साँखु वज्रयोगिनीदेवीको जात्रामा तामाङ जातिको सहभागिता

काठमाडौँ

साँखुका तामाङ जाति

प्राचीन ऐतिहासिक, धार्मिक र पुरातात्विक साँखु नगरको पृष्ठभूमिमा मणिचुड पर्वत पर्दछ। जहाँ पौराणिक मणिचूड दहका साथै बज्रयोगिनीदेवीको लिच्छविकालीन मन्दिर रहेको छ। यसै मणिचूड पर्वत श्रृङ्खलामा भने तामाङ जातिको प्राचीन बस्ती रहेको छ। जसलाई साँखुका नेवारहरुले सँदे अर्थात् भोट देश भन्दछन्। जसमा मणिचूड, लप्चफेदी, घुमारिचोक, बोजिनी, नाङ्लेभारे, जहरसिंह पौवा, पटाप, चाँगु, नाल्दुम र नगरकोटलगायत क्षेत्रहरु पर्दछन्। यहाँका तामाङ बासिन्दाहरुलाई नेवारहरुले सेंमी भन्दछन्। यही सँदे अर्थात् भोट क्षेत्रभन्दा तलको नगर बस्तीलाई नेवारहरु साँखु भनेर भन्दछन्। यही सँदेको मूलदेवीको रुपमा वज्रयोगिनी र रक्षकदेवको रुपमा वज्रवीर महांकाल पर्दछन्। तामाङहरु वज्रयोगिनीलाई इष्टदेवता र महांकाललाई रक्षक देवताको रुपमा चैत्र दसैँ र असोज दसैँमा पूजाआजा गर्ने गर्दछन्।

तामाङ इतिहासका कुरा

स्वयम्भू पुराणअनुसार प्राचीनकालमा काठमाडौँ उपत्यका नागदहको रुपमा रहेको थियो। सोही दहमा बन्धुमति नगरबाट आएका विपश्वी बुद्धले नागार्जुन पर्वतमा तप गरी बसेका बखत चैत्रशुक्ल पूर्णिमाको दिन कमलको फूलको बीज रोपेका थिए। सोही बीजबाट फूलेका कमलको फूलका पातहरुमा आश्विनशुक्ल पूर्णिमाको दिन पञ्चरश्मी ज्योति स्वयं उत्पन्न भएको थियो। जसको दर्शन गर्न बोधिसत्व मञ्जुश्री आफ्ना शिष्यहरुकासाथ महाचीनको पञ्चशीर्ष पर्वतबाट भोट हुँदै काठमाडौँ उपत्यका झरेका थिए। मञ्जुश्रीसँगै आएका शिष्यहरुमध्ये तामाङहरु पनि थिए। सोही बखतदेखि तामाङहरु साँखु क्षेत्रलगायत काठमाडौँ उपत्यकाक वरिपरिका पर्वतहरु बसोबास गरिरहेका हुन भनिन्छ।

त्यसै गरी बोधिसत्व मञ्जुश्रीलाई वज्रयोगिनीदेवीले साँखुमा बास बस्दा नाग दहको पानी बाहिर पठाउन आदेश दिएर आफ्नो चन्द्रहाँस खड्ग उपहार दिएकी थिइन्। काठमाडौँ उपत्यकाको नागदहको पानी बाहिर पठाई मञ्जुश्रीले नजिकै पुगेर स्वयम्भू ज्योतिको दर्शन गरे। त्यसपछि आफ्ना शिष्यहरुलाई बस्नका लागि मञ्जु पत्तन सहर निर्माण गरेर महाचीन फर्के। महाचीन फर्कर्ने क्रममा बोधिसत्व मञ्जुश्रीले साँखुको वज्रयोगिनीदेवीको पुनः दर्शन गरे। त्यसपछि उनले देवीले प्रदान गरेको चन्द्रहाँस खड्गका साथमा नागदहबाट ल्याएको कमलको फूलको पात चढाएर साँखुमा नै अन्तरध्यान भई महाचीन प्रस्थान गरेका थिए भनिन्छ।

ऐतिहासिक किंवदन्तीअनुसार लिच्छवि राजा धर्मदेवले काठमाडौँमा पानीको हाहाकार भएको बखत नागायणहिटी धारा बनाएका थिए। तर, सो धारामा पानी नआएकोले उनले राजज्योतिषहरुसँग सल्लाह गर्दा उक्त धारामा ३२ लक्षणले युक्त मानिसको भोग दिएपछि मात्र पानी आउने भन्ने देखियो। सोही क्रममा नेपाल राज्यमा राजा धर्मदेव र युवराज मानदेव मात्र ३२ लक्षणले युक्त भएका मानिस रहेका थिए। यसैले राजा धर्मदेवले जनकल्याणका लागि आफूले निर्माण गरेको धारमा पानी आओस् भन्ने हेतुले शुभ साइतका दिन जो कोही यस धारमा सेतो बस्त्रले सुतेर बसेको हुन्छ। उसको शिर नहेरी टाउको छिनाली बलि दिनु भनेर युवराज मानदेवलाई आज्ञा दिए। युवराज मानदेवले पनि बावुको आज्ञा शिरोपर गर्दै थाहा नपाई बावुको टाउको छिनाउनासाथ धारामा पानी आयो। बावुको टाउको उडेर वज्रयोगिनीमा पुगेको थियो भनिन्छ। जसका कारण राजा मानदेवलार्इ पनि पितृहत्याको पाप लाग्यो। जसको पश्चाताप कसरी हुन्छ भनेर मानदेव वज्रयोगिनीदेवीको शरणमा परे। वज्रयोगिनीले आफ्नो वाहन एक कुखुरा (चरा)लाई उडाई दिए। यो चरा जहाँ गएर बस्छ, त्यही एउटा चैत्य बनाउनु भनेर देवीले आदेश दिइन्। जसका कारण युवराज मानदेवले बौद्ध क्षेत्रमा खास्ती चैत्य बनाएको हो भनेर मानिन्छ। ऐतिहासिक रुपमा यस खास्ती चैत्य मानदेवले नै निर्माण गरेका हुन भनेर पुष्टि गर्ने आधार छैन। तर, पितृहत्याको प्रायश्चित गरेर बनाएका कारण बौद्ध चैत्यमा राजा मानदेवले शिलालेख राखेनन् भन्ने मेरो ठम्याई छ। यसका साथै बौद्ध चैत्यमा मामको जात्रा, स्वस्थानी पूर्णिमा सकिएपछि माम र स्वयम्भूको अजिमा चैत्र पूर्णिमाको जात्रा सकिएपछि वज्रयोगिनीको जात्रा हेर्न साँखू जाने गर्दछिन् भन्ने किंवदन्तीसमेत रहेको छ। वंशावलीहरुले भने उनका बाजे बृषदेवले बौद्ध चैत्य बनाएका हुन् भनेका छन्। जे भए पनि वज्रयोगिनीदेवीसँग स्वयम्भू र बौद्ध चैत्यको बीचमा प्रत्यक्ष सम्बन्ध रहेको छ।

त्यसैले साँखुलगायतका तामाङहरुले बौद्ध चैत्यलाई अति श्रद्धा गरेर पूजामात्र होइन, पितृ उद्धारका लागि हरेक वर्षको चैत्र पूर्णिमाको अघिल्लो दिन र चैत्र पूर्णिमाको दिन प्रदक्षिणा गरेर दीप प्रज्योलित गरेर पूजाआजा गर्ने गर्दछन्। यता साँखुमा वज्रयोगिनीको जात्रा समापन भए पश्चात आफ्नो सीमा क्वागलमा आइ पुगेको बज्रयोगिनीदेवीलगायतका खटहरुलाई मूल मन्दिरसम्म बोकेर पुर्‍याउने काम परम्परादेखि गरेका छन्। यसबाट पनि क्वागतदेखि मणिचूड पर्वतको भोट इलाकामा साँखुका तामाङहरुको स्वशासन अर्थात् राज्य चल्दथ्यो भन्न सकिन्छ।

यसका साथै तिब्बतका राजा स्रोङचन गम्पोसँग अंशुवर्माकी छोरी भृकुटीको स्वयंवर र विवाह पनि साँखुको वज्रयोगिनी मन्दिरमा नै भएको हो भन्ने ऐतिहासिक कथन छ। कसै कसैले तिब्बतका राजा स्रोङचन गम्पोका सेनाहरु मध्येका केही तामाङ सेनाहरु नफर्की साँखु लगायत वरिपरिका पर्वतहरुमा राज गरी बसेका हुन् पनि भन्दछन् । जसका कारण नेवारहरुले तामाङलाई “सेँ” र तामाङहरुले नेवारहरुलाई “ख्येँ” भन्ने गर्दछन्। त्यसैले साँखुका नेवारहरुले वज्रयोगिनी मन्दिर वरिपरिका तामाङ इलाकालाई सैँदे अर्थात् भोटेहरुको देश भन्ने गर्दछन्। यसपछि आरम्भ भएको नेपाल भोट र चीनसँगको व्यापारमा नेवारहरु व्यापारीको रुपमा त तामाङहरु भरियाको रुपमा सक्रिय सहभागिता रहेको थियो। जसका कारण व्यापारिक मार्गमा परेको साँखु नगरको विकास, निर्माण र संवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। जुन व्यापारीकसम्बन्ध मल्लकालको अन्तसँगसँगै क्रमशः घट्दै गएर राणाकालमा अन्त भएको छ।

आलेखको उद्देश्य

प्रस्तुत आलेख सैलुङ अनलाइनमा मिति २०८१ चैत्र २३ गते प्रकाशित साँखुको वज्रयोगिनी जात्राको नालीबेली (भाग–१)को दोस्रो भाग हो। यस आलेखमा प्राचीन कालदेखि साँखुको वज्रयोगिनी मन्दिरको वरिपरि बसोबास गर्ने तामाङ जातिको यस जात्रामा प्रत्यक्ष रुपमा किन सहभागिता नरहेको होला ? तर, साँखु नगरमा भब्य रुपमा लाग्ने वज्रयोगिनीको जात्रा सकिएपछि नवौँ दिनको दिन साँखु नगरका व्यापारी नेवारहरुले किन ? वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी  र जागेश्वर चैत्यको खटलाई क्वागलमा लगेर छोडेका होलान्। यसरी छोडेका वज्रयोगिनीदेवी, लगायतका खटहरुलाई तामाङहरुले मात्र काँधमा बोकेर मूल मन्दिर अर्थात् गुँ विहारसम्म जिम्मेवारीपूर्वक पुर्‍याउने गरेका हुन्। यस्ता प्रश्नहरुका सन्तुष्ट हुने उत्तरहरु यस लेखकले पनि हालसम्म प्राप्त गर्न सकेका छैनन्। तर पनि लेखक आफैँ जात्रामा सहभागी हुँदा विभिन्न व्यक्तिसँग गरिएका कुराकानीका टिपोटहरु, पुस्तक र पत्रपत्रिकामा समेटिएका सूचनाहरु एकीकृत गर्दै प्रस्तुत आलेख तयार गरी सामान्य विश्लेषण गर्ने प्रयास गरिएको छ। आशा छ, यस लेख प्रकाशित भए पश्चात प्रतिक्रिया स्वरुप महत्वपूर्ण प्रमाणहरु प्राप्त हुने अपेक्षा गरेको छु।

खटजात्रामा तामाङ सहभागिता

वज्रयोगिनी देवीको जात्राको बारेमा माथि सविस्तार चर्चा गरी सकिएको छ। वज्रयोगिनीदेवीको जात्रा सकेपछि नवौँ दिनको दिन मध्यान्हपछि साँखुका नेवारहरुले वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी र जागेश्वर चैत्यको खटलाई क्वागल खोलासम्म ल्याएर छोड्ने गर्दछन्।

यसपछि पूर्ण रुपमा मूलतः लप्चे (लप्सीफेदी), डाँडा कटेरी र धुमारी (कुमारी) चोकका तामाङहरुले वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी र जागेश्वर चैत्यको खटलाई काँधमा बोकने गर्दछन्। त्यसपछि उनीहरुले वज्रयोगिनीको मन्दिरको ठीक मुनि रहेको महाकाल थान अर्थात् शंकराचार्यले भत्काएको मानेको विपरित दक्षिण दिशातर्फ रहेको प्राचीन पाटीसम्म पुर्‍याउने गर्दछन्।

जात्रामा रहेका एउटा खट बोक्न कम्तीमा ८ देखि १० जनासम्म बलिया युवाहरुको आवश्यकता पर्दछ। यसबाट जात्रामा रहेका ४ वटा खटहरु बोक्न कम्तीमा ४० जना तामाङहरुको आवश्यकता पर्ने देखिन्छ। त्यसमा क्वागलदेखि उकालै उकालो अप्ठ्यारो बाटोमा घण्टौँ लगायर चारचारवटा खट बोक्ने कार्य साँखु नगरदेखि माथि बसेका बलिया तामाङहरुले गर्ने गरेका छन्।

साहित्यिक पुनरावलोकन र विज्ञ्हरुको धारणा

यस सन्दर्भमा यस लेखकले साँखुका वरिष्ठ अन्वेषक प्रकाशमान सक्व श्रेष्ठसँग तामाङहरुले मात्र किन क्वागलदेखि खट बोकेर मूल मन्दिरसम्म पुर्‍याउने गरेका हुन भनेर कुराकानी गर्दा खासै गहकिलो कारण प्राप्त भएन। तर, उनैद्धारा लेखिएका पुस्तक ‘मणिचूडदेखि रत्नचूडसम्म’ मा भने उहाँले यस्तो धारणा राख्नु भएको छ-  “…साँखुको वज्रयोगिनीको जात्रा सकिएपछि क्वागलदेखि खट बोक्नका लागि मणिचूड, नाङ्लेभारे, जहरसिंह पौवा, पटाप, नगरकोट, चाँगु खोरिया स्थानका तामाङहरुको सहभागिता रहन्छ।…”

तर, उहाँले पनि किन ? के कति ? कारणले जात्रा समापनपछि उकालो बाटोमा मात्र तामाङहरुलाई खट बोकाइएको हो भनेर आफ्नो पुस्तकमा कारण खुलाउनु भएको छैन। यसरी स्थानीय लेखक एवम् अन्वेषक मौन रहनुमा अवश्य पनि केही न केही कारण होला ? भनेर जो कोहीले अनुमान गर्न सक्दछन्।

त्यसै गरी डिल्लीराज शर्मा र टेकबहादुर श्रेष्ठले ‘SANKHU: Historical and Cultural Heritage’ नामक अनुसन्धानात्मक अङ्ग्रेजी पुस्तकमा यसरी उल्लेख गर्नु भएको छ-

“The eighth day is called thanha bijya. On this day, the katha of the godess along with chaitya, simhini and byaghrini, returns to the original place. before their departure, a homa ritual sacrifice in the fire _is perforrmed in the town, where everyone can take part. at the time of goddesses return, the kath of simhini leads the other khaths such as byaghrini, vajarayogini and lastly the khath of jogeswor . the shows the traditional order on the returning back of the khatas of goddess and chaitya near kolagal . regarding this activity, there is a common belief that the goddess is considered as the daughter of sankhu whereas the chaitya is the husband of the goddess. Therefore, the moment of her departure from her natal home is not a pleasant one. this is indicated in the slow movement of khata of the goddess while going back.

The Job of carrying the kata up the sloply hill is difficult moment for all. for this, local Tamang group helf to carry the katha in steep way as they have long experience on it. there is also the belief that from kolagal the tamangs normally takes the charge of responsibility to climb the hill. Therefore, it exhibits the combination of low land people and high land people in the festibal.

When the goddess reaches her original place, jatra is considered almost ended.”

अर्थात्

“… आँठौ दिनलाई थान बिज्या भनिन्छ। यस दिन चैत्य, सिंहिनी र व्यघ्रिनीसहित देवीको खट पुरानै स्थानमा फर्किन्छ। तिनीहरुको प्रस्थान गर्नु अघि सहरमा होम (आगोमा अनुष्ठान बलिदान) गरिन्छ। जहाँ सबैले भाग लिन सक्छन्। देवी फर्कर्ने बेला सिंहिनीको खटले ब्याघ्रिनी, वज्रयोगिनी र अन्तिममा जागेश्वरको खटजस्ता अन्य खटहरुको नेतृत्व गर्दछ। यसले देवी फिर्ता फर्कने क्रम देखाउँछ। क्वागल नजिकै खट र चैत्यको अगाडि र पछाडि बढेको प्रक्रिया हेर्न पनि रोचक छ। यस कार्यको सन्दर्भमा देवीलाई साँखुकी छोरी र चैत्यदेवीको पति मानिने जन विश्वास रहेको छ। त्यसकारण, उनको जन्मको घरबाट उनको प्रस्तानको क्षण सुखद छैन। यो देवीको खटको सुस्त गतिमा फर्कने क्रममा संकेत गरिएको छ। जब खटलाई भिरालो पहाडमा लैजाने काम सबैका लागि कठिन क्षण हो। यसका लागि स्थानीय तामाङ जातिका समूहले अनुभव भएकाले ठाडो बाटोमा खट बोक्ने गरेका छन्। क्वागलबाट सामान्यतया पहाड चढ्ने जिम्मेवारी तामाङहरुले लिने जनविश्वास छ। तसर्थ, यसले जात्रामा होचो जमिनका मानिसले उच्च भूमिका मानिसहरुको संयोजन प्रर्दशन गर्दछ। जब देवी आफ्नो स्थानमा पुगेपछि जात्रा लगभग समाप्त भएको मानिन्छ।…”

Centre for Nepal and Asian Studies द्वारा  गरिएको  शर्मा र श्रेष्ठको अध्ययनले वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी  र जागेश्वर चैत्यको खटलाई क्वागलदेखि “गुँ” विहारसम्म बोक्ने कार्यमा तामाङहरुलाई विशेष अनुभव भएकोले जिम्मेवारी दिइएको हो भनेर उल्लेख गर्नु भएको छ। यसबाट एकातिर तामाङहरुलाई राज्यले नै खट बोक्ने जिम्मेवारी दिएको सङ्केत गर्दछ। तर, उहाँहरुले यस्तो अनुसन्धानात्मक पुस्तकमा पनि के, कति कारणले कहिलेदेखि तामाङहरुलाई जात्रा सकिएपछि उकालो र अप्ठ्यारो बाटोमा खट बोक्न दिइएको हो भन्ने खुलाउनु भएको छैन।

क्वागलदेखि खट बोके वापत भोज र सुविधा

यसरी वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी र जागेश्वर चैत्यको खटलाई बोकेर कार्य सम्पन्न गरे वापत लप्चे (लप्सीफेदी), डाँडा कटेरी (कचहरी) र तल्लो/माथिल्लो धुमारी/कुमारी चोकका तामाङहरुलाई वज्रयोगिनीका पुजारी वज्राचार्यहरुले साँझपख ४–५ बजेतिर भोज खुवाउने गर्दछन्। यस प्रकारको भोजमा जाँड, चिउरा, सादेको भटमासको अचार, राँगाको मासुको झोल, गेडागुडी र सागपात हुने गर्दछ।

खट बोके बापत तामाङहरुलाई विशेष सुविधा

तामाङहरुले वज्रयोगिनी देवीको मन्दिरमा हरेक वर्षको चैत्र दसैँ र असोज दसैँको फूलपाती अर्थात् सप्तमीका दिन नियमित रुपमा र भाकल पूरा भएको उपलक्ष्यमा विशेष रुपमा मन्दिरमा पूजाआजा गर्ने गर्दछन्। तामाङहरुले पूजा वा भाकल गर्दा प्रायः कुखुरा वा बोकाको बलि दिने गर्दछन्। यसरी बलि दिदा तामाङहरुले बलि दिन लागेका पशुपन्छीहरु वज्रयोगिनी मन्दिरमा लगेर पर्सने गर्दछन्। त्यसपछि देवीको मन्दिरभन्दा मुनी रहेको वज्रवीर महांकालको शिला पुगेर स्वजातीय पाका मानिसहरुबाट बलि दिने गर्दछन्। यसरी बलि दिदा कुखुराको भाले भए सोको टाउको र बोका भए गर्धन पुजारीलाई दिनु नपर्ने परम्परा रहेको छ। जसलाई वज्रयोगिनीदेवीको जात्रा सकेपछि क्वागलदेखि देवीको मन्दिरसम्म काँधमा बोकेर पुर्‍याए वापत प्राप्त गर्ने लाभ हो भनेर स्थानिय युवा उदय थिङ र युनिक रक्षा ग्लान बताउनुहुन्छ।

खट बोक्ने परम्पराको विश्लेषण

साँखु नगरका (हिडेर आधा घण्टा लाग्छ) नेवारहरुले जात्रा आरम्भका बेला वज्रयोगिनीदेवी लगायतका खटहरु शुभ साइतमा ओरालो र सहजबाटोमा नेवारहरुले बोक्ने गर्नछन् भने जात्रा सकिएपछि अर्थात् साइत सकिएपछि वज्रयोगिनीदेवी लगायतका खटहरु मूल मन्दिरसम्म दुई किलो मिटरको उकालै उकालोको ढुङ्गे सिढीका अप्ठ्यारो बाटोमा तामाङहरुले काँधमा बोकेर पुर्‍याउने गर्दछन्। पहिलेपहिले जात्रा सन्ध्याकालमा सकिने र तामाङहरुले खट रात्रीकालमा नै बोक्नुपर्ने थियो। तर, हाल जात्रा मध्यान्हमा नै सकेर क्वागलमा नेवारहरुले ल्याउने र तामाङहरुले पनि साँझ पर्नु अगावै खट बोकेर मन्दिरमा पुर्‍याउने गरेका छन्। तर, के, कति कारणले तामाङहरुले मात्र  खट बोक्नु पर्ने बाध्यात्मक परम्परा आरम्भ भएको हो ? सो खोजको विषय रहेको छ। प्रस्तुत आलेख प्रकाशन भए पश्चात पाठक प्रतिक्रियासहित सत्यतथ्य प्रकाशनमा आउने कुरामा भने म विश्वस्त रहेको छु।

ऐतिहासिक सामग्री नपाइएका कारण किटानीसाथ यसै कारण वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी  र जागेश्वर चैत्यको खटलाई तामाङहरुलाई बोकाइएको हो भनेर यसै भन्न त सकिँदैन। तापनि साधारण रुपमा जात्रा अवलोकन गरेर विश्लेषण गर्दा या त अनुभवी भएकोले, या त बलिया भएकाले, या त भरिया (पिपा) भएकाले, या त बज्रयोगिनीको गुठीका जग्गा कमाएकाले, या त बज्रयोगिनीको मन्दिर तामाङ भूगोलमा पर्ने भएकोले, या त गाईको मासु खाने अहिन्दू जाति भएकोले, या त आठ दिने जात्रामा नेवारहरुले रथ बोक्दा बोक्दा थकित भएका जस्ता कारणहरुमध्ये कुनै न कुनै एक कारणले तामाङहरुलाई खट बोकाइएको हो भनेर जो कोहीले भन्न सकिन्छ।

तर, साँखु देशमा तामाङ जातिहरुको आबादी आदिवासीको रुपमा प्राचीनकालदेखि नै रहेको कारण मूल जात्रामा तामाङहरु ऐच्छिक रुपमा दर्शकको रुपमा मात्र सहभागिता हुने गरेको छन्। जात्राको समापनपछि देवदेवीहरुका मूर्तिसहितको खटहरु बोकेर अप्ठ्यारो अनि मूल मन्दिरसम्म पुर्‍याउने जिम्मा समावेशिता सहभागिताको नाममा कहिले (लिच्छविकालदेखि वा वा मल्लकाल) देखि पाएका हुन भन्ने कुरा खोजको कुरा रहेको छ।

गोरखा राज्यमा विलय हुनुपूर्व साँखु उपत्यका काठमाडौँ राज्य अन्तर्गत रहेको थियो। जसका कारण वज्रयोगिनीको जात्रामा काठमाडौँका अन्तिम राजा जयप्रकाश मल्ल स्वयं उपस्थित भएको पाइन्छ। जयप्रकाश मल्लका सेनामा तामाङहरु भोटे अर्थात् कम्बुज नामक सेनाको रुपमा रहेका कारण कतै साँखुका नेवारहरुले जात्रा सञ्चालन गर्दा राज्य अर्थात् मल्ल शासकहरुबाट मौखिक आदेश जारी गराएका थिए कि ? भनेर अनुमान गर्न सकिन्छ। यसबाट तामाङहरुले मल्लकालदेखि बाध्यात्मक रुपमा खट बोक्ने गरेका हुनु पर्दछ भनेर अनुमान भने गर्न सकिन्छ। तर, ऐतिहासिक सामग्री नपाएसम्म भने किटानी गरेर यसै भन्न सकिने अवस्था छैन।

तामाङ ऐतिहासिक, धार्मिक र सांस्कृतिक आयाम

त्यसै गरी जात्रा समापनपछि वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी र जागेश्वर चैत्यको खटलाई बोकेर लग्दा वज्रयोगिनीदेवी माइत (साँखु वजारको चलाखु टोल) बाट घर गाउँ (गुँ विहार) जान लागेको भन्ने भनार्इ रहेको छ। यस परम्परालाई पनि तामाङ संस्कृतिको आधारमा हेर्दा सामान्यतया तामाङ दाजुभाइले आफ्ना चेलीबेटीहरुलाई माइतबाट घरतर्फ विवाह संस्कार गरेर पठाउँदा मात्र बोक्ने प्रचलन रहेको छ। तामाङ संस्कार अनुसार कुरा गर्ने हो भने साँखुका नेवारहरु ज्वाइँ अर्थात् म्हा परे अर्थात् साँखु वज्रजोगिनीको घर जेठानसालाको पर्‍यो। जात्रा गर्न घर आउने जात्रा सकेपछि घर फर्कनु पर्ने परम्परा कुनै पनि तामाङ सामाजिक संस्कारसँग नमिल्ने देखिएको छ। यसबाट माइत होइन माई थान जाने भनेको हुनुपर्छ। यही माई थान जाने भन्दाभन्दै माइत भएको हुन सक्छ।

धार्मिक दृष्टिकोणबाट हेर्दा तामाङहरु लामा बौद्ध धर्म मान्दछन्।  यसरी हेर्दा उपत्यका वरिपरिका तामाङहरुमध्ये केही तामाङ थरको वज्रयोगिनी अर्थात् उग्रतारादेवी अर्थात् दोर्जेफामो (नालज्योरमो)को रुपमा सम्बोधन गर्दछन्। त्यसैले देवीलाई केही तामाङ थरले कुलदेवीको रुपमा र अधिकांश तामाङ थरहरुले इष्टदेवीका रुपमा मान मनितो मात्र गरेको पाइन्छ। तर, साँखुको जात्रासँग साँखु नगरको माथिल्लो भेग अर्थात् भोटका भोटे तामाङहरुको खासै गहिरो सम्बन्ध रहेको देखिदैँन। त्यसो त वज्रयोगिनीको जात्रामा तामाङहरुको खट बोक्ने बाहेक अन्य कुनै धार्मिक र सांस्कृतिक गहिरो भूमिका भएको देखिँदैन। यसरी हेर्दा बाध्यात्मक रुपमा तामाङहरुले खट बोक्नु पर्ने कारण सांस्कृतिक र धार्मिक रुपमा नभई राजनैतिक कारण हुन सक्ने देखिएको छ।

यस लेख तयार गर्दा भने पञ्चायतकालीन समय (विसं. २०२१/२४ सालतिर) केही घटनाको जानकारी प्राप्त भएको छ। उदय थिङ तामाङले दिनु भएको जानकारी अनुसार  “पञ्चायतकालमा वज्रयोगिनीको जात्रा हुँदै गर्दा एक पटक जात्रामा सहभागी नेवारहरुका बिचमा भीषण झैझडा भएको थियो। सोही बखत खटहरु क्वागलमा पुगेका थियो। झैँझगडाका कारण खटहरु अलपत्र भई रहेका बखत वज्रयोगिनीदेवीका पुजारीहरुको अनुरोधमा तामाङहरुले खटहरु बोकेर मन्दिरसम्म पुर्‍याएर जात्रा सम्पन्न गरेका थिए रे। त्यसै गरी यसो गरे वापत वज्रयोगिनीदेवीका पुजारीहरुले मन्दिरमा चाडपर्वमा वा भाकल पूजा गर्न तामाङहरु आएमा, महांकाल थानमा बलि दिएका पशुपन्छीमध्ये कुखुरा भए टाउको र बोका भए गर्धन दिनु नपर्ने भएको हो रे!”  पनि भन्दछन्।

यस सन्दर्भमा लेखक तथा अन्वेषक प्रकाशमान सक्वसँग बुझ्दा उहाँले– “पञ्चायतकालमा अर्थात् साल यकिन भएन विसं. २०२१ देखि २०२४ सम्मका कुनै वर्षमा वज्रयोगिनीको जात्रामा खट बोक्ने जाँडरक्सी खाएका नेवारहरु बिच विवाद बढेर झगडा भयो। त्यसपछि तामाङहरुले सो दिन खट बोक्न पाएन। पछि विवाद साम्य भएपछि भने तामाङहरुले खट बोकेर मन्दिरमा पुर्‍याएका थिए। सोही विषयलाई लिएर पञ्चायतकालमा गोरखापत्र वा साप्ताहिक पत्रपत्रिकाहरुले जात्रामा झैझगडा भएपछि तामाङहरुले खट बोकेर मन्दिरसम्म पुर्‍याए भनेर समाचार प्रकाशन भएको थियो। यसले वज्रयोगिनीको जात्रामा तामाङहरुले खट बोक्ने परम्परा पञ्चायतकालदेखि मात्र आरम्भ भएको हो भनेर भ्रम स्थापित गरेको थियो। वास्तवमा वज्रयोगिनीको जात्रा समापन भएपछि क्वागलदेखि माईथानसम्म तामाङहरुले खट बोक्ने परम्परा जात्रा आरम्भ भएदेखि नै थियो” भनेर जानकारी दिन चाहन्छु। उहाँ अगाडि भन्नुहुन्छ– “यस सम्बन्धमा मेरो विचारमा अभिलेख पनि हुनु पर्दछ।”

सोही घटनाको बारेमा लेखक एवम् पूजारी अमृतानन्द वज्राचार्य भन्नुहुन्छ– “पञ्चायतकालमा वज्रयोगिनीको जात्रा आरम्भ भयो है भनेर चैत्र शुक्ल अष्टमीको दिनमा घोषणा गर्ने गरिन्छ। सो दिनको अघिल्लो दिन अर्थात् सप्तमीको दिन तामाङहरुले वज्रवीर महाकालको नाममा राखेका कुखुरा र बोकाहरु बलि दिन ल्याउने गर्दछन्। सोही क्रममा महांकाल थानका पुजारीले उनीहरुले बलि दिएका पशु पन्छीहरुको टाउको र गर्धन लिएका कारण तामाङ र पुजारीका बिचमा विवाद सिर्जना भयो। जसबाट ठूलो झगडा भयो। जसका कारण सो वर्ष तामाङहरुले खट पनि बोकेनन्। पछि अर्को वर्ष पञ्च भलादमीहरु बसेर तामाङहरुले महांकाल थानमा बलि दिएका पशुपन्छीहरु मध्ये कुखुरा भए टाउको र बोका भए गर्धन पुजारीहरुले नलिने भनेर विवाद मिलाइयो। सोही समाचार राजधानीबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाहरुमा छापिएको थियो। यसैको आधारमा तामाङहरुले वज्रयोगिनीको जात्रामा खट बोक्ने प्रचलन पञ्चाायतकालदेखि आरम्भ भएको हो भनेर भाष्य निर्माण हुन पुग्यो। वास्तवमा जात्राको प्रारम्भदेखि नै तामाङहरुले खट बोकेका हुन्। तामाङहरुले खट बोके बापत कुखुराको बलि दिएका भए टाउको र बोकाको बलि दिएका भए गर्धन सुविधा पाउने प्राचीन परम्परा नै हो।”

जात्रामा प्रायशः खट बोक्ने युवाहरु चाहे नेवार हुन वा तामाङहरु जो सुकै भए पनि उनीहरुले जाँड र रक्सीको सेवन गर्दछन्। जसका कारण जात्रामा झैझगडाहरु भैरहने संस्कृतिलाई सामान्य रुपमा लिनु पर्दछ। माथि उल्लेखित पञ्चायतकालीन एउटा घटना त बिम्ब मात्र हो। जसका कारणले मात्र वज्रयोगिनीदेवीको जात्राको समापन भएपछि तामाङहरुले खट बोक्ने परम्परा आरम्भ भएको हो भनेर भन्न सकिदैन। तामाङहरुले वज्रयोगिनी जात्राको खट बोक्ने परम्पराको इतिहास जात्राको आरम्भदेखि नै रहेको थियो। जो पछि परम्पराको रुपमा विकसित भएर वर्तमानसम्म आइपुगेको हो।

बरु ऐतिहासिक दृष्टिकोणबाट हेर्दा तामाङहरु नेपाल उपत्यकाको उत्पत्ति कालदेखि नै साँखुका आदिवासीको रुपमा रहेका र उनीहरुको लिच्छविकालदेखि र मल्ल कालसम्मका शासकहरुको राज्यका सुरक्षार्थ सैन्य सेवामा संलग्न रहेका देखिन्छ। यसका साथै तामाङहरुको सोही शासकका समयमा राज्यका सरसामग्री र नेवार व्यापारी वर्गहरुको भोट, तिब्बत र चीनसँगको व्यापारका सामग्री र कोसेलीहरु ओसारपसारमा भरिया एवम् पिपाको रुपमा सहभागिता रहेको पाइन्छ। यसबाट वज्रयोगिनीको जात्राको समापनपछिको अप्ठ्यारो बाटोमा चारचारवटा खट बोक्ने जिम्मेवारी शासकहरुले साँखु नगर बाहिर बसेका बलिया तामाङहरुलाई पेसाको आधारमा दिएको हुन सक्छ। ऐतिहासिक सामग्री नपाइएसम्म यो पनि खोजको विषय रहेको छ।

मातृसत्तात्मक जात्राको अवशेष

साँखुको वज्रयोगिनीदेवीलाई हिन्दू धर्मावलम्बीहरुले उग्रतारा दशमहाविद्यादेवी, मनकामना माताको र जगदम्बामाताको रुपमा लिने गर्दछन्। हिनयानी बौद्ध धर्मावलम्बीहरुले उग्रतारा र छ्वासाकामीनीका साथै महायानी तिब्बती बौद्ध धर्मावलम्बी लामाहरुले धोर्ज्ये फाम्बूको रुपमा मान्ने गर्दछन्। वज्रयोगिनीदेवीको पूजाआजा लामा पुरोहित वा वज्राचार्य पुजारीहरुबाट गरेमा सुख, शान्ति र सम्वृद्धि प्राप्त हुनुका साथै सङ्कट र विपतहरु हरेर मनोकामनाहरु पूरा हुने कुरामा विश्वास गर्दछन्।

साँखु नगरको निर्माणको इतिहास हेर्दा वज्रयोगिनीदेवीकै निर्देशनमा भएको पाइन्छ। यसबाट आरम्भमा वज्रयोगिनीदेवी लौकिक रुपमा रहँदा साक्षात रुपमा साँखुमा रहनु भएको थियो। सोही बखत हरेक वर्ष चैत्र शुक्लपूर्णिमाका दिन आफ्ना भक्तजनको सुखदुख बुझ्न र त्यसको निराकरण गर्ने व्यवस्थापन सल्लाह दिने मनसाय लिएर साँखु झर्ने गरेकी थिइन्। पछि वज्रयोगिनीदेवीले शरीर अलौकिक भएपछि अर्थात् छोडी गइसकेपछि उनको मूर्तिलाई प्रतिस्थापना गरेर बज्रयोगिनी मन्दिरमा राखियो। पछि हरेक वर्षको चैत्रशुक्ल पूर्णिमाको दिन वज्रयोगिनीदेवीको मूर्तिमा वज्राचार्य पुजारीहरुले तान्त्रिक रुपबाट पूजाआजा गरेर प्राणप्रतिष्ठा गर्ने कार्य गरे। अनि आठ दिन साँखु बजारमा जनताको सुखदुःख बुझ्न र त्यसको निराकरण गर्ने प्रतीकात्मक र विम्बात्मक स्वरुपमा वज्रयोगिनी लगायतका मूर्तिहरु मूल मन्दिरबाट साँखु नगरमा खटमा राखी प्रर्दशन गर्ने कार्य गर्ने गरियो। सोही प्रदर्शन गर्ने कार्य नै दिन चैत्रशुक्ल पूर्णिमादेखि आारम्भ भएर चैत्रशुक्ल सप्तमीसम्म रहेको छ। जसलाई नै कालान्तरमा वज्रयोगिनीको जात्राको रुपमा स्थापित हुन गएको हो।

यसबाट पनि काठमाडौँको साँखु क्षेत्रमा किरात, लिच्छवि र मल्लकालसम्म पनि नेपालमा मातृसत्तात्मक राज्य र बौद्ध धर्म समाज रहेको थियो भनेर एकातिर स्पष्ट हुन्छ भने अर्कोतिर साँखुको वज्रयोगिनीदेवीको जात्रा समापन समारोहपछि साँखुका तामाङहरुले अति श्रद्धा र भक्तिभाव राखेर इष्टदेवी लगायतका खटहरु बोकेर मन्दिरसम्म पुर्‍याउने प्राचीन परम्पराले पनि उनीहरु साँखु क्षेत्रकाका आदिवासी हुन भनेर पुष्टि हुन्छ।

अन्तमा,

साँखुका ५०–६० जना तामाङहरुले वज्रयोगिनीदेवीको जात्रा समापन भएपछि क्वागलदेखि माईथानसम्म हार्दिक रुपमा वज्रयोगिनीदेवी, सिंहिनी, ब्याघ्रिनी र जागेश्वर चैत्यको खटलाई काँधमा बोकेर माईको थानसम्म पुर्‍याएको दृश्य हेर्ने र अध्ययन गर्ने जो कोही अध्येताहरुलाई यस पटक अर्थात् मिति २०८२ साल वैशाख ७ गते आइतबारका दिन स्वर्णिम अवसर र मौका रहेको छ भन्दा फरक नपर्ला।

लेखनका उपयोग गरिएका

क. व्यक्ति स्रोतहरू

१. लेखक एवम् अनुसन्धानकर्ता प्रकाशमान सक्व
२. लेखक एवम् पुजारी अमृतानन्द वज्राचार्य
३. पत्रकार युनिक रक्षा ग्लान तामाङ
४. अन्वेषक उदय थिङ तामाङ
५. स्थानीय उज्वल तामाङ
६. स्थानीय बुद्धिबहादुर वाइबा तामाङ

ख. सन्दर्भ सामग्री

१.   Dilli Raj Sharma, Tek Bahadur Shrestha, 2016 , SANKHU, Historical and calture Heritage, Chapter seven,FAIR AND FESTIVAL, .CNAS.
२.   महेन्द्रदेव ठकु श्रेष्ठ, २०७६ : नेपालको लोक साँस्कृतिक उत्सवहरु , हेरिटेज पब्लिसर्स एन्ड डिष्ट्रिब्यूटर्स प्रा.लि, काठमाडौँ।
३.   ज्ञानेन्द्र विवश, २०७५ : साँखुका सम्पदा र वास्तुकला, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौँ।
४.   यज्ञमानपति वज्राचार्य, प्रकाशमान श्रेष्ठ, अमृतानन्द वज्राचार्य, २०७० :  नमस्ते शंखरापुर, गुठी डटकम, काठमाडौँ।
५.   प्रकाशमान श्रेष्ठ, प्रेमप्रसाद काफ्ले, २०७७ : मणिचूडदेखि रत्नचूणसम्म, दामोदर दंगाल र तारा श्रेष्ठ।
६.   तेजप्रकाश श्रेष्ठ,२०७६ : नेपालमा जात्रा, स्वदेश प्रकाशन , काठमाडौँ।
७.   सन मानन्धर ससा, ११४२ : नेपालमण्डलको मौलिक जात्रा परम्परा, अष्ट गणेश पब्लिकेशन,काठमाडौ।
८.   प्रकाशमान सक्व, २०६८ : साँखु शंखरापुरको ऐतिहासिक र साँस्कृतिक संग्रह, पवनलाल श्रेष्ठ।
९.   सुनिया लता जोशी, ११४३ : सँक्वया वज्रयोगिनी जात्रा, पूर्णमाया जोशी।
१०. विद्याकुमारी वज्राचार्य, २०७५ : साँखुस्थित बौद्ध विहारहरु : एक अध्ययन, स्वयम्।
११. प्रकाशमान सक्व, जीवन श्रेष्ठ, प्रविनराज श्रेष्ठ र द्वारिकानाथ श्रेष्ठ, २०८१ : शंखरापुर सक्व महोत्सव, सम्पदा चिनारी उपसमिति।

ग. पत्रपत्रिकाहरू

१. नयाँ पत्रिका दैनिक।
२. कान्तिपुर दैनिक।
३. अन्नपूर्ण दैनिक।
४. लावण्य सन्देश साप्ताहिक।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका