मातातीर्थ आयुर्वेद चिकित्सालयमा निःशुल्क शल्यक्रिया सेवा सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौं

चन्द्रागिरि नगरपालिका–८ मा रहेको मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिएको छ। स्थानीय तहबाट सञ्चालित यो अस्पतालले पहिलोपटक निःशुल्क रूपमा शल्यक्रिया सेवा दिन थालेको हो।

पञ्चकर्म र क्षारसुत्र सेवाको गुणस्तर अझै सुधार गर्ने उद्देश्यसहित अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको जानकारी दिएको छ। अस्पतालका प्रमुख डा. नारायण आचार्यका अनुसार नगरपालिकाको आन्तरिक स्रोतबाट करिब १० लाख रुपैयाँ खर्च गरी शल्यक्रिया कक्ष र त्यसपछिको बिरामी विश्राम कक्ष तयार गरिएको हो।

आज आयोजित कार्यक्रममार्फत शल्यक्रिया कक्षको उद्घाटन नगरप्रमुख घनश्याम गिरीले गर्नुभयो। उहाँले चन्द्रागिरि नगरपालिकाले एलोपेथिक र आयुर्वेद दुवै उपचार प्रणालीलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको र ‘स्वस्थ नगर, स्वस्थ नगरवासी’ अभियानमा यो सेवा महत्वपूर्ण हुने बताए ।

वडाध्यक्ष प्रल्हाद रिजालले अस्पतालको सेवा विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडा नं १५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, वडा नं १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री लगायतको सहभागिता रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मातातीर्थ अस्पताललाई थप सुदृढ बनाउँदै सेवा विस्तारका लागि योजनाबद्ध ढंगले अगाडि बढिने जानकारी दिए ।

डा. आचार्यका अनुसार हाल अस्पतालमा पञ्चकर्मअन्तर्गत पाइल्स, फिस्टुला, र फिसरको शल्यक्रिया सेवा उपलब्ध छ। सुरुमा साताको एक दिन शल्यक्रिया हुने र बिरामीको चाप तथा आवश्यकताको आधारमा दैनिक सेवा विस्तार गरिने योजना बनाइएको छ।

अस्पतालले नियमित रूपमा बहिरङ्ग सेवा (ओपीडी) तथा हप्तामा एक दिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। साथै, बमन, बिरेचन, वस्तिकर्म, नस्य कर्म र रक्तमोक्षण जस्ता पञ्चकर्म सेवासमेत उपलब्ध छन्। अस्पतालसँग आफ्नै जडीबुटी उद्यानसमेत रहेको छ।

महिनावारी स्वच्छता, हात धुने अभ्यास, प्राथमिक उपचार तालिम, स्वास्थ्य किट वितरण, कपडाबाट प्याड बनाउने तालिम, र मोबाइल हेल्थ शिविरजस्ता जनहितकारी कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। डा. आचार्यका अनुसार आगामी दिनमा यी सेवाहरूलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने तयारी भइरहेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका