जिल्लाको आमाछाउदिङमो गाउँपालिका-३ गत्लाङ र गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुवेसिमा आयोजित आँखा शिविरबाट २ सय ५० जनाले आँखा सम्बन्धी सेवा लिएका छन्।
चैत २५ गते गत्लाङमा सामुदायिक आँखा केन्द्र धुन्चे शाखा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको संयुक्त आयोजनामा संचालित एक दिने शिविरमा १ सय २२ जनाले आँखाको जाँच गराए। जसमध्ये १४ जनालाई चस्मा लगाउनुपर्ने र ६ जनालाई मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ। आँखा केन्द्रका इन्चार्ज उर्मिला लामाले यस्तो जानकारी दिइन्।
त्यस्तै, चैत २६ गते तिलगंगा आँखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र धुन्चेको आयोजनामा गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखा र स्याफ्रुवेसि स्वास्थ्य चौकीको सहयोगमा स्याफ्रुमा आयोजित एक दिने शिविरमा १ सय १८ जनाले सेवा लिए। जसमध्ये ३३ जनालाई दृष्टि सुधारका लागि चस्मा वितरण गरिएको छ भने ९ जनालाई मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएपछि वैशाख ७ र ८ गते कालिकास्थानमा हुने शिविरमा उपचार गरिनेछ। साथै, ६ जनालाई रेटिनाइटिस सम्बन्धी शल्यक्रियाका लागि काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा पठाइएको छ।
यी शिविरहरूले स्थानीय बासिन्दाहरूको आँखा स्वास्थ्यमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।