आलेख : असिनाले टिम्मुर सखाप !

गलेश्वर

गुणस्तरीय टिम्मुरको पकेट क्षेत्र मानिएको बेनी नगरपालिका–९ तोरीपानीमा यस वर्ष टिम्मुर उत्पादनमा ९० प्रतिशतले कमी आएको छ ।

बोटमा पाकेर टिप्ने बेला असोजको तेस्रो साता परेको असिनाले झारिदिएपछि टिम्मुर गाउँमै बीउको समेत अनिकाल परेको भुमेसिद्ध टिम्मुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले बताए ।

अध्यक्ष बानियाँका अनुसार तोरीपानीमा २०७२ सालमा ७१ मुरी टिम्मुर फलेको थियो । गत वर्ष ५० मुरीको हाराहारीमा बाहिर निर्यात गरिएको थियो । यस वर्ष बीउसमेत नरहेकाले बाहिरबाट बीउ ल्याउनु पर्ने अवस्था भएको छ ।
आधा दशक अगाडिसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि तोरीपानीका कृषक टिम्मुर खेतीतर्फ आकर्षित भएका थिए । प्रतिपाथी १ हजार ८ सयदेखि २ हजार ३०० रुपैयाँ सम्ममा बिक्री हुने टिम्मुरबाट गाउँमा वार्षिक ५० लाख भन्दा बढी रकम भित्रिने गरेकामा यस वर्ष भने यहाँका किसानले टिम्मुर बिक्रीबाट हुने आम्दानी गुमाए ।

खेतबारी, सामुदायिक वनमा फलेको टिम्मुरलाई घरायसी प्रयोजनमा ल्याउने र थोरै मात्रामा सदरमुकाम बेनी लगेर बेच्ने किसानहरु अहिले यसैबाट मनग्य कमाउँछन् । अध्यक्ष बानियाँका अनुसार दुई–चार जनाबाट शुरू गरिएको टिम्मुर खेतीमा अहिले गाउँका १५० घरधुरी सक्रिय रहेका छन् । उनले भने– ‘बिक्रीका लागि कुनै समस्या छैन । ग्राहकहरु टिम्मुर खोज्दै घरदैलोमै आउँछन् । विदेशबाट समेत माग आउन थालेपछि प्रमुख आम्दानीको स्रोत बनाएका छौं ।’
तोरीपानीलाई नेपालमा धेरै टिम्मुर उत्पादन गर्ने गाउँ बनाउने अभियान समेत शुरु भएको उनले बताए । कमजोर आर्थिक अवस्था भएकालाई अनुदानमा बिरुवा वितरण गरिएको छ । गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ । गाउँमा १९ वटा समूह गठन गरी टिम्मुर खेती विस्तार गर्ने काम भइरहेको छ ।

दलित र एकल महिलालाई सामुदायिक वनमा फलेका टिम्मुर टिप्न र बेच्न छुट दिइएको छ । बानियाँ द्वयको नर्सरीबाट वार्षिक ५ हजारको हाराहारीमा गाउँमा बिरूवा बिक्री हुन्छ ।

वन डिभिजन कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घसंस्थाको पहलमा सञ्चालित तालीममा उनीहरु सहभागी हुनुभएको थियो । यहाँको नर्सरीमा हुर्काइएको एक बिरूवालाई २५ रुपैयाँ पर्छ ।

‘बिरुवा खरिद गर्न नर्सरीमै आउँछन्, टिम्मुरलाई सुनको अण्डा जस्तै मानेर फलाइरहेका थियौं, यस वर्ष असिनाले सखाप पारिदियो’, गुमानसिंहले भने । उनका अनुसार टिम्मुरको एउटै बोटमा १८ किलोसम्म फलाएर ३० हजार रुपैयाँसम्म कमाउने किसानहरु छन् ।

रोजगारीको सिलसिलामा बाहिर भएका र लामो समयदेखि बाँझो रहेका खेतबारीलाई समेत भाडामा लिएर युवा जमात टिम्मुर खेतीमा सक्रिय हुन थालेका छन् । एउटा बोटबाट ४ हजारदेखि ३० हजारसम्म आम्दानी हुन थालेपछि अन्य खेतीबालीलाई समेत छोडेर प्राविधिक तालीम लिई यहाँका कृषकहरु टिम्मुरखेतीमा लागेका छन् ।

टिम्मुरविज्ञ एवं म्याग्दीका वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार म्याग्दी जिल्लामा टिम्मुरको सम्भावना अत्यधिक रहेको छ । त्यसमा पनि मध्यम्याग्दीको भूगोल टिम्मुर उत्पादनका लागि उपयुक्त छ । सापकोटाले बेनी नगरपालिका र पाँचवटा गाउँपालिका अन्तर्गत पर्ने साविकका २० वटा गाविसमा टिम्मुर खेतीको सम्भावना रहेको बताए । ‘यूरोपका धेरै देशमा म्याग्दीको टिम्मुर पुगेको छ, अन्तर्राष्ट्रिय बजारमा टिम्मुरको माग धेरै छ,’ उनले भने ।

जिल्लाभर वार्षिक करीव ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको सापकोटाको अनुमान छ ।
म्याग्दीको तोरीपानी भनेपछि देशैभरि टिम्मुर र टिम्मुरका बिरुवा पाइने ठाउँ भनेर चिनिन्थ्यो । यहाँबाट देशका विभिन्न जिल्लामा टिम्मुरका बिरुवा निर्यात हुने गरेको थियो ।

नर्सरीबाट मात्रै वार्षिक ५ हजार भन्दा बढी बिरुवा विभिन्न जिल्लामा र त्यत्तिकै मात्रामा जिल्लाका विभिन्न गाउँहरुमा बिक्री हुने गरेकामा यस वर्ष भने लगाउन आफूसँग समेत बीउ नरहेको अध्यक्ष बानियाँले बताए ।

ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत वर्ष तोरीपानीमा टिम्मुर खेतीको सम्भावनाबारे अन्तक्र्रिया कार्यक्रम समेत गरेको थियो । केन्द्रका तत्कालीन निर्देशक सिद्धिचरण दाहाल र सञ्चालक समिति सदस्य दीपेन्द्र श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य सङ्घका तत्कालीन कार्यवाहक अध्यक्ष (हालका अध्यक्ष) उत्तमकुमार कर्माचार्य लगायतको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रबाट ८ हजार बिरुवासमेत हस्तान्तरण गरिएको थियो ।

अन्नबाली भन्दा दश गुणा बढी आम्दानी हुने भए पनि बेनी नगरपालिका–२ गौश्वराका एक कृषकले टिम्मुरको बोट काटेर खेतबारीमा पशुचौपायालाई प्रवेश गर्न रोक्ने बार लगाएका छन् । गौश्वराको खेतबारी र वनजङ्गलमा फलेको टिम्मुरले अहिलेसम्म बजार पाएको छैन । टिम्मुर खेतीमा प्रचूर सम्भावना रहेको क्षेत्र भए पनि वर्षेनी फल्ने टिम्मुर घरायसी उपयोगमा बाहेक बजार पु¥याउन सकिएको छैन । खेतबारी, जङ्गलमा फलेको टिम्मुर टिप्ने र बजारसम्म लैजाने प्राविधिक ज्ञान नभएर ज्यामरुक कोटको गौश्वरा, तोराखेत लगायतका ग्रामीण बस्तीमा बोटको संरक्षण हुन नसकेको गौश्वराका युवा धु्रव घिमिरेले बताए ।

क्षतिपूर्तिको माग

खेतबारीमा अन्न लगाउन छोडी टिम्मुर खेती गरेका तोरीपानीका कृषकहरु आम्दानीको प्रमुख स्रोत नै असिनाले नष्ट गरिदिएपछि सम्बन्धित निकायमा गुहार्न पुगेका छन् । धान र गहुँ फल्ने खेतका ग¥हामा समेत टिम्मुर खेती गरेका किसानहरुले क्षतिपूर्तिको माग गरेका हुन् ।

‘हामीले निकै दुःख गरेर सम्बन्धित निकायको सल्लाह अनुसार टिम्मुर खेती ग¥यौं, फल्न पनि राम्रै फलेको थियो,’ अध्यक्ष बानियाँले भने– ‘तर, प्राकृतिक प्रकोप आइप¥यो । हामी उचित क्षतिपूर्तिको पर्खाइमा छौं ।’

तपाईको प्रतिक्रिया