बागमती प्रदेशमा आजदेखि सवारी धनी प्रमाणपत्र (इ–ब्लु बुक) अनलाइन प्रणालीमार्फत् लागू गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा पहिलो इ–ब्लु बुक जारी गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अबदेखि बागमती अनलाइन भिआएस मार्फत व्यक्तिगत तथा संस्थागत सवारी साधनले विवरण भरेर प्रक्रिया पूरा गर्न सक्नेछन। त्यसपछि नागरिक एपबाट क्यूआर कोड प्राप्त गरी डिजिटल ब्लु बुक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यातायात मन्त्री महर्जनका अनुसार इ–ब्लु बुकको माध्यमबाट अब सवारीधनीले फिजिकल ब्लु बुक बोकिनुपर्ने आवश्यकता नपर्नेछ, साथै मोबाइलमै देखाउन वा कार्डको रूपमा प्रिन्ट गरेर प्रयोग गर्न सकिनेछ।
प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको बताउँदै सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने क्रम तीव्र भएको उल्लेख गर्नुभयो। उनले राष्ट्रिय सुरक्षासहितको डेटा प्रणाली विकासको आवश्यकता औंल्याउँदै सूचना प्रविधिको दुरुपयोगप्रति पनि सचेत रहन आग्रह गरे । साथै, पूर्वाधारको विकाससँगै नेपाल सूचना तथा प्रविधिमा लगानीका लागि उपयुक्त गन्तव्य बनेको उल्लेख गर्दै वैदेशिक लगानीकर्तालाई आव्हान गर्नुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले निकट भविष्यमा दुईवटा महानगरपालिकाबाट फाइभ जी सेवा सुरु गरिने जानकारी दिए । उनले प्रविधिको प्रयोगले सुशासन, विकास र नागरिक सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री महर्जनले बागमती सरकारले छुट्टै बायोमेट्रिक्स नलिई राष्ट्रिय परिचयपत्र प्रणालीसँगै आबद्ध हुने गरी इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली ९बागमती इडिएल० समेत विकास गरेको जानकारी दिए । उनका अनुसार अब लाइसेन्स परीक्षाको लिखित तथा ट्रायल चरणमा मात्र भौतिक उपस्थिति आवश्यक हुनेछ भने अन्य सबै प्रक्रिया अनलाइनमार्फत हुनेछ।
यस प्रणालीले सेवाग्राहीलाई सहजता, पारदर्शिता तथा प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।