नेपालका लागि इटालियन बाइक बेनेलीको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ्गले बेनेली बीएन–२५१ एबीएस सुविधासहित नेपाली बजारमा बिक्री गरिरहेको छ । कम्पनीले यसको नन् एबीएस भर्सन भने पहिलेदेखि नै बिक्री गर्दै आएको थियो । बेनेलीको इन्ट्रीलेवल नेकेड–बाइकमा ग्राहकको आकर्षण बढ्दै गएको समयमा कम्पनीले बजारमा ल्याएको २५० सीसी क्षमता सेग्मेन्टमा बीएन २५१ निकै सफल हुने कम्पनीले विश्वास लिएको जनाएको छ ।
बेनेली बीएन–२५१ मा लिक्विड कुल्ड सिङ्गल–सिलिन्डर, फोर–स्ट्रोक डीओएचसी–२४९ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले ९ हजार २५० आरपीएममा २५.८ बीएचपी पावर र ८ हजार आरपीएममा २१ एनएम–टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीड गियबक्स लगाइएको छ ।
यसको लम्बाई २१०० एमएम, चौडाई ८४० एमएम, उचाई १३२० एमएम रहेको छ । यसको सिट हाइट ८३५ एमएम रहेको छ भने, २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । मोटरसाइकलको नेट तौल १४३ किलोग्राम भएको कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । यसको फ्रन्ट साइडमा ४१ एमएमको युएसडी फर्क र रियरमा मनोशक सस्पेन्सन दिइएको छ । यस्तै, फ्रन्ट साइडमा २८० एमएम र रियरमा २४० एमएमको सिंगल डिस्क ब्रेक रहेको छ । यसले प्रतिलिटर २४.३९ किलोमिटर माइलेज प्रदान गर्छ ।
मोटरसाइकलमा स्पिडोमिटर, टेकोमिटर, ट्रिपमिटर, एबीएस लाइट, युएसडी फर्क, लार्ज विन्डस्क्रिन, डबल प्रोजेक्टर हेडलाइट, आकर्षक हेडल्याम्प, एलइडी हेडलाइट लगायतका विभिन्न विशेषता दिइएको छ ।
यो मोटरसाइकलको मूल्य ५ लाख २० हजार रुपैयाँ रहेको छ ।