बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा २५६९ औँ बुद्ध जयन्ती मनाइँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
343 Shares
काठमाडौं

‘बौद्धमहाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नाराका साथ बौद्धनाथ क्षेत्र विकास समितिले यस वर्षको २५६९ औँ बुद्ध जयन्ती भव्य र ऐतिहासिक रूपमा मनाइँदै छ।

बुधवार समितिको सभा हलमा पत्रकार सम्मेलन गरी समितिको संयोजनमा विभिन्न संघसंस्थाहरूको सहभागितामा मूल समारोह समिति गठन भई बैशाख पूर्णिमा २९ गते कार्यक्रम आयोजना गर्ने लागिएको जानकारी दिएका हुन् ।

बुद्ध जयन्ती भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको त्रिसंयोगको पावन अवसर हो। यस अवसरमा बौद्धनाथ क्षेत्रमा आयोजना हुने कार्यक्रमले शान्ति, करुणा र अहिंसाको सन्देश विश्वभर फैलाउने लक्ष्य राखिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले जानकारी दिए ।

बिहान ८स्४५ बजे महाकाल चौरबाट सुरु हुने शान्ति र्‍याली तिनचुली हुँदै बौद्धनाथ महाचैत्यको परिक्रमा गरी ह्याट ग्राउन्डमा पुगिने उनले बताए । बुद्धको तीन वटा प्रतिमूर्तिहरू जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको प्रतिमूर्ति रहनेछ भने झाँकीसहित नेपाली सांस्कृतिक पहिचान झल्काउने झाँकीहरू प्रस्तुत गरिनेछन्।

त्यसैगरी र्‍यालीमा प्रहरी ब्यान्ड, बाजागाजा र विभिन्न जातजातिका परम्परागत भेषभूषामा सहभागीहरूले सहभागिता जनाउनेछन्।

यस्तै ह्याट ग्राउन्डमा हुने औपचारिक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह लामा प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन्। साथै, पूज्य निधिपति नाम्खा रिन्पोछे र क्याब्जे ज्याटुल रिन्पोछेजस्ता विशिष्ट गुरुहरूको उपस्थिति पनि रहनेछ।

कार्यक्रममा प्रार्थना, शुभकामना मन्तव्य, सांस्कृतिक प्रस्तुति, तथा बुद्धको शिक्षामा आधारित प्रवचनहरू प्रस्तुत गरिनेछन्। निधिपति नाम्खा रिन्पोछेबाट गुरु दर्शन र क्याब्जे ज्याटुल रिन्पोछेबाट वाङ (आयु अभिषेक­) प्रदान गरिनेछ ।

समारोहमा

  • भगवान् बुद्धको अस्थि धातु दर्शन
    बौद्ध परम्परा र नेपाली कलात्मक सम्पदाको सांस्कृतिक झाँकी
  • UNESCO विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपको परिक्रमा
  • भिक्षु, स्थानीय बासिन्दा र भक्तजनको सामूहिक सहभागिता रहनेछ।

सुरक्षा र व्यवस्थापनमा चुस्तता

७८ वटा सङ्घसंस्थाहरूको सहभागितामा मूल समारोह समिति गठन गरिएको छ। साथै, कार्यक्रम सफल पार्नका लागि १० वटा उपसमितिहरू गठन गरिएको समितिका कार्यकारी निर्देशक तामाङले बताए । जसमा स्वयंसेवक व्यवस्थापनदेखि प्रचारप्रसारसम्मका संयोजकहरू तोकिएका छन्। नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा शान्ति सुरक्षा र आवागमन सहज बनाइनेछ। सरसफाइ, मञ्च, पूजापाठ, जलपान व्यवस्थापन लगायतमा विभिन्न सामाजिक संघसंस्थाहरूको सक्रियता रहेको छ।

समितिले यो पावन अवसरमा भक्तजन, पर्यटक र मिडिया प्रतिनिधिहरू सबैलाई हार्दिक स्वागत गर्दै सहभागिताको निमन्त्रणा गरेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका