बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०८२ वैशाख १ गते हुने भएको छ । महोत्सव शंखरापुर नगरपालिका वडा नं. ८ स्थित निर्माणधीन बुद्ध पार्कमा बज्रयोगिनी मणिचुड पर्यटन प्रवर्द्धन समितिले आयोजना गर्न लागेको हो ।
ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्र मणिचुडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको बज्रयोगिनी मणिचुड पर्यटन प्रवर्द्धन समितिले जनाएको छ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बज्रयोगिनी र मणिचुड क्षेत्रको महत्वबारे सचेतना फैलाउने गतिविधिहरू समावेश गरिनेछ। सचिव ग्लानका अनुसार यस महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने र यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्नेछ।
समितिका अध्यक्ष वीर बहादुर घ्लान तामाङले महोत्सवले स्थानीय समुदायको सहभागिता र पहिचान उजागर गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । “हामी हाम्रो सम्पदा देखाउने मौका पाउँदैछौं, यो केवल उत्सव होइन, हाम्रो पहिचानको उत्सव हो,” उनले भने।
भोलि हुने पर्यटन महोत्सवको तयारीमा स्थानीय युवा, सामाजिक सङ्घसंस्था र पर्यटन व्यवसायीहरू समेत तयारीमा जुटिरहेको समितिको सचिब युनिकरक्षे ग्लान तामाङ्ले जानकारी दिए।
महोत्सवमा स्थानीय तामाङ नेवार समुदायको झाँकीसहित सांस्कृतिक कार्यक्रम रहेको उनले बताए ।
सचिब तामाङले भने, `पर्यटन महाेत्सव बैशाख १ गते प्रत्येक बर्ष मनाईन्छ । यसलाई स्थानीय पाठ्यक्रमको पठनपाठनमा समेत समावेश गरिसकेकोले छ ।´
यस क्षेत्रबाट काठमाडौँ लगायत आसपासको मनोरम दृश्यका साथै विभिन्न हिमालको दृश्यावलोकन प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।
समितिले यस अघि २०७३ सालबाट सुरुवात गरी २०७६ साल सम्म सभ्य र भव्य रूपमा महोत्सव आयोजना गरेको थियो ।