चार जिल्लाका तीस हजार करदाता करको दायरामा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
तनहुँ

आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् ।

व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाईंले जानकारी दिए । कार्यालयले दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिरी बसेका करदातालाई कर तिर्न आग्रह गर्ने, करदाताहरुलाई कर तिर्ने वातावरण सिर्जना गर्ने लगायतको कार्यहरु गर्दै आएको उनले बताए ।

उक्त कार्यालयले आव ०७५/७६ मा लक्ष्यभन्दा १ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ बढी राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले आव ०७४/७५ मा ४८ करोड २४ लाख ५७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने आव ०७५/७६ मा ५ अर्ब ३० करोड ८ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत सेढाईंले बताए ।

उनका अनुसार ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । उनले भने, ‘यसरी बढी राजश्व सङ्कलन गर्नेमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयहरु रहेका छन् ।’ करदाता सेवा कार्यालयका रूपमा रहेर सेवा प्रवाह गर्दै आएको उक्त कार्यालयलाई विसं ०७५ असार २० गतेदेखि आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नति गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका