बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ ।
बज्रयोगिनी मणिचुड पर्यटन प्रवर्द्धन समितिले शंखरापुर नगरपालिका वडा नं. ८ मा रहेको बज्रयोगिनी मन्दिर र शंखरापुरको शीर मणिशैल पर्वत मणिचुड कुण्डको महत्त्व र गरिमालाई उजागर गर्दै, बुद्ध शान्तिपार्क मणिचुड र बज्रयोगिनीमा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको थियो।
महोत्सवमा स्थानीय कलाकारहरुदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सव उल्लासमय बनेको थियो ।
महोत्सवलाई सम्बोधन गर्दै शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले महोत्सवले यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन भएको उल्लेख गरे । उनले यो महोत्सवलाई निरन्तर गराउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन् ।
यस्तै महोत्सवमा ८ नं वडाका वडाध्यक्ष पोते थिङले महोत्सवले यस स्थानको प्रचारप्रसारमा थप टेवा पुगेको बताए । उनले भने‚ ‘बज्रयोगिनी मणिचुड यस नगरका शान हो‚ पर्यटन प्रवर्द्धनका लागि हामीले यस्ता कार्यक्रमहरु गरिरहनुपर्छ ।’
समितिले प्रत्येक वर्ष वैशाख १ गते महोत्सव मनाउँदै आइरहेको छ । यसलाई स्थानीय पाठ्यक्रमको पठनपाठनमा समेत समावेश गरिसकेको छ । यो पर्यटन समितिको ऐतिहासिक सफलता सावित भएको छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनहरूको प्रदर्शनी थियो ।
कार्यक्रममा एमालेका नेता पुर्व नगरप्रमुख सुवर्ण श्रेष्ठ, एकीकृत समाजवादीबाट एलपी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) बाट निरज केसी, वडाअध्यक्षहरुको प्रतिनिधित्व गर्दै शंखरापुर–१ का वडाध्यक्ष वेदनारायण दंगाल ‘बाबुराम’ र नगरका दलीय प्रतिनिधित्व गरि समाजवादीका नगर अध्यक्ष श्यामकुमार वाइबा, नेपाली काँग्रेसबाट नगर उपसभापति अमित प्रधान, माओवादी केन्द्रबाट नगर उपाध्यक्ष अर्जुन घ्लान र राप्रपाबाट नगर उपाध्यक्ष विजयाकुमारी वाईबा लगायतका विभिन्न दलका वक्ताहरुले सम्बोधन गर्दै महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने र यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन बताएका छन् ।
महोत्सवलाई समितिका अध्यक्ष वीरबहादुर घ्लानले हामी हाम्रो सम्पदा देखाउने मौका पाएका छौं, यो केवल उत्सव होइन, हाम्रो पहिचानको उत्सव रहेको बताए । घ्लानका अनुसार पर्यटन समितिको पहलमा बुद्ध मुर्ति निर्माणको केही कामहरु भएको र अबको हप्ता दिन भित्र बुद्धको मुर्ति निर्माण गर्न ६ करोड ७५ लाखको बहुवर्षे ठेक्का पठाउने तयारीमा रहेको उल्लेख गरे ।
महोत्सवलाई संगीतमय बनाउनका कलाकार प्रतिक मोक्तान‚ सुमिना लो‚ गीता तामाङ‚ सुर्यमणि आचार्य‚ विवीसी च्याङ्बा लामा, डम्बर थिङ, आइसिङ लामा, राजकुमार पुडासैनी, श्याम मोक्तान स्वरन, राजु घिसिङ तामाङ, अशोक मोक्तान, लगायतको प्रस्तुतिले नयाँ वर्षसँगै गुन्जयमान भएको थियो ।
महोत्सवमा झाँकी‚ ताम्बा‚ लामा‚ बोन्बो लगायत प्रस्तुतिहरुले महोत्सवमय बनाएका थिए ।
कार्यक्रम शंखरापुर नगरपालिका र विशेष गरि ५ र ८ बाट विभिन्न क्षेत्र र विषयमा सफलता हासिल गर्ने व्यक्तित्वहरु, युवा क्लब र सामुदायिक वन समितिलाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा लेख्चरर उदय थिङ, सिए सविता घ्लान लामा, अधिवक्ता सुनिता मोक्तान तामाङ, सिभिल ईन्जिनियरद्वय सोमराज लामा र मनिषा मोक्तान, खेलाडीद्वय विजयाकुमारी वाइबा र पुकार श्रेष्ठ, काठमाडौं जिल्लाको प्रथम हुन सफल बज्रयोगिनी उग्रतारा सामुदायिक वन उपभोक्ता समितिसँग क्लबहरुमा घुमारचोक युवा क्लब, शंखरापुर लप्सेली युवा क्लब, भुल्बु युवा क्लब, शंखरापुर–४ युवा क्लब र मणिचुड तामाङ युवा क्लब सम्मानित भएको थियो ।
यस क्षेत्रबाट काठमाडौँ लगायत आसपासको मनोरम दृश्यका साथै विभिन्न हिमालको दृश्यावलोकन प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।
कार्यक्रम संचालन गर्दै समितिका सचिव रक्षेबहादुर तामाङ ‘युनिक’ ले समितिले यस अघि २०७३ सालबाट सुरुवात गरी २०७६ सालसम्म सभ्य र भव्य रूपमा महोत्सव आयोजना गरेको थियो । त्यसपाश्चत कोरोना महामारी रोग लगायत विविध कारणबस स्थगित महोत्सवलाई यसवर्षबाट पुन: निरन्तर दिइएको छ । आर्थिक मन्दीको चरम अवस्थामा शंखरापुर नगरपालिका र छिमेकी कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका‚ सहयोगी संघसंस्था र सहयोगी मनहरुबाट प्राप्त स्रोतबाट कार्यक्रम गरिएको हो ।