चैत्र पूर्णिमाको बौद्ध-सिङ्गोन तामाङ जात्रा

डा. मुक्तसिंह तामाङ मानवशास्त्री
2.7k Shares

प्रत्येक वर्ष चैत्र पूर्णिमाको दिन काठमाडौंको बौद्ध स्तुप चैत्यमा ताम्सालिङका तामाङहरु तिर्थालुको रुपमा र स्वयम्भू लाखौको सङ्ख्यामा भेला हुन्छन् । तिर्थालुहरु पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुपमा बिताउँदछन भने पूर्णिमाको दिन स्वयम्भू चैत्यमा भेला हुन्छन् । नेपालका धेरैजसो धार्मिक मेला जात्राहरुमा सबै जातजातिका मानिसहरु सहभागी हुने गरेको हामी पाउँदछौ । तर, चैत्र पूर्णिमाको स्वयम्भू-बौद्ध जात्रा मात्र यस्तो समारोह हो जसमा करीब पूर्णरुपले तामाङहरुको मात्रै सहभागीता हुने गर्दछ । त्यसबाट स्वयम्भू चैत्य र बौद्ध स्तुपसँग नेपालका तामाङ समाजको विशेष सम्बन्ध रहेको देखिन आउँछ । तामाङ समाजमा यसको विशेष महत्व किन हुन गएको हो ? यसका पछाडि कस्ता इतिहास, परम्परा र दर्शन निहित छन् ? जात्राले तामाङ समाजको निर्माण र एकतामा कस्तो भूमिका खेलेको छ भन्ने कुरा सबैका लागि कौतुहल र खोजीको विषय हुन गएको छ ।

चन्द्रमासमा आधारित पात्रो प्रणाली अपनाएका अन्य समाजहरुमा झैं तामाङ समाजमा पनि पूर्णिमाहरु धार्मिक र सांस्कृतिक रुपले केन्द्रबिन्दुमा रहने गरेको पाइन्छ । तामाङ भाषामा महिनाहरुको नाम वास्तवमा पूर्णिमाको नामसँग मिल्ने वा एउटै हुने गरेको छ । जस्तो कि यो पूर्णिमाको नाम तामाङ पात्रोको तेश्रो महिनाको नाम ‘न्हाम्दोङसँग मिल्दछ र हरेक पूर्णिमा तामाङ समाजमा कुनै न कुनै धार्मिक-सामाजिक आस्था र अभ्याससँग जोडिएका हुन्छन् । तर, वर्षकों बाहवटा पूर्णिमाहरु मध्ये तीनवटा पूर्णिमाहरु तामाङ समाजमा विशेष किसिमले मनाउने गरेको देखिन्छ । ती हुन्- बैशाख जेठमा पर्ने दुगु इह्या (चैत्र पूर्णमा) सिब्दा-नेदा-ज्योहो वा भूमि पूजनका लागि मनाउने गरिन्छ । त्यसकारण यस पूर्णिमा भूमि तथा भूमिलाई संरक्षण गर्ने देव-देवी र साथमा कुलदेवताको पूजासँग घनिष्टता राख्दछ र त्यस दिन प्रत्येक तामाङ गाउँलेहरु सामुहिक रुपमा भूमि र त्यसको रक्षक ज्योहोलाई पुज्दछन् । त्यसैगरी साउन-भदौमा पर्ने गोने इह्या (साउन पूर्णिमा) तामाङ बोन्बो परम्पराहरुका लागि मुख्य हुन् । त्यस दिन तामाङहरु आफनो गाउँको बोन्बोहरुसहित ताम्सालिङका बिभिन्न पर्वतहरुका टाकुराहरु र तालहरुमा जात्रा मनाउन जान्छन् । पश्चिममा सिङ ल्हा, फिकुरी, गोसाइकुण्ड देखि पूर्वमा पाँचपोखरी, सैलुङ, तेमाल, म्हावर र काठमाडौं वरीपरीका डाँडाहरुमा यी जात्रा पर्वहरु सम्पन्न गरिन्छ ।

चैत्र-बैशाख महिनामा पर्ने यस पूर्णिमालाई भने न्हाम्दोङ इहया भन्दछन् । यो पूर्णिमा बौद्धधर्मको हिसाबले बढि महत्वको देखिन्छ। हामी सबैलाई थाहा छ, तिर्थालुहरु यो दिन आफना दिवंगत मातृ, पितृ तथा आफन्तजनको शान्तिका लागि स्वयम्भू र बौद्ध स्तुपमा गई कोरवा गर्ने, बत्ति बाल्ने र धार्मिक पाठपूजा गर्ने, गुम्बामा प्रार्थना गर्ने, म्हाने गर्ने र ती सबै धार्मिक कार्यको पूण्यफल मृतक पूर्खा र सम्पूर्ण प्राणीजगतले पाओस भनि लामाबाट ङोवा गर्ने गर्दछन । हुन त बौद्धधर्मसँग सम्बन्धित मंसीरमा पर्ने अर्को पूर्णिमा पनि छ जसलाई सोरति ङ्ह्या भनिन्छ । यस दिन चाँही ताक्मो ल्हुइजेन (नमोबुद्ध) मा तामाङहरु तिर्थ र जात्रा मनाउछन् । यस विषयमा छुट्टै छलफल गर्नु आवश्यक छ । अहिले भने न्हाम्दुङ / नाम्दोङ ह्यामा नै स्वयम्भू र बौद्धमा तामाङहरु किन विशाल रुपले भेला हुन्छन् भन्ने प्रसङ्गलाई अगाडि बढाउन चाहन्छु ।

यसबारे दुईवटा तर्कहरु अगाडी सार्न सकिने देखिन्छ । पहिलो, तामाङहरु यी स्तुपहरुको निर्माणदेखि नै अभिन्न रुपमा जोडिएकोले यो जात्रा यसैको निरन्तरता हो भन्न हो । दोश्रो, तर पहिलोसँग पनि सम्बन्धित, यो पूर्णिमा तामाङहरुले बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाण तीनै कुरालाई एकै दिनमा मान्ने बौद्ध प्रचलनसँग जोडिएको छ भन्ने तर्क हो ।

स्वयम्भु र बौद्ध चैत्यको निर्माण कहिले र कस्ले गयो भन्ने बारे हामीसँग धेरै मिथक र थोरै ऐतिहासीक तथ्यहरु छन् । मिथकहरुलाई एकैछिन पर राखेर उपलब्ध सीमित सामाग्रीहरुको आधारमा विचार गर्ने हो भने यी स्तुपहरुको निर्माणसम्बन्धमा चार कुराहरु भन्न सकिन्छ । एक, निर्माण र बनावटको शैलीले यो अशोककालमा (ईशा पूर्व २६९-२३२) नै बनेको हुनुपर्दछ । दुई, दुबै स्तुपहरु र यहाँ रहेका गुम्बाहरु महायानी धारमा रहेको हुनाले यी महायानी परम्परासँग जोडिएको छन् । तीन, केहिले इतिहासमा राजा मानदेवले बनाएको भने तापनि, बौद्धको स्तुपमा अंशुवर्माको (ई.सं.५९५-६२१) अस्तु राखिएको भन्ने तथ्यले अंशुवर्माको मृत्यु समयलगतै यसको विस्तारीत स्वरुप निर्माण भएको मान्न सकिन्छ । चार, यी दुबै स्तुपहरु तिब्बतमा बौद्धधर्म फैलिनु धेरै अगावै यहा स्थापित र प्रतिष्ठित भई सकेको थियो ।

माथिका चार बुँदाहरुले के इंगित गर्दछ भने दुबै स्तुपहरुको निर्माण यहाँका प्राचीन आदिमवासीको संलग्नतामा दक्षिणबाट उपत्यका छिरेका पहिलो आप्रवासी लिच्छवी प्रवेश अगावै भएको हो । अझ स्वयम्भू त बुद्धको चेला आनन्द स्वयम्भू दर्शन गर्न गएको भन्ने तथ्यबाट बौद्धकालमा नै बनेको भन्ने भनाई पनि रहेको छ । यी चैत्यहरुको तामाङहरुसँगको सम्बन्धको कुरा गर्दा अंशुवर्माको प्रशङ्ग जोडिन आउँछ । अंशुवर्मा एक मात्र यस्तो नाम हो जसलाई तामाङहरु आफनो ‘जिग्तेन तामछ्योइ’ र ‘ताम्बा काइतेन’मा होइस्रेर गोचाको नामले सम्मानपूर्वक पुकार्दछन् । अंशुवर्मा कुन वंशका हुन यकिनकासाथ भन्न सकिएको छैन । तर, उनी लिच्छवी नभएको कुरा भने प्रमाणित छ । उनी महसामन्तको नामले चिनिन्छ र उनेले शासकको रुपमा धेरै धार्मिक स्थलहरुको निर्माण गरेका थिए भने आफ्नै सम्वत् र मुद्रा पनि चलाएका थिए । छोरी भृकुटीको विवाह श्रङचोङ गम्पोसँग गरेबाट उनको तिब्बतसँगको सम्बन्ध समान हैसियतको रहेको देखिन आउँछ । यसबाट उनी पहाडी हिमाली सभ्यता र संस्कृतिको नजिक ‘देखा पर्दछ। तामाङ श्रुतिकथा र इतिहासमा अंशुवर्माको स्थान र उनको अस्तु बौद्धको स्तुपमा भएबाट स्तुपको निर्माण पछि सम्पन्न भएको उपलक्ष्यमा भएको राब्ने (प्राण प्रतिस्थापन समारोह) चैत्र पूर्णिमामा आयोजना भएको हुन सक्ने देखिन्छ । यसको आधारमा सामुहिक रुपमा स्तुप निर्माण सम्पन्न गरेपछि निरन्तर चलेको समारोहको परम्परा नै आजको चैत्र पूर्णिमाको जात्रा हो भन्ने तर्क गर्न सकिन्छ ।

दोश्रो तर्क चैत्र पूर्णिमा तामाङहरुले बुद्ध जयन्तीको रुपमा मनाएको हो भन्ने हो । यो तर्कलाई पुष्ट्याई गर्ने ठोस आधार यही हो भन्न त अहिले नै सक्ने स्थिति छैन तर तामाङ समुदायको वार्षिक क्यालेण्डरहरुमा बुद्धलाई केन्द्र बिन्दुमा राखेर मनाउने दिन मुख्य यही देखिएबाट यस तर्कमा बल मिल्दछ । बुद्ध जयन्ती विभिन्न देश र समुदायमा भिन्न-भिन्न दिनमा मनाउने चलनले पनि यो तर्कमा सहमति राख्दछ । धेरैजसो थेरवादी बौद्ध सम्प्रदाय र हिन्दु पात्रोमा बैशाख पूर्णिमालाई बुद्ध जयन्तीको रुपमा माने तापनि महायानी बौद्ध सम्प्रदायमा यसको अगाडि या पछाडि बुद्ध जयन्ती मान्ने गरेको अभ्यास हामी पाउँछौ । उदाहरणका लागि जापानमा बुद्धको जन्म, ज्ञान प्राप्ती वा निर्वाण र परिनिर्वाण ग्रेगोरीयन क्यालेण्डरको अप्रिल ८ लाई मान्दछन् । यसलाई जापानीहरु फूलहरुको पर्व पनि भन्दछन् । दक्षिण कोरीया र ताईवानमा यस वर्ष मे महिनाको २५ तारीख अर्थात् जेठ ११ का दिन बुद्ध जयन्ती मनाउँदैछन् । तिब्बतमा पनि बैशाख पूर्णिमाको एक महिना पछि जेठ पूर्णिमाका दिन जुन २ मा बुद्ध जयन्ती मानाउँदैछन् जसलाई तिब्बतीहरु ‘साका दावा’ भन्दछन र यो समारोह महिना भर चल्दछ ।

बौद्ध र स्वयम्भूको उत्पत्ति बारे धेरै मिथक कथाहरु र किंवदन्तीहरु छन् । यी मिथक कथाहरु एकथरी बौद्ध र नेवारी श्रुति परम्परामा आधारीत छन् भने अर्को तिब्बतीकरण भएका छन् । उदाहरणका लागि बौद्ध स्तुपको नाम ‘ज्यारुङ खस्योर’ एउटा कुखुरा पालक महिलाले थालनी गरेको स्तुप निर्माणको काममा अन्य मानीसहरुले बिरोध गर्दा राजाले बनाउने वचन दिईसकेको र त्यसलाई फिर्ता लिन नमिल्ने भएकोले ‘खा’ वा वचन र ‘स्योर’ वा दिईसकेको बाट आएको हो भन्ने मिथक कथा छ । ‘ज्यारुङ’ शब्द भने ‘ज्या’ वा चरा वर्षमा नै शुरु गरी १२ वर्षपछि ज्या ल्हो (चरा वर्ष) मा नै निर्माण सम्पन्न भएकोले रहन गएको भन्ने रहेको छ। यो मिथक कथालाई डाछ्याग शाक्य म्राङबोले ई.सं. १५७२ मा लिखित रुपमा प्रकाशमा ल्याएका हुन् । कथाका अनुसार गुरु पद्म सम्भवले राजा, आफ्‌ना शिष्य र अनुयायीहरुलाई बताएको यस वृत्तान्तलाई खण्डो येसे छोग्यालले तेर (नीधि) का रुपमा सामधिस्त गरेका थिए र त्यो तेरलाई डाछ्याग शाक्य स्राङबोले तिब्बतको प्रथम बौद्ध बिहार साक्ये गुम्बा नजिकको रातो स्तुपबाट निकालेर प्रकाशमा ल्याएका थिए भन्ने उल्लेख छ । यस कथाले बौद्ध निर्माणको स्थानिय श्रुतिलाई तिब्बतले कसरी लेखन र अबलम्बन गरेको भन्ने देखाउँदछ । नेवारी किम्बदन्ती अनुसार यसको नाम खास्ती चैत्य हो र ‘खसु’ अर्थात् पानीको अभावमा शीतलाई जम्मा गरेर त्यसैबाट स्तुप निर्माण गरेकोले यहि शव्दबाट यो नाम रहन गएको भन्ने छ । दुबै मिथकबाट निस्केको नाम ‘खस्योर’ र खास्ती’मा एक किसिमको सामाञ्जस्यता भने देखिन्छ ।

यिनको चर्चा गर्दा तामाङ समुदायमा बौद्ध निर्माण बारे कस्ता मिथक छन् भन्ने प्रश्न स्वभाविक रुपमा उठ्दछ ? स्थानिय श्रुति परम्पराले के भन्छ ? मेरो विचारमा तामाङ मिथक ‘माम्’को स्थापना र यसबारेको विश्वाससँग सम्बन्धित छ । माम् मातृपूर्खालाई जनाउने सम्मानवाचक शब्द हो । स्तुपको उत्तरी भागमा माम्को देवल छ । मामको पूजनियता तामाङहरुको निमित उत्तिकै महत्वको छ जति स्तूप र गुम्बाको छ । यी मातृपूर्खा माम्को हुन् र यो तामाको विगतसँग कसरी जोडिन्छ अहिले नै भन्न पर्याप्त सामाग्री उपलब्ध छैनन् । तर, कथामा वर्णित कुखुरा र सुंगुर पालक महिलाको पहिचान भारतीय र तिब्बती सभ्यतासँग मेल नखाने र उनी यहाँका आदिम बासी वा किराँती हुन सक्ने भने प्रष्ट देखिन्छ ।

स्वयम उत्पन्न भएको स्वयम्भूको मिथक पनि विविध छन् । महाचीनबाट मञ्जुश्री आई नेपाल खाल्डोको पानीलाई बगाएर स्वयम्भूको स्थापना गरेको, बुद्ध आफैंले वा कृष्णले त्यो काम गरेको मिथकहरु हामी स्वयम्भू पुराणलगायतका कथाहरुमा पाउँछौ । बौद्धधर्मसँग जोडिएर आउने मिथकहरुमा तामाङहरुले पनि आफूलाई नजिक पाउनु स्वभाविक छ । तर, हालै स्वयम्भूको उत्पत्तिसँग शक्तिशाली बोन्बोले नेपाल खाल्डोको तलाउ सुकाएर स्वयम्भू पर्वतको स्वरुप निकालेको मिथक तामाङ समाजमा बिद्यमान रहेको कुरा प्रकाशमा आएको छ ।

मिथकहरु इतिहास होइनन् । यसले एउटा सन्देश दिन्छ, मानीसको कार्यहरुलाई निर्देशित गर्दछ र केहि कुरा भने इंगीत अवश्य गर्दछ । माथिको मिथकीय विश्लेषणहरुबाट बौद्ध र स्वयम्भू बारे तामाङहरुको आफनो किंवदन्ती र मिथकहरु छन् तर तिनीहरु लेखन र प्रसारणको अभावमा लोप हुँदो छ भन्ने देखिन्छ । तर, पनि बौद्ध र स्वयम्भूप्रतिको अटुट् आस्था जुन चैत्र पूर्णिमाको मेलामा तामाङहरुले अभिव्यक्ति गर्दछ यसले यी मिथकहरुमा निहित शक्ति देखाउँदछ र यी सम्पदाहरुसँगको उनीहरुको सदियौंको सम्बन्ध दर्शाउँदछ ।

चैत्र पूर्णिमाको यो जात्रा कहिले शुरु भयो होला ? यदि हामीले यो जात्रा स्तुप निर्माण सम्पन्न भएको समारोहको निरन्तरता हो भन्ने हो भने यो कम्तिमा पनि छैटौं शताव्दीदेखि भएको ठहर हुन्छ । तामाङ समाजले सातौं शताव्दीमा हिमाली बौद्धधर्म अवलम्बन गरेपछि यो अझ सशक्त भयो । समारोह विकासक्रम आजपर्यन्त नटुटेको हामी देख्दैछौ तर तिनको विस्तृत विवरण भने प्राप्त हुन बाँकी नै छ । मेटाइएको, हराएको र खोज्न नसकेको इतिहासको अन्धकारमा तामाङको विगत रुमलिएको छ । तर, एउटा कुरा के स्पष्ट छ भने स्थानिय मानीसहरुले बौद्ध र स्वयम्भूको महत्वलाई आत्मसात यसलाई प्रवर्धन नगरे भारतवर्ष र भोट देशले यसलाई महान बौद्धतिर्थस्थल मान्ने कल्पना नै गर्न सकिन्न । स्थानिय समुदायले यसको निर्माण र सम्भार नगरे पाहुना तिर्थयात्रीहरुले धर्मदाताहरुले प्रदान गरेको दानले मात्रै यस्तो संरचना कसरी टिकीरहन सक्छ ? विडम्बना के छ भने विभिन्न दाता, राजा, ठूला खेन्पो टुल्कु लामाहरुले जिर्णोद्धार गरेको कथाहरु लेखिएका छन् तर तामाङ समुदायको योगदान लेखिएको छैन । बौद्ध र स्वयम्भूको निर्धारित जग्गा गुठीहरु रसुवा, नुवाकोट, सिन्धुपाल्चोकदेखिका तामाङ गाउँहरुमा थिए जसबाट आएका आम्दानि यसको सन्चालन र सम्भारमा खर्च हुन्थ्यो । चैत्र पूर्णिमाको यो जात्रा तामाङहरुको यी योगदानसँग पनि अभिन्न रुपले गाँसिएको छ भन्ने मान्नुपर्ने हुन्छ । यो जात्राले यसको महत्तालाई देशभित्र र बाहिर उजागर गरेको हुन्छ ।

अध्ययनहरुले देखाउँदछ कि स्वयम्भूको महायानी बौद्ध गुम्बा सबैभन्दा जेठो गुम्बा मध्येको हो। त्यसलाई सन्चालन, स्याहारसम्भार गर्ने तामाङ लामाहरु नै थिए। बौद्ध स्तुपभित्रको तामाङ गुम्बा स्तुप जत्तिकै पुरानो हुनु पर्दछ । संगठित प्रयास बढ्दै जाँदा बौद्ध र स्वयम्भू दुबै चैत्यको व्यवस्थापनको लागि दुबैतिर ६० घरे तामाङ गुठी बनाइएको थियो र त्यो अहिले पनि छ । तामाङहरु स्तुप र गुम्बाहरुसँग पहिल्यैदेखि सम्बन्धित थिए । तर, सन् १७९२ को तामाङ बिद्रोह निर्ममतापूर्वक दबाएपछि तामाङहरुलाई राज्यले शत्रुतापूर्ण आँखाले हेयो । उनीहरुको धार्मिक आस्थाको केन्द्र (तिर्थ) मा आउन समेत बन्देज लगाइयो । जंगबहादुरको लहैलहैमा भएको नेपाल-भोट युद्ध अघिसम्म बौद्धको मूल लामा छेवाङ सितार रुम्बा थिए । • उनलाई भोट विरुद्धको लडाईमा गोरखालीलाई सहयोग नगरेको आरोप लगाई देश छाड्न बाध्य पारियो । विस्तारै स्वयम्भू र बौद्धको व्यवस्थापनको आदिकालदेखिको जिम्माबाट तामाङहरु विस्थापित गर्दै लगियो । स्वयम्भू र बौद्धको गुठी जग्गाहरु खोसीदै लग्यो । शाह राजाहरुले स्वयम्भू तामाङबाट खोसेर भुटानको लामालाई जिम्मा लागाईदियो । बौद्धको स्तुप राणा प्रधानमन्त्रीले चिनियाँ तिर्थयात्री लामाको स्वामित्वमा सुम्प्यो । गोरखाली राजनीतिको षड्यन्त्र र बल मिचाईमा तामाङ व्यस्थापन तहसनसह हुन गयो ।

शाहकालको काल रात्री, जहानीया राणाकालको अझ घनाकालो अन्धकारको युगमा पनि तामाङहरु चैत्र पूर्णिमाको यो जात्रा भर्न भने विभिन्न अवरोधहरु खेप्दै निरन्तर रुपमा आई नै रहे । यात्राका लागि यातायात, बास, खानपीनको बन्दोबस्त असजिलो भएको त्यो अबस्थामा पनि तामाङ गाउँगाउँबाट आफनो लामासहित सामल, पिठो, दाउरा, राडी लिएर पाटी- पौवाहरुमा बास बस्दै प्रत्येक वर्ष आई नै रहे । सन् १९९६ देखि शुरु भएको १० वर्षे माओवादी सरकार बीचको सशस्त्र युद्धको दौरान जतिखेर यात्रा अति जोखिमपूर्ण हुन्थ्यो त्यो अवधिमा पनि यो जात्रामा मेला भर्नेको सङ्ख्यामा कमि भएन । बौद्ध-स्वयम्भूको यो जात्रामा आउन उसलाई नेपाल बन्दका कार्यक्रमहरुले पनि प्रभावित गर्दैन । असुविधाको गुनासोसम्म पनि नगरी बरु उ हिडेरै यहाँ आईपुग्दछ र सन्तोषको सास फेर्दछ । आफनो दिवंगत मातृ-पितृको शान्तिका लागि छ्योर्तेन कोरवा (परिक्रमण) गर्नु, छ्युमे (बत्ति) बाल्नु, डोवा-मोलम गर्नु र आफना ती धार्मिक कार्यको पूण्यफल सम्पुर्ण प्राणीजगतलाई मिलोस भनि कामना गर्नु उसको कर्तव्य हो भन्ने कुरामा तामाङको अटल आस्था रहेकोले यो सम्भव भएको हो ।

तामाङ पहिचानको आन्दोलनसँगै यो जात्रा अझै व्यापक हुँदै गएको छ । यो एउटा तामाङ एकताको अभिव्यक्ति पनि बन्न गएको छ। आफनो अझ दरिलो सामाजिकता र सामुहिकताको निर्माणको माध्यम पनि बन्दै गएको छ । बृहत्ततर तामाङ अभियन्ताहरु र बौद्ध र स्वयम्भूका स्थानिय तामाङ बासिन्दाहरुको पहलमा जात्रालाई अझ व्यबस्थित, सुरक्षित र मर्यादित बनाउन थुप्रै सरहानिय कदमहरु चालिएका छन् । यो जात्रा वास्तवमा बौद्धधर्मसँग मात्र सम्बन्धित नभई तामाङ संस्कृति, रिमठिम, सामाजिक सम्बन्ध, व्यापार, लोक साहित्य र सौन्दर्यबोधको विषयसँग पनि गासिएको छ । आफ्नो पूर्खालाई सम्झने, तिनको सम्मानमा आराधना गर्ने र सम्पूर्ण प्राणी जगतको शान्तिको लागि प्रार्थना गर्ने तामाङ सांस्कृतिक पक्ष यो जात्राको मुटु पक्ष हो । दिवंगत जनलाई सम्झने मात्र नभई जीवित ‘इष्टमित्रसँग भेटघाट गर्ने, दुःख सुख साटने, सम्बन्ध नविकरण गर्ने, माया प्रेम र आदर-सत्कार आदानप्रदान गर्ने मौका यसले दिन्छ । यसैले त मानीसलाई सामाजिक प्राणी बनाउँदछ । त्यति मात्र होइन, यो जात्रा तामाङ लोक साहित्य र सौन्दर्यबोधको माध्यम पनि हो । तामाङ महिला पुरुष पहिलेदेखि नै जात्रामा तामाङ गीतको जुहारीमा संलग्न भई वातावरणलाई सुमधुर बनाउने गर्दछन् । यी गीतहरु वास्तवमा मनोरञ्जनका लागि मात्र गाइने नभई आफ्ना भावनाहरु, दृष्टिहरु, विचारहरु कलात्मक ढङ्गले स्वतस्फूर्त रुपमा व्यक्त गर्ने र एक अर्कासँग साट्ने माध्यम पनि हो । अहिलेको नयाँ पुस्ताले यो कुरालाई बुझ्दै र आत्मसात गर्दै लैजानु सकरात्मक कुरा हो ।

चैत्रको पूर्णिमाको यो बौद्ध-स्वयम्भू जात्रालाई पछिल्लो समयमा तेमाल जात्रा पनि भन्ने गरेको पाइन्छ । यस नामको शुरुवात बौद्ध र स्वयम्भूका स्थानिय बासीहरुले तेमालका मानिसहरुको बाहुल्यता महसूस गरी यस्तो भन्ने गरेकोबाट हुन सक्छ । यसो भन्दा तेमाल भन्ने शव्दलाई हालको तेमाल डाँडा मात्र नभई पूर्वी भेगको काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकसमेतको विस्तारित क्षेत्रलाईसमेत समेटेर बुझ्ने गरेको पाइन्छ । तेमालको भूक्षेत्र कति हो भन्ने अर्को अध्ययनको विषय हो । तर, जात्रामा आउने तिर्थालुहरुको बनावटलाई हेर्दा यस जात्रामा तेमालको वा पूर्वी ताम्सालिङको मानिसहरु मात्रै आउने देखिँदैन । यसमा ताम्सालिङलगायतका सम्पूर्ण तामाङहरु र दार्जिलिङ, भुटान, सिक्कीमदेखिका तामाङहरु आउँछन् । बौद्ध र स्वयम्भूको स्थानिय परिवेशमा तेमाल जात्रा भन्ने नाम स्वभाविक भए पनि यो नामले चैत्र पूर्णिमाको विशाल तामाङ भेलालाई र यसको व्यापकतालाई सीमित पार्न सक्छ । बरु तेमाललगायतका अधिकांश तामाङहरुले यस जात्रालाई बौद्ध-सिगोन जात्रा भन्ने गरेकोले र तामाङ समुदायको विशेष उपस्थिति हुने गरेकोले यसलाई ‘चैत्र पूर्णिमाको बौद्ध-सिङ्गोन तामाङ जात्रा’ भन्न उपयुक्त हुने देखिन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
9
+1
0
+1
0

तपाईको प्रतिक्रिया