क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले क्यान्सर केयर नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सोमबार आयोजित एक कार्यक्रममा होटलका सञ्चालक देशबन्धु बस्नेतले संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई उक्त रकम हस्तान्तरण गरे। कोइरालाले यो सहयोग क्यान्सरपीडितका लागि उपयोगी हुने बताउँदै होटल र संस्थाबीच दीर्घकालीन सहकार्यको आशा व्यक्त गरिन्।
सञ्चालक बस्नेतले उक्त जग्गामा पहिले अन्तर्राष्ट्रिय क्यान्सर अस्पताल बनाउने योजना थियो भन्ने बताउँदै होटल सञ्चालन गर्दा पनि क्यान्सरपीडितलाई सहयोग गर्न पाउँदा खुसी भएको उल्लेख गरे।
क्यान्सर केयर नेपालका अध्यक्ष डा. मदनकुमार पियाले संस्थाले आर्थिक रूपमा कमजोर क्यान्सरपीडितलाई निःशुल्क उपचार उपलब्ध गराउने बताए। २०६५ सालमा स्थापित यस संस्थाले क्यान्सरबारे जनचेतना फैलाउने काम पनि गरिरहेको छ।
यसै अवसरमा होटलमा भारतीय रेस्टुरेन्ट “जाकिया” को शुभारम्भ भएको छ। होटलका महाप्रबन्धक विजय नम्मारन एसले भारतीय पाककला नेपालमा ल्याउने उद्देश्यले यो रेस्टुरेन्ट सुरु गरिएको बताए।