पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन भएको चीनको सिचुवान प्रान्तको छेन्दु उडानलाई नियमित रूपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यक भएको बताएका छन्।
पोखरा पर्यटन परिषद्द्वारा आयोजित एक कार्यक्रममा उनी छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर उडानका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यो उडानले पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्भावना बढाएको बताए। उनले यसले नेपाल र चीनबीचको पर्यटन तथा आर्थिक सम्बन्धलाई अझ प्रबल बनाउने विश्वास व्यक्त गरे।
यसैगरी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले छेन्दु र छोङ्छिङमा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रमले पोखराको पर्यटनलाई बढावा दिएको बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस उडानले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाएको बताउँदै यसलाई निरन्तर बनाउन सामूहिक प्रयास आवश्यक रहेको जोड दिए।
कार्यक्रममा परिषद्का महासचिव जीवनराज सापकोटाले सहयोगीहरूलाई धन्यवाद जनाए भने संस्थापक अध्यक्ष अशोक पालिखेले चीनको विकास, अनुशासन र सरसफाइजस्ता कुराहरू नेपालले पनि अनुसरण गर्नुपर्ने आवश्यकता रहेको बताए।