रसुवा जिल्ला अन्तर्गत आमाछोदिङ्मो गाउँपालिका–३ स्थित हाकु (कालो) गाउँको रूपमा परिचित गत्लाङ बस्ती । यही गाउँमा जन्मिएकी सुम्निमा लामा, आज सिंगो गाउँकै मात्र होइन, सम्पूर्ण जिल्लाको प्रेरणाका स्रोत बनेकी छन्। शिक्षिका पेशाबाट जीवन थालेकी सुम्निमा अहिले सिस्नो पाउडर उत्पादन र व्यापारबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेकी छन्।
२०७२ साल कात्तिक १७ गते ग्राङमा बस दुर्घटनामा श्रीमानको निधनपछि सुम्निमाको जीवनले नयाँ मोड लियो। दुई छोराछोरीसहित एक्लै जीवनयापन गर्नुपर्ने अवस्था आयो। यद्यपि, विपत्तिलाई अवसरमा बदल्ने जाँगर र आत्मबलले उनले आफ्नो जिन्दगीको परिभाषा नै फेरिदिइन्।
२०७३ सालदेखि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गत्लाङमा प्राथमिक विद्यालमा शिक्षकका रूपमा कार्यरत सुम्निमाको ध्यान शिक्षणसँगै आम्दानीमूलक कामतर्फ पनि आकर्षित भयो। गाउँमा प्रशस्त पाइने तर उपयोगविहीनजस्तै देखिएको सिस्नो जोगाउने र त्यसलाई आम्दानीको स्रोत बनाउने सोचले उनलाई उद्यमशीलतामा उत्रन प्रेरित गर्यो।
‘गत्लाङ सिस्नो पाउडर उत्पादन उद्योग’को स्थापना
२०७६ सालदेखि सिस्नो संकलन र परीक्षण उत्पादन सुरु गरेकी सुम्निमाले २०७७ साल माघमा उद्योग तथा वाणिज्य कार्यालय, रसुवामा ‘गत्लाङ सिस्नो पाउडर उत्पादन उद्योग’ दर्ता गरिन्। श्रीमानको नाममा रहेको लालपुर्जालाई धितो राखेर फर्म दर्ता गरेकी उनले गाउँमै सिस्नो सुकाएर, पिसाएर पाउडर बनाउने काम थालिन्।
उत्पादन भएको सिस्नो पाउडर काठमाडौँको रैथाने बजार, बौद्ध, स्वयम्भु, गोठाटार, माछापोखरी लगायतका स्थानमा ५ सयदेखि ७ सय रुपैयाँ प्रतिकेजी मूल्यमा विक्री हुन्छ। बजारमा माग बढ्दै जाँदा सिस्नो व्यापार उनले सानो लगानीमा ठूलो सम्भावना बोकेको देखेकी छन्।
उनको यो यात्राले लाखौं नेपाली महिलालाई आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ। गाउँपालिका अध्यक्ष वुचुङ तामाङ भन्छन्, ‘सुम्निमा जस्ती महिला लाखौंमा एक हुन्छन्।’
देशमा पुरुषप्रधान सोच हाबी भइरहँदा, एकल महिलाको हैसियतमा पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने सुम्निमाको यात्रा चिलिमेकी सुजता तामाङ र मन्जु तामाङ जस्ता धेरैको लागि प्रेरणाको स्रोत बनेको छ। वैदेशिक रोजगारलाई अन्तिम विकल्प नसम्झी, देशभित्रै केही गर्न सकिन्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण बनेकी छिन् सुम्निमा।
गत्लाङका करिब ५ सय घरधुरीमध्ये सुम्निमा अब सफल उद्यमीको प्रतीक बनेकी छन्। शिक्षिका मात्र नभएर आयमूलक काममा पनि लाग्नुपर्छ भन्ने सन्देश बोकेकी सुम्निमा आमाछोदिङ्मो गाउँपालिकाकै गहना भएको गाउँपालिका उपप्रमुख चण्डिका तामाङ बताउँछिन्।
गरे के हुन्न र? केवल आँट र भरोसा चाहिन्छ भन्ने नारालाई सुम्निमाले जीवन्त उदाहरणमा उतारेकी छन्। ‘म एकल महिला भनेर कहिल्यै पछाडि हटिनँ,’ सुम्निमा भन्छिन्, ‘सिस्नोबाट पनि भविष्य बनाउन सकिन्छ भन्ने देखाएँ।’
सुम्निमाको हिम्मत, परिश्रम र दृष्टिकोणले गाउँलेहरूको प्रशंसा जितेको छ। वडा नम्बर ३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ भन्छन्, ‘गरे के हुँदैन भन्ने सुम्निमाको कामले सिस्नो जस्ता उपेक्षित बनस्पतिको मुल्यांकन गरिदिएको छ।’