(भाषाशास्त्री अमतृ योन्जन–तामाङ मातृभाषा, मातृभाषामा शिक्षा र भाषिक मानवअधिकारका अभियन्ता हुन्। नेपाल सरकारद्वारा गठित ‘राष्ट्रिय भाषा नीति सुझाव आयोग’ (२०५०) देखि ‘भाषा आयोग’ (२०८०) सम्मका सरकारी निकाय, कार्यदल र आयोगहरूका सदस्यमा नियुक्त भएर नेपालका भाषाहरूको विकासमा उल्लेखनीय योगदान गरेका छन्। विगत ४५ वर्षदेखि लेखन तथा सम्पादन कार्यमा सङ्लग्न योन्जन–तामाङको पछिल्लो पुस्तक ‘तामाङ प्रतिभा कोश : विश्वभरिका १००० तामाङ प्रतिभाहरूको शौर्यगाथा’ प्रिइडिसन हालै प्रकाशित भएको छ। योन्जनको यो ७०औँ पुस्तक हो। प्रस्तुत छ योन्जनसँग उक्त पुस्तक लेखन सेरोफेरोमा केन्द्रित रहेर सैलुङअनलाइनका लागि सम्पादक इन्द्रकुमार तामाङ र डेस्क सम्पादक पेमा मोक्तानले गरेको कुराकानीको सम्पादित अंश भिडियोसहित।)
तपाईंको ७०औँ कृति ‘तामाङ प्रतिभा कोश’ प्रकाशित भएको छ। यो निकै ठूलो, मोटो पनि छ। चारसय पृष्टभन्दा धेरै छ। अहिलेसम्मकै तपाईंको सबैभन्दा मोटो किताब पनि हो भन्ने लाग्छ मलाई। सर्वप्रथम, ‘तामाङ प्रतिभा कोश’ प्रकाशित भएकोमा बधाई छ दाइलाई।
धन्यवाद।
उमेरले पनि तपाईं ७०औँ वसन्तमा हिँड्दै हुनुहुन्छ। ७० वर्षको उमेरमा ७०औँ पुस्तक प्रकाशनमा ल्याउनु भयो। विगत ४५ वर्षदेखि निरन्तर लेखनमा हुनुहुन्छ। ७० वर्षको उमेरमा पनि लेखनमा भने युवा जोश, जाँगर र उत्साह देखाइरहुनु भएको छ। कहाँबाट आउँछ वा जुटाउनु हुन्छ यो जोश, जाँगर अनि उत्साह ?
– ठ्याक्कै त भन्न नसकिएला। एउटा चाहिँ के हो भने तामाङ वाङमय धेरै कम र कमजोर अवस्थामा रह्यो। जब म यो क्षेत्रमा प्रवेश गरेँ, त्यति खेर दुई दर्जन पनि किताब र पत्रिका प्रकाशन भएको थिएन। दुई दर्जन पनि किताब र पत्रिका नपाएपछि अब त्यतातिर जानुपर्छ भन्ने रह्यो। अर्को, मेरो सङ्गत विशेषगरी नेपालका विभिन्न लेखकहरूसँग, भाषाअध्येयताहरूसँग, भाषाशास्त्रीहरूसँग, अभियन्ताहरूसँग हुँदाखेरी, जहिले पनि अमृत त्यहाँ के छ ? त्यहाँ यस्तो कुरा छ कि छैन भन्दाखेरी जहिले पनि कसरी ना भन्ने। तामाङ शब्दकोश के छ ? तामाङ व्याकरण के छ ? भन्दाखेरी मैले छैन भन्नु पर्थ्यो। काठमाडौँमै बसेपछि दुई चार जनासँग त भेट भईरहने नै भयो। प्रत्येक पटक भेट्दाखेरी जहिले पनि ना भन्नु पर्ने अवस्था थियो। त्यसरी जहिले पनि ना भन्नु पर्ने अवस्था भएपछि त्यसमा किन नलेख्ने भन्ने तर्क पनि होला। अर्को कुरा म काठमाडौँ प्रवेश सँगसँगै मेरो पहिलो जागिर नै मिडिया (वा प्रेस)मा थियो। त्यसले गर्दा मैले मिडिया (वा प्रेस)को कुरा बुझेँ। कति कपि छाप्ने ? के के छाप्ने ? कसरी प्रुफ हेर्नुपर्छ, लेख्नुपर्छदेखि लिएर यहाँसम्म कि कति खर्च लाग्छ भन्ने आइडिया पनि भयो। कमसे कम मलाई त्यो आइडिया भयो। प्रेसको आम्दानी खर्चको बारे जानकारी हुनु, मिडियाकर्मी भएकाले लेखिरहनु पर्ने, तुरून्तै समाचारहरू लेखिरहनु पर्ने थियो। त्यसमा पनि आफैँ मासिक र साप्ताहिक पत्रिकाको सम्पादक पनि भएकोले लेखिरहनु पर्ने थियो। अर्को, हामीसँग भएको ज्ञान। स्वाभाविक रूपमा युवा पुस्ता (अवस्था)मा इर्ष्या पनि हुने भयो। नेपालीको यस्तो छ, अङ्ग्रेजी यस्तो छ, नेवारको यस्तो छ भनेपछि हाम्रो किन नहुने ? त्यो पनि एउटा कारण होला। अनि २०४६ सालको परिवर्तन पश्चात् चाहिँ विशेष गरी काठमाडौँमा आदिवासी जनजातिहरूमा लिम्बू अलि अगाडि देखियो। भेटघाट पनि मेरो लिम्बूसँग बढी भयो। प्राज्ञ वैरागी काइँलाज्यूसँगको सङ्गत भयो। उनीहरूसँगको सङ्गतमा के देखियो भने उनीहरूको त फाल्गुनन्द जयन्ती भन्छ, पहिलो लेखकको जन्मजयन्ती भन्छ आदि भईरहने। यसो भएपछि आफूले पनि आफ्नो (तामाङ)को होला ? भनी खोज्दो रहेछ। त्यसोभएपछि राम्रो काम के हो भन्दा खेरी हामीले पनि पहिलो लेखक खोज्यौँ- बुद्धिमान मोक्तानदेखि सन्तवीर लामाको जीवनी खोज्यौँ। यो खोज्ने क्रममा विविध गतिविधि चलिरह्यो। एक किसिमले भन्दा त देखाउनको लागि चाहिँदो रहेछ। हुँदा हुँदा त्यसपछि किताब लेख्ने बानी बस्यो। अहिलेको सन्दर्भमा भन्दा खेरी त बानी नै हो।
अर्को, हाम्रो मान्छेहरू किन हो किताब लेख्नतिर लागेन। मैले चाहिँ किताब लेख्ने कामलाई महत्त्वपूर्ण ठाने। हामी शून्य अवस्थाबाट उठ्नु पर्छ- साहित्यमा उठे पनि, संस्कृतिमा उठे पनि, आन्दोलनमा उठे पनि। विचारकै पक्ष पार्टीमा लाग्दाखेरी पनि सामग्री चाहियो नै। अर्को, नेपाली किताबहरू हेर्दा एकदमै क्लिष्ट क्लिष्ट देखेँ- विचार प्रधानहरू। जब कि मलाई लाग्यो, यो सरलतम भाषामा पनि लेख्न सकिन्छ। कतिपय पार्टीका विचार अनि दर्शनहरू हेरेँ। मैले युद्धका दर्शन भन्ने किताब पनि हेरेँ (पढेँ)। म आफ्नो जमानामा दर्शनको विद्यार्थी थिएँ। यसलाई सरल तवरले व्यक्त गर्न सकिन्छ भन्ने पनि लाग्यो मनमा। यसो गर्दा गर्दै मेरो समय किताबकै वरिपरि नै बित्दो रहेछ बढी मात्रमा। ग्याप (खाडल) पनि देखिने। त्यसो भएकोले त्यही ग्यापहरू परिपूर्तिका (मैले भनेको पनि छु मेरो लेखन भनेको ग्याप परिपूर्तिको लेखन हो भनेर) लागि मैले लेखन गरेको हो। क्वालिटेटिभ होइन। अर्को चाहिँ मैले इन्डियामा बस्दा एउटा लेख पढेको थिएँ। त्यसमा कुनै पनि मन्दिरको माथि गजुर किन चम्किन्छ भन्दाखेरी जगले हो भनेको रहेछ। जग जति बलियो हुन्छ त्यतिकै माथिको गजुर चम्कन्छ भनिएको रहेछ। अहिलेको समयमा म जगको इट्टा (ढुङ्गा) नै हो। अहिले नै गजुर सम्भव छैन। तर, यो काम निरन्तर भयो भने सय डेढ सय वर्षमा गजुर तयार हुन्छ, गजुर सम्भव छ भन्ने विश्वास छ- तामाङ साहित्यमा, तामाङ वाङमयमा भन्ने भित्री प्रेरणा जाग्यो। अर्को त साथीभाइले जिस्क्याएर, कोट्याएर वा घोचपेच गरेर भने पनि के छ त ? भन्न थालेपछि छ त भन्नै पर्यो। त्यही नै होला मेरो लेखनका प्रेरणाहरू भन्ने लाग्छ।
भाषा, भाषाविज्ञान अनि आदिवासी पहिचानका क्षेत्र (त्यसैगरी तामाङ भाषा, मातृभाषा शिक्षा) तपाईंका लेखनका मूल विषय वस्तुहरू हुन्। जीवनी वा व्यक्तित्व लेखन वा व्यक्ति परिचय जे भनौँ तपाईंका मूल विषय भन्दा थोरै भिन्न विषय हुन् भन्ने लाग्छ। यद्यपी तपाईंले आफ्ना मूल विषयभन्दा भिन्न क्षेत्रमा कलम चालाएकै छैन भन्ने चाहिँ होइन। जीवनी वा व्यक्ति परियचयका विधामा तपाईंका ‘उज्यालो यात्रामा तामाङ महिलाहरू’ (२०७३), ‘ओझेलमा तामाङ सहिदहरू’ (२०६९)लगायत पुस्तकहरू यस अघि नै प्रकाशनमा आइसकेका छन्। यस पटक भने तपाईंले जीवनी वा व्यक्ति परिचय विधालाई केन्द्रित गरेर लेखन गर्नु भयो र पुस्तकार दिनुभयो। यसको पछाडि कुनै खास कारण छ ?
मेरो सबै विषयको अन्तिम थिम चाहिँ पहिचान हो। पहिचान भन्ने कुराले मलाई बढी छोयो। मेरा अघिल्ला पुस्तकहरू पनि पहिचानकै वरिपरि (राखेँ) लेखिएका छन्। २०६३ सालपछि, आइएलओ १६९ पास भएपछि, युएनड्रिप पनि नेपाल सरकारले अनुमोदन गरिसकेपछि, त्यसबारेमा म चल्तापुर्ता पनि भएपछि, म भाषामा एक्टिभिजम भएपछि त्यो कुराहरूमा मैले बढी लेख्ने पढ्ने गर्ने भएँ। सडकमा पनि मलाई आमृतजी आइएलओ १६९ के हो ? यसको प्रक्रियाहरू के के हुन् ? भन्ने भएपछि मलाई पहिचान शब्दले हुक गर्यो (तान्यो)। त्यतिनै खेर पहिचान विरोधी खालका आवाजहरू पनि काठमाडौँकै सडकमा देखिन थालेपछि एउटा आवाज (भ्वाइस) त मैले पनि बोक्नु पर्छ भन्ने भएपछि पहिचानको आवाज बोक्न लागेँ। पहिचानमा भाषा, धर्म, संस्कृति, भूगोल, इतिहास पनि जोडिएर आउने पाटो रह्यो। मैले भाषा विज्ञान पढे तापनि, भाषाको आन्दोलन गरे पनि त्यो पहिचानको एउटा पाटो नै हो। म भाषामा बढी केन्द्रित भएँ। पहिचानको लागि अथेन्टिक डकुमेन्ट (आधिकारीक दस्तावेज)हरू खोज्दो रहेछ। सहिदको कुरा गर्दाखेरि सरकारसँग वार्ता गर्नु पर्यो, हामीसँग दस्तावेजहरू भएन केही हुँदो रहेनछ। त्यसैले मैले सहिदको किताब लेखेँ। २००७ सालमा धेरै तामाङ सहिद भएको रहेछ। यस्तो खालको सामग्रीले कमसेकम हामीलाई बोल्ने आधार दिन्छ भन्ने नै हो।
म राजनीतिक व्यक्तित्व होइन। तर, राजनीतिलाई टेवा दिनु पर्छ भन्ने व्यक्ति चाहिँ हो। म लामो समयसम्म तामाङ भाषा र भाषाको वरिपरि भन्दा पर बढी नसोचेको मान्छे। त्यसपछि म केही समय गैरसरकारी संस्थामा काम गरेको मान्छे- महिला अधिकारको बारेमा तालिम लिनुपर्ने र दिनुपर्ने भएकोले महिलाको बारेमा पनि बुझ्न थालेँ। त्यो एङ्गल (कोण)बाट तामाङ इतिहास, तामाङ दर्शन र तामाङ समाज पनि खोजेँ। मैले एउटा किताब लेखेँ- ‘तामाङ महिलाको उज्यालो यात्रा’। त्यहाँ चाहिँ भएभरका तामाङ महिलाहरूको बारेमा जम्मा गर्ने प्रयास गरेँ। पछि के लाग्यो भने तामाङ भाषाका प्रतिभाहरूको मात्र खोजी गरेर तामाङहरूको आत्माबल नबढ्दो रहेछ। भाषाको विकास त सम्भव रहेछ। तर, अरू चाहिएको त आत्मबल रहेछ। आत्मबल र त्यो आत्मबलको आधारमा अभिलेखीकरण (डकुमेन्टेसन) र त्यही अभिलेखकै आधारमा बोल्ने मान्छेहरू तयार पार्नुपर्छ भन्ने लागेपछि, शुरूमा मैले किताब लेख्नहरू मात्र राखौँ भन्ने सोचेको थिएँ। किताब लेख्नुहरू जोसुकै राख्ने भनेर ल्याएँ। त्यसपछि गीत सङ्गीतमा ठूला ठूला कलाकारहरू रहेछन्। नेपाली गीत सङ्गीतलाई नै लिड गर्ने कलाकारहरूलाई कसरी छोड्ने ? तपाईँलाई थाहा नै होला एक पटक मैले ‘तामाङ प्रतिभा’ भनेर १६ जना तामाङहरूलाई ल्याएको थिएँ। त्यहाँ मैले आफ्नो सीमालाई धेरै बाहिरा ल्याएर (बनाएर) ल्याएको थिएँ। त्यहाँ राजनीतिक मान्छे पनि छ, समाजसेवी पनि छ, हिमाल चढ्ने मान्छेहरू छन्, पुर्खाका कुरा गर्नेहरू छन्, गीतसङ्गीत क्षेत्रका पनि छन्। त्यो पनि मैले तामाङको आत्मबल बढोस् भनेर नै ल्याएको हो। त्यहाँ भीमबहादुर तामाङ पनि छ, निर्मल लामा पनि छ, पारिजात जस्ता साहित्यकार पनि छन्, अरूणा लामा जस्ता गीत सङ्गीतका व्यक्ति पनि छन्। यसरी यहाँ बुस्टअप गर्न खोजिएको हो।
त्यसपछि अब अलि धेरै जानु पर्छ भनेर सय जनाको सङ्कलन गरेँ। सयबाट दुई सय हुँदै गयो। मैले बजारमा खोज्ने क्रममा धेरैले धेरै लेखिएको रहेछ। बुलु मुकारुङकै कुरा गरौँ एउटा व्यक्तिले नेपाली सङ्गीत, गायन र अभिनय क्षेत्रका सामग्रीहरू काफी डकुमेन्टेसन गरेको रहेछ। म त्यसभित्र पसेर तामाङको बारेमा हेर्ने क्रममा उसले अभिलेखीकरण गरिसकेको सामग्रीलाई मैले के आधारमा पन्छ्याउने, के आधारमा मैले होइन भन्ने। मसँग त्यसका लागि मापन आधार त छैन। एउटा फरक मान्छेबाट यो प्रतिभा हो भनी ल्याएपछि म अलमलमा परेँ। त्यसैगरी सहिदको बारेमा पनि कयौँ सहिद छन्। मैले नै तयार पारेको पुस्तकमा ९ सय ४७ जना सहिदहरू रहेछ। त्यस बारेमा किन नलेख्ने ? उनीहरूको जीवन कथा नै गजब गजबका छन्। लापाता पारेकाहरू उतिकै रहेछन्।
हिमाल चढ्ने बारेमा पनि हाम्रा साथीहरूले चालिस पैँतालिस जनाको जीवनी ल्याएको छ। पछि एक ठाउँमा पुग्दाखेरी यति मात्र होइन नब्बे जना छ भनेर नब्बे जनाको लिस्ट नै आयो। सरकारले नै सगरमाथा चढ्ने हिरोज भनेर पहिचान गरीसकेपछ हामी तामाङले रिकक्नाइज (पहिचान) नगर्ने आधार के त ? त्यो पनि हाल्दै गएपछि त सङ्ख्या त बढ्दै गयो। हिमाल चढ्नेको सङ्ख्या, सङ्गीतमा लागेकाको सङ्ख्या, कवि-लेखकको सङ्ख्या, सम्पादकहरूको सङ्ख्या। त्यसपछि म तामाङ गीतसङ्गीतमा पसेँ। तामाङ भाषालाई बचाइ राख्ने, अहिलेसम्म जनसञ्चार गरी बढाई राख्ने ठूलो क्षमता त हाम्रो लोकगायकहरूकै हुन्, फापरे गीत गाउनेहरू नै हुन्। पश्चिमतिरका म्हेन्दोमाया गायकहरू भए, बिचतिरका खान्दोके गायकहरू भए। उनीहरूले तामाङ समाजलाई जोडेको छ त। आधुनिकतम विचार र टेक्नोलोजीसम्म पनि उनीहरू नाचेर गाएर जोडेको छ त। उनीहरू समुदायसँग जोडेको छ। तामाङ लेखकहरू भन्दा उनीहरूसँग समुदाय जोडिएको छ। उनीहरूको कदर कहिले गर्ने त ? नेपालका विश्वविद्यालयमा अहिले पनि लोकवार्ताको विभाग छैन। अहिले पनि विश्वविद्यालयमा लोकवार्ताका पेपर लेख्ने लेखाउने भन्दा अरू अध्ययन नभएको अवस्था छ।
मैले तामाङ प्रतिभाहरूलाई पाँच किसिममा क्याटोकोराइज (वर्गीकृत) गरेँ। प्रत्येक वर्ष नेपाली पत्रपत्रिकाहरूले पचास जना, सय जना विभिन्न क्षेत्रमा काम गरेका महिला तथा पुरूषहरूको जीवनी ल्याउने गर्दछ। यसपालि पनि एउटा पत्रिकाले पचास जना महिलाको बारेमा ल्यायो। त्यो त अभिलेख भइसक्यो। त्यो अभिलेख तामाङको हो कि होइन त ? हामीले के आधारमा त्यो होइन भन्ने ? पछि मलाई के लाग्यो भने यो जीवनीको पक्षभन्दा पनि अभिलेखन चाहिँ महत्त्वपूर्ण पाटो रहेछ है भनेर जीवनीको आधारभूत पक्षहरूलाई जोडेर अभिलेखनतिर जान थालेँ। अभिलेखनतिर जाँदा खेरी त्यसले मेरो दिमाग नै परिवर्तन गर्यो। यो ठिक बेठिक मतलब भएन। राम्रो नराम्रो मतलब भएन। तर, यो चाहिँ तामाङको अभिलेख हो भन्ने लाग्यो। यो काम गर्ने क्रममा अर्को महत्त्वपूर्ण पाटो के देखियो भने तामाङको यति धेरै, यति व्यापक योगदान रहेछ- गीतसङ्गीतमा योगदान, हिमाल चढ्नेमा योगदान, नेपाल (देश)लाई उत्तिकै रहेछ, लेखनको क्षेत्रबाट र अन्य विभिन्न क्षेत्रबाट। नेपालालाई मात्र होइन त्यसपछि मैले भूगोलको सीमा राखिनँ, राजनीतिको सीमा राखिनँ। समग्रतामा तामाङलाई आधार मानेँ। मैले ग्योबल (विश्व) तामाङ सोचेँ। ग्योबल तामाङ भन्ने बित्तिकै मैले संसारभरी जहाँसुकैको तामाङ होस्। मैले कुन देशको तामाङ भनेर बसिनँ- भारतको होस्, नेपाल होस् या अन्य कुनै देशको। सबैलाई समेट्ने गरेँ। भारतमा पनि बिस बाइसजना सहिदहरू रहेछन्। भारत स्वतन्त्र संग्रममा पनि पहिलो नेपाली सहिद जो भए उनी तामाङ रहेछ। पहिलो संस्था नेपालीले स्थापना गर्यो, त्यो तामाङले गरेको रहेछ। यति धेरै रहेछ म आफैँ पनि चकित भएँ। त्यसैले मैले यसलाई अलि ओपन माइन्ड वा के भनौँ सबै समेट्ने क्रममा यो पुस्तक आएको छ। अझै पनि सबै सहिदहरू यहाँ परेका छैनन्। सबै जनप्रतिनिधिहरू जो सदनमा पुगे। उनीहरूको जीवनी आएको छैन, मैले सूची भने बनाएँ। गायनदेखि लेखन क्षेत्रमा त अझै पनि छ। हामीले राम्रोसँग काम गर्न सकियो र अभिलेख भएका सबै तामाङहरू ल्याउन सक्यो भने त दुई हजार वरिपरि सम्भव देखियो।
मैले तपाईंको यस पुस्तक लेखनका दौरान ती ढाई तीन महिनाको समय नजिकबाट नियालेके छु। निकै लगनकासाथ जुट्नु भएको थियो। तपाईं त्यो समयावधिमा विभिन्न क्षेत्रका तामाङ प्रतिभाहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा निरन्तर भेटघाट र सम्वाद्मा हुनुहुन्थ्यो। भलै तपाईंको तयारी त्यो भन्दा पहिलेदेखिको अवश्य थियो नै। तर, त्यही समयावधिमा तपाई ‘तामाङ प्रतिभा कोश’ लेखनका निम्ति बढी केन्द्रीतकृत हुनुभयो। पहिलेका लेखनहरू भन्दा यो लेखनमा केही खास भिन्न अनुभव रह्यो ? वा उस्तै थियो ?
– वास्तवमा मैले यो किताबको लेखन प्रारम्भ चाहिँ कोरोनाकालमा नै गरेको रहेछु। कोरोनोकाल संसारलाई नै ध्वष्त बनाउने काल थियो। आज जसरी हामी अहिले बोलिरहेका छौँ त्यो सम्भव हुन्छ भन्ने विश्वास गर्न सकिने ठाउँ थिएन। संसारभर पाँच, छ हजार हुँदै लाखैको सङ्ख्यामा मृत्युका सूचीहरू देखिरहेको बेला बाहिरा निस्कन सम्भव थिएन। घरभित्रै बस्नु पर्यो। मेरो आफ्नै घरभित्र पनि परिवारका सबै सदस्यहरू छोरा-बुहारी, छोरी, नाती-नातीना, श्रीमती कोरोना संक्रमित भएको, म र मेरो कान्छो छोरा मात्र कोरोनाबाट बचेको हो, नछोएको भनौँ न। सबै बाटोदिख लिएर बन्द भएको बेला घरभित्र कोचिनु बाहेक अरू उपाय थिएन। त्यस क्रममा मैले यो काम सुरु गरेको रहेछु। कोरोनो सकिएपछि अर्कै जुग आयो; अर्कै समस्या आयो। चहलपहल फरक ढङ्गबाट सुरु भएपछि यसलाई मैले पूर्ण रूपमा बिर्सेछु।
एउटा दक्षिण एशिया स्तरीय पुस्तक प्रदर्शनीमा गएको बेलामा नेपाल स्टलमा साठी पैसठ्ठी जना मान्छेको जीवनी सङ्कलित एउटा पुस्तिका निकालेको पाएँ। जीवनीमूलक पुस्तक जे पायो भने पनि म जम्मा गर्ने मान्छे- त्यहाँ केही न केही तामाङहरू होला र पछि चाहिन्छ भनेर। नेपाली साहित्यको यत्रो वृहतमध्येमा साठी पैँसठी जनाको जीवनी पुस्तक निकालेको रहेछ। त्यो पनि सिभी (व्यक्तिवृत्ति) नमूनामा। घर लिएर आएर हेरेँ। त्यसपछि म एकदमै निराश भएँ। यति जाबो त म आफैँ पनि सक्छु तुरुन्तै। आज भोलि नै किताब निकाल्छु भन्ने मनमा ‘साइक्लोजी’ भएछ। त्यसपछि कोरोनाकालमा शुरू गरेको काम बारे मनमा ‘क्लिक’ भयो। पहिले नै शुरू गरेको छु त यो त। अनि कम्प्युटरमा कमान्ड गरेर हेरेको फेला पर्यो। त्यहाँ तीन सय वरिपरि कति थियो। अबा यसलाई फाइनल गर्छु भन्ने लाग्यो। यो दुई तीन वर्षमा त केही थपियो। खोज्दै गयो, थपिँदै गयो। यो क्रमशः बढ्दै गयो। अर्को चाहिँ मलाई यही साल यो किताब निकाल्छु भन्ने पनि लाग्यो। सत्तरी वर्षमा लागेको कुरा अघि तपाईंले भनिहाल्नु भयो। सत्तरी वर्षमा टेकेपछि सत्तरीऔँ किताब किन ननिकाल्ने ? त्यसपछि यो वर्ष नै छाप्छु भन्ने लाग्यो। मेरो कयौँ किताब पुनः प्रकाशनको लागि तयारीमा छ जो चाहिँ बजारमा डिमान्ड पनि छ। त्यो तपाईंलाई थाहा नै छ ‘तामाङ ताम’ जस्ता। त्यसपछि अब यो वर्ष पुरानो किताब ननिकाल्ने, नयाँ मात्र निकाल्ने भन्ने लाग्यो। मेरो सत्तरी वटा किताबमा एघारवटा चाहिँ सम्पादित किताब छन्। त्यसपछि अब यसपालि म सत्तरी वटा किताब पुर्याउँछु भन्ने जोस आयो, मन भित्रैबाट त्यो ‘साइक्लोजी’ बन्यो।
अनि किताब लेख्दै गएपछि यस्तो विचित्र विचित्र घटनाहरू देखेँ। उदाहरणका लागि सहिद आइसकेपछि बेपत्ता पारिएका नागरिकहरू दिने कि नदिने ? मसँग डकुमेन्ट रहेछ। आखिर उसले पनि जीवन त दिएकै हो। त्यसै त उसलाई बेपत्ता पार्दैन, केही न केही गुण अपगुण नभएसम्म त। केही बेपत्ता पारिएका परिवारसँग मेरो परिचय पनि थियो। उनीहरूले सहिद घोषण गर्न धेरै मेहनत गरीरहेको थियो। तर, सहिद घोषण भएन। रामेछापमा बेपत्ता पारिएकाहरूको एउटा डकुमेन्ट रहेछ मसँग। चालिस जनाभन्दा बढी रहेछ। हेर्दै गएँ, त्यो टिप्दै गर्न थालेँ मैले। त्यसरी एउटै किताबबाट व्हार व्हारती सूचना आयो। त्यो त ठुलो कुरा भयो। यसलाई राख्छु भनेर राखेँ। त्यो किताबमा यति दर्दनाक कथा थियो कि कति मान्छेलाई जिउँदै गाडेको छ, कतिलाई यस्तरी कुटेर मारेको छ। आखिरमा त्यसमा थोरै वर्णन मात्र छ, डकुमेन्ट मात्र छ। तर, त्यसले मलाई तामाङको स्थिति बोध गरार्यो। अचम्म लाग्थ्यो तामाङको स्थिति हेरेपछि। त्यत्तिको मान्छे बेपत्ता हुँदाखेरीसम्म हामीले सरकारसँग आवाज उठाउन सकिएको छैन। त्यसपछि सहिदतिर पस्यौँ। सहिदको डकुमेन्टहरू मसँग थियो। सबैको सबै विवरण नआएपनि दुई तीन हरफमा भएपनि ल्याउनै पर्छ भन्ने लाग्यो। त्यहाँ पनि त्यस्तै विचित्र विचित्र घटनाहरू छन्, मारेको वा मारिएको छ। नौ सय चानचुन भनेको त कम सहिद होइन नि। मैले कुनै बेला इन्डियाको एउटा किताब पढेका थिएँ- सायद अज्ञेयजीको। म इन्डियामा पढेको मान्छे, त्यहाँ चार पाँच जना सहिदको मात्र चर्चा उठ्छ। त्यस किताबमा पन्ध्र सय दुई हजार सहिद भएको देश भनेर पढेको मेरो दिमागमा रहेछ। त्यसले तामाङ पनि त नौ सयभन्दा बढी सहिद भएको जाति त हो नि भन्ने मेरो मनमा लागेछ। त्यसलाई पनि जम्मा गर्ने प्रयासतिर लागेँ।
त्यसपछि गीतसङ्गीततिर पस्दाखेरी गजब लाग्यो- अरूणा लामा जसलाई ‘सङ्गीतकोकील’, ‘स्वरसाम्राज्ञी’ के के हो उपमा दिइएको छ। उनीभन्दा ठूलो त नेपालीमा कोही रहेनछ त। त्यति ठूलो त तामाङमा रहेछ भन्ने लाग्यो मलाई। फेरी अर्को हिरादेवीतिर पस्यौँ, उनलाई ‘लोकगायीका’ भनेको छ। त्यो स्तरको अरू कोही रहेनछ। तीन चार जना यस्ता यस्ता सङ्गीतकारहरू देखिए- गोपाल योञ्जन नै भनौँ। त्यहाँ पस्यो उस्तै छ। हिमाल (सगरमाथा) चढ्नेहरूतिर गयो उस्तै उस्तै छन्। किताब लेख्ने पारिजातदेखि लिएर कयौँ मान्छेहरू। अहिले भर्खरै (केही समय अघि मात्र) त्रिभुवन विश्वविद्यालयले महिला एक जना पनि राखेन भनेर कुरा उठ्यो। पारिजात राखिएन भनेर आन्दोलन चल्यो। त्यहाँ पनि ५१ जना पुरुष र दुई जना महिलामा त रहेछ। त्यसमा दुई जना महिलामा पनि पारिजात त रहेछ। त्यसपछि मलाई के लाग्यो भने यत्रो नेपाली भाषी महिलाहरू छन्, त्यसमध्ये एक जना गैरनेपाली भाषी महिला पारिजात त रहेछन्।
इन्डियामा स्वधिनताको लागि पहिलो नेपाली सहिद भएको पनि तामाङ नै रहेछ। एउटा किताब पढ्दै थिएँ, युद्धमा एक जना यस्तो मान्छे देखियो। उ सहिद त होइन तर युद्धमा सात दिनसम्म हिलोमा गाडिएर पाइपबाट हिलोको पानी खाएर बाँचेको छ र नौ जना दुस्मनलाई मारेको छ उसले। त्यस्ता पनि नेपाली तामाङहरू रहेछन् नि त। यो कुरालाई न इन्डियाका तामाङहरूले उठायो, न नेपालका तामाङले नै उठायो। हामीले विभिन्न क्षेत्रमा हजारौँ तामाङहरू सहिद भएको, सङ्गीत क्षेत्रमा योगदान दिएको, साहित्यमा योगदान दिएको, हिमाल चढेको यी सबै योगदानको मूल्याङ्कन नै गर्न सकेनौँ। त्यसका आधारमा हामीले बार्गेनिङ पइन्ट बनाउन सक्थ्यो, सरकारसँग बार्गेनिङ गर्न सक्नु पर्थ्यो, हामी यस्तो जाती हौँ है भनेर। सांस्कृतिक पक्ष जो दुई तीन वर्ष अगाडि देखा पर्यो त्यो आफ्नो ठाउँमा छ, सांस्कृतिक दायरा भन्दा बाहिराको पनि कुरा उठाएर सरकार (सत्ता) सँग जो हामीले बार्गेनिङ गर्न सक्नु पर्थ्यो त्यो कमजोर देखियो।
भने पछि यसपालीको लेखनले तपाईंलाई बढी नै उद्देलीत बनायो ?
– हो बढी नै। यो किताबमा जति पनि सहितहरू देखियो, ठूला ठूला मान्छेहरू देखियो यसले चाहिँ मलाई बडो गज्जब लाग्यो।
यसलाई कन्टन्यू (निरन्तर) गरौँ। उदाहरणका लागि महेन्द्र पी. लामालाई हेरौँ। उहाँ नेपाल र भारतले पनि रिकक्नाइज गरेको मान्छे। नेपालका प्रत्येक यूनिभर्सिटीका दीक्षान्त समारोहहरूमा उहाँलाई बोलाउने गर्दछ। एक पटक यस्तो पनि भयो, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा। त्यसताका नेपालका प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। मौकाबस उहाँको प्लेन ढिला भयो- डेढ घण्टा। नेपालको प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुन्छ। समारोहमा अरू प्रोफेसरहरूलाई पनि बोलाइएको हुन्छ। त्यति बेला कुलपति डेढ घण्टा पर्खाइमा बस्नु भयो। त्यो व्यक्ति महेन्द्र पी. लामा तामाङको लागि। त्यसबाट के प्रस्ट हुन्छ भने तामाङहरू पनि कम महत्त्वपूर्ण रहेनछन्। यसपालि पनि दुईवटा विश्वविद्यालयमा उहाँलाई निम्त्याइएको थियो। त्यस्ता तामाङ पनि रहेछन्। आसाम नागाल्याण्डतिरका तीन जना तामाङ महिलाहरूले पिएचडीभन्दा माथि डिलिट गरेका रहेछन्। भनेपछि थुप्रै तामाङहरू रहेछन् त। हामीले जहिले पनि काठमाडौँ वरिपरि दुई चार जना मात्र देखिएका रहेछौँ। त्यसैले यसपालीको लेखनमा यी तामाङ प्रतिभाहरू देखेर म एकदम चकित भएँ। यति धेरै तामाङ प्रतिभाहरूले योगदान गरेका रहेछन्- इतिहासमा, भूगोलमा, संस्कृतिमा, साहित्यमा। उहाँहरू जहाँको होस् त्यसलाई एउटा मञ्च किन नबनाउने। मैले यो किताबमा लेखेको पनि छु, म एक हजार तामाङसँग गएको तीन महिना उनीहरूसँग खेली बसेँ। गफ गरी बसेँ पनि भनेको छु मैल। ठूलो लाग्यो मलाई यसपालीको उपलब्धी।
‘तामाङ प्रतिभा कोश’मा करिब १००० तामाङ प्रतिभाहरूका छोटा परिचयसहितका तथ्यहरू सङ्कलित छन्। (एक लाइनदेखि तीन पेजसम्मका) छोटै किन नहोस्, पक्कै पनि करिब १००० व्यक्ति व्यक्तित्वहरूका परिचयात्मक विवरण सङ्कलन गर्नु, सङ्कलित विवरणहरू सही छन् या छैनन् भनेर तथ्यगत जाँचसहित पठनीय भाषामा ढालेर पुस्तकार दिनु सहज कार्य थिएन र होइन पनि। एक हिसाबले यो झन्जटिलो अनि झिँजो लाग्ने कार्य थियो नै। यसलाई झन्जट अनि झिँजो नमानिकन सम्पन गर्नुभयो र त यसले पुस्तकार प्राप्त गर्यो। कसरी सम्भव भयो यति धेरै व्यक्तिगत विवरणात्मक तथ्य सङ्कलन गर्न ?
– म ३७ सालमा काठमाडौँ पसेपछि पत्रकारिता सुरु गरेँ, शिक्षक भएँ। अनि ४६ सालको आन्दोलनमा मेरो पनि कन्ट्रिब्यूट (योगदान) रह्यो- आफ्नो तर्फबाट सक्दो। त्यसपछि २०५० सालमा वैरागी काइँलाको अध्यक्षता (संयोजकत्व)मा गठन भएको ‘राष्ट्रिय भाषा सुझाव आयोग’को सदस्य पनि भएँ। ती साथीहरूसँगको सङ्गतले किताब सङ्कलन गर्ने र पढ्ने बानी बस्यो। म आफैँ पत्रकार हुँदा पनि के गर्थेँ भने कुनै पनि अभिलेख भएको, लेख्ने मान्छेको अभिलेख (डकुमेन्ट), सांसद्हरूको अभिलेख कुनै न कुनै रूपमा पाएसम्म मैले सङ्कलन गर्ने गर्थेँ। लेखकको सुची पाए जम्मा गर्थेँ, किताब पाए जम्मा गर्थेँ। संसद् (सचिवालय)ले के गर्दो रहेछ भने संसद् निर्वाचन भएपछि पाँच छ महिनापछि संसद् सदस्यहरूको स-साना व्यक्तिवत्तृ निकाल्दो रहेछ- पटक पटक। म अपडेढ भएर बसेँ। बजारमा चाहिँ मन्त्रीपात्रो संसद्पात्रो पनि ल्याउने गर्दछ। त्यो पात्रोहरू पनि जम्मा गरी बसेँ। खेलकुदको सन्दर्भमा पनि जहाँ सूची पायो, त्यो राख्न थालेँ। प्रहरीले पनि आफ्नो वार्षिक उत्सवमा स्मारीकामा प्रहरीको सूची दिँदो रहेछ- के के पायो भनेर। यी सबै चाहिँ मसँग डकुमेन्टेड (दस्तावेजीकरण) थियो- एउटा कुनामा। एक ठाउँमा त थिएन। त्यसलाई व्यवस्थित गर्ने काम भयो। मसँग धेरै सूचना छ भन्ने चाहिँ महसुस भएको थियो। विभिन्न पत्रपत्रिकाहरूमा जहाँ जहाँ सूची फेला पर्थ्यो त्यो चाहिँ म जम्मा गर्ने गर्थेँ।
पछिल्लो प्रदेश सांसद्हरूको सूचना त मैले अनलाइनबाटै लिएँ। सङ्घीय सांसद्को पनि त्यस्ता खालका सूचना हुँदा रहेछन्। यी सूचनाहरू अपडेट भईरहेँ। अहिले आएर त एउटा हाइट लिएपछि कतिपय व्यक्तित्वहरूको सूचना विकीपिडियामा पनि राख्दो रहेछ। विकीपिडियाका कयौँ सूचनाहरू पनि मैले यसपाली प्रयोग (उपयोग) गरेँ। भलै मलाई चाहिने आधारभूत सूचनाहरू भनेको- जन्म, विवाह, छोरा-छोरी, थर, आमा-बुबा हुन्। त्यस्तो कुरा त त्यहाँ कम नै हुँदा रहेछन्। कतिपय सूचनाहरू विकीपिडियामा पनि फरक फरक हुदाँ रहेछन। जन्म मितिसमेत फरक फरक हुँदा रहेछन्। त्यसलाई आधिकारीक मान्ने कुरा पनि भएन। बेला बेलामा म सहिदहरूको पनि सूचना जम्मा गरी रहन्थेँ। बेपत्ता भएकाको सूची पनि। यसले गर्दा मलाई के विश्वास लाग्यो भने म यो काम गर्न सक्छु। उदाहरणको लागि मन्त्रीहरूको सूची फेला पर्यो त्यसलाई राखियो, संसद्को सूची फेला पर्यो त्यसलाई पनि राखियो। त्यसलाई किताबो रूपमा राख्नु पर्यो, किताबमा ढाल्नु पर्यो। सांसद् कहिले, कहाँबाट निर्वाचित भयो थाहा छ, उसको पारिवारीक कुरा केही थाहा छैन। त्यस्तो अवस्थामा मैले के गरेँ भन्दा अरू केही नभए पनि कम्तिमा शिर्षक दिउँ भन्ने लाग्यो। हुँदा हुँदा एक जना संसद्को सूचना छुटेको रहेछ। त्यसरी एकातिर सूची बनाएँ र अर्कोतिर सूची हेर्दै भित्र हाल्दै गएँ। सबै प्रदेश सांसदहरू पसेका छैनन्। कुनै दिन पस्ला। तर, सूचीमा राखिएको छ। यसरी सूची आयो अथवा किताब आयो तर लेखकको विवरण छैन। उसको सूचना फेला पार्न सकिन। अब त्यसलाई कसरी माइनस गर्ने ? विवरण पनि छैन। त्यसैले कहीँ एक हरफको पनि सूचना आएको छ- यो किताब यो सालमा छापिएको फलानाको भन्ने र कहीँ लेखको व्यक्तिवृत्ति आएको छ। अब मेरो अपेक्षा चाहिँ के हो भन्दा यसरी राखिएपछि कुनै दिन यसलाई वृहत् गरेर सूचना आउने छ भन्ने लागेको छ।
‘तामाङ प्रतिभा कोश’मा सङ्कलित तामाङ प्रतिभाहरूलाई पाँच खण्डमा खण्डीकृत गरी प्रस्तुत गर्नुभएको छ– १. तामाङ सर्जक तथा सम्पादकहरू, २. इतिहास र राजनीति क्षेत्रका तामाङ प्रतिभाहरू, ३. गीतसङ्गीत र अभिनय क्षेत्रका तामाङ प्रतिभाहरू, ४. खेलकुद क्षेत्रका तामाङ खेलाडी तथा रेफ्री अनि सगरमाथा आरोहीहरू र ५. लोकअभिरूचीका तामाङ प्रतिभाहरू। पाँचै क्षेत्रका खण्डगत तामाङ प्रतिभाहरूसँगको तपाईंको सम्वाद् अनुभव कस्तो रह्यो ?
– म सर्जक भित्र पस्न सकिन किनभने मलाई चाहिने सूचना किताब या कहीँबाट पाइहालेँ। सर्जकलाई बुझ्न त भित्र पस्नु पर्छ त्यो काम मेरो थिएन। मेरो काम किताबको मूल्याङ्कन गर्ने थिएन। मलाई चाहिने सूचनाका लागि मैले उसको किताबको कभर मार्फत् पाइहालेँ। कतिपय चाहिँ मैले वेबसाइट आदिमा हेरेँ। मेरो त लामो र छोटो मात्र हो, कति लेख्ने भन्ने न त हो। त्यो आधारमा हेर्दा खेरी कयौँ लेखकले धेरै काम गरेका रहेछन्। उदाहरणका लागि महेन्द्र पी. लामा नै भनौँ। सबभन्दा सानो उमेरमा प्रोफेसर हुनु, त्यसपछि यूनिभर्सिटी (विश्वविद्यालय)को प्रमुख हुनु, सानो उमेरमै। कयौँ यूनिभर्सिटीको अहिले पनि सल्लाहकार भएर बस्नु, कयौँ राज्यहरू सिकिमलगायतका आर्थिक सल्लाहकार हुनु, भारतकै सुरक्षा सल्लाहकार हुनु, त्यस बारेमा किताब लेख्नु, निकाल्नु। त्यो पनि दुई तीन दर्जनै छ। दुई चार पेज होइन, भोलूमका भोलूम छन्। यसले चाहिँ प्रभाव पार्ने नै भयो। साहित्यको क्षेत्रमा पारिजातकै कुरा छ। अरू कयौँ लेखकहरू छन् जसले दर्जनौँ किताब लेखेका छन्। मैले अलि बढी पढ्नु पाएको (परेको) चाहिँ लोकअभिरुचिका क्षेत्रका प्रतिभाहरू हुन्। त्यो त मैले पढ्नु नै पर्यो। कुनै कुनै को त धेरै हुँदैन थियो। दुई चार पेज मात्रै पनि हुन्थ्यो। उनीहरूले चाहिँ मलाई बढी छोयो। तर, कहाँ राख्ने त ? मेरो क्राइटेरियामा पर्दैन थियो। त्यसपछि मैले यस्तो खण्ड भनाएँ- लोकअभिरुचिका प्रतिभा भन्ने खण्ड। कुलमान घिसिङ नै भनौँ न। उहाँ अरू कहीँ पर्ने वाला थिएन। त्यसो भएपछि लोअअभरूचिमा राख्यौँ। कयौँ यस्ता प्रतिभाहरू देखा पर्यो जसले अक्षरलाई संसार मान्ने तामाङहरू पनि रहेछन्। कोही त यस्ता पनि थियो- ठूलो भईसकेका थियो, विवाह गर्ने उमेर पनि भइसकेका थियो, पढ्न आउँदैन। उसले गाउँमा प्रौढशिक्षा आएपछि पढेर गाउँ नै परिवर्तन गरेको छ- सहकारी स्थापना गरेर। त्यस्ता कयौँ तामाङ महिलाहरू रहेछन्- सामाजिक परिवर्तन गर्ने महिलाको रूपमा विभिन्न पत्रपत्रिकाले उल्लेख गरेको। त्यसलाई मैले लोक अभिरुचिका प्रतिभा भनी ल्याएँ।
मलाई सबैभन्दा बढी प्रभाव पार्ने चाहिँ २००७ सालको क्रान्तिको रह्यो जो त्यस बेलाको शून्य अवस्थामा पनि इन्डियाको कलकत्तामा बसेर तामाङहरूले, त्यो पनि एकदमै युवा तामाङहरूले, टिनएजर (किशोर अवस्थाका) तामाङहरूले, निर्मल लामा जस्ता १६/१७ वर्षका उमेरकाहरूले, उहाँहरूले पाटीले हतियारको नउठाउने भन्दा भन्दै पनि पाटीलाई कन्भिन्स गरेर स्वतन्त्र सेना गठन गरे। तेइस जनामध्ये नौ जना तामाङ रहेछन्। त्यति बेला तामाङहरूले जनमुक्ति सेना बनाएर डेट (मिति) नै तोकेर अघि बढ्नु, त्यति बेलाका पार्टी तयार नहुनु (ती कुराहरू श्यामकुमार तामाङको किताबमा उल्लेख गरिएको छ) त्यसले राणाकलाले तामाङलाई धेरै अत्याचार गरेको थाहा पाउँछौँ। अत्यचारलाई अत्यन्तै सहन नसकेर नेपालबाट पूर्व हुँदै दार्जिलिङ पुगेका युवाहरू हुन्थे उनीहरू। एक वा दुई पुस्ता भएका युवाहरू हुन्थे उनीहरू। उनीहरूको मनमा राणाको विरुद्ध जुन घृणा उत्पन्न भयो, क्रान्ति उत्पन्न भयो त्यो कम हो भन्ने लाग्दैन मलाई। त्यो महत्वपूर्ण लाग्यो मलाई। अझै पनि सोच्छु म, पार्टी तयार नभएको, बिपी कोइराला तयार नभएको अवस्थामा समेत जनमुक्ति सेना गठन गर्नु त कम थिएन नि। त्यति बेला पार्टीलाई कन्भिन्स गरेर (मनाएर) नोभेम्बर ११ तारिखका दिन ११ बजे क्रान्ति सुरु हुनु, क्रान्ति देश भरी नै हाँक्नु, ठाउँ ठाउँमा तामाङहरू सहिद हुनु, क्रान्ति पूर्वबाट हाँक्दै आउनु, रामेछाप र मेलुङमा ९ जना तामाङहरू सहिद हुनु, चरिकोटमा हुनु त कम त्याग थिएन नि। त्यो क्रान्ति मलाई धेरै महत्त्वपूर्ण लाग्छ। राणाकाल जस्तो १०४ वर्षे लामो सत्ता, राणा हट्छ भनेर कसैले कल्पना नै गरेको पनि थिएन। त्यस्तो क्रान्ति चाहिँ मलाई लाग्छ तामाङले हाकेको हो। मलाई त्यो लाग्छ क्या। वडाहाकिम हुँदा खेरी निर्मल लामा १९ वर्षको त थियो। प्रजातन्त्र स्थापना भईसकेपछि (क्रान्ति सफलता भएपछि) वडाहाकिम भएर उनी पश्चिम गएका थिए। एउटा कमान्ड समालेका थिए।
त्यसपछिको कुरा गर्ने हो भने २०१७ सालमा खिनियाबास काण्ड घट्यो। आज हामी कल्पना पनि गर्न सक्दैनौ त्यस्ता काण्डका बारेमा। स्वतः स्फूर्त थियो त्यो। पार्टीको गाइडलाइन थिएन, बिचारको गाइडलाइन थिएन, मात्र उसलाई के थाहा थियो भने त्यसले मेरो समुदायलाई, समाजलाई सिध्याउने काम गरेको हो भन्ने क्लियर (प्रस्ट) थियो। उसले त्यती बुझेको थियो। १७ सालको त्यो काण्ड घटेपछि विभिन्न आरोप पनि लाग्यो, त्यसलाई। त्यसैकारण कु भएको भन्ने पनि छ। त्यस्तो स्वतःस्फूर्त चेतनालाई पछि विभिन्न पार्टीकरण गरियो। कसैले काङ्ग्रेसकरण गरियो, कसैले ‘किसान विद्रोह’ भनियो। वास्तवमा त्यो त हजारैँ वर्षदेखि दबाइएका सत्ताका विरुद्धमा थियो नि। त्यो रूपमा त्यसलाई तामाङले व्याख्या गरिएन। वास्तवमा त्यो जातीय युद्ध नै लाग्छ मलाई। युद्धका दुई पक्षहरू हेर्दै थाहा हुन्छ, त्यो के हो भनेर। जो त्यहाँबाट भग्यो लखेटियो राजाको शरणमा आएको छ उनीहरू त। १७ साल पछि रामेछापका एक जना टोकलसिंह तामाङले त्यस बेलाका वडाहाकिमको बसोबास ठाउँमा बम पड्काउनु कम साहसको कुरा थिएन नि। २०१७ देखि २०४७ साल बिचको फरार रहेकाहरूको सूची हेर्दा पनि सयौँ तामाङहरू रहेछन्। दश बिस जना होइन। कयौँलाई चाहिँ पछि आममाफी पनि दिएका रहेछन्। त्यो सबै लेख्ने हो भने तीन हजार पनि पुग्छ। उनीहरू सात वर्ष, नौ वर्ष, तेह्र वर्ष जेल बसेका छन्। उनीहरूमध्ये केहीलाई चाहिँ मैले भेट्ने मौका पाएँ। तर, त्यो रूपमा (तामाङको रूपमा) होइन। कमसेकम क्रान्ति गरेछ भन्ने चाहिँ बुझियो। त्यो क्रान्तिको लिस्ट (सूची) हेर्नुहोस् तपाईंले।
त्यसपछि माओवादी द्वन्द्वकालमा हेरौँ कति तामाङहरू गएका (लागेका) छन्। ११/१२ वर्षका केटाहरू आफैँले बोकेका सकेट बम पड्केर मरेका छन्। के त्यो मानवअधिकार वा बालअधिकारले दिन्छ ? हजारौँ सङ्ख्यामा तामाङहरू पस्यो नि त त्यहाँ। त्यो चाहिँ भयो सहिद हुनेहरूको सूची। त्यत्रै सूची त लापत्ता भएकाहरूका पनि छन्। त्यो भन्दा तीन गुण सूची त आफ्ना बाउआमाले पाएको दुःखका छन्, परिवारले पाएका दुःखका छन्। त्यसको मूल्याङ्कन त हामीले गर्न सकेनौ नि, तिहासले गर्न सकेन नि। हाम्रा लेखकहरू कहाँ गए ? हाम्रा कविहरू कहाँ गए ? त्यो चिजलाई त बाहिर ल्याएन नि त। त्यसैलाई समातेर हामीले अहिलेको सत्तासँग बार्गेनिङ गर्नु पर्थ्यो। त्यो चाहिँ मलाई खुलदुली भइरहेको थियो, हो। यसपालि चाहिँ मैले कमसेकम थोरै भए पनि ती सहिदहरूप्रति, प्रतिभाहरूप्रति थोरै न्याय दिन खोजेँ कि भन्ने लाग्छ मलाई।
तामाङहरू अझै पनि विपन्नता, अशिक्षा, स्वास्थ्य समस्या र पछ्यौटेपनलगायत समस्याहरूबाट मुक्त छैनन्। इतिहासको लामोकालखण्ड राज्यबाट दमित, शोषित र उत्पिडनमा परेकोले उनीहरू अझै पनि त्यसैको हिनताभाव वा हिनताबोधमा बाँचिरहेका छन्। त्यो मनोविज्ञानबाट माथि उठ्न सकेको छैन। तपाईंले पुस्तकलाई ‘तामाङ प्रतिभाहरूको शौर्यगाथा अभिलेख’ भन्नुभएको छ। लेखकीय दृष्टिबाट तामाङहरूलाई ती हिनताभाव वा हिनताबोधको मनोविज्ञानबाट माथि उठाउन पुस्तकले कुन खालको मद्दत पुर्र्याउँछ जस्तो लाग्छ तपाईंलाई ? यद्यपी पुस्तकमाथि आउँदा दिनहरूमा समीक्षा र मूल्याङ्कन अवश्य होलान् नै। प्रकाशित कृतिहरूमाथि हुन्छ नै।
– अभिलेख भनिसकेपछि यो आफैँ बोल्दैन। यसले व्याख्या गरेको छैन राम्रो नराम्रो भनेर। तर, प्रत्येक मान्छेले एउटा एउटा गजब गजबको इतिहास रचेको हुनाले, ठाउँ ठाउँमा सत्तासँगै चुनौती गरेर (दिएर) सहिद भएको हुँदाखेरी सम्पूर्णमा यो शौर्यगाथा हो भन्ने लाग्यो मलाई। प्रत्येक (प्रतिभा)सँग एउटा कथा छ। म चाहिँ लामो समयदेखि नै भनौँ एक किसिमले मनोविज्ञान चाहिँ बढेको अवस्था नै हो। अब सत्ताले सोचे जस्तो या हाम्रो तामाङ सङ्घसंस्थाहरूले सोचे जस्तो वा हामी सामान्यले सोचे जस्तो वा हामी तामाङले सोच्छौँ नि एकदम गरिबी जस्तो, कमजोर जस्तो, हाम्रा ठूलाबडा तामाङ लेखकहरूले भन्छन् नि हामी चाहिँ ऐतिहासिक भरिय, भरिया पनि छ, तर त्यति मात्र होइन रहेछ भन्ने लाग्यो। मैले पहिला पनि उदाहरण दएको थिएँ, तामाङ चेलीको आफ्नो माइतीमा हुँदाको थरप्रतिको राइट (अधिकार) जो छ नि त्यो कति गजबले राखेको छ नि- चाहे अरूणा लामाको होस्, चाहे वाइबा (हिरादेवी) होस्। उहाँहरू दुबै जना गैरतामाङसँग गएका (विवाह गरेका) हुन। तर, उहाँहरूले अक्षुण्ण रूपमा तामाङ नै भनिरह्यो। वाइबा नै भनेर आफूलाई स्थापित गर्यो नि। लामा नै भएर स्थापित भयो। कयौँ यस्ता हाम्रा तामाङ चेलीहरू रहेछन्। हाम्रो सामाजिक रूपमा गैर (तामाङ)लाई गएपछि खिन्नता महसुस गर्छ। तर, अर्को कोणबाट हेर्यो भने उनीहरू जहाँ गए पनि, जहाँ बसे पनि आफ्नो समाज र जातिप्रतिको जिम्मेवार, इमानदारिता बढाएकै छ। एउटी तामाङनी केटी जो रखेल जस्तै बसेको थियो राणाको दरबारमा। पछि रानी भयो त। रानी हुनुको कारण त पक्कै पनि उसको ज्ञानले, विद्वताले भएको होइन। सबैलाई थाहा छ, राणा भनेको सौन्दर्यमा जाने हो। सौन्दर्य कस्तो रहेछ त। पछि उनी सीता महारानी भयो त। कतिपय लेखकहरूले सीता महारानीका कारणले तामाङले तामाङ लेख्न पाएको भन्ने पनि छ। उ त्यहाँ पुगेर पनि आफ्नो सन्तानलाई उठाएको रहेछ त। त्यसले गर्दा अब यो किताबमा थप व्याख्या हुनु आवश्यक छ। मैले यसमा भएका कतिपय त्रुटीहरू हटाएर, कमजोरीहरूलाई हटाएर अझ अथेन्टिक बनाउनु छ, लेख्य रूपमा। अब तामाङहरूको मनोविज्ञान चाहिँ बढ्नु पर्छ। यसमा मोर क्यासिफाइ (अझ वर्गीकृत) गरेर सहिद कति भए ?, बेपत्ता कति भए ? सबैको छुट्टा छुट्टै सिङ्गो किताब निकालेर हाम्रो योगदान चाहिँ सरकारलाई देखाउन सक्नु पर्छ।
सरकारले सँधै हामी (तामाङ)लाई भोटरको रूपमा (बेचीखाने) मात्र बनाउनु हुँदैन। तामाङहरूको पनि के साइक्लोजी (मनोविज्ञान) बनेको देखियो भने हामी यति नै हौँ, हाम्रो ठूलो मान्छे भनेको पार्टीको नेतै हो, उसले दियो भने मैले टिकट पाउने हो, नत्र नपाउने मुडमा पुगेको छ। जब कि आफ्नो ग्राउन्ड आफूले बनायो भने जुनसुकै पार्टीले आएर सहयोग गर्न सक्छ नि, टिकट दिन सक्छ नि। त्यसैले हामी रुटमा कमजोर भएका छौँ। आसेपासेतिर बढी उन्मूख भयो। मलाई लाग्छ विशेष गरी २०४६ साल पछि हाम्रो मानसिकता त्यस्तो भएको जस्तो लाग्छ- एउटा मालिक कल्पना गरेर त्यसको पछि लाग्ने। त्यो हुनु हुँदैन थियो। २०६३ पछिको आन्दोलनले के गर्यो भने हाम्रो काम सिद्धियो, हामीले जति काम गर्ने गरियो, अब हामी कहीँ न कहीँ जागिर खाएर पेट पालेर बस्ने हो भन्ने मनोविज्ञान विकास भयो जस्तो लाग्यो। किनकी २०६३ साल यता न पत्रपत्रिका एउटा बाहिर आएको छ, न तामाङले किताब लेखेको छ, न कहीँ कतै शौर्यगाथा नै देखिएको छ। त्यसो भएकोले हामीले एक पटक यी सबै व्यक्तित्वहरू माथि गहन दृष्टि राखेर, यसको पुनः मूल्याङ्कन गरेर, व्यक्तिगत हुन्छ कि या सामूहिक रूपमा यसको मूल्यहरूलाई राष्ट्रियस्तरमा फिट (तुलना) गरेर हेर्नु पर्ने आवश्यक छ।
नेपालीमा लेखिने, नेपाली सत्तका नजिक भएका लेखकहरूले लेख्ने जीवनी र हाम्रा प्रतिभाहरूको जीवनी कहिले काहीँ तुलना गरेर पनि हेरिनु पर्ने हुन्छ। मलाई लाग्छ सबै चिजमा उनीहरू फिट (तुलना योग्य) छन्। त्यसको उदाहरणमा हामीले के देख्यौँ भने देखि विगत दुई चार वर्षयता नेपाललाई चिनाउने भनेर चारजना टप नामहरू आए- कि त तामाङ छ, कि त रोहित छन्, अरूनै देखियो त। साउथ एशिया लेबलको खेलमा ५३ जनाले पदक पाएकोमा तीन जना मात्र बाहुन क्षेत्री छन्। भनेपछि त्यहाँ पनि हाम्रो योगदान रहेछ। हाम्रो योगदान हामीले नै बुझ्न सकेनौ। मेरो मनोविज्ञान चाहिँ के हो भने हाम्रा मान्छेले (तामाङले मात्र होइन, सबै आदिवासीले) आफ्ना शौर्यगाथा लेखियोस्, जम्मा गरोस्। त्यसको आधारमा जजमेन्ट खोजौँ सरकारसँग भन्ने हो। त्यसैले मेरो यो किताब लेखन पनि तामाङको मनोबल उठाउने नै हो। म भाषा आयोगको सदस्य भइरहँदाखेरी, तामाङ साथीहरूको मनोविज्ञान पढीरहँदाखेरी, उनीहरूको धेरै कमजोर मनोविज्ञान पाएँ। तसर्थ, मलाई लाग्यो तामाङहरूको मनोविज्ञान उठाउनको लागि यस्ता सामग्रीहरूको अध्ययन आवश्यक छ। अझ एक पटक हामीले तामाङ साहित्य, तामाङ वाङमयका पाँच छ खण्ड, आठ-दश हजार पृष्ठको निकाल्न सकियो भने त्यसले फेरी लेखकहरूको बिचमा मनोबल बढ्छ भन्ने लाग्छ।
पुस्तकमा तामाङ प्रतिभाहरू सूचना उपलब्ध हुन नसक्दा वा सूचना सङ्कलनमा समय अभाव आदि कारणले छुटेका पनि होलान्। छुटेका प्रतिभाहरूलाई पनि समावेश गर्ने भावि योजना के छ ?
– मेरो उमेरले गर्दा खेरी पनि हो। यसमा मलाई धेरै काम गर्ने विचार छैन। यसमा भोलूमका भोलूम (खण्डका खण्ड) सोच्न सहिन्थ्यो। मैले सोचेको छु भने २०८१ साललाई आधारवर्ष मान्ने र त्यतिबेलासम्मका कुनै पनि प्रतिभा नछुटिउन भन्ने लागेको छ। विशेष गरी सहिदहरू नछुटुन्, सांसदहरू नछुटुन्। अभिलेख मुख्य कुरा हो नि। जति डकुमेन्ट बाहिर आयो (आएका छन् ती मात्र सङ्कलन गर्न सकियो) त्यो मात्र भयो भने पनि भोली यस वर्ष पछाडि यो किताब पल्टाउँदाखेरी त्यतिबेलाको समाज भनेर हेर्दाखेरी त्यो रूपमा सोचियो भने त्यो ठूलो कुरा हुन्छ। यहाँ प्रिन्टिङ मिस्टेक (छपाईमा त्रुटी) भयो भने त साह्रो दुखद् कुरा हुन्छ भन्ने सोच्छु म। ठूलो कुरा भएन, सामान्य त्रुटीहरू हुन्छन्। तर, सय वर्ष पछिको तामाङले पल्टाएर हेर्दाखेरी, त्यतीबेलाको समाज भनेर हेर्दाखेरी, कुनै छुट्यो भने त्यो त त्यतीबेलाका समाजमा मैले ठूलै अपराध गरेको ठहर्छ नि त। कसैको परिचय राम्रोसँग आएन भने पनि, मिति तल माथि भयो भने किनकि त्यस बेला त मितिको आधारमा कुन कालमा कस्ले के काम गर्यो भन्ने कुरा हेर्नु पर्ने हुन्छ, हेर्छ होला। त्यो चाहिँ मलाई मनमा दुःख भईरहन्छ। मेरो कारणले गर्दाखेरी कुनै प्रतिभा छुटेको वा यो किताबका कारणले गर्दाखेरी कसैको परिचयको अङ्श छुट्यो भने पनि धेरै गाह्रो हुन्छ। त्यसकारण मैले धेरै सूचनाहरू धेरै व्याख्या नगरीकन ल्याएको छु। अब एक वर्ष जति पछाडिसम्ममा सकभर ती डाटाहरूलाई अथेन्टिक बनाउने योजना छ, नपाउन पनि सकिन्छ। जो जीवितै छन्, उनीहरूबाट सूचना ल्याएर (सङ्कलन गरेर) बढीमा २०८१ सालसम्ममा क्लोज (समाप्त) गर्ने योजना छ। त्यसपछि पछिल्लो पुस्ताले त्यसभन्दा पछिको अध्ययन गरोस् न, यतातिर आउन नपरोस न भन्ने चाहिँ मेरो हो। तर, सबै सूचना भने जस्तो एकै पटक आउँदैन। कयौँ बीस वर्षपछि पनि सूचना आइरहेकै हुन्छ। तर, जति मैले पाएँ, त्यतिबेलासम्म त्यस्तो सूचना पाएको रहेछ भन्ने त्यतिबेलाका पाठकलाई लागोस् न भन्ने लागेको छ मलाई। यसरी म धेरै भन्दा धेरै इमानदार बन्ने प्रयास गरेको छु। किनभने पाठक नै हुन्छ लेखकको लागि ठूलो। यहाँ यसपाली धरै गरेको पनि हुँ। तर, मलाई थाहा छ यसमा अहिले धेरै टुटीहरू छन्। त्यसैले यसलाई फाइनल नमानिकन र यसमा प्रतिभाहरूको फोटो पनि राखिन। अब निकाल्दा खेरी चाहिँ प्रतिभाहरूको फोटो सहित निकाल्छु। किनकि प्रतिभाहरू चिन्नु पनि पर्यो नि। इतिहासमा २१औँ शताब्दीका तामाङका अनुहार कस्ता रहेछन् भनेर चिनियोस् न। जसरी यो (कभर फोटो)ले देखायो नि त। अठारौँ शताब्दीतिर तामाङले कस्तो लुगा लगाउँदो रहेछ भनेर यो फोटोले देखाउँछ। यो १८९४ को फोटो रहेछ। त्यसैले किताबहरू अभिलेख बन्छ। अभिलेखहरूमा चाहिँ लेखक इमानदार हुनु पर्दछ, नभएदेखि भविष्यको विश्लेषण चाहिँ कमजोर हुन्छ भन्ने मेरो धारणा हो। त्यसलाई सकेसम्म राभ्रो बनाउने गरी त्यसलाई टुङ्ग्याउने योजना छ। बढीमा २०८१ सालसम्ममा टुङ्ग्याउने छु।