नेपाली नयाँ वर्ष २०८२ को अवसरमा काभ्रे सेवा समाज युएईले ‘नयाँ वर्ष धमाका, सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका काभ्रेलीहरूलाई एकजुट गराउँदै शुभकामना आदानप्रदान गर्ने र आपसी सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
समाजका उपाध्यक्ष रविन्द्र तामाङका अनुसार कार्यक्रम यही अप्रिल १३ तारिखका दिन कन्कोड भिउ होटेलमा आयोजना गरिनेछ। कार्यक्रममा नेपालबाट आएका चर्चित गायक विश्व दोङको विशेष प्रस्तुति रहनेछ भने युएईमै रहेका स्थानीय कलाकारहरूले समेत सांगीतिक प्रस्तुति दिनेछन्।
“युएईमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई यसलाई भव्य र सफल बनाउन आग्रह गर्दछु,” उपाध्यक्ष तामाङले बताउनुभयो।
सन् २०१४ मा स्थापना भएको काभ्रे सेवा समाज युएईले विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको हो। समाजले स्थापना यता स्वदेश तथा विदेशमा रहेका काभ्रेली तथा अन्य नेपाली समुदायका दुःखमा परेका व्यक्तिहरूलाई आर्थिक तथा नैतिक सहयोग गर्दै आएको छ।
समाजले प्रवासमा रहँदा पनि नेपाली संस्कृतिको संरक्षण, सामाजिक एकता र सहयोगका भावना अभिवृद्धि गर्ने उद्देश्यसहित यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ।