ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मंगलबार महानगरको चौथो गाउँसभाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । कुल बजेटको पुँजीगत तर्फ ७८ दशमलब २६ र चालुतर्फ २१ दशमलब ७४ प्रतिशत प्रस्तुत गरेको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेश गर्दै सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरे ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ ।
ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’ निर्माण गर्ने घोषणा पनि गरेको छ ।