काठमाडौं, बैशाख २६– काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित शंखरापुर नगरपालिकामा नगरस्तरीय दोस्रो बृहत् स्काउट क्याम्प–२०८२ आयोजना हुने भएको छ। नेपाल स्काउटको बागमती स्काउट स्थानीय स्काउट कार्यालय शंखरापुर नगरपालिकाको आयोजनामा हुन गइरहेको यो क्याम्प भोली मिति २०८२ साल बैशाख २७ गते शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ।
क्याम्प शंखरापुर ८ मा अवस्थित नगरपालिकाको प्रमुख पर्यटकीय स्थल तथा नगरपालिकाको शीर मणिचुडस्थित वनदेवी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरिनेछ। कार्यक्रमको उद्घाटन शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले गर्ने तय भएको छ। नगर उप–प्रमुख समिता श्रेष्ठ विशेष अतिथि रहनेछिन् भने नगरका विभिन्न सामाजिक संघसंस्थाका विशिष्ट व्यक्तित्वहरू, स्थानीय विद्यालयका शिक्षक तथा गुरुवर्गहरूको समेत आतिथ्यता रहनेछ।
तीन दिनसम्म सञ्चालन हुने क्याम्पबारे जानकारी दिँदै स्थानीय स्काउट प्रमुख आयुक्त राजेश मान श्रेष्ठले नेतृत्व विकास, सामाजिक सेवा, व्यक्तिगत सीप अभिवृद्धि र स्काउटिङ मूल्यमान्यताहरूलाई अझ प्रभावकारी ढंगले आत्मसात् गराउने लक्ष्य राखिएको बताए।
आयोजक स्थानीय स्काउट कार्यालयका सचिव तथा नेपाल स्काउटका कार्यकारी सदस्य आयुक्त ओमेश मल्लका अनुसार क्याम्पको पहिलो दिन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएपछि ट्रुप वाइज घर निर्माण ९क्याम्प निर्माण० तथा सजावट प्रतियोगिता, क्याम्प फायरिङ, ग्याजेट पाईनेरिङ, मार्च पास आयोजना गरिनेछ। साँझ नृत्य प्रतियोगिता हुनेछ। दोस्रो दिन स्काउट हाईकिङ्ग, कुकिङ्ग प्रतियोगिता तथा गाँठो प्रतियोगिता सञ्चालन गरिनेछ। अन्तिम अर्थात् तेस्रो दिन नियमित स्काउट गतिविधि तथा समापन समारोह सहित क्याम्प सम्पन्न गरिनेछ।
क्याम्पमा शंखरापुर नगरपालिकाभित्रका स्काउटहरूका साथै आमन्त्रण स्वरूप छिमेकी कागेश्वरी मनोहरा नगरपालिकाबाट स्काउट लिडर, रोभर रेञ्जर तथा स्काउट प्रशिक्षकहरूको पनि सहभागिता रहनेछ। आयोजक स्थानीय स्काउटका कोषाध्यक्ष तथा नेपाल स्काउटका सदस्य वृद्धि संगठन आयुक्त श्याम बम्जन तामाङका अनुसार करिब २५० जना स्काउटहरूको सहभागिता रहनेछ।
क्याम्पको संयोजन नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य सुरेन्द्र कारञ्जितले गर्नेछन्। क्याम्पबाट सहभागीहरूमा अनुशासन, सहयोगभावना, नेतृत्व क्षमता र राष्ट्रियताको भावना थप प्रगाढ बनाउने अपेक्षा आयोजकहरूले गरेका छन्।
यसैबीच, वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ९बसन्त० ले मणिचुड क्षेत्रलाई स्काउट तालिम तथा प्रशिक्षणका लागि उत्कृष्ट र आकर्षक गन्तव्यस्थलको रूपमा विकास गर्न यो क्याम्पले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार मणिचुड क्षेत्रको प्राकृतिक सौन्दर्य र शैक्षिक वातावरणले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउट कार्यक्रमहरू आयोजना गर्न मणिचुड क्षेत्रलाई उपयुक्त अवसर प्रदान गर्नेछ।
क्याम्प सफल बनाउन स्थानीय समुदाय, व्यक्ति र संस्थाको सकारात्मक साथ र सहयोगमा हुन गईरहेको जानकारी दिंदै, क्याम्पको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।