत्तम विषय हुन्छ। त्यसैले यस्तो बोधीचैत्यको निर्माण कार्यले पुण्यको अधिकतम अंश सञ्चय गराउँछ भन्ने विश्वास गरिन्छ। प्रायः नेपाल, तिब्बत (चीन), भूटान, लद्दाख (भारत) र सिक्किम (भारत) जस्ता महायानी सम्प्रदायहरुले निर्माण गर्ने गरेका चैत्य (छ्योर्तेन) सम्बोधीचैत्य नै हुने गरेको पाइन्छ। सामान्यतया छ्योर्तेनहरु आठ प्रकारका हुने गर्छन्।

१.३ बौद्धनाथ चैत्यको दार्शनिक मान्यता

सम्बोधीचैत्यको दार्शनिक महत्व उसको आकारप्रकारमा पाउने संरचनाहरुले दर्शाउँछ। त्यो आकारप्रकार र संरचनाले भगवान् बुद्धको सम्पूर्ण ज्ञान गुणलाई समेटिएको हुन्छ। छ्योर्तेनको आधारशीला, सतहहरु, कलाश (गर्भगृह) भूमि, तोरण र गजुर आदिले बौद्धधर्मको एक एक विषयवस्तुको प्रतिनिधित्व गर्दछन्। छ्योर्तेनको प्रत्येक अङ्गमा राखिएका धारणी र गर्भगृहमा समाविष्ट भगवानको अस्थीधातु, बौद्धग्रन्थ, देवताको मूर्तिलगायत मणी र मन्त्र अक्षरहरुको धारणीले बुद्धको काय (माणीक्य), वाक र चित्त तीनै अङ्ग समन्वयन भएको मानिन्छ। सामान्यतया चैत्यलाई भगवान्‌को चित्तको प्रतिक मान्ने गरिन्छ।

२. बौद्ध स्तुपासम्बन्धी स्थापित विभिन्न अवधारणाहरु

२.१ प्राचीन अवधारणा

सभ्यताको प्रारम्भमा जब मानव जातिले आफ्नो वरपरको वातावरण, घटनाक्रम, जीवन र जगतको सम्बन्धमा सोध्न थाले तब आफूभन्दा पृथक अस्तित्वहरुको पहिचान र परिकल्पना समेत गर्न थाल्यो। जीवन र जगतको महत्वपूर्ण पक्षलाई विशेष स्थान दिने गर्न थाल्यो। त्यसक्रममा ला छ्याबा (देवताले बास गरेको स्थान), लु छयाबा (नागले बास गरेको ठाउँ) र चान छ्याबा (शिकारीले बास गरेको ठाउँ) लाई पवित्रस्थल हो भन्ने आस्था राख्न शुरु गर्यो। त्यसैगरी मानिस गाडिएका वा पोलिएको स्थानलाई पनि घुर्सा (स्मसान) भनी विशेष महत्व दिने गर्‍यो। यो धारणा हिमाली क्षेत्रमा बोनधर्मको चिन्तन प्रणाली फैलिएपछि विकास भएको हो। किनभने आकाश मण्डलमा तेङला ला (आकाश माथिको देवता), भारला चान (अन्तरिक्षको शिकारी बस्नेको गरेको) र होगला लु (पृथ्वी मुनिको सतहमा नागनागिनी)ले बसोबास गरेका छन् भन्ने कुरा हिमालयका बोनहरूमा सबभन्दा पहिले फैलिएका थिए। यो तीनै लोकको पृथक अस्तित्व भए तापनि उनीहरुको उपस्थिति वा अवतरण पृथ्वीको कुनै स्थानमा हुनु वा तिनलाई विधिवत स्थापना भएको स्थानलाई ला छ्याबा ग्ला (देवता बास गरेको स्थान) भनी पवित्र र पूज्य स्थान मान्दै आएका छन्। बोन पुरोहितहरुले त्यसको परिचयसहित उद्घाटन गरेको स्थल वा दैवी घटना विशेषले गर्दा त्यस्ता ठाउँमा सम्बन्धित देवीदेवताको नाममा ढुङ्गाहरु थुपारेर देउराली वा देवल (देवालय) स्थापना गर्ने परम्परागत धेरै पुरानो हो। त्यस्तो स्थानले प्राख्याति पाउँदै जाँदा त्यसलाई ने (तीर्थास्थल) वा लानेःपा ग्ला (देउताले बसोबास गरेको स्थान)को रुपमा विकास हुँदै आएको हो। नेपाल भनिने नाम पनि यो अवधारणासँग जोडिन पुग्दा नेपाल (श्रीस्थान) भन्ने वा ती तीर्थास्थल भन्ने अर्थयुक्त शब्द बनेको देखिन्छ। ‘ने’ भनेको ‘नेमुनि’ र ‘पाल’ भनेको ‘धार्मिक नियमद्वारा प्रजापालन गर्ने’ भन्ने भाववाचक शब्दको रुपमा लिनु नपर्ने श्री विशेषणसहितको नाम प्रष्ट खुल्न आउँछ। बसोबास स्थान तीर्थस्थल=ने र पाल=श्री कसरी संयोजन भयो भने प्रश्न उठाउनु सकिन्छ। जुन स्थानमा देवताहरु प्रकट भए, अवतरण भए, तिनका देउराली, देवल, मन्दिर वा अरु कुनै स्मारकहरु मार्फत् पहिचानहरु दिएर प्रतिष्ठित (स्थापित) गरेको अवस्थामा देवता (श्री=शुभ) स्थापित भएको मान्यता पाउँछ।

प्राचीन समयमा हिमालयमा यही धारणा व्याप्त भएकाले नै हिमालय (डाँडाकाँडा)हरु समेतलाई देवीदेवताको बासस्थानको रुपमा मान्दै आएका छन्। नेपाल शब्द नाम ‘ने’ (तीर्थास्थल)मा सिङ्गोन=सिङला गोन्बो (काष्ठमण्डप=काठको मण्डप) बनाएर देवता स्थापना गरेकाले ‘नेपाल’ हुन पुगेको हो भन्न सकिन्छ। तर, ‘नेपाल’ सम्बन्धि अनेक धारणा मौजुद रहेको अवस्थामा थप पुष्टि गर्न सक्ने गरी अनुसन्धान गर्नु पर्ने हुन्छ। बोनहरुमा धुर्सा कुः (नौवटा श्मसानहरु) रहेको मान्यता छन्। त्यसलाई नौ तला (नौ तह) को रुपमा पनि व्याख्या गर्छन्। यो नौ तह नौ ग्रहहरुको रुपमा पनि व्याख्या गर्न सकिन्छ किनकि श्मसान भूमि भएकोले यसले अध्यात्मभन्दा भौतिक अस्तित्वतिर सङ्केत गर्छ। त्यो विश्वासले हेर्दा सबै ग्रहक्षत्रहरु मृत्युलोक नै हुन्। नेपालका पहाड-भन्ज्याङहरुमा स्थापित देउरालीहरु पनि एक प्रकारले देवल र तीर्थास्थलकै रुप हुन्। ‘देवी देउराली’लाई प्राचीनकालदेखि नै मान्ने गरेको छ। ‘ने’ (तिर्थास्थल)मा देवीदेवता र ‘धुर्सा’ (श्मसान)मा भूतप्रेतले बास गर्छ भन्ने विश्वास गरिन्छ। हिमालयको चुचुरो, डाँडाका टुप्पो, पानीको मुहान, चिहान, भञ्ज्याङ-देउराली, भीरपाखो, दोबाटो, चौबाटो आदिमा देवीदेवता र भूतप्रेतको बास गर्छन् भन्ने विश्वास धेरै पहिलेदेखिको हो।

२.२ बौद्धधर्मावलम्बीहरुको सामान्य धारणा

बौद्धमार्गीहरुको सामान्य मान्यतामा छ्योर्तेन आदार सम्मान र पूजन गर्ने प्रतिक रूप हुन्। चैत्य वा स्तुप त्यस मध्ये एउटा हुन्। भगवान् बुद्धको काय (शरीर)को प्रतिक बुद्धमूर्तिहरु, वचन (धर्म)को प्रतिक त्रिपिटक र अन्य बुद्धवचनका पुस्तकहरु र चित्त (ज्ञान)को प्रतिकको रुपमा चैत्य (छ्योर्तेन)लाई मान्ने गरेका छन्। त्यसको अतिरिक्त बुद्धको जन्मस्थल (लुम्बिनी), बोधीज्ञान प्राप्त गरेको स्थान वज्रासन (धोर्जेदान=बोधगया), धर्मादेशन गरेको स्थान वारणासी र महापरिनिर्वाण प्राप्त गरेका स्थान कुशिनगरलाई पवित्र तीर्थास्थल मान्ने गरिन्छ। बुद्धका प्रतिकहरुबाहेक बुद्धको जीवनलीलासँग सम्बन्धित क्षेत्रका स्थलहरु सबैलाई पवित्र तिर्थास्थल मानिन्छ।

बुद्धको महापरिनिर्वाणपछि भगवान्‌को अस्तुधातु राजा, महाराज, महासेठहरु र भक्तजनहरुलाई बाँडेका थिए। त्यही अस्तुधातु गर्भगृहमा राखेर ‘स्तुप’ निर्माण गरेर पूजन शुरु गरेको हो। सम्राट अशोकले भारतवर्षभरि दशहजारभन्दा बढी छ्योर्तेन निर्माण गरेका थिए। सम्राट अशोकद्वारा निर्मित ती छ्योर्तेनहरू अशोकशैलीका छ्योर्तेन भनेर चिनिन्छन्। सायद तिनै छ्योर्तेनहरू छ्योर्तेनका प्राचीनतम रुप मध्येका हुन्। भगवान्‌को अस्तुधातु नभए पनि स्रुङ (धारणी) हालेर निर्माण गरेको स्तुप वा चैत्यहरुको विधिवत् ह्राप्ने (प्राणप्रतिष्ठान) भएपछि त्यसलाई उक्तिकै महत्व दिएर पूजिन्छ। सो स्थानलाई तिर्थास्थल सरह नै आस्था राख्ने गरिन्छ। त्यस्तै सिद्धपुरुषहरुको मठ (धेन्सा), तिनले तपस्या गरेको स्थान, ओडार र आराण्य क्षेत्र र सबै तीर्थास्थल नै मान्ने गरिन्छ। त्यसकारण घ्याङ गुम्बाहरु सबै पवित्रस्थलहरु हुन्।

तामाङ समाज र हिमाली बौद्धहरुको परम्परामा मृतकको नाममा र जीवितहरुले पनि धर्म कमाउन बाटोघाटो डाँडाकाँडामा छर्योर्तेन बनाउने गरिन्छ। हिगिम्हान्डाङ (देवलसहित)को चौतारो बनाउने, पिपलको बोट (बोधी वृक्ष) रोप्ने काम पुण्य कार्य मानिन्छ। यो परम्परामा बुद्धको मूर्ति स्थापना गर्ने (कुतेन स्हेङ्बा), बुद्धवचन लेखाउने (सुङतेन/कातेन स्हेङ्बा), छ्योर्तेन बनाउने (थुतेन स्हेङ्बा) र त्यसको प्राण प्रतिष्ठान विधिलाई नै ह्राप्ने भन्ने गरेको हो। यो प्रचलन अझै पनि कायम छ।

२.३ बौद्धतन्त्रको धारणा

बौद्धतन्त्रले जम्बुदिप (जाम्बुलिङ)लाई मण्डलाकारमा विभाजन गरेर पवित्रस्थान (ने), देश (य्हुल), दिशाकोण (छ्योग-छाम), श्मसान भूमि (धुरठोइ) आदिको परिकल्पना गरेको पाइन्छ। त्यसको सामान्य मध्येक्षेत्र चाहिँ बुद्धगया (वज्रासन=धोर्जेदेन)लाई मानिएको छ।

तन्त्रकै अर्को धारणा अनुसार राक्षसनीको अङ्गप्रत्याङ्ग छरिएको स्थानहरु पवित्र स्थान हुन् भनिएको छ जहाँ साधकले सरल ढङ्गबाटै साधना र उपासनको सिद्धिप्राप्त गर्न सक्दछन्। पछिल्ला बौद्ध तान्त्रिक साधकहरुले यही आधारमा पनि तिर्थास्थलहरुको पहिचान गर्ने गरेका छन्। तिब्बतका राजा ठिस्रोङ देउचन (ई. ७१८-७८५) ले यही तान्त्रिक भूगोलको अवधारणा अनुसार भोटको विभिन्न भागमा गुम्बा र छ्योर्तेन र निर्माण गरेका थिए। नेपाल उपत्यकाको केही मठ मन्दिरको स्थापना पनि ‘नेपालमण्डल’ भनी बौद्धतन्त्रकै अवधारणा अनुसार स्थापना गरिएको देखिन्छ। बौद्ध मण्डलाकारले पूरै ब्रम्हाण्ड, पृथ्वी, एसिया महाद्विपलाई समेट्न सक्ने भए तापनि हिमालय र भारतवर्षको भू-भागलाई नै प्राथमिकता दिएको पाइन्छ जहाँ वौद्धतन्त्रका साधकहरु जन्मिएका थिए। व्यक्तिगत रुपमा साधकले आफ्नो स्थानलाई नै केन्द्र विन्दु वा वज्रासान (धोर्जेदेन) मान्ने पनि गर्छन्।

अर्कोतिर गुरु रिम्पोर्छेले तपस्या र साधना गरेका स्थलहरु भारत, नेपाल र हिमालय क्षेत्रमा थुप्रै छन्। त्यस्तै बौद्धयोगीहरु (नाल्ज्योरपा=गोमछेन/घोमछेन को साधना केन्द्रहरुलाई पनि त्यही कोटीको तीर्थास्थल मानिन्छ। गुरु पद्मसम्भवको केही तिर्थस्थलहरु गोप्यस्थल (वेयुल)को रुपमा रहेका छन्। महान बौद्धमार्गी मिलारेपा (ई. १०४०-११२३)ले उनका गुरू (लामा) मारपा (ई. १०१२-१०९६)को निर्देशन अनुसार ह्योल्मोमा गई तपस्या गरेका थिए। य्होल्मो (हेलम्बु) गुरु रिम्पोर्छेकै गोप्य तीर्थास्थल मानिएको छ। मिलारेपाका चेला गोद्छाङ्पा रेपा (ई. ११९८-१२५८)ले पनि य्होल्मोमा गई तपस्या गरेकाले य्होल्मो साधकहरुका लागि आकर्षणको केन्द्र बन्न पुगेको देखिन्छ। त्यस्ता गोप्य तीर्थास्थल प्रसिद्ध लामाहरुले उद्घाटित गरेका हुन्।
संक्षेपमा तिब्बत (चीन)मा पर्ने गाङरिम्पोर्छे (कैलाश-मनोसरोवर), नेपाल-चीन सिमानामा रहेको दोलखाको लाप्ची, भारत, बर्मा र चीन (तिब्बत)को सिमानामा पर्ने चरी ने, भारतको बुद्धगया, बनारस, कुशीनगर, नेपालको स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्ध (ताक्मोलुइजिन)जस्तै अन्य बौद्ध तीर्थास्थलहरु पनि आस्थाको केन्द्रको रुपमा रहेका छन्। तीर्थास्थल र साधना योग्य केन्द्रहरुको छनौट गर्दा बौद्धतन्त्रका आफ्नै परिपाटी रहेका छन्।

३. बौद्ध स्तुपाको ऐतिहासिक पक्ष

३.१ बौद्धनाथ चैत्यको निर्माणकाल

इतिहास समय सापेक्ष हुने हुँदा घटनाक्रमलाई समय सारणीसँग आबद्ध गराउनु पर्ने हुन्छ। प्रामाणिक अभिलेख पुरातात्विक वस्तुको उपस्थिति बेगर समय खुट्याउनु धेरै कठिन पर्ने गर्छ। अर्कोतिर प्राचीन अभिलेखहरुले विस्तृत विवरण दिने गर्दैन। तथापि बौद्धनाथको निर्माता र निर्माणकालसम्बन्धी दुई किसिमको भनार्इहरु पाइन्छन् : पहिलो, कथित वंशालीको धारणा र दोस्रो, हिमाली बौद्धहरुको धारणा। पहिलो धारणा अनुसार राजा मानदेव (ई. ४५९-५०५)ले आफ्नो पितृहत्याको पापमोचनका लागि स्तुप निर्माण गरेको वा शिवदेव (ई. ५९०-६०४)ले गर्भगृह बनाई प्राणप्रतिष्ठा गरे। ठूलो खसीचैत्य बनाए भन्ने गोपाल वंशवलीको उद्धृत गर्दै इतिहासकार भुवनलाल प्रधानले शिवदेवलाई स्तुप निर्माताको रुपमा हेर्न खोजेको छ (कइरन, वर्ष २, पूर्णाङ्क ११)। वंशावलीमा मानदेव र वज्रयोगीनीको प्रसङ्ग जोडिएको हुँदा साँखु बज्रयोगीनीको स्थान र स्तुपतिर इङ्गित गर्छ। अर्कोतिर पितृहत्याको पापमोचनको प्रसङ्गले नारायणस्थानको जलशायी नारायणको मूर्तिसँग सम्बन्धित तथ्यतिर विदेशी शोधकर्ताहरुले समेत औँल्याउने गरेको पाइन्छ (प्राचीन नेपाल, सङ्ख्या १२०, १९९०)।

केशर पुस्तकालयमा मौजुदा वंशावलीको आधारमा विद्वान भुवनलाल प्रधानले नेवारी भाषामा ‘खासाती’ चैत्य भन्नु वंशावलीमै उल्लेखित कथासँग मेलखाने गरी नेवारी शब्दको शब्दार्थ ‘खशु’ (हुस्सु, कुहिरो) र ‘ती’ (झोल, तरलपदार्थ)बाट रहन गएको नाम भन्ने गरेको छ जुन वंशवलीको कथावस्तुसँग तादम्यता राख्दछ। नेपालको इतिहास नामक किताबमा डि. राईटले उपरोक्त भनार्इलाई सही थापेको पनि उल्लेख गरेका छन्। तर, अर्को विदेशी लेखक मेरी से स्लुसरले (नेपाल मण्डल प्रिन्सटन, १९८२) सम्भवत स्तुप निर्माता मानदेव नै हुनसक्ने र शिवदेव चाहिँ जीर्णोद्वारक थिए- यसबारे बढी प्रकाशन गर्न पुरातात्विक उत्खननबाट मात्र सम्भव छ भनेबाट स्तुपको निर्माता मानदेव नै हो भन्ने टुङ्गो लागेको देखिँदैन। अर्कोतिर फ्रान्सेली लेखक सिल्भा लेभीले राजा मानदेवको पौराणिक कथा अनुसार खासा लामा खासा गाउँका तिब्बती लामाका अवतार भएको र त्यसकारण पनि स्तुपको नाम ‘खासाचैत्य’ हुन गएको भन्ने र डा. डी. राईटले पनि भोटिया लामाको मृत्युपछि नेपालको राजाको रुपमा अवतारित भए र उनैले बौद्धचैत्य निर्माण गरेको हुनाले भोटियाले ठूलो श्रद्धा राख्दछन् भनेका छन्। त्यसैगरी एचए ओल्ड फिल्डले (स्केच फ्रम नेपाल, लन्डन १८८०) खासा नाउँ गरेको लामा तिब्बतबाट तिर्थाटन गर्न नेपाल आएको र उनको मृत्यु पनि पनि यहीँ भयो, वर्तमान स्तुप भएको ठाउँमै जलाइदियो वा गाडियो। स्तुप उनकै चिहानमा निर्माण भयो। यसको गर्भमा सायद उनकै खरानी वा अन्य अवशेषहरु राखिएको छ भनी लेखेका छन् भन्ने भुवनलाल प्रधानकै भनाई रहेको छ। तर, डीएल स्नेल ग्रोन (बुद्धिष्ट हिमालय, अक्सफोर्ड, १९५७)ले भने मानेन् पनि भनेका छन्। माथिका भनार्इहरुले स्तुपको निर्माता र निर्माणकाल दुबै विवादस्पद बन्न पुगेको छ।

स्रोङ्चन गाम्बो (ई. ६१७-६५०)को शासनकालमा मात्र बौद्धधर्म तिब्बतमा पुगेको भएपनि उनको शासनकालमा बौद्धधर्म राजपरिवार र भारदारहरुमा मात्र सीमित थियो। समाजमा व्यापक रुपमा फैलिएको थिएन। यद्यपि उनले बौद्ध सभ्यताअनुसारको नियम कानुन लागु गरेको र आर्याअवलोकीतेश्वर (चेनरेस्रिग)को ध्यानजपको प्रचार भने गरेको इतिहासमा उल्लेख छ। त्यस बेला सिद्धी प्राप्त कुनै लामा गुरुहरुको उदय भइसकेको थिएन। त्यसकारण खासा लामा तिर्थयात्री, उनको मृत्यु बौद्धनाथमा हुनु, त्यही चैत्य बनाउनु र मानदेव भएर औतार लिनु दुबै असम्भव देखिन्छ। तिब्बतमा लामा औतारीको प्रचलन दोस्रो कर्मपा लामाबाट मात्र प्रारम्भ भएको हो। जुन १२औँ शताब्दिको शुरुतिर पर्छ। त्यसपछि मात्र औतारीको बाढी नै चल्ने गरेको हो। मानदेव चौथो शताब्दी र शिवदेव पाँचौ शताब्दीका थिए।

नेवारी प्रचलनमा चलेको परम्परा वंशावलीको आधारमा बौद्धनाथ स्तुपको निर्माता मानदेव या शिवदेव हुन् भने अन्य स्रोतले खासा लामाको चिहानमा बनेको छ्योर्तेनको निर्माता खास लामाको अनुयायी वा खासाली भोटीया भएको सङ्केत गराउँदछ। तर, खासा लामा नाम गरेको कुनै प्रख्यात लामाको नाम तिब्बतमा हालसम्म भेटिएको छैन जसको नाममा त्यो आकारको स्तुप बन्न पुगोस्। बरु खासा लामा नामको कुनै तिर्थायात्री १६औँ शताब्दी भन्दा पहिले जुन बेला बौद्धनाथ स्तुपको जिर्णोदार भएको थिएन- नेपाल आइपुगेको र जुन ठाउँमा उनको मृत्यु भयो त्यो ठाउँमा मौजुदा स्तुपको भग्नावेश चाही भएको हुन सक्छ किनभने त्यति खेरदेखिनै साँसुको बाटो हुँदै तिब्बत जाने प्रचलन बसिसकेको हुनुपर्छ। तिब्बतको एकजना प्रसिद्ध लामा स्यामारपा लामा लामो समयसम्म बौद्धनाथ बस्नु भएको र उहाँको परलोकगमन बौद्धमै हुँदा बौद्धनाथ नजिकको धुर्सा (चिहान)मा दाहासंस्कार भएको भनाई चाहिँ प्रष्ट छ। तर, त्यो १८औँ शताब्दी तिरको कुरा हो जुनबेला वर्तमान स्तुपको स्वरुप ग्रहण गरिसकेको थियो।

३.२ हिमाली परम्परा पृथक

हिमाली बौद्धमार्गीहरु माझ प्रचलनमा रहेको कथाअनुसार एउटी गरिब महिला ज्याजीमाले दुःखले आर्ज्येको धनबाट स्तुप निर्माण गर्न राजाबाट जग्गा र अनुमति लिन्छ। आफ्नो पृथक- तल्लो जात (रिगङान)का पतिहरुबाट जन्मेका छोराहरु- एउटा गोरु, एउटा गधासहितको टोलीले तन, मन र धन लगाएर बनाएको भन्ने छ। एउटा गरिब महिलाले ठूलो आकारको स्तुप बनाउँदै गरेकोमा देशको भारदार, धनीमानी र समाजले डाह गरी राजाकहाँ उजुरी पुर्‍याएर पनि राजाले आफ्नो राजज्ञा (वचन) चुकीसकेको हुँदा स्तुप निर्माण कार्य रोक्न नमिल्ने हुकुम भएकोले स्तुपको नाम पनि ‘ज्यारुङ्ग खास्योर’ (निषेध गर्न सकिने भएपनि बचन चुकेको) अर्थमा नाम रहन गएको भन्ने छ। स्तुपको गर्भमा भगवान् काश्याप बुद्धको अस्तुधातु समेत रहेको उल्लेख छ। स्तुपको प्राणप्रतिष्ठान (राब्ने) गर्दा सबैले आ-आफ्नो आर्शिवाचन गर्दै वर मागे। जस्तो मागेको उस्तै वर प्राप्त गरेर जेठा घोडा पालकको छोरा राजा ठिस्रोङ देउचन (ई. ७३०-७८०) भई तिब्बतमा जन्म लियो। सुँगुर पालकको छोरा खेन्पो बोधीसत्व भई भारततर्फ (बंगाल)मा जन्म लियो। कुकुर पालकका छोरा गुरु पद्यसम्भव भई उत्पन्न भयो। उनीहरुकै सद्प्रयासबाट हिमालय भोटमा बौद्धधर्मको बलियो जग बसालेको थियो। कथाका सबै पात्रहरुको तिब्बती इतिहासमा युगान्तकारी भूमिका रहेका छन्। जुन पात्रहरु बौद्धनाथ स्तुप निर्माण गर्ने काममा सङ्लग्न रहेका थिए। गुरु पद्यसम्भव र खेन्पो बोधीसत्वको सम्बन्ध भारतसँग छ। यही कथन हिमाली परम्पराको स्रोत हो।

तर, अहिलेसम्मकै सबैभन्दा पुरानो बौद्धनाथको कथा बोकेको लिखित पुस्तक ई. १५७२ मा लामा डाग छ्याङ्ग (तान्त्रिक) शाक्य साङ्बोले तिब्बतको प्रथम बौद्ध विहार साक्ये नजिकको रातो स्तुपबाट तेर (निधि) निकालेर प्रकाशमा ल्याएका हुन्। यस अघि यो कथावस्तु गुरु रिम्पोर्छे स्वयमले राजा, खेन्पो, लोचवा र अन्य अनुयायीहरुलाई सामूहिक रुपमा बताएको भए तापनि यो कथालाई लिपीवद्ध गरी खाण्डो येसे छ्योग्यालले तेरमा समाधिस्ता गरेका थिए। यो ‘ज्यारुङ खास्योर’को इतिहासलाई प्रकाशनमा ल्याउने डाग छ्याङ्ग शाक्य साङ्बो बौद्धनाथको जिर्णोद्वारक पनि हुन् (छ्योर्तेन ज्यारुङ्ग खास्योरगि लोग्यु थोइपे ढोल्वा, पुर्नप्रकाशन २००४)।

खास्तीचैत्य वा ज्यारुङ खास्योरको दुई भिन्न भिन्नै अवधारणाले गर्दा स्तुपको निर्माता राजा मानदेव, शिवदेव, खासा लामाको चिहानमा खासाली भोटियाले बनाएको वा माज्याजीमाले बनाएका हुन् भन्ने जटिल प्रश्न खडा गर्छ। दुबै पक्षाले आ-आफ्नो धारणाको पुष्टि गर्ने थप प्रमाण जुटाउने कोसिस पनि भएको देखिन्दैन।

मानदेव र शिवदेवलाई नै स्तुप निर्माता मान्दा समयको हिसाबले ठिस्रोङ देउचन, गुरु पद्यसम्भव, खेन्पो बोधीसत्व भन्दा जेठो नै देखिन्छ। त्यति मात्रले स्तुप उनीहरुले नै बनाएका हुन् भन्ने दरिलो प्रमाण केही पनि दिँदैन। मानदेवको शिलालेखको उपस्थिति अन्यत्र (चाँगुनारायण आदि) ठाउँमा भए तापनि बौद्धनाथ स्तुपमा भने छैन। नेवारी परम्पराले वंशावलीको कथालाई नै प्रमाणिक आधार मान्दै आएका छन भने हिमाली (बौद्ध) परम्पराले भने लामा शाक्य साङ्बोको तेरछ्योइ (निधिपुस्तक)लाई नै आधार मान्दै आएका छन्।

चैत्य वा छ्योर्तेनको अर्थ पूज्य प्रतिक हो। महापरिनिर्वाणसूत्र जस्ता बौद्धग्रन्थहरुमा भगवानको अस्तुधातु राखेर स्तुप निर्माण गरेको र त्यस्तो स्तुप निर्माण गर्ने प्रचलन अघिल्ला बुद्धहरुको कल्पकालमा पनि रहेको बताउँछ। सम्राट अशोक लुम्बिनी आइपुगेको कुरा लुम्बिनीको अशोक स्तम्भ र त्यसमा लेखिएको बेहोराले बताउँछ। तर, नेपाल उपत्यका काठमाडौँमा। ‘किराँत’ राजा स्थुङ्गको पालामा आइपुगेको भन्ने गरे तापनि त्यसको पुष्टि भने हुन नसकेको इतिहासकारहरुको मत छ। तर, उनकै छोरी राजकुमारी चारुमतीको नेपाल आगमन र उनको कुमार देवपालसँग विवाह भएर देवपतन (देउपाटन) बसेका थिए। चावेलमा धन्दोचैत्य रहेको छ। चौधौँ ‘किराँती’ राजको पालमा चारुमती नेपालमा आइपुगेको भए तापनि भाषा वंशावलीले भने धन्दोचैत्यलाई राजा वृषभदेवसँग जोडेर बताउने गरेको छ (प्राचीन नेपाल, सङ्ख्या १५९ असार २०६२)। तर, हिमाली परम्पराले भने उक्त धन्दोचैत्यलाई बौद्धनाथ स्तुपसँग गाँसेर प्रस्तुत गर्ने गर्दछ। बौद्धनाथ स्तुप निर्माण गरी उब्रेको पाप्प्राको ढुंगा-माटोबाट बनाएका हुँदा धान्दोचैत्यको अर्को नाम साल्हाग-दोल्हाग (अति रिक्त ढुंगा-माटोको चैत्य) भन्ने गर्छन्। तर, यी भनाई बौद्धनाथको विवरण दिने पुस्तकमा भने उल्लेख छैन र जनश्रुतीको रुपमा रहेको भए तापनि विभिन्न नेस्यादे (तिर्थास्थलको वर्णन)मा भने उल्लेख गरेका छन्। पाटनको अशोकस्तुप र धन्दोचैत्य समसामयिक हुनुपर्ने हुन्छ। अशोकशैलीको चैत्य सबभन्दा पुरानो शैलीको चैत्य मानिन्छ।

महायानी बौद्ध सम्प्रदायको विकास सँगसँगै आठ प्रकारको बौद्ध चैत्यको अवधारण पनि फैलिदै गयो। जुन भगवान बुद्धको जीवनलिलाको घटनाहरुसँग सम्बन्धित छन्। यी यस प्रकार पाइन्छन्- (१) अवातरण, (२) परिब्राज्य, (३) तपस्य, (४) मारविजय (५) संवोधी ज्ञान (६) धर्मचक्र प्रवर्द्धन (७) ऋद्धि प्रदर्शन र (८) महापरिनिर्वाण हुन्। त्यस बाहेक खाङसाङ छ्योर्तेन (देवलस्तुप) र सहस्रबुद्ध चैत्य जस्तो चैत्यहरु पनि रहेका छन् (सन्तवीर लामा, नाङ्वा साङ्गे)। हिमाली परम्पराले माज्याजीमाको पूर्वजन्म देवलोकका देवेन्द्र (इन्द्र)की छोरी पूर्णिका र कनिष्ट पूर्णिमामध्ये सानीले फूल चोरेको हुँदा दैवी नियमबाट पतन भई नेवार मगध (बल्पो मगघ)को प्रान्तमा कुखुरा गोठाले द्युती र कुखुरा गोठालनी पूर्णिकाको कोखमा ज्याजिमा (धेछ्योक्मा) भई जन्मिएको भन्ने प्रसङ्ग उल्लेख छ। त्यसले स्तुपको प्राचीनता लिच्छवीकालकै प्रारम्भ वा अन्तिम किराँतीकाल अर्थात् अशोककालतिरसम्म पुर्‍याउँछ। त्यस्तो हो भने बौद्धनाथ र धन्दोचैत्य दुबैको त्यो बेलाको आकार अशोकशैली नै हुनुपर्छ। साल्हाग-दोल्हाग भन्ने धन्दोचैत्यको प्रसङ्गले स्तुपको निर्माणकाललाई अशोककालमा पुर्‍याउँछ। धन्दोचैत्य र चारुमती बिहार किराँतकालमै बनेका हुन्। त्यसलाई वृषभदेवले पनि भेट्टाउँदैन। वृषभदेव, मानदेव, शिवदेव, खासा लामा, ज्याजीमा जस्ता मिथकीय ढङ्गबाट प्रस्तुत गरेको लेखौट र किवंदन्तीहरुले गर्दा उत्पन्न दुविधाजन्य विषय प्रसङ्गलाई केलाउने प्रयास भएको छैन। स्तुपको निर्माणकाल र निर्माता छुट्याउन सक्ने खालको पुरातात्त्विक वस्तुहरु पनि भेटाउन सकिएका छैनन्। तर, लेख्ने परम्परा नभएको युगको लिखित प्रमाणहरु वा शिलालेख खोज्ने गरिन्दैन। अशोककालमा भने लेख्ने परम्परा बसिसकेको थियो।

माज्याजीमा बारे र छ्योर्तेनको कथा लेखिएको पुस्तकको वर्णनअनुसार त्यस ताकाको नेपाल कृषि प्रधान नभई पशुपालनको व्यवसायमा कायम रहेको प्रष्ट हुन्छ। यता मानदेव युगमा कृषि विकास र मानगृह जस्ता दरवार, मन्दिरहरुको निर्माण, मानाङ्ग मुद्राको प्रचलन, मानदेव सम्वतको चल्ती समेत भएको पाउँछौँ। अर्कोतिर खासा लामाको तिर्थाटन तिब्बतमा बुद्धधर्मको व्यापकता पछि मात्र सम्भव रहेको कुरा माथि नै उल्लेख भएको छ। नेपाल र भारतको तिर्थास्थलप्रतिको आकर्षण निकै पछिल्लो समयदेखि मात्र शुरु भएको हो। बौद्धनाथ क्षेत्रलाई श्मसानसँग जोडेर कुरा गर्नु पनि बौद्धतन्त्रको विस्तार भएपछिको कुरा हो। प्रारम्भिक स्तुपहरुमा भगवानको अस्तुधातु राखे तापनि त्यसलाई कुनै श्मसानघाटसँग तुलना गरिँदैन र त्यसको नजिक श्मसान पनि हुनुपर्ने अवधारण रहेको थिएन।

मण्डलाको वरिपरि आठवटा जलकुण्डा, आठ नाग, आठ अग्निकुण्डा, आठवटा वृक्षा, आठ रुद्र, आठ मातृका (देवी), आठ श्मसान र आठ स्थान आठ स्तुप र देशले घेरिएको अवधारण बौद्ध तन्त्रको हो। स्तुप अगाडिको मामस्थान (ज्याजिमा) र बौद्धनाथ नजिकको धुरठोइ (श्मसान) पनि त्यही बौद्धतन्त्रको प्रचलन हो। त्यसकारण त्यहाँको चारै दिशा, चारै कोणमा पोखरी, वृक्षा, देवल आदि हुनुपर्छ भन्ने गरिएको छ। त्यसै कारण बौद्धनाथ र स्वयम्भूनाथको धुरठोइको दाहसंस्कार कार्य पवित्र मानिन्छ। तामाङ संस्कृतिमा मृतकको अस्तुधातु स्वयम्भूनाथमा ल्याउने र दिप प्रज्वालित गर्ने परम्परा पनि छ। बौद्धतन्त्रले चैत्यलाई मण्डलाकारमा व्याख्या गरिन्छ भने बौद्धसुत्रले बुद्धधर्मको आधारशिला त्रिशिक्षा, अष्टाङ्गी मार्ग र दशभूमिको संरचना अन्तर्गत व्याख्या गरिन्छ। जसलाई बोधीचैत्य भन्ने गरिन्छ। हिमाली परम्परा अनुसार बौद्धनाथको निर्माणकाल सातौँ शताब्दीभन्दा पहिलेको हो। त्यसो हुन यसका निर्माणकाल अन्तिम किरातकाल वा अशोककालतिरै हुनुपर्छ जुन बेला बौद्धधर्म र कलाको प्रवेश उपत्यकामा भएको थियो। तर, यसको निर्माता र निर्माणकाल निर्धारण गर्न शोधकर्ताहरुलाई परस्पर बाझिएको भनाइले गर्दा सजिलो छैन। कथावस्तु र इतिहासको घट्नाक्रम इतिहासको व्याख्यामा हुनसक्ने विचलन समेतलाई ध्यान पुर्‍याउँदा अन्तिम किरातकालसम्म वा अशोककाललाई स्तुपको निर्माणकाल मान्नु पर्ने हुन्छ। ‘किराँत’ भनि प्राचीनकालमा कुनै पनि क्षेत्रका बासिन्दा र जातिलाई सम्बोधन गर्दथे जो शिकारी पेशामा पछिल्लो युगसम्म रहेका थिए। धर्मदर्शनको विकास भएपछि गैरधार्मिक (प्राकृत)लाई पनि किराँत भन्ने गरियो। नेपालको एकीकरणपछिको दस्तावेजहरुमा खम्बू र लिम्बूलाई पनि ‘किराँत’ भन्ने गरिएका छन्। कथामा राजाको नाम उल्लेख छैन। राजासँग जग्गा मागेको कुरा मात्र उल्लेख रहेको छ। त्यसकारण अशोककाल (अन्तिम किराँतकाल) वा लिच्छविको प्रारम्भकाल नै यो स्तुपको निर्माणकाल हुनुपर्छ। किराँतीहरुको विस्थापनको कुरा नेपालको इतिहासले स्वीकारेको छन्। विस्थापित किराँती कुन जाति थिए खोजको विषय भएको छ। तर, उत्तरहिमालय भोटमा यक्ष जाति र यक्षपति कुँवेर भएको संस्कृत लेखनको भनार्इले भोटेजातिलाई ‘किराँती’ भनेको छैन। भोटेभाषामा शिकारीलाई ‘खीरावा ’र शिकार क्रियालाई ‘खीरा’ भन्ने गरिन्छ। यस विषयमा गहिरो अनुसन्धानको आवश्यक देखिएको छ।

३.३ बौद्ध स्तुपको नामाकरण

माथि उल्लेख गरिए अनुसार नेवारी समाजमा चलेको कथा र वंशावलीमा उल्लेख भएजस्तै खडेरी परेको हुँदा नदीको पानी र
रातको शितमा कपडा भिजाएर स्तुप निर्माण गरेको हुँदा ‘खासुती’बाट ‘खास्ती’ नाम रहन गएको भन्ने छ। वास्तवमा यो लोक चलनचल्तीको नाम हो। अर्कोतिर खासा लामाको चिहानमा बनेको हुँदा ‘खास्ती’ भएको भन्ने पनि छ। तामाङ समाजले भने हिमाली धारणासँग मेलखाने गरी ‘खास्योर’ भन्ने गरिन्छ। सिङ्गुन (सिङ्गोन) र खास्योर तामाङ लोकभाषाको चल्ती नाम हो। खास्योरबाट ‘खास्ति’ भएको होइन भन्ने आधार पनि छैन। ज्यारुङ विशेषणको रुपमा प्रयोग भएको शब्द हो।

तर, संस्कृतिमा षड, षष्ठ, षष्ठम र षष्ठी छैठौँको अर्थमा प्रयोग हुन्छ। त्यो धर्मचक्र प्रवर्द्धन चैत्य हो। स्तुपको पहिलो स्वरुप धर्मचक्रचैत्यको भएको हुँदा षष्ठीचैत्य (छैठौँ) भनेको हुनुपर्छ। पछि अपभ्रंश भएर ‘खास्ती’ भएको हुनसक्छ। विहार शब्द अपभ्रंश भएर वाहा र वाही भएका छन्। नेपालीमा बौद्धनाथ भनेर पुरुष वाचक संज्ञा दिएको छ। बुद्धको काय, वाक र चित्त तीन अंशको प्रतिक चैत्यमा समावेश भएकोले नाथ शब्द अनुपयुक्त मानिदैन। छ्योर्तेनलाई बुद्धको रुपमा स्वीकारेको हो। हिमाली परम्परामा ‘छ्योर्तेन रिम्पोर्छे’ भनि सम्बोधन गर्ने पनि गरिन्छ।

नेवारीको ‘खासी’ र हिमालीको ‘खास्योर’ दुबै शब्दले स्तुप निर्माणकालको घटनासँग जोडिएको नाम देखाउँदछ। त्यसैले चैत्यको निर्माणकार्यमा आएको प्राकृतिक र सामाजिक अवरोध खडेरी र विवादको रुपमा प्रस्तुत गरेबाट दुबैले अवरोध स्वीकारेता पनि अवरोध भने फरक प्रकृतिको देखिएको छ। त्यसैमा पनि मतभेत देखिन्छ। नेवारीहरुको ‘खासी’ भन्नु चैत्यभित्र भगवान् कश्यापको अस्तुधातु रहेको हिमाली धारणा अनुसार ‘काश्यप चैत्य’को सट्टा ‘खासी’ अपभ्रंश हुन गएको पनि हुनसक्छ। तर, एउटै नामले सबै अर्थ बोक्न भने सक्दैन। ‘खासी’ शब्द अपभ्रंश भई बनेको र अन्य आधारमा ‘खासी’ हुन गएको धेरै प्रकारको लेखाई र भनाई देखिन सुनिन आएको छ। यसलार्इ क्रमश लेख्ने र गन्ने हो भने- (१) ‘खसु’ र ‘ती’ शब्द अपभ्रंश भई ‘खास्ती’ हुँदै ‘खास्तीचैत्य’ हुन गएको, (२) खासाचैत्य- खासा लामाको चिहानमा बनेको हुँदा हुन गएको, (३) खास्योर छ्योर्तेन चैत्यराजाले आफ्नो राजाज्ञा फिर्ता लिन नसकेको हुँदा खास्योर नाम रहेको, (४) काश्यपचैत्य- गर्भगृहमा भगवान काश्यपको अस्तुधातु रहेकाले काश्यपचैत्य (नेवारी भनार्इ) अपभ्रंश भई ‘खास्याचैत्य’ हुन गएको र (५) षष्ठीचैत्य- संस्कृतको ‘षष्ठी’ शब्द उच्चारणमा अपभ्रंश ‘खष्ठीचैत्य’ हुन गएको भन्ने धारणाहरू पाइन्छन्। यसमा भन्न सकिने थप (६) धन्दोचैत्य र यो स्तुपको निर्माण कार्य समकालीन हुन् भन्ने कुराले चारुमतीका पतिसँग जोडेर ‘खशीया चैत्य’ भनेको पनि हुन सक्छ।

यस्ता नामहरु आ-आफ्नै पृथक अर्थ र आधारमा अडेको हुँदा एक अर्कालाई स्थापित हुन दिँदैन। वास्तवमा यो खास्योर चैत्य वा षष्ठीचैत्य आफ्नो निर्माणकालपछि कुनै कारण ओझेलमा पर्न गएको र स्याहार सम्भार नभएकाले स्तुपको भौतिक स्वरुप नै सङ्कटमा पर्न गएको देखिन आउँछ। एघारौँ र बाह्रौँ शताब्दीका तिब्बतका प्रसिद्ध लामाहरु मारपा, रालोचा, मिलारेपा, गोदछाङ्पा आदिले नेपालको भ्रमण गरेको भए तापनि उनीहरुको जीवनीमा बौद्धनाथ चैत्य बारे केही उल्लेख गरेको पाइन्न। तर, भूवनलाल प्रधानजीको प्रस्तुतिमा राजा भोगमाला वंशावली अनुसार ‘शिवदेव मल्लको पालामा भोटबाट ‘चंपादेव’ भनिने नेपालमा नाम कहलिएका भोटिया लामाले खास्तीचैत्यको ‘पुननिर्माण’ गरेकाले त्यति बेलादेखिनै यसको भोटसँग सम्बन्ध हुन पुगेको थियो’ (कइरन मासिक पूर्णाङ्क ११ वर्ष १२)।

शिवदेव मल्लको काल र्इ. ५९०-६०४ भएकोले त्यतिखेर भोटमा कुनै प्रसिद्ध लामा रहेको भन्ने कुरा सही होइन। अर्कोतिर तिब्बतका शासक देवा चाङ्पाले र्इ. १६१८-१६४२ सम्म तिब्बतमा शासन चलाएको हुँदा शिवदेव मल्लको कालसँग आकाश जमिन जतिकै फरक पर्न जान्छ। त्यसकारण शिवदेव मल्लको कालमा चंपादेव नामक कुनै लामाको अस्तित्वको परिकल्पना गर्ने ठाउँ नै छैन। अकारप्रकारको आधारमा बौद्धनाथ स्तुप पहिले षष्ठीचैत्य (धर्मचक्र प्रवर्द्धन चैत्य) थियो र १६औँ शताब्दीको लामा शाक्य साङ्बोको पुनर्निर्माणकालदेखि चौथी (चतुर्थम) चैत्य (सम्वोधीचैत्य) रहेको छ। यो खास्योर छ्योर्तेन निर्माणकालको घटनाक्रमसँग जोडिएका नाम हुन्। तर, यही नाम लोकप्रिय रहेको छ। त्यस हिसाबले षष्ठी पुरानो नाम हो भने खास्योर पुरानो भए पनि पछि प्रचारमा आएको देखिन्छ। सातौँ सितुपा लामाले पनि खट (छाँटकाट-संस्कृत)=कोद्पा (तिब्बती) शब्द अपभ्रंश भएर नेवारीमा ‘खास्ती’ भएको हुनुपर्छ भनेको छन्। स्वयम्भू चैत्य, अशोक चैत्य जस्ता संस्कृत नाम पुरानो नाम रहेको हुँदा बौद्धनाथको पुरानो नाम षष्ठी (छैठौँ) चैत्य नै रहेको हुनसक्छ। त्यस आधारमा ‘खास्योर’ तिब्बती बौद्ध नाम १६औँ शताब्दीदेखि मात्र प्रचलनमा आएको हुन सक्छ। धर्म प्रचारको प्रयोजनको लागि षष्ठीचैत्यको निर्माण आवश्यक रहेको निर्माता पक्षको प्राथमिकता र अशोक सम्राटकालसम्ममा आठ प्रकारको बौद्ध स्तुपाको अवधारणा बनिसकेको थियो। यस आधारमा स्तुपको निर्माणकालमा स्तुपको आकारप्रकार र नाम दुबै फरक थियो। कालान्तरमा बोधिचैत्यको आकार खास्ती र खास्योर नामाकरण भएको हुनुपर्छ। लोकसमाजमा जस्तोसुकै नाम उपनाम चले पनि त्यसको विशेष खालको धारणाले गर्दा उपनामहरु थपिने गर्छन्। तर, शास्त्रले दिने नाम र ऐतिहासिक नाम चाहिँ प्रमुख हुन्।

३.४ जिर्णोद्वार कार्यहरु

तिब्बतको इतिहास देपथेर मार्पो (Red Annals) अनुसार लामा जेचुन ढाक्पाले स्वयम्भूनाथको जिर्णोद्वार गरेको कुरा उल्लेख छ। इतिहासका लेखक छालपा कुन्गा दोर्जे (ई. १३०९-१३६४) भएकोले उनी बाह्रौँ शताब्दीको पूर्वाधातिरको मानिएको छ। उनलाई नेपालका राजा र भारो (बारू)हरुले पनि सहयोग गरेका थिए। तर, बौद्धनाथ स्तुप बारे कुनै उल्लेख गरेको छैन। एकजना विदेशी लेखक केथी डाओनका अनुसार छ्योर्तेनको स्थापना राजा वृषभदेव (ई. ४००) अथवा विक्रमजितले गरेका हुन्। दोस्रोमा नेवारी जनश्रुतिका अनुसार स्तुपको मौलिक स्वरुप वृषभदेवका छोराको धर्म कार्य हो। शिवदेव (ई.५९०-६०४)ले सम्भवतः स्तुपको पुनर्निर्माण गरे भनि उल्लेख गरेका छन्। उनले वंशवलीले पनि त्यही भनेका छन् भनि थपेको छ। यी भनार्इहरुले स्तुपको प्राचीनता माथि शंका गर्न कुनै स्थान रहँदैन। तर, ईस्वी सम्वतको ५०० देखि १५औँ शताब्दीसम्मको कालखण्ड भित्र पर्ने करिब एक हजार वर्षहरुसम्मको अवधीभर खास्तीचैत्यको कुनै उल्लेखित घट्नाको अभिलेख देखा नपर्नुलाई शोधकर्ताहरुले सोच्न सक्नुपर्ने हुन्छ। तिब्बतका राजा लाङधर्म (ई. ८०३-८४६)ले बौद्धधर्मको समूल नष्ट पारेपछि तिब्बतमा राजनैतिक स्थिरता र बौद्धधर्मको पुर्नव्यवस्था हुन पनि लामो समय लागेको थियो। लोछेन रिन्छेन साङ्बो (ई. ९५८-१०५५)देखि भारतबाट पुनः बौद्धग्रन्थ तिब्बतीमा अनुवाद गर्ने कामको थालनी भएको भए तापनि त्यो ११औँ देखि १३औँ शताब्दीसम्ममा मात्र तिब्बतमा व्याप्त हुन सकेको थियो। त्यो क्रममा पुरातनपन्थी (ञिङ्मापा)को तेरमा भनिने निधिग्रन्थको प्रचलन पनि शुरु भई फैलिन थालेको थियो। जुन ग्रन्थहरु गुरु पद्मसम्भवले नीधिधर्म (नीधिपुस्तक)को रुपमा विभिन्न ठाउँमा लुकाई राखेका थिए। त्यसको सूचीपत्र अलौकिक शक्तिले प्राप्त गरेर निकाल्नेलाई तेरतोन लामा भन्ने गरिन्छ। त्यस्तै तेरतोन लामा मानिएका लामा शाक्य साङ्बोले बौद्धनाथ बारे बताएको अहिले उपलब्ध सबभन्दा पुरानो ग्रन्थलाई उनले नै तेर (नीधि)बाट निकालेका हुन्। यस अघि अर्को तेरतोन लामा ल्हाचुन छेन्पोले साम्ये गुम्बाको भगवान बेरोचनको मूर्तिको पृष्ठभागबाट निकालेकोमा आकाशवाणी भई मूल लिपि सोही ठाउँमा यथावत राखी प्रतिलिपि चाहिँ रातो चैत्यमा लुकाएका थिए।

बौद्धनाथ र स्वयम्भूनाथको मर्मत् गर्ने राङ रिङरिगरेपा स्पीती लद्दाख (भारत)का काग्युपा लामा हुन्। मिलारेपाकै प्रमुख चेलामध्येका राङरिगरेपा पनि रहेका छन्। उनी दोलखा जिल्ला चिलाङखा गाउँ विकास समिति बुलुग्पा लेकको ‘ज्याङछयुब मेन्तो’ घ्याङ नजिकै पहिले ध्यानमा बसेको ओडार अहिले पनि छ। उनी १२औँ शताब्दीको भएको हुँदा खास्योर छ्योर्तेन बारे प्रकाश पार्ने घटनालाई बुझ्न उनको जीवनी समेत अध्ययन गर्नु आवश्यक छ। उनी लाप्ची हुँदै उपत्यकामा तिर्थाटनका लागि दोलखा हुँदै आएका थिए।

कोङटुल लामाद्वारा सङ्कलित ‘एकसय तेरतोनहरुको जीवनी’ नाम पुस्तकमा शाक्य साङ्बो र उनका उत्तराधिकारी य्होल्मो टुल्कु तेन्जिन नोर्बु (ई. १५७५-१६३५) को संक्षिप्त जीवनी पनि सङ्कलित छन्। डाग छ्याङ्ग शाक्य साङ्बोले आफ्नो नेपाल बसाइकालमा ‘खास्ती’ चैत्यलाई गोलो गुम्बज आकारको ढिस्को फोरेर देखिने पारेको वा नीधिपत्रमा लेखेको बमोजिमको स्तुप पाए। स्रोगसिङ (प्राणवृक्ष)बाट राजा अंशुवर्माको अस्तुधातु निकालेर लोक कल्याणका लागि फैलाए भनेका छन्। नेपाल प्रवेश गर्नुभन्दा पहिले उनले साम्ये गुम्बालगायत अनेक गुम्बाहरु र छ्योर्तेनहरुको मर्मत् कार्य सम्पन्न गरेका थिए। उनले नेपाल प्रवेश हुनुभन्दा अगावै तिब्बतमा तत्कालिन प्रसिद्ध लामाहरु दिगुडापा लामा कुन्गा रिन्छेन, कोङबो काछेन कुन्गा र तेरतोन पेमा लिङ्पा (ई. १४५०-१५५०)को चरणमा परी बौद्धनाथ स्तुप पुनर्निर्माण गर्ने आशिर्वाद थापेको उल्लेख छ। त्यसबाट बौद्धस्तुप बारेमा पुनर्निर्माण गर्नु भन्दा पहिले नै तिब्बतमा गुरु योजना तयार पारेको थियो भन्ने बुझिन्छ। उनको संक्षिप्त जीवनीमा स्तुपको ‘पुनर्निर्माण’ गरेको उल्लेख गरेबाट उनले मर्मतसम्भार कार्यको थालनी गर्दा स्तुपको पूर्व स्वरुप प्रकटमा नभए तापनि भग्नावशेषको रुपमा विद्यमान रहेको हुनुपर्छ। त्यही भित्र उनले अंशुवर्माको अस्तुधातु फेला पारेका थिए। अंशुवर्माको अस्तुधातुको कुराले थप जटिलता पैदा गर्छ किनभने छ्योर्तेन भित्र बुद्ध कश्यापको अस्तुधातु रहेको कुरा बौद्धनाथको ऐतिहासिक पुस्तकले नै उल्लेख गरेको छ।

जेहोस् १६औँ शताब्दीको प्रारम्भ र १५औँ शताब्दीको अन्त्यतिर छ्योर्तेनको वृहत्तर पुनर्निर्माण गराउँदा डाग छ्याङ्ग शाक्य साङ्बोले नै वर्तमान खास्योर छ्योर्तेनको आकारमा परिवर्तन ल्याएको मान्नुपर्छ। उनी गुरु (रिगजिन छ्योगदेन गोम्पो)का निर्देशन अनुसार य्होल्मो गए। चुडागुम्बा (चेरीगुम्बा)को निर्माण पनि सम्पन्न गरे। नेपालको दोस्रो यात्राकालमा उनले नै गोप्य तिर्थास्थल पेमाछालको पनि दर्शन गर्न पुगे। यो सिन्धुपाल्चोक जिल्लाकै बौलाहपोखरी पर्यटन क्षेत्रभित्र पर्दछ।

शाक्य साङ्बोकै उत्ताराधिकारी मानिने य्होल्मो टुल्कु तेन्जिन नोर्बु (ई. १५०८-१६३६)ले पनि नेपालमा आई स्वयम्भूनाथको प्राणप्रतिष्ठान गरेको र बौद्धनाथ स्तुप परिसरमा कोन्ङेर (पुजारी) बस्ने नयाँ घर बनाई दिएका थिए। उनलाई नेपालको राजाको तर्फबाट निमन्त्रणा प्राप्त थियो। अर्को प्रसिद्ध लामा स्वाबकरवा छोगडग राङ्डोल (ई. १७८१-१८५१)ले बौद्धनाथ चैत्यको स्वयम्भूनाथको जस्तै स्वर्ण जलपसहितको गजुर लगाएका थिए। त्यसबाट स्तुपले आफ्नो पूर्ण आकार क्रमश लिएको मान्नुपर्छ।
छैठौँ सीतुपा लामा (ई. १७००-१७७४)ले ई. १७२३ र ई. १७४८ गरी दुई पटक नेपालको तिर्थाटन गरेका थिए। उनले ‘ज्यारुङ खास्योर’लाई स्थानीय नेवार समुदायले ‘खासीचैत्य’ भन्नु संस्कृतको खट (छाँटकाँट)बाट अपभ्रंश भएको भन्ने उल्लेख गरेका थिए (प्राचीन नेपाल, सङ्ख्या १२०, २०४७)। यस्तै छैठौँ स्यामारपा लामा, आठौँ सीतुवा लामा, तेह्रौँ कर्मपा लामा, कथोग रिगजिन छेन्पो (ई. १६९८-१७५५), राङरिगरेपा (१७औँ शताब्दी स्पीती लादाख) आदिले पनि नेपालको तिर्थाटन गरेका थिए। उनीहरुले पनि स्वयम्भूनाथ र बौद्धनाथ दुबैको मर्मतसम्भार गरेका थिए। १६औँ शताब्दीदेखि नै बौद्धनाथमा तिब्बती तिर्थायात्रीको बृद्धि शुरु भएको हो। विशिष्ट लामाहरुको आगमन र मर्मतसम्भारले गर्दा बौद्धनाथले आकर्षक स्वरुप पाइसकेको थियो। त्यसको लागि तेरमा पुस्तक (बौद्धनाथको इतिहास)ले हिमाली समाजमा ठूलो जागरण ल्याइदियो।

नेपालको एकीकरणपछि पनि बौद्ध घ्याङगुठी अन्तर्गत नियमित पूजाआजा गर्न कमेरो पोत्ने सानातिना मर्मत् कार्यहरु गर्दै आएका छन्। स्तुपको मर्मत् गर्न पक्षले योजनाको स्वरुप, लगानी र श्रमशक्तिको सञ्चालन सम्बन्धमा कुनै सूचिकृत अभिलेख छोडेका छैनन्। निकै ठूलो मर्मत सम्भार गरिएको शाक्य साङ्गवो स्वयमले पनि मर्मत् कार्यको विवरण छोडेको देखिदैन। अर्थात् त्यस्ता दस्तावेजहरु असावधानी र लापरवाहीका कारण लोप भएर गएको हुनसक्छ। स्तुपको मर्मत् २०२४ सालतिर पनि भयो। तर, त्यसबेला छ्योर्तेनको माथिल्लो भागको पुरानो काठ फेर्ने काम मात्र भएको थियो।

श्री ५ गीवर्णयुद्ध विक्रम शाहको कालमा सन् १७९४-१८१६ मा भूटानबाट धर्मका लामाको प्रतिनिधित्व गर्दै तीनजना लामाहरु नेपाल आएका थिए। त्यस अघिदेखि नै स्वयम्भू घ्याङमा भूटानको धार्मिक प्रतिनिधि रहने गरेको थियो। जसले स्वयम्भू घ्याङगुठी अन्तर्गत घ्याङहरुको रेखदेख गर्ने गर्थ्यो। सन् १८१५ मा नेपालमा आएका सामगस ग्याल नोर्बुले नेपालको ठूलो चैत्य (बौद्धनाथ)को जिर्णोद्वार गरी भूटान फर्केका थिए (सुशील मानन्धर : नेपाल-भूटान सम्बन्ध एक ऐतिहासिक रुपरेखा, सीनास, कीर्तिपुर काठमाडौँ)। रामशाहको पालादेखि नै गोर्खाको भूटानसँग सम्बन्ध रहेको देखिएको छ।

यसरी पटक पटक गरी जिर्णोद्वार हुँदै आएको बौद्ध स्तुपलाई जोगाई राख्न नेपाल सरकार र समाजको तर्फबाट भरमग्दुर प्रयासको खाँचो छ। यो नेपाली बौद्धधर्म, संस्कृतिको प्रतिनिधित्व गर्ने राष्ट्रिय सम्पदा हो। अहिलेसम्म प्राय धेरैले यसको मर्मत् गरेको वा आंशिक सुधार गरेको बेहोराहरु खुल्ने गरी भएको कुनै दस्तावेजको सहरामा मात्र खुट्याउन सकिन्छ। कतिपयको त्यस्तो दस्तावेज नबनेको पनि हुनसक्छ। करिब एक हजार वर्षहरुसम्म उपेक्षित देखिएको बौद्ध स्तुपले १६औँ शताब्दीदेखि मात्र नयाँ जीवन ग्रहण गरेको पाइन्छ।

३.५ घ्याङगुठी र बौद्धनाथ स्तुप

नेपालमा धार्मिक गुठीको परम्परा प्राचीनकालदेखि नै चल्दै आएको हो। काठमाडौँ उपत्यका भित्रै पनि अनगिन्ती मठ-मन्दिर, देवल, वहालहरु रहेका छन्। धेरै मठ-मन्दिरको गुठी रहेको छ। त्यस्तो गुठीहरु हाल- (१) राजगुठी वा सरकारी गुठी, ( २) सार्वजानिक गुठी, (३) सामुदायिक गुठी र (४) निजी गुठी भनि वर्गीकरण गरेको पाइन्छ। पहिले घ्याङगुठीको व्यापकता थियो। अहिले भने सबै मासिएर स्वयम्भू घ्याङगुठी, बौद्ध घ्याङगुठी र हेलम्बुका घ्याङगुठी मात्र बाँकी रहन गएको छ। त्यो पनि फूलबारीको रुपमा वा गोरखनाथ गुठीको रुपमा मात्र रहेको पाइन्छ। पुराना गुठीहरु धेरैजसो राजाहरुबाट पनि व्यवस्था गरेका थिए। नेपाल अधिराज्य भरिनै गुठीको प्रचलन अझै पनि कायम छ। हिन्दु तथा बौद्ध मठ-मन्दिरको परिपाटी मल्लाकालबाटै शुरु भएको हो। एकीकरणपछि पनि त्यसको थमौती र नयाँ व्यवस्था समेत भएको थियो। पहिले पश्चिमी खस राज्यहरुमा पनि बौद्ध मन्दिर र चैत्य निर्माण भएका थिए। अहिले उत्तरी हिमाली भेग बाहेक खस क्षेत्रमा बौद्ध मन्दिरको केही चिन्होसम्म मात्र भेटिने गरेको छ।

उपत्यकाभित्रका प्राचीन गुठीका शिलालेखहरु पनि रहेका छन्। प्रायः राजाहरुले मठ-मन्दिर निर्माण गरेपछि गुठी राख्ने गरेको र त्यसको शिलालेख पनि कुँदेर राख्ने गरेका छन्। घ्याङ गुठी मेलम्ची घ्याङगुठीसँग सम्बन्धित रहेको छ। बौद्धनाथको जिर्णोद्वार गर्ने शाक साङ्बो र उनका उत्तराधिकारी लामाहरु य्होल्मोका घ्याङसँग पनि सम्बन्धित रहेका छन्। स्तुपको (मन्दिर)को गुठी र घ्याङ गुठी एकै ठाउँमा पार्दा त्यसो हुन गएको हुनसक्छ।

स्वयम्भूनाथको गुठी र स्वयम्भू घ्याङगुठी फरक कित्तामा रहने गर्थ्यो। राणाकालमा परम्परागत हेलम्बु घ्याङगुठी सञ्चालन गर्ने र बौद्धचैत्य रेखदेख गर्न एउटै आधिकारिक व्यक्ति रहने हुँदा मेलम्ची घ्याङ, बौद्ध घ्याङ र बौद्ध स्तुपको गुठी एकै ठाउँमा पर्न गएको हुन सक्छ। नत्र बौद्धनाथ, बौद्ध घ्याङ र मेलम्ची घ्याङको गुठी पृथक प्रयोजनमा राखेका गुठी हुन्। हेलम्बुको चेरीघ्याङ शाक्य साङ्बोले स्थापना गरेको भए तापनि पनि बौद्ध घ्याङसँग सम्बन्धित छैन। ‘य्होल्मो टुल्कु’ भन्ने उपाधि पनि हेलम्बुमा घ्याङ भएकोले नै दिएका हुन्। वास्तवमा उनी तिब्बती लामा थिए। मेलम्ची घ्याङ र बौद्ध घ्याङगुठी सम्बन्धित हुनु शाक्य साङ्बोका उत्तराधिकारीहरुको उत्तराधिकारी र तिनका चेला जो टिका लामा (प्रमुख) हुन्थे उनले गुठी सञ्चालन गर्ने गर्नाले नै भएको हो। मेलम्ची घ्याङको गुठी सन् १८५९ मा चिनीया लामालाई हस्तान्तरण भएको थियो (JNRC No. 4:1980)।
राजा प्रताप मल्ला (ई. १६१७-१६८२), जगजय मल्ल (ई. १७२२-१७३४) जस्ता मल्ल राजाहरुको धार्मिक प्रयोजनका लागि भनि हेलम्बुका घ्याङहरुलाई गुठी व्यवस्था गरेका थिए। जंगबहादुर भन्दा पहिले पनि य्होल्मो ठिन्ले धुइज्योग (ई. १७२६-१७६२), रिनजिन छेवाङ नोर्बु (ई. १६९८-१७५५), आठौँ स्यामार्पा (ई. १६९५-१७३२) र बाह्रौं कर्मापा (ई. १७०३-१७६२)हरुको मल्लकाल (जगजय मल्ल) देखिनै स्वयम्भूनाथ, बौद्धनाथ र हेलम्बुसँग सम्पर्क रही रहेको थियो। बडामहाराज पृथ्वीनारायण शाह (ई. १७४३-१७७५)को उदयकालमा समेत य्होल्मोपा टुल्कुका उत्तराधिकारीहरुको बौद्ध स्तुपसँगको सम्पर्कमा कुनै असर पारेको थिएन।

राणाशासनकाल विसं. १९०३ र १९३३ मा गरी दुई पटकको लालमोहरले बौद्धनाथको रेखदेख र मेलम्ची घ्याङगुठी सञ्चालन गर्ने अख्तियार चिनियाँ लामाले पाएको देखिन्छ। त्यस बेलादेखि चिनियाँ लामाको सन्तानले गुठी सञ्चालन गर्दै आएका छन्। त्यसैगरी स्वयम्भू घ्याङगुठी र त्यस अन्तर्गत पर्ने १२ घ्याङलगायतको बौद्धनाथ घ्याङगुठी सञ्चालन गर्ने अधिकार विसं. १९४६ मा गुण्डा लामाले पाएको देखिन्छ। जुन लालमोहरले बौद्ध घ्याङगुठी पनि उसैलाई सुम्पेको पाइन्छ। त्यसअघि हालको काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखा र रामेछाप जिल्लाहरु पर्ने अधिकांश घ्याङगुठीहरु स्वयम्भू घ्याङगुठी अन्तर्गत सञ्चालित थियो। नेपालको एकीकरणपूर्वकालमै स्वयम्भू घ्याङ स्थापना भएको र नेपालको एकीकरण पछि भूटानका धर्मका लामा स्वयाबडु लामालाई लालमोहरद्वारा धार्मिक गुठीको व्यवस्था गरेको भनिएको छ। त्यस प्रकारको लालमोहर स्वयम्भू घ्याङका प्रमुख लामालाई एकमुष्ट दिने गर्नाले धर्माधिकारीको पलायनसँगै दस्तावेजहरु पनि हराउने र नष्ट भएर गएको देखिन्छ। तर, केही दस्तावेजहरु भने अझै पनि अस्तित्वमा रहेको छ। त्यसमध्ये पुँडी घ्याङ (रामेछाप)लाई श्री ५ गीवार्ण वीर विक्रम शाहकालले गुठी थमौती गरेको विसं. १८५० को लालमोहर र विसं. १९३६ को सनतपत्र हालसम्म मौजुद रहेका छन्। त्यस्तै लोपा लामाको अनुरोध बमोजिम घ्याङगुठीको थीति थामि दिएको विसं. १८१८ को लालमोहरले पनि स्वयम्भूनाथ घ्याङ गुठीको व्यवस्थाको जानकारी दिन्छ। ‘प्राचीन नेपाल’ सङ्ख्या ६१ (२०३७) र ६४ (२०३८), त्यस्तै ज्ञानमणी नेपालको ‘नेपाल-भोट व्यापार सम्बन्ध’ नामक पुस्तकमा पनि पुँडीघ्याङलगायत स्वयम्भू घ्याङगुठी थामी दिएको दुईवटा लालमोहर सामेल गरी प्रकाशनमा ल्याएका छन्। ‘प्राचीन नेपाल’ सङ्ख्या ११६ (२०४६) र ११८ (२०४७) र सुशीला मानन्धरको ‘नेपाल-भुटान सम्बन्ध एक ऐतिहासिक विवरण’ (सिनास, कीर्तिपुर)ले घ्याङगुठीहरूबारे केही प्रकाशनमा ल्याएका छन्। हेलम्बुको योल्मली समाज र तामाङ समाज घ्याङगुठीले भने संस्कृति, भाषा र धर्मको आधारलाई बलियो बनाउने काम भएको मानिएको छ। बौद्धनाथ घ्याङगुठी पनि घ्याङ गुठीकै एउटा अंश हो।

राजनैतिक सत्ता संघर्ष र परिवर्तनको क्रममा सरकारले निर्धारण गर्ने गरेको नीतिले गर्दा गुठीहरु मासिदै गएका छन्। सन् १८५५ देखि १८६६ सम्म चलेको भूमि एकीकरणलाई सन् १८६२ सँग जोडेर रणबहादुर शाहको ‘६२ हरण’ भनि एक प्रकारको काण्डाको संज्ञा दिने गरेको छ। नेपाल-भोट बीचको पटक-पटकको युद्धपछि स्वयम्भू घ्याङगुठी अन्तर्गतका गुठीहरु सबै राणा शोषकहरुले हिन्दु देवास्थलहरु तौथलीमाई, पलाञ्चोकीमाई र दोलखा भीमसेन जस्ता हिन्दु मन्दिरहरूमा हस्तान्तरण गरेका थिए (छारम्हेन्दो मासिक, वर्ष ३, अङ्क १५)। घ्याङगुठीहरुको जग्गाहरु कुनै स्थानमा रैकर बनाए भने कुनै बिर्तामा पनि गाभी दिए। घ्याङको नियमित पूजाआजा चलाउन भनि ‘फूलबारी’ शीर्षकमा राखेका जग्गाहरु पनि गुठी सम्बन्धि सरकारी कानुनको अस्पष्टताका कारण कालन्तरमा पुजारी लामाका सन्तानहरूले आ-आफ्नै नाममा बिजन दर्ता गराइएपछि फूलबारी अंशवण्डामा परिणत भई मासिए। स्वयम्भू घ्याङको उपत्यकाभित्रको गुठीको अधिकांश जमिन कालमोचन गुठीमा गाभिएको मानिन्छ। तर, हेलम्बु क्षेत्रको घ्याङगुठी भने मासिएको छैन। कुनैलाई गोरखनाथ गुठी (तार्केघ्याङ) भनि नयाँ नामाकरण गरी राखेको भने पाइन्छ। वास्तवमा तत्कालीन शाषकले तामाङ क्षेत्रका घ्याङगुठी माथि विशेष प्रकारले सरकारको तर्फबाट प्रहार गरेको देखिन्छ। ‘तामाङ पल्टन’लाई निसशस्त्र पारी ‘पिपा’मा परिणत गर्ने काम पनि त्यही बेलादेखि शुरु भएको मानिन्छ।

तामाङ किपट भूमि (दरनतिरन गर्नु नपर्ने जमिन) बारे बारम्बार चर्चा चल्ने गरेको छ। घ्याङगुठीमा समावेश गरिएका जमिनहरु पनि किपट जस्तै जमिन हो। त्यस अघि ती भूमि उनीहरुकै स्वामित्वमा थिए। लिम्बूहरुले ‘सुब्बा’, खम्बू (राई)ले ‘राय’ (रार्इ), मगरले ‘मुखिया’ र थारुले ‘चौधरी’ उपाधिको रुपमा पाएका पदवीलाई जातिवाचक संज्ञामा प्रयोग गरे झैँ तामाङहरुलाई सम्मानवाचक शब्द प्रयोग गर्दा ‘लामा’ (गुरू) भनिने र चल्दापुर्दाहरुले ‘लामा’ लेख्ने पनि गर्दथे। त्यसैकारण पनि तामाङहरू माझ ‘पढी लामा’ र ‘थरी लामा’को प्रचलन चल्ने गरिएको हो। घ्याङगुठीले पञ्चखत बाहेक ‘कचहरी’(=निसाफ) समेत गर्न पाउने अधिकार पाएको थियो। घ्याङगुठी मासिएपछि त्यस्तो ‘कचहरी’ बस्ने अधिकार तालुकदारको हातमा सुम्पेको देखिन्छ।

‘History of great Stupa’ (सामलिङ्ग गुम्ब, बौद्ध, काठमाडौँ) नामक पुस्तिकामा हालको बौद्ध घ्याङ भएकै छेउमा माटैमाटाले बनेको एउटा घर भएको र सो घरलाई ‘गादेन खाङसार’ भनिन्थ्यो भन्ने दावी गरेको छ। त्यसलाई ‘तिब्बत हाउस’ अथवा तिब्बतमा दलाई शासनकालको प्रतिनिधिलाई जस्तो थियो भन्न खोजिएको छ। दलाई लामाका प्रभावशाली भारदार ल्हालुङ्पा (=ल्हालु यिसेनोर्बु) ञीङमापा सम्प्रदायका कट्टर समर्थनका थिए-ले मेलम्ची घ्याङ र बौद्धनाथको रेखदेखमा केही सम्बन्ध राखेका थिए भन्न सकिन्छ। ई. १८८८ को अंग्रेज-भोट युद्ध हुनु अघि ई. १८५५ मा नेपाल-भोट युद्ध भएको थियो। ई. १८५९ मा मेलम्ची घ्याङ चीनीया लामालाई हस्तान्तरण गराइएको देखिन्छ। हाल (विसं. २०७५) काठमाडौँ उपत्यका लाजिम्पाटस्थित दलाई लामाका प्रतिनिधिलाई पनि ‘गादेन खाङसर’ भन्ने नाम उपयोग गर्ने गरेको देखिन्छ। दलाईका भारदार ल्हालुङ्पाले ई. १८८३ मा सीमानिर्देशको पद सम्हालेको र ई. १८८८ मा प्रधान कार्यकारी भएका थिए। मेलम्ची घ्याङको स्थापना ई. १८५५ तिर भएको भनि अड्कल गरेका छन्।

उक्त पुस्तिकाकै अनुसार ल्हासा ढेपुङ मठको ग्या-खाङछेन (ग्या-सेक्सन)बाट पठाइएका लामालाई नै ‘ग्यालामा’ (चीनीया लामा) भन्ने गरेका हुन्। चिन-तिब्बत भन्दा धेरै टाढा रहेका र भारतीयहरुले पनि ‘तल्लोजात’ले बनाएको स्तुप भनि वास्ता नगर्ने हुँदा तिब्बतबाट यसको संरक्षण हुँदै आएको भन्ने गरेको छ। तर, चीनीया लामाले चीनी भाषा जान्ने हुँदा चीनी भाषाको कक्षा खोल्ने अनुमति तत्कालीन राणा शासकले दिएको कुरा पुराना कागजबाट खुले पनि त्यसो गर्न भने विफल भएको देखिन्छ। प्रथम चीनीया लामाले दोभाषेको काम गरेको भन्ने गरिएको छ। यद्यपि ‘ताइफो सिङ’ भनिने साङ्गेदोर्जे लामाको अर्को नाम हो वा कुनै उपाधि हो छुट्याउन सकिएको छैन। त्यस्तो उपाधि चीन पक्षले दिएको भए कुनै प्रमाणिक दस्तावेज तत्कालिन जैशीखाना (=परराष्ट्र विभाग)मा जानकारी गरिएको एकातिर छैन भने अर्कोतिर चीनीया लामा स्वयमले पनि त्यस्तो प्रमाण सार्वजनिक जानकारी गरिएको देखिदैन। जैशीखानाको दस्तावेजमा त्यस्तो कागज अनुपलब्ध रहेकोबाट त्यो नाम मात्र हुन कि भन्ने प्रश्न उठ्छ। योगी नरहीनाथले सङ्कलन गरेको पुरानो दस्तावेजहरु भित्र (जो प्रकाशित छन्) चीनीया लामाले भोटबाट लेखेको एउटा पत्र सङ्कलित छ। नेपाल-भोट युद्धताका सिम्बूका पुजारी र चीनीया लामा दुबैलाई राणाशासकले सरकारीतर्फबाट भोटतर्फको खबर बुझ्न काम अह्राउने गरेका थिए। त्यतिबेला चीनीया लामा ल्हासास्थित चीनीया नियोग (आम्वेन) सम्पर्कमा गएको मानिन्छ। तर, चीनको केन्द्रीय सरकार (सम्राटको दरबार)सम्म उनको कुनै सम्बन्ध र कुनै सम्पर्क रहेको देखिन्दैन। साथै कुनै प्रतिनिधिको रुपमा आधिकारिक क्षेत्रबाट नियुक्त गरेको पनि अभिलेख छैन। राणाकालमा पनि चीन सम्राटको तर्फबाट पनि सरकारी प्रतिनिधिहरु नेपाल आउने जाने गर्थे। उनीहरुसँग सम्राटको लिखित पत्र समेत आउने गर्थ्यो। नेपाली टोली पनि चीनमा जाने गर्थे र त्यसमा चीनीया लामाको कुनै भूमिका र सरोकार रहने व्यवस्था थिएन। उता चीनीया सम्राटको दरबारमा एउटा इतिहास विभाग लेखालय भन्ने विभाग रहने गर्थ्यो। जुन अभिलेखालयले चीनको विदेशसँगको सम्पर्क, प्रतिनिधि टोलीको र उसको कामकाजको विवरणको अभिलेख खडा गर्ने गर्थ्यो। त्यस्तो ऐतिहासिक दस्तावेज सुरक्षित राख्ने गरेको र कतिपय प्रकाशनमा पनि आउने गरेका छन्। चीनको पुराना दस्तावेज अध्ययन गर्ने विशेषज्ञहरुले ‘चीनीया लामा’ वा ‘ताइफो सिङ’ नामको प्रतिनिधि रहेको भेटिएका छैनन्। सम्राटको प्रतिनिधि टोली दलबल र पत्र सहित आउने हुँदा यस्तो प्रमाण अभिलेख दरबारमा रहन्छ जबकि प्रथम चीनीया लामा एकजना तिर्थयात्री थिए। त्यसकारण ‘चीनीया लामा’ साङ्गेदोर्जे विशुद्ध धार्मिक तिर्थयात्री मात्र भएको दर्शाउँछ। जसले चीनीया भाषा र तिब्बती भाषा दुबै जान्दथे। वर्तमान चिनया लामाका सन्तानहरु उनकै वंशजहरु हुन। राणाशाषकहरुले बौद्धनाथ घ्याङगुठी अन्तर्गत चीनीया लामालाई तिब्बती तिर्थायात्री र भोटखोलाका भोटिया मूलका मानिसहरुलाई भारततर्फ लाग्न लामयिग (पारपत्र) दिने विशेष जिम्मेवारी दिएका थिए। त्यो परम्परा तिब्बत चीनमा विलय भएपछि स्वत खारेज भएको छ।

बौद्ध घ्याङगुठी अहिले गुठी संस्थासँग आवद्ध गराएको छ। गुठीको जग्गा र आम्दानी-खर्चको अभिलेख बौद्ध घ्याङगुठीले राख्ने गरेको छ। २०४७ सालमा बहुदलीय व्यवस्था पुन:र्स्थापना भएपछि बौद्धनाथ क्षेत्र विकास समितिको गठन समेत भइसकेको अवस्था छ। बौद्ध घ्याङगुठीलाई निरन्तरता दिन त्यसको संरक्षण र विकास गर्न वडा समितिले बौद्धनाथ क्षेत्र विकास समिति (बौक्षेविस), बौद्ध तामाङ कल्याण गुठी र वडास्तरमा क्रियाशील संघसंस्था सबैको संयुक्त प्रयासमा दिर्घकालिन गुरुयोजना तयार पारी त्यसअनुसार चल्न सक्नुपर्छ। बौद्ध क्षेत्र अहिले ठूलो प्रदुषणको मारमा पर्दै आएको छ। यसको रोकथाम गर्न निकै ढिलो भइसकेको देखिन्छ।

परिवर्तित राजनैतिक परिवेशमा बौद्ध घ्याङगुठी र बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध धर्मका प्रतिनिधिमूलक भूमिका पनि खेल्न सक्छ। देशभरीको घ्याङ गुम्बाको तर्फबाट सरकारसँग दरो चालले धार्मिक तथा सांस्कृतिक स्वशासनका लागि माग राख्न पनि सक्छ। घ्याङगुठी सम्बन्धि कानुनको तर्जुमा गर्न सरकारलाई दबाब दिन सक्छ। तर, त्यसको लागि देशभरीका बौद्धसमाजलाई संगठित पार्न सक्नु पर्ने हुन्छ। बौद्ध घ्याङगुठीले राजनैतिक क्षेत्रको हस्ताक्षेपलाई स्वीकार्नु हुँदैन, जनताको विशुद्ध धार्मिक तथा सांस्कृतिक अधिकारको सदुपयोग गरेर बौद्धनाथको विकासको साथै धर्मको संरक्षण पनि गर्न सक्नु पर्छ।

अब तामाङ घ्याङगुठीहरुले धार्मिक तथा संस्कृतिक क्षेत्रलाई कसरी संरक्षण दिने र विकास गर्ने भन्ने विषयमा गम्भीरताका साथ लिनुपर्छ। पहिले जातीय भेदभाव र धार्मिक विभेदमा पर्नुका साथै राजनैतिक षडयन्त्रहरुका कारण बौद्ध धर्म र संस्कृतिले क्षति बेहोर्दै आएको छ। आफूलाई बौद्धमार्गी हुँ भन्ने जो कोहीले पनि आफ्नो स्थानबाट धार्मिक स्वतन्त्रताको उपयोग गर्दै धर्मको ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न सक्नुपर्छ।

३.६ माज्याजीमा र बौद्ध धर्म

माज्याजीमा कुन जातिको थियो प्रष्ट छैन। ‘तल्लो जात’ मात्र भन्ने गरेको छ। ईशापूर्वदेखि नै भारतवर्ष भरी वर्ण व्यवस्था कायम थियो। वर्णाश्रम व्यवस्थाको ‘तल्लो जात’ बाहेक ‘किराँती’ भन्ने संज्ञा हिन्दु सभ्यता वा वर्णाश्रम भित्र नपर्ने जातिलाई पनि भन्ने गर्थ्यो जुन ‘तल्लो जात’ नै मान्ने गर्थे। पहिले ‘किराँती’ शब्द शिकारी पेशामा रहने र जंगल क्षेत्रमा पनि बस्ने सबैलाई उपयोग गर्थे। जसलाई असभ्य पनि भन्ने गर्थ्यो। कालान्तरमा ‘किराँत’ खास धर्म नअपनार्इएकालाई भन्ने गरे। एकीकरणताका नेपालमा राई, लिम्बूलाई किराँत भनि लेखिए। जयस्थिती मल्लले वर्णाश्रम व्यवस्थालाई उपत्यकामा लागु गरेको भए तापनि त्यसको वैचारिक पक्ष पहिले नै उपस्थित थियो। सुंगुर, कुखुरा, घोडा आदि पाल्ने हुँदा पनि एक पक्षले ‘तल्लो जात’ मान्ने गरेका हुन्। यसले तत्कालिन समाजको उपल्लो वर्गभन्दा माज्याजीमा छुट्टै जातिको थियो भन्ने देखाउँछ। पुरानो लिच्छवीकालिन शिलालेखमा कुनै ‘भोटिया’ वा ‘तामाङ’ जनाउने शब्दहरु भेटिएका छैनन्। तर, उपत्यकाका कुनै कुनै स्थानहरूका नामहरु भने भाषागत मेल खाने पनि रहेका छन्। स्तुपभित्र अंशुवर्माको अस्तु हुनुले भारत र तिब्बत दुबैतिर मेल नखाने परम्परा देखाउँछ जुन तामाङ समाजमा छ। बुद्ध, सिद्धयोगी र लामाहरुको अस्तु मात्र तिब्बतमा छ्योर्तेन भित्र राख्दछन्। भारतमा भगवान् बुद्धको मात्र राखिएका थिए भने पछि महायानीहरुले सिद्धपुरुषहरुको अस्तुलाई पनि महत्व दिएका थिए।

खास्योर र ज्याजीमाको सम्बन्ध हिमाली परम्परा हो। वंशावलीले शासक पक्षको क्रियाकलापलाई उत्सर्गमा पुर्‍याउने काम भन्दा अर्को गर्दैन। त्यसकारण स्तुपको निर्माण जनस्तरको मानिसबाट भएकोले नै यसको संरक्षण हुन नसकेको देखिन्छ। अशोककालमा बौद्धधर्म नेपाल उपत्यकामा फैलिनु आश्चर्यको कुरा होइन किनभने श्रीलंका अफगानिस्थान समेत पुगेको थियो। सिम्बूको दर्शन गर्न आनन्द स्वयम आइपुगेका थिए।

हिमाली बौद्ध परम्पराबाट प्रभावित तामाङ जातिको भाषामा केही शब्दहरु मौलिक तामाङ भाषिकाका छैनन्। लामा पुरोहितको तर्फबाट शास्त्रीय भाषाहरु विद्यमान रहेका छन्- (१) दु:ख=दु:ख सत्य, (२) पाप=समुदाय सत्य, (३) धर्म=मार्ग सत्य र (४) सुख=निरोध सत्य। यी चार शब्दहरु तामाङ मूलका होइनन् तर तामाङ समुदायमाझ व्यापक छन्। त्यो आधारमा हिमाली परम्पराको बौद्ध शिक्षा शुरु हुनु भन्दा पहिले तामाङ समाजमा पनि बौद्ध धर्मको पूर्वाभ्यास भएको थियो कि भन्ने प्रश्न उठ्छ। बौद्ध प्राचीन शिक्षा प्रणालीमा चार आर्यसत्यलाई प्राथमिकता दिने गर्दथ्यो। बुद्धले बोधिलाभ गरेपछि पञ्चभद्री चेलाहरुलाई सबभन्दा पहिले यही चार आर्यसत्य धर्म सुनाएका थिए।

माज्याजीमा ‘तामाङ्गी’ हुन् भन्न मानदेवको पालाभन्दा किराँतकालमा उपत्यकामा बसोबास गर्ने जाति र धर्म छुट्याउनु पर्ने हुन्छ। त्यसो गर्न अहिलेसम्म सकिएको देखिदैन। हालसम्मको प्रयासहरु सफल देखिदैन। अशोककालमा बुद्धधर्मले प्रश्रय पाउनु र अशोकशैलीको स्तुप विद्यमान रहनुले बौद्धचैत्यको स्वरुप धर्मचक्र प्रवर्द्धन षष्टीचैत्य हुनुपर्छ भन्ने अनुमान लगाएको छ। नेपालको जनजातिहरुमा बौद्धधर्मको विस्तार नहुनु भाषाको कारण पनि हो। नेवारी समाजले समेत अहिलेसम्मनै टुटेफुटेका संस्कृतमै बौद्धधर्मका सुत्रहरू पाठ गर्ने गरेका छन्। जयस्थिती मल्लले वर्णव्यवस्था कानुनी बनाएको भए तापनि बुद्धको पूर्वकालदेखि नै भारतवर्षमा वर्णाश्रम व्यवस्था थियो। त्यसैकारण हिमाली परम्पराले ‘तल्लो जात’ भन्ने गरेका हुन्। त्यसकारण तत्कालिन राजाको अनुमती र मसाजको विरोध आदिलाई हेर्दा ‘माज्याजीमा’ त्यो युगको नेपाल उपत्यकाको एउटा छुट्टै ‘जाति’ कुलका थिए भन्नेमा चाहिँ शंका छैन।

३.७ बौद्धनाथको प्राचीनता

बौद्धनाथको प्राचीनता उसको स्थापनाकाल अन्तिम किराँतकाल हुन् वा मानदेवकालमा हुन् छुट्टयाउन सकिएको छैन। धर्मचैत्य र बौद्धनाथ स्तुपसँग गासिएका हिमाली धारणाले भने त्यसको भान दिन्छ। किराँतहरुको विस्थापनसँगै यसको संरक्षण पनि हुन नसकेको र स्तुप वरिपरिको वस्ती पनि विस्थापित हुन पुगेको हुन सक्दछ। अंशुवर्माको अस्तुको कुराले भने त्यसको खण्डन गर्छ र अंशुवर्मा पछिको देखाउँछ। वंशावलीले मानदेवसँग जोडेको हुँदा त्यो भन्दा तल आउन गुरु रिम्पोर्छेको वचनले पनि अनुमति दिदैन। जतिसुकै विवाद देखा परे पनि बौद्धनाथ स्तुप ७औँ शताब्दी भन्दा पहिलेको समयमा स्थापना भएको मान्नु पर्छ।

३.८ नेपाल उपत्यकामा आक्रमण

उपत्यका काठमाडौँमा पश्चिमी खसराजाहरुले बारम्बार आक्रमण गर्ने गरेका थिए। विसं. १३४४-४५ मा जितरी मल्लले ठूलो आक्रमण गरे। खस साम्राज्य बौद्धधर्मका दिक्षित हुनाले तिनले स्वयम्भूनाथ, पशुपतिनाथ र मच्छेन्द्रथानको दर्शन गरी फर्के (डा. सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास २०६०)। डा. अधिकारीकै भनार्इमा पूर्व वद्रीनाथ, केदारनाथको पूजारी बौद्धमार्गी हुन्थे। शंकराचार्यले हिन्दु पूजारी राखे। शंकारचार्यले नेपालमा पनि बौद्ध दमन अभियान चलाएका थिए। ८४ हजार बौद्ध ग्रन्थ जलाएको कुरा इतिहासकारहरुले स्वीकारेका छन्। पशुपतिनाथको पुजारीमा दक्षिणभारतको भट्टलाई नियुक्ति उनले नै गरेका हुन्। त्यसअघि बौद्ध पुजारी रहने गर्थ्यो। पशुपति छेउको विश्वनाथ भनिने मन्दिर पनि बौद्ध मण्डलादेव ‘हेबज्र’को हो। उसको स्वरुप त्यही हो। मन्दिरको बाहिरी बनौट भने हिमालीशैलीको छैन। विसं. ११५६ राजगद्दीमा बसेको शिवदेवको पालामा शंकरचार्यको नेपाल प्रवेश भएको भन्ने छ। दक्षिण भारतबाट आएर सिम्रनगढमा राज्य जमाएका नान्यदेवका सेनाहरुले विसं. १९६८ मा पहिलो पटक उपत्यका नेपालमा आक्रमण गरेका थिए। गोपाल राजवंशी अनुसार विसं. १३०१, १३०२, १३५६ र १३६७ सम्म तिरहुतबाट पटक पटक आक्रमण भएको थियो। त्यतिखेर डोयहरुले उपत्यकाको देवलहरुमा आगजनी गरेको र पशुपतिको ढुकुटी समेत लुटेको कुरा इतिहासले बताएको छ। पछि सिम्रोनगढ दिल्लीको मुगल सेना मुगल बादशाह गयासुद्धिन तुलकको प्रहारबाट ध्वस्त भयो।

ई. १५२६ मा पाल्पाली सेन राजा मुकुन्द सेनले पनि उपत्यकामा लुटपाट गर्ने हेतुले हमला गरेका थिए। उनको कथित मगर सेनाले उपत्यकामा लुटपाट मच्चाउनुको अतिरिक्त मठमन्दिरहरुलाई ठूलो क्षति पुर्‍याएको थियो। त्यसकारण उनीहरुलाई उपत्यकाबासीले ‘तुर्किस’ (मुसलमान)को संज्ञासमेत दिएका थिए। मुकुन्द सेन लुटेको धनदौलतसहित ई. १५२८ मा पाल्पा फर्केका हुन्। त्यसअघि ई. १४१३ मा बंगलादेशका समसुद्धिनको नेतृत्वमा आएका मुसलमानी आक्रमणकारीहरुले पनि पशुपतिनाथ, स्वयम्भूनाथलगायत उपत्यका सबै मठ मन्दिरको तोडफोड गरेर लुटपाट मच्चाएका थिए। त्यस्तो आक्रमणमा बौद्धनाथको प्राचीन सवरुपमा पनि असर परेको हुनसक्छ। तर, १३औँ शताब्दीसम्म पनि बौद्धनाथको तिब्बती लेखाइमा कुनै चर्चा चलेको देखिन्न किनभने ‘तल्लो जात’ भनिएकोले निर्माण गरेको हुँदा वर्णव्यवस्था लागू भएको अवस्थामा यसले खासै महत्व पाएन। मुकुन्द सेनको आक्रमणपछि ल्हाचुन रिन्छेन नाम्गेल (ई. १४७३-१५५७)ले स्वयम्भूनाथको मर्मत् गरेको भनिएको छ। उसको समयमा आइपुग्दा पनि बौद्धनाथको चर्चा उब्जेको छैन। त्यो समय रत्न मल्ल (ई. १४८४-१५२०)का शासनकाल वरपर पर्थ्यो। त्यसअघि चाडजोन हेरका (ई. १४५२-१५०७)ले पनि स्वयम्भूनाथको मर्मत् गरेको देखिन्छ। त्यसकारण बौद्धनाथ स्तुप मानदेव वा चारुमती (अशोक) कालदेखि १५औँ शताब्दीको मध्यभागसम्मै ओझेलमा रहनु उपेक्षामा परी संरक्षण नभएको र संस्थापक पक्ष विस्थापित हुन गएको बाहेक अर्को कारण भेटिदैन।

३.९ मर्मत सम्भार र बसोबास

डाग छ्याङ्ग शाक्य साङ्बोले खास्योर चैतको बृहत्तर जीर्णोद्धार कार्य गरेको र उनले त्यसअघि छ्योर्तेनको रहस्योदघाटन गरेका थिए। पुरानो ताम्बाको भनाइमा ‘रोङरी डागछ्याङ्ग शाक्य साङ्बोला काइ राङ’ (पहाडमा जन्मिएको शाक्य साङ्बोको भाषा (कुरा) जस्तो) भन्ने गरे तापनि उनी तिब्बतको भएको जीवनीले बताउँछ। उनको पुर्ननिर्माण कार्यदेखि बौद्धनाथको महिमा प्रकाशित भएको हो। त्यसपछि पटक पटक विभिन्न लामा गुरुहरुको टोलीले मर्मत् गरे। त्यसमा तिब्बत भूटान र लादकसम्मका लामाहरु सङ्लग्न देखिएको छ। शाक्य साङ्बोका उत्तराधिकारीहरुले नै हेलम्बूको आफ्नो घ्याङ (मठ)सँग बौद्धनाथलाई जोडिएका हुन्।

डाग छयाङ्ग शाक्य साङ्बो १६औँ शताब्दी र य्होल्मो टुल्कु तेन्जिङ नोर्बु (ई १६९८-१६४४) दुबैलाई तिब्बती लेखोटमा (१६९८-१६४४) ‘ग्याल्मोपा’ (=योल्माली) भनी लेख्ने गरेको पाइन्छ। त्यसको मूल कारण खास्योर छ्योर्तेन र य्होल्मो तिर्थस्थलको घ्याङ नै हो। पछिदेखि उनका चेलाहरुले भने आफूहरु उक्त लामा गुरुहरुकै वंशज भएको भनी चेरीगुम्बाको घ्याङगुठी थमौती गर्दा पनि विसं. १८६० को सरकारी रुक्कामा डाग छयाङ्ग शाक्य साङ्बोको वंशज नाम खाग्याल्जेनको छोरा तेम्बा ग्याल्जेन लामालाई गोरखनाथको पूजा गरी (महाकाल) घ्याङगुठी सञ्चालन गर्नु भन्ने व्यहोराको लालमोहर दिएको देखिन्छ। स्मरणीय कुरा शाक्य साङ्बो भिक्षुक शीलधारी लामा भएको र उनको जीवनीमा त्यस्तो कुलिन वंश नभई धर्मवंश नाम रहेको देखाउँछ। प्रायः हेलम्बूका टिका लामाहरुले आफूहरुको गुरुकुलीय धर्मसम्प्रदाय नामलाई नै ‘थर’ बनाएको र कूलीन वंश लोप गरेको पाइन्छ। कर्मपा सारमा, शाक्य साङ्बो, पेमा लिङ्पा, धेपानेदोङ आदि थरहरु केरूङ भोटलगायत तिब्बतमा पनि चल्तीमा छैनन्। त्यस्तै शेर्पाको इतिहास नामक पुस्तकमा ङावाङ्ग होइसेर लामा शेर्पाले पनि शेर्पा जातिका पूर्खाको रुपमा तिब्बतका प्रसिद्ध लामाहरुको नाम उल्लेख गरेका छन्। जसको जीवनी लेखौटमा ती लामाहरु गृहस्थी नभएको अविवाहित देखिन्छ। त्यसकारण य्होल्मो घ्याङसँगको खास्योरको सम्बन्ध धार्मिक मात्र रहेको छ।

ई. १८१९ को एकजना पश्चिमी पर्यटक तथा लेखक F.D. Hamilation ले खिचेको तस्वीरबाट वर्णपरिसरमा केही घरहरू भएको देखाउँछ। त्यो तामाङको बस्ती नै थियो। पहिले लेक क्षेत्रका मानिसहरु रोगको डरले उपत्यकामा वर्षायामसम्म बस्ने गर्दैनथे। त्यसकारण सोह्रौँ शताब्दीको स्तुपको जीर्णोद्वारकालदेखि नै तामाङ बस्दै आएका पनि हुन सक्दछ। तर, स्तुप निर्माणकालदेखिको बस्ती रहेको भने कुनै प्रमाण छैन। स्तुपको निर्माताले निर्माण गरेको र संरक्षण व्यवस्थामा पहिल्यै बाधा आएको देखिन्छ। त्यही कारण स्तुप बिना स्याहार रहन गयो। भारतमा अशोक सम्राट वंशजले शासन गरुन्जेल मात्र उपत्यकाका शासकहरु बौद्ध धर्मप्रति उद्धार रहेको र आफूहरु पनि बौद्ध उपाषक बनेको पाइन्छ। अशोक सम्राज्य विघटन गराउन हिन्दू कट्टरवादी पुनर्स्थानकारी अभियान्त पुष्पमित्रद्वारा अशोकको आठौँ पुस्ता सशस्त्र विद्रोह गरी मासिएका थिए। त्यसपछि उनका छोरा अग्निमित्र समेत गरी दुई पुस्ताले ६० वर्षसम्म ‘सुङ्ग वंश’को नाममा शासन गरेका थिए। जसले भारतवर्षको बौद्धधर्मलाई ठूलो क्षति पुर्‍याएको थियो। छरछिमेकको उथलपुथलले नेपालमा पनि प्रभाव पार्ने गरेका छन्। त्यसै क्रममा स्तुप निर्माणकालको बस्तीहरु विस्थापित भएको मान्नुपर्छ।

य्होल्मो टुल्कु तेन्जिङ नोर्बु (ई. १५९८-१६४४)ले पूजारी बस्ने नयाँ घर बनाएको प्रष्ट उल्लेख छ। त्यसपछि रिगजिन छेवाङ नोर्बु (ई. १६९८-१७५५)ले स्वयम्भू र बौद्धनाथ दुबैको मर्मत् सुधार गरेको पाइन्छ। प्रताप मल्ल (ई. १६४१-१६७४) तथा आठौँ स्यामार्पा लामा (ई. १६९५-१७३२) र त्यसपछि बाह्रौ कर्मपा लामाले पनि मर्मत् कार्य गरेका थिए। आठौँ सीतुपा लामा (ई. १७००-१७७४) र डाकार लामा टुल्कु (ई. १७७५-१८३५) ले पनि छ्योर्तेनको सुधार गरेका थिए। तर, मर्मत् कार्यको योजना र कार्यान्वयनका प्रतिवेदनमूलक कुनै सूची भने उपलब्ध छैनन्।

४. बौद्ध स्तुपासँग गाँसिएका संरचनाहरु

४.१ मामको स्थान

स्तुपको उत्तरी भागमा जोडिएको देवल मातृका (माई) को हो। तामाङ समाजले त्यसलाई माम र नेवारहरुले अजिमा भनी ‘बज्यै’को मान वाचक संज्ञा दिएका छन्। स्वयम्भूको ‘हारती’को देवललाई पनि अजिमा नै भन्ने गरिन्छ। मातृकागणलाई खसहरुले ‘माई’ भन्ने गरिन्छ। तिनीहरु अष्टमातृका गणहरु हुन्। उनीहरुको छुटै परिचय छन्। बौद्धनाथको ‘माम’लाई ‘मामो पुक्कासी’ भनी पहिचान गरेको छ। उनको साधारण पूजाविधि पनि रहेको छ। तर, त्यसैलाई ‘माज्याजीमा’ भन्ने भ्रम पनि पैदा हुने गरेको छ (ज्यारुङ खास्योर, वर्ष २, ४ साउन, २०६२)। अजिमा र माम मानार्थी शब्द हुन्। त्यसले देवीको संज्ञा दिन्छ। यो तन्त्रको मण्डलाको संरचना अष्टमातृका गणका प्रतिनिधि पक्ष हुन्। पहिले स्तुप छेवौमा भएको तर अहिले अङ्गतधारा सँगै सारिएको धुरठोइ (श्मसान) पनि ध्यान दिनुपर्ने विषय हो। बुद्धगयाको बायाँकोणमा स्थापित चैत्यलाई कायवज्र र श्मसानको नाम अट्टाहास भनिन्छ। नागको नाम महापद्य र पर्वतको नाम गन्धमादन भनिएको छ। त्यसैगरी वृक्षको नाम करञ्ज भन्नेजस्ता नामहरु भए पनि तन्त्रविशेषको आ-आपनै अवधारणा र संरचनाले गर्दा फरक फरक पनि हुने गर्छ। बज्रायानी प्रचारप्रसारसँगै बौद्धस्तुममा मण्डला आकारको सबै आवश्यक अंगहरु पनि निर्माण र स्थापना गर्न खोजेको वा विद्यमान थिए। त्यो अहिले आजिमा, पोखरी बाहेक वृक्षाजस्ता अन्य संरचना अस्तित्वमा देखिदैन। स्तुपको सुधार र विकासको योजनाकारहरुले यसमा पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

४.२ बौद्ध घ्याङ

य्होल्मो टुल्कु (ई. १५००-१६३६)ले पूजारी बस्ने नयाँघर शिवसिंह (ई. १५०७-१६१७)को पालमा बनाएको कुराले पुराना भत्किएर नयाँ बनाएको अर्थ लाग्छ। घ्याङको उल्लेख छैन। तर, खास्योर निर्माणकालमै ‘तामाङ घ्याङ’ भएको अनुमान पनि लगाउने गरेको छ (ज्यारुङ्ग खास्योर, वर्ष १, ३ साउन २०६२)। स्तुपका संस्थापकले सात वर्षहरुसम्म समय लगाएर बनाएको कथाले खास्योरको छेउमा घ्याङ वा बिहार पनि बनाएन भन्न सकिदैन। बिहार र स्तुपसँगसँगै हुने गर्छन्। एउटा बिहारमा बुद्धको मूर्ति, वचन ग्रन्थ र चैत्य तीनै अङ्ग हुनुपर्छ भन्ने चाहिँ छ। तर, बिहार बेगरको स्तुप पनि हुने गर्छन्। दोबाटो चौबाटोहरुमा चैत्य मात्र निर्माण गर्ने पनि गर्छन्, जबकि सबैले परिक्रमा गर्न पाओस्।

बौद्धनाथ स्तुप धार्मिक तीर्थास्थल हुनाले धार्मिक विश्वास र आस्था प्रमुख विषय हो। गुरु पद्यसम्भव (गुरू रिम्पोर्छे) स्वयमले खास्योर छ्योर्तेनको रहस्य र कथावस्तु बताउनु भएको पृष्ठभूमिमा अन्य पक्षको प्रस्तुतिको कुनै अर्थ रहँदैन। यो बौद्ध समुदायको विश्वासको आधारमा गुरु रिम्पोर्छेले बताउनुभएको कथन हो। बौद्धमार्गीहरुले त्यसमा शंका गर्ने कुरै उठ्दैन। प्राचीन ऐतिहासिक लेखौटहरुले दिएका पक्षको इतिहासलाई पनि दबाउने गरेका छन्। त्यसकारण पनि बौद्धनाथको ऐतिहासिक यथार्थ भनेको माज्याजीमाकै कथा हो जसले हिमाली क्षेत्रको धार्मिक इतिहासलाई नै उजागर गर्छ।

साँखुको बाटो पहिले तिब्बत जाने मूल बाटो थियो। बौद्ध घ्याङ र मेलम्ची घ्याङको गुठी परस्पर सम्बन्धित देखिएको हुँदा मेलम्ची घ्याङको निर्माणकालमा बनेको भए १८५० तिर र चेरीघ्याङ बनाएको बेला बनेको भए १६औँ शताब्दीतिर स्थापना गरेको हुनसक्छ। तर, शाक्य साङ्बोले भने बौद्धनाथ छेउ त्यस्तो घ्याङको निर्माण गरेको कुरा खुल्न आएको छैन। स्तुपको सुधार र मर्मतकर्ताहरुले कुनै घ्याङ स्थापना गरेको दस्तावेज छैन। सम्भवतः स्वयम्भू घ्याङको निर्माण गर्ने बेलासँगसँगै स्थापना भएको हुनुपर्छ। जुनबेला पुरानो घ्याङगुठीहरु (एकीकरणपश्चात्) नयाँ ढङ्गले स्थापना गरेको वा थमौती गरेका थिए। पहिलेको पूजारीको बासस्थान नै घ्याङ स्थापना भएको मान्नुपर्छ। जेहोस् स्थापनाकालको बिहार र पुनर्निर्माणपछिको घ्याङको अस्तित्व अलग मान्नुपर्ने देखिन्छ।

४.३ विवादस्पद देखिने कुराहरु

चिनियाँ लामाले बौद्ध घ्याङगुठी सम्हाल्नुभन्दा पहिले मेलम्ची घ्याङ र बौद्ध घ्याङगुठीले संयुक्त रुपमा बौद्धनाथको रेखदेख पुर्‍याएका थिए। त्यस प्रथाको अन्तिम उत्तराधिकारी छेवाङ सितार लामा थिए। नेपाल-भोट युद्धकालमा उनी तिब्बततर्फ पलायन भएको मानिन्छ। एकताका स्वयम्भूनाथ र बौद्धनाथ घ्याङगुठीको सञ्चालन एउटै व्यक्तिले पनि गरेका थिए। स्वयम्भू घ्याङमा लागेको आगलागी र मालमत्ताहरुको हिनामिना गराएको आशंकामा तत्कालीन सिम्बूका पूजारीलाई मालताल चीनीया लामालाई बुझाई भूटान फर्कन आज्ञापत्र लेखेको देखिन्छ। जंगबहादुरको उदयपछि काजी भारदार व्यवस्थाका समर्थकहरुको गुठी, बिर्ता र खुवाहरु सबै एकाएक खोस्दै गएको थियो। त्यही बेलादेखि घ्याङगुठी सम्बन्धि खिचौला बढ्दै आएको थियो। नेपाल-भोट युद्धले गर्दा स्वयम्भूका भूटानी ‘धार्मिक प्रतिनिधि’ भूटान फर्किएपछि गुण्डा लामाको नाममा सम्वत् १९४६ मा १२ घ्याङको गुठीसहित बौद्ध घ्याङगुठी पनि लालमोहर भई आएको देखिन्छ। लालमोहरले त्यसअघि पनि उसका बाजे थर्चि लामाले स्वयम्भू-बौद्धसमेत बाह्रै घ्याङको गुठी सञ्चालन गरेको देखाउँछ। तर, स्वयम्भू सम्बन्धि अन्य दस्तावेजले भने त्यसको खण्डन पनि गर्छ। सन् १९४० सम्म स्वयम्भूमा योन्तेन ग्याछो लामा भन्ने पूजारी रहेको धर्मका लामाले पठाएको पत्रले जनाउँछ। सन् १८५५-५६ को नेपाल-भोट युद्धअघि सन् १८१८ मा लामा गेदुन पालवारको नाममा घ्याङको थिति थामिएको लालमोहर १८५२ र १८५८ मा घ्याङ थामिएको लालमोहर जाहेर भएको देखिन्छ। त्यसैले गर्दा घ्याङगुठी शुरुदेखि नै राजनैतिक प्रहारको शिकार हुँदै आएको थाहा पाउन सकिन्छ। त्यसबीचको दशकहरुमा पनि घ्याङगुठी खुम्चिँदै जाने क्रम जारी रह्यो। तर, विसं. १९४६ मा गुण्डा लामाले बौद्धनाथको घ्याङगुठी समेतको लालमोहर पाउँदा विसं. १९०३ र विसं. १९३३ को चिनियाँ लामाले पाएको लालमोहर खारेज भएको देखाउँछ। गुण्डा लामाको लालमोहर कसरी निष्कृय भयो भन्ने घटना खुलेको छैन। वास्तवमा देवशमशेर धनकुटामा निर्वासनमा पठाएपछि पुरानै लालमोहरलाई व्यवहारमा सदर गराएको देखिन्छ। बौद्ध धर्मप्रति अनुदार नीतिहरु शासकवर्गले अपनाउनु पुग्दा धार्मिक संस्थाको संरचनासमेतमा नराम्रो मार पर्न गएको मानिन्छ। राणाकालमा बौद्ध धर्मप्रति स्थायी कुनै नीति नभएको प्रष्ट हुन्छ। इतिहासको यो विवादस्पद पक्षको प्रकाशमा ल्याउन थप शोध कार्यको खाँचो पर्छ।

४.४ बौद्धनाथको संरक्षण

अहिलेको युगमा बौद्ध स्तुपालगायत बौद्ध धरोहरुको संरक्षण गर्न जनता र सरकार दुबैमा बढी जिम्मेवारी थपिन आएको छ। धर्मप्रति आस्था राख्ने राजा र धार्मिक अगुवाहरुले स्थापना गरेको परम्परागत संस्थाहरु जोगाउन सक्नुपर्छ। राष्ट्रधर्म र समाज दुबै एक अर्कासँग जोगिएका विषय हुन्। तामाङहरुको स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्धसित विशेष सम्बन्ध रहेको छ। उसको सांस्कृतिक केन्द्रको रुपमा यी स्तुपहरु उभिएका छन्। सिङ्गोन (सिङला गोन्बो) र खास्योरले उसलाई धार्मिक जागरण ल्याउँदै आएको हो। इतिहासको लामो पाटो ओझेलमा पर्न गए तापनि यिनै धरोहरको संरक्षण गर्दै अन्य बौद्धजनले झैँ यही स्तुपहरुप्रतिको आफ्नो आस्थालाई शुद्ध राख्दै अगाडि कदम चाल्न सक्नुपर्छ। तामाङ क्षेत्रमा प्राचीन घ्याङगुठीलाई पुनर्जीवित गर्ने काम बौद्धनाथ घ्याङगुठीले गर्न सक्छ। साथै यसको संरक्षण र पर्यावतरणको सुधारको लागि श्री बौद्धनाथ क्षेत्र विकास समिति, श्री बौद्ध घ्याङगुठी र श्री बौद्ध तामाङ कल्याण गुठी तीनैवटै संस्थाहरू मिलेर गुरुयोजना तयार गर्नु पर्छ। एउटा अक्षयकोषको स्थापना गरी आपत्कालीन बजेटको व्यवस्था पनि गर्न सकिन्छ। दीर्घकालीन गुरुयोजनाको निर्माण र समसामयिक योजनाहरुको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन आजको युगको माग हो।

४.५ धार्मिक आस्थाको केन्द्र

ऐतिहासिक रुपले बौद्धनाथ स्तुप भारत, नेपाल र हिमालयको एउटा आस्थाको केन्द्र नै हो। वौद्धनाथ स्तुप बौद्धजगतकै लागि पवित्रस्थल रहेका छन्। यस चैत्यलाई सिद्धिदाताको रुपमा मानिन्छ र कुनै पनि कामना र प्रार्थनाहरुका फल जस्ताका तस्तै मिल्ने विश्वास पनि गर्छन्। युद्ध, दुर्भिक्षा, अतिवृष्टि, अनावृष्टि र रोगव्याधीहरू पनि छ्योर्तेनको परिक्रमा, पूजा र प्रार्थना गर्नाले साम्य हुन्छ भन्ने बताइएको छ। शरीर, वचन र मनको क्लेश अनि पाप शुद्ध हुने मोक्षको बाटो खुल्ने भएकोले भक्तजनहरु सुदूरक्षेत्रबाट समेत खास्योर छ्योर्तेनको प्रार्थना गर्ने गर्छन्। लामा राङरिग रेपाले आफ्नो रचनाको प्रार्थनामा ‘रेगपा मेपा’ (अस्पर्शी) स्तुप भनी सम्बोधन गरेका छन्। त्यसको तात्पर्य वज्रासन (बोधगया) जस्तै प्रलयकालले पनि छुन सक्दैन भन्ने हो। जो अर्को सृष्टिमा पनि त्यही स्थानमा स्थापना हुने गर्छ। त्यसकारण बौद्धनाथ शून्यताको प्रतिक पनि हो।

५. अध्ययनको सारांश

१. बौद्धनाथ स्तुपको निर्माणकाल उपलब्ध विभिन्न अभिलेखहरूमा छुट्टाछुट्टै भए पनि यो अशोककाल वा मानदेवकाल कुन कालको हो छुट्याउन अझै सकिएको छैन।
२. बौद्धनाथको निर्माता फरक फरक व्यक्ति र घटना देखाएको हुँदा निर्माताको सवाल पनि विवादित छन्।
३. शिलालेखहरु खासगरी राजाले बनाएको भन्ने पुरातात्विक पुष्टि हुन सकेको छैन।
४. शाक्य साङ्बोले ‘पुनर्निर्माण’ गरेको हुँदा उनलाई निर्माता भन्न नसकिने प्रष्ट छ।
५. अशोककालपछि मानदेवकालदेखि खास्योर छ्योर्तेनको भग्नावशे मात्र १६औँ शताब्दीसम्म रहन गएको देखिन्छ।
६. ‘तल्लो जात’ र महिला वर्गले निर्माण गरेको र संस्थापन पक्ष उपत्यकाबाट विस्थापित हुनु परेबाट छ्योर्तेनको बेस्याहार हुन गएको देखिन्छ।
७. स्तुपको निर्माणकालमै अवरोध देखा परेकोले तत्कालीन समाजको बेग्लै वर्गले निर्माण गरेको देखाउँछ।
८. पुनर्निर्माणकालमा गर्भगृहबाट अंशुबर्माको अस्तुधातु झिकेको कथाले स्थापनाकालीन पुरात्विक वस्तुको उपस्थिति अहिले भेट्टाउन पनि गाह्रो हुने देखिन्छ।
९. अशोककालमा निर्माण भएको भए उपत्यकाबाट किराँतहरु विस्थापित हुँदा नै संस्थापन पक्ष पनि विस्थापित भएको हुनसक्छ।

माथि उल्लेखित विषयहरुलाई खुट्याउने दिशामा भावी अनुसन्धानको कार्यक्रम लक्षित हुनुपर्ने देखिन्छ।

(साभार : श्री बौद्धनाथ क्षेत्र विकास समिति स्मारिका २०६५ बाट।)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका