काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ वाहिनी मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी एकीकृत निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथिका रूपमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको उपस्थिति रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ वाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश श्रेष्ठले उपत्यकाभित्रको शान्ति सुरक्षा व्यवस्थापनका सन्दर्भमा महत्वपूर्ण निर्देशन दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी तामाङले निकट भविष्यमा हुन सक्ने विरोध प्रदर्शन तथा भिड नियन्त्रणका चुनौतीपूर्ण परिस्थितिमा प्रहरी बललाई उच्च मनोबलका साथ एक्यवद्ध भएर पूर्ण पेशागत दक्षताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।
उहाँले बल प्रयोगको अवस्थामा पालना गर्नुपर्ने सिद्धान्त तथा मानव अधिकारको सम्मानका विषयमा पनि स्पष्ट निर्देशन दिँदै, प्रहरी अधिकारीहरूलाई संवेदनशील र उत्तरदायी ढंगले व्यवहार गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले यस्ता समन्वित कार्यक्रमहरूले मनोबल अभिवृद्धिमा टेवा पुर्याउने प्रतिक्रिया दिएका थिए ।