बालाजु बाईसधारा मेला तथा खट जात्राको भव्य तयारी सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौं

काठमाडौँको उत्तर पश्चिममा अवस्थित ऐतिहासिक नगर बालाजु, अर्थात् ल्हुतिकोटमा हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने ल्हुति पुन्ही अर्थात् बालाजु बाईसधारा मेला तथा खट जात्राको लागि यस वर्षको तयारी सम्पन्न भएको छ।

बिहीबार पत्रकार सम्मेलन गरी ल्हुति पुन्ही मेलाको ऐतिहासिक जात्राको तयारी पूरा भएको जानकारी दिए ।

सम्मेलनमा ल्हुति नेपाल भाषाको शब्द हो, जसको अर्थ हुन्छ ढुङ्गाको पहरो रसाएर बग्ने पानी। यही विशेषताले यो स्थानको नाम ‘ल्हुति’ रहन गएको हो।

मल्ल राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा एक्काइस धारा निर्माण गराएपछि यसको ऐतिहासिक महत्त्व सुरु भएको मानिन्छ। पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एक धारा निर्माण गरेपछि यो स्थान बाईसधारा भनेर चिनिन थाल्यो। त्यसपछि वि.सं. २०१८ मा राजा महेन्द्रले यहाँ महेन्द्र उद्यानको निर्माण गराएपछि यस स्थानले पर्यटन र धार्मिक दृष्टिले अझ बढी महत्व पायो।

यस दिन हजारौं भक्तजनहरू बालाजु आइ बाईसधारामा स्नान गरी पूर्वतिर रहेको भगवान बालनिलकण्ठको पूजा, नागार्जुन टुप्पोमा रहेको विपश्वी बुद्ध र नागार्जुन महादेवको दर्शन तथा शीतलामाई मन्दिर (प्याथ अजिमा)को पूजा अर्चना गरी विभिन्न चर्म रोग र विफर रोगवाट मुक्त हुने जन विश्वास अनुसार मेला भर्न आउने गर्दछन्।

मेला अन्तर्गत हुने पाँच दिने खट जात्रा यस क्षेत्रको प्रमुख सांस्कृतिक विशेषता हो। यो जात्रामा चार प्रमुख खटहरू — लौरी विनायक गणेश (पुरानो गुह्येश्वरी), श्वेत विनायक गणेश (बालाजु), जितगुरु गणेश (लोलाङ) र वज्रयोगिनी — को रथयात्रा गरिन्छ। जात्राको अन्तिम दिन यी देवताहरूको रथमा विशेष पूजा, वाजागाजा र सिन्दुर जात्रा गरी समापन गरिन्छ।

यस वर्षको मेलालाई भव्य र व्यवस्थित बनाउने उद्देश्यले मेला व्यवस्थापन समितिले करिब १० लाख रुपैयाँको बजेटमा तयारी सम्पन्न गरेको छ। प्रमुख व्यवस्थाहरुमा:

  • २२ वटै धाराको सरसफाइ तथा यसको धार्मिक-सांस्कृतिक महत्व झल्काउने प्रदर्शनी।
  • नेपाल स्काउट, सुरक्षा निकाय र स्वयंसेवकहरू मार्फत भक्तजनलाई सहज दर्शनको व्यवस्था।
  • प्राथमिक उपचार केन्द्र, एम्बुलेन्स, खानेपानी र शौचालयको व्यवस्था।
  • सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा महानगर प्रहरीको विशेष समन्वय।
  • नेवारी खाना र परम्परागत वस्तुको प्रवर्द्धनका लागि स्टलहरू।
  • एल.इ.डि. स्क्रिन, मिडिया प्रत्यक्ष प्रसारणद्वारा कार्यक्रमको प्रचार प्रसार।
  • सुरक्षा र स्वयंसेवकहरूको लागि नास्ता र भोजनको व्यवस्था।
  • स्थानीय कलाकार तथा नेपाल प्रहरी ब्यान्डबाट मौलिक सांस्कृतिक प्रस्तुति।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया