चैत्र पूर्णिमाको अवसरमा मानिँदै आएको ‘बौद्ध तेमाल जात्रा’ सुरु भएको छ। चैत पूर्णिमाको अघिल्लो दिन आज बौद्धबाट शुरू भएर पूर्णिमाको दिन भोली स्वयम्भूमा पुगेर समापन हुने मेलाको पहिलो दिन आज बौद्धमा विहानै पितृजनहरूको सम्झनामा ङोवा‚ मोलम गर्नेहरूको भीड बढेको छ ।
बौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा राष्ट्रिय बौद्व तेमाल जात्रा मूल व्यवस्थापन समिति बनाई जात्राको आवश्यक व्यवस्थापन गरेका छन् । समितिले जात्रालाई व्यवस्थित गर्नका लागि स्वयंसेवक र सुरक्षाकर्मीहरूको समेत व्यवस्था गरेको छ। समितिले जात्रामा प्राथमिक उपचारका लागि स्वास्थ्य सेवको पनि व्यवस्था गरेको छ।
बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रूपमा रहेको जीवन्त पर्व हो। चैत पूर्णिमा अघिल्लो दिन मृतकका नाममा बौद्धमा ङोवा‚ मोलम गर्ने र पूर्णीमाका दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गर्ने गरिन्छ।