परम्परागत चित्रकलामा विमर्श : पौभा र थाङ्काको वर्तमान र भविष्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
217 Shares
काठमाडौं

नेपाली परम्परागत कला, विशेष गरी ‘पौभा र थाङ्का चित्रकला’ को संरक्षण, विकास र व्यवसायीकरणका विषयमा एक विमर्श कार्यक्रम सम्पन्न भएको छ। सोमबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौं शाखाको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा कलाकार, व्यवसायी र विशेषज्ञहरूले परम्परागत कलाको सिर्जनात्मकता र आर्थिक पक्षबारे छलफल भएको थियो ।

कार्यक्रमको मुख्य वक्ता र प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले पौभा र थाङ्का कलाको विकासमा प्रतिष्ठानले समन्वयकारी भूमिका खेल्दै आएको बताए । उनले भने, ‘यी कलाहरूको सिर्जना र व्यवसाय दुबैलाई बढावा दिन हामी कलाकार, व्यवसायी र संस्थाहरूसँग सहकार्य गरिरहेका छौं ।’

कलाकार उजय बज्राचार्यले परम्परागत कलामा रचनात्मक स्वतन्त्रता रहेपनि आधुनिक प्रविधि र फ्युजन आर्टको प्रभावले केही चुनौती आएको बताए। उनले मौलिक शैली कायम राख्न कलाकारहरू सचेत रहनुपर्ने जोड दिए।

थाङ्का व्यवसायी अनिल घिसिङले यस क्षेत्रको बजार सन्तोषजनक रहेको बताउँदै पनि नयाँ कलाकारहरूको अनुपस्थिति चिन्ताको विषय बताए। उनले भने, ‘युवा पुस्तालाई आकर्षित गर्न र उनीहरूको रुचि बढाउन समन्वय आवश्यक छ।’

पौभा व्यवसायी सुनिल शाक्यले यस क्षेत्रमा कलाकार–व्यवसायी सम्बन्ध सकारात्मक रहेको बताए। उनले पौभा कलाले कलाकारहरूलाई आर्थिक रूपमा सक्षम बनाउने सम्भावना रहेको दाबी गरे।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले परम्परागत कलाको मौलिकता कायम गर्दै आधुनिक मागसँग तालमेल गराउनुपर्ने आवश्यकता रेखाङ्कित गरे। उनले आगामी दिनमा कला विकासका लागि बहुक्षेत्रीय सहयोग बढाउने योजना पनि सुनाए।

कार्यक्रममा अग्रज कलाकार, पत्रकार र प्राज्ञहरू उपस्थित थिए। यसरी परम्परागत कलाको संरक्षण, नवीनता र आर्थिक स्थिरताबीच सन्तुलन कायम गर्ने आवश्यकता छलफलको केन्द्रबिन्दु रह्यो।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया