सदियौंदेखि मनाउदै आएको बौद्व–सिङ्गुन तेमाल जात्राको तयारी पूरा भएको छ । मंगलबार बौद्ध तामाङ कल्याण गुठीको व्यवस्थापनमा राष्ट्रिय बौद्व तेमाल जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा जात्राको आवश्यक तयारी पूरा भएको जानकारी गराएका हुन् ।
प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यस वर्ष यही चैत्र २९ गते बौद्व र ३० गते स्वयम्भुमा मनाउन लागिएको हो ।
जात्रा सम्पन्न गर्नका विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
सम्मेलनमा भनिएको छ‚ ‘बौद्ध तेमाल जात्रा तामाङ समुदायको विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको एउटा प्रमुख पर्व हो । यो तामाङ संस्कृतिको अभिन्न अंगको रुप रहेको छ ।’
जात्रामा बागमति प्रदेशका विभिन्न जिल्लाहरुबाट ६० हजारभन्दा बढी तामाङहरु सहभागी हुने अनुमान गरिएको छ ।
आयोजक समितिका संयोजक सम्पूर्णकुमार लामाका अनुसार जात्रालाई व्यवस्थित बनाउन सेवाहरु उपलब्ध गरिएको बताए । जसअनुसार बौद्ध परिसरमा भक्तजन र लामा गुरुहरुको लागि त्रिपालको व्यवस्था‚ शौचालयको व्यवस्था‚ निशुल्क स्वास्थ्य शिविर र आपतकालिन एम्बुलेन्सको व्यवस्था‚ शुद्ध पिउने पानीको व्यवस्था‚ लामा गुरुहरुज्यूबाट ङोवा मोन्लम् (पूजापाठ) गराउने व्यवस्था‚ बौद्ध स्तुपमा भक्तजनहरुको लागि सहजरुपमा बत्ती बाल्न र पूजा गर्न पंक्ति मिलाउने व्यवस्था गरिएको छ ।
त्यस्तै बौद्ध परिसरमा भक्तजन र लामा गुरुहरुलाई सुविधाको लागि पालको व्यवस्था‚ शौचालयको व्यवस्था‚ निशुल्क स्वास्थ्य शिविर र आपतकालिन एम्बुलेन्सको व्यवस्था‚ शुद्ध पिउने पानीको व्यवस्था‚ लामा गुरुहरुबाट पूजापाठ गराउने व्यवस्था‚ हेल्प डेस्क (खोज तलास) व्यवस्था‚ बौद्ध स्तुपको उत्तरतर्फको तेस्रो तल्लाको गुम्बजमा रहेको १०८ खोपीमा रहेको द्वी देवताहरुमा बत्ती बाल्ल र पूजा गर्नको लागि पंक्ति मिलाउने व्यवस्था‚ भक्तजनहरुलाई प्रसाद (खिर वितरण)‚ स्वयंसेवक परिचालन र शान्ति सुरक्षा र ट्राफिक व्यवस्था गरिएको गुठीका अध्यक्ष जयमंगल लामाले जानकारी दिए ।
मृतकको आत्माको चिरशान्तिको कामनासहित परापूर्वकालदेखि नै बौद्ध तिमाल जात्रा मनाउन थालिएको लामाले जानकारी दिए । विसं १८१९ मा तिमालका अन्तिम तामाङ राजा रिन्जिल दार्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तिमाल जात्रा सम्पन्न गर्न आफ्ना जनतालाई पठाउने गरेको जनश्रुति रहेको उनको भनाइ छ ।